एक महिनाभित्र काम शुरू नगरे घुमाउने पुलको ठेक्का तोडिनेछ : मन्त्री घिसिङ

 मंसिर २७, २०८२ शनिबार १२:५:४ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : रासस

काठमाण्डौ – भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले एक महिनाभित्र काम शुरू नगरे घुमाउने पुलको ठेक्का तोड्ने चेतावनी दिनुभएको छ ।

तनहुँको आँबुखैरेनी गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–२९ लाई जोड्ने अलपत्र परेको घुमाउने पुलको आज निरीक्षण गर्नुहुँदै मन्त्री घिसिङले एक महिनाभित्र काम शुरू गर्न निर्माण व्यवसायीलाई निर्देशन दिनुभएको हो । मन्त्री घिसिङले लामो समय अलपत्र भए ठेक्का तोड्नुभन्दा अर्को विकल्प नरहेको उल्लेख गर्नुभयो ।

मन्त्री घिसिङले घुमाउने पुलको डिजाइन परिवर्तन गरी सडक विभागमा आएकोबारे तत्कालै डिजाइन स्वीकृत गर्न सडक विभागलाई निर्देशन दिनुभएको हो । त्रिशूली नदीमाथिको घुमाउनेमा सम्झौताअनुसार काम भएको भए यतिबेला पक्की पुल बनिसक्थ्यो । एघार वर्ष अगाडि घुमाउनेमा पुल निर्माण थालिए पनि अहिलेसम्म दुईतिरको भागमा पिल्लर मात्रै ठडिएको छ ।

मृत सञ्जीवनी निर्माण कम्पनी हेटौँडासँग पहिलोपटक २०७० साल असारमा पुल निर्माणका लागि सम्झौता भएको थियो । डिजाइन परिवर्तनपछि अन्तिम पटक २०७५ साल माघमा निर्माणका लागि पुनः सम्झौता गरेकामा २०७८ चैतमा पुल निर्माण सकिनुपर्नेमा अहिलेसम्म ५० प्रतिशत मात्र काम भएको सडक डिभिजन कार्यालयले जनाएको छ ।

सम्झौताकाे बेला पुलको लागत नौ करोड ५६ लाख थियो । गण्डकी प्रदेशलाई चितवनको नारायणगढसम्म जोड्ने सबैभन्दा छोटो दूरीको बुद्धसिंहमार्गको घुमाउनेको मोटरेबल पुलको निर्माण सम्पन्न भए पोखरा र दमौलीलाई नारायणगढ आउन जान अहिले सञ्चालन भइरहेको मुग्लिङ–नारायणगढ सडकभन्दा २३ किलोमिटरको दूरी छोटो पर्छ । घुमाउनेमा मोटरेबल पुल नहुँदा यातायातका साधन तनहुँकै सीमानामा पुगेर फर्कन बाध्य छन् । 
 

अन्तिम अपडेट: पुस २९, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया