राष्ट्र बैंकका नीतिहरू व्यावहारिक नहुँदा खराब कर्जा बढ्याे : विज्ञ

 मंसिर २७, २०८२ शनिबार १५:१७:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल राष्ट्र बैंकले लिने कतिपय नीतिहरू अव्यावहारिक भएका कारण निष्क्रिय कर्जा बढ्ने गरेको विज्ञहरूले बताएका छन् । काठमाण्डौमा आज आयोजित एक कार्यक्रममा विज्ञहरूले निष्क्रिय कर्जा बढ्नुका एक कारण राष्ट्र बैंककै कतिपय नीतिहरू रहेको बताएका हुन् ।

पूर्वबैंकर ज्ञानेन्द्र ढुङ्गानाले राष्ट्र बैंकका निर्देशनहरू अव्यावहारिक हुँदा निष्क्रिय कर्जा बढेको बताउनुभयो । उहाँका अनुसार कर्जा रिकभरि गर्न ऋणीलाई चिठी कट्ने गरिएको छ । नतिरे ३५ दिने कालोसूचीको सूचना निकाल्ने र लिलाम गर्ने गरिएको छ । तर त्यो लिलामी गर्न पनि सकस पर्ने गरेको छ ।

ढुङ्गानाका अनुसार भूकम्प, कोभिड–१९ को बेला सबै ऋणीलाई १०/२० प्रतिशत कर्जा दिन राष्ट्र बैंकले भनेको थियो । तर भूकम्पमा दिएका ऋण अझै ऋणीले तिरेका छैनन्, कोभिडमा दिएका कर्जा पनि बैंकहरूले उठाउन सकेको अवस्था छैन ।

नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक देवकुमार ढकालले भने राष्ट्र बैंकले ल्याएका नीतिहरू बैंकहरूले सही रूपमा कार्यान्वयन नगर्दा पनि समस्या भइरहेको बताउनुभयो । उहाँका अनुसार पुनर्कर्जाका सुविधाहरूलाई बैंकहरूले सही रूपमा प्रवाह नगर्दा कतिपय उद्योगी व्यापारीहरू अप्ठ्यारोमा परेर उनीहरू पलायन नै हुनुपर्ने स्थिति आएको छ ।

पूर्वबैंकर पर्शुराम कुँवर क्षेत्रीले नियमनमा चुक्दा पनि अहिलेको खराब कर्जा बढिरहेको बताउनुभयो । उहाँका अनुसार सही रूपमा कर्जाको नियमन भएका बैंकहरूको ब्यालेन्स सिट राम्रो छ । बैंकहरूले धितोका आधारमा मात्रै ऋण दिन नहुने उहाँकाे भनाइ छ ।

क्षेत्रीका अनुसार समग्र अर्थतन्त्र खस्कँदा व्यापार–व्यवसाय प्रभावित भएपछि खराब कर्जा बढेको हो । बजारमा देखिएको नकारात्मक मनोविज्ञानले पनि अहिलेको अवस्था सिर्जना गर्न भूमिका खेलेको जस्तो लाग्ने उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: पुस २९, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया