ओलीकाे आराेप– ‘सरकारले चुनावकाे वातावरण बनाएन’

 मंसिर २७, २०८२ शनिबार १८:२७:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावको वातावरण नबनेको भन्दै प्रतिनिधिसभाको पुनर्स्थापना हुनुपर्ने बताउनुभएको छ ।

पार्टीको ११औं महाधिवेशनको उद्घाटन समारोहमा उहाँले सरकारले चुनावको वातावरण बनाउनुको सट्टा संविधान र लोकतन्त्रमाथि प्रहार गरेकाे भन्दै अरू दलहरूलाई पनि संसद् पुनर्स्थापनाको पक्षमा उभिन आह्वान गर्नुभयो ।

अध्यक्ष ओलीले भदौ २३ गते युवाहरूले गरेको आन्दोलन र त्यसको भोलिपल्ट भएको हिंसालाई नेपालमा शून्यता सिर्जना गरी अराजकता फैलाउने तयारीसहितको गम्भीर षडयन्त्र भएको बताउनुभयो ।

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारलाई असंवैधानिक र अनधिकृत भन्नुभएका ओलीले संविधानलाई लयमा फर्काउनुपर्ने जिकिर गर्नुभयो । दलहरूलाई कमजोर बनाएर देश नबन्ने भन्दै उहाँले उत्तरदायित्वविनाका पात्रहरूले देशलाई सङ्कटतर्फ धकेल्ने चेतावनी पनि दिनुभयो । एमालेलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा विकास गर्ने भन्दै उहाँले पछिल्लो समयमा विभिन्न शक्तिहरूले एमालेमाथि प्रहार केन्द्रित गरेको दाबी गर्नुभयो ।

भक्तपुरको सल्लाघारीमा आयोजित विशेष सभामा पार्टी अध्यक्ष केपी शर्मा ओलीले झन्डोत्तोलन गरी महाधिवेशनको उद्घाटन गर्नुभयाे ।

महाधिवेशनले १५ सदस्यीय पदाधिकारी र २ सय ५१ सदस्यीय केन्द्रीय कमिटी रहने गरी नयाँ नेतृत्व चयन गर्नेछ । महाधिवेशनमा नेतृत्व चुन्न २ हजार २ सय ६२ प्रतिनिधि सहभागी छन् । उनीहरूमध्ये १ सय ८ जना मनोनीत हुन् ।

एमालेले नीतिगत विषयमा छलफल गर्न गएको भदौ २० देखि २२ गतेसम्म पार्टीको विधान महाधिवेशन गरेको थियो । त्यसैले यो महाधिवेशन पार्टीको केन्द्रीय नेतृत्व चयन गर्नमा मात्रै केन्द्रित रहन्छ ।

अध्यक्ष ओलीले आफ्नो नेतृत्वलाई निरन्तरता दिनुपर्ने बताउनुभएको छ भने एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पनि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।

महाधिवेशनको उद्घाटन समारोहमा नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनता समाजवादी पार्टी, जसपा नेपाल र राप्रपा नेपाललगायतका दलहरूले शुभकामना दिएका छन् । महाधिवेशन पर्सिसम्म चल्नेछ ।

अन्तिम अपडेट: पुस २८, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया