सुनको भाउ आज एकैदिन तोलामा ४ हजार ४ सय रुपैयाँले बढ्यो
बैशाख २९, २०८३ मंगलबार
समय र प्रविधिसँगै सिक्दै, बुझ्दै र अघि बढ्नु आजको आवश्यकता हो । संगीत क्षेत्रमा पनि एआईको प्रयोग बढ्दो छ । तर प्रविधिको प्रयोग र दुरुपयोगबीचको सीमाना मेटिँदै जाँदा सर्जकका अधिकार, मौलिकता र नेपाली संगीतको आत्मामाथि गम्भीर प्रश्न उठिरहेका छन् ।
प्रविधिको उपयोग गर्नुपर्छ भन्नेमा दुई मत छैन । तर पछिल्लो समय कुनै पनि सर्जकको सिर्जनालाई अनुमति नलिई सामाजिक सञ्जालमा अवैधानिक रूपमा सार्वजनिक गरी आम्दानी गर्ने प्रवृत्ति बढ्दै गएको छ । विशेषगरी वास्तविक सर्जकले आफ्नो गीत यूट्युबमा दर्ता गर्नुअघि नै अर्को व्यक्तिले थोरै एआई प्रयोग गरेर त्यसलाई रुपान्तरण गरी आफ्नै सिर्जना भन्दै सार्वजनिक गरेको देखिन्छ ।
कहिलेकाहीँ त झन् चोरी गर्ने व्यक्तिले नै वास्तविक सर्जकलाई उल्टै ‘चोर’ को आरोप लगाउने अवस्था पनि देखिन्छ । यो गम्भीर अन्याय हो । पुराना गीतको रिमेक गर्ने अधिकार सम्बन्धित सर्जक वा अधिकारवालाको हुन्छ । तर अनुमतिबिना रिमेक बनाएर भ्युज बढाउने र नाफा कमाउने काम सिर्जनात्मक होइन, डकैती हो । यस विषयमा नियमनकारी कानुनको प्रभावकारी कार्यान्वयन गर्न नेपाल सरकार कमजोर देखिन्छ ।
एआई प्रयोग गरेर एउटा व्यक्तिले गाएको गीत अर्कोले सार्वजनिक गर्छ, तर उजुरी दिने ठाउँ कहाँ हो भन्ने कुरा समेत धेरै कलाकारलाई थाहा छैन । यो समस्या व्यक्तिगत रूपमा समाधान हुने होइन, यसका लागि सरकारी तहबाटै गम्भीर पहल आवश्यक छ । धेरै कलाकारका सिर्जनालाई एआई प्रयोग गरेर नयाँ गीत बनाइ सार्वजनिक गरिएको छ, तर सम्बन्धित कलाकारलाई त्यसबारे कुनै जानकारी नै हुँदैन । यस विषयमा सामूहिक छलफल र स्पष्ट नीति आवश्यक छ ।
दर्शक–स्रोताले चोरी गरिएको गीत हो भन्ने कुरा थाहा पाउँदैनन् । उनीहरूले सामाजिक सञ्जालमा देखिएका र सजिलै पाइने सामग्री हेर्ने र सुन्ने मात्र हुन् । त्यसैले यसमा दर्शकको दोष छैन । जिम्मेवारी एआई प्रयोग गर्ने व्यक्तिको हो । एआई प्रयोग गर्ने व्यक्तिले अर्काको सम्पत्ति दुरुपयोग गर्नु हुँदैन भन्ने कुरा बुझ्नुपर्छ । आफ्नो सिर्जना चोरी हुँदा कति पीडा हुन्छ भन्ने कुरा आफैँले आत्ममूल्यांकन गर्नुपर्छ । कुनै गीत पहिले नचलेको थियो, नयाँ प्रविधि प्रयोग गरेर चलेको भन्ने तर्क सुनिन्छ । तर त्यो अरुकै सम्पत्ति हो । पुरानो गायकले गाएर नचलेको गीत नयाँ गायकले वा नयाँ तरिकाले गाएर चल्यो भन्दैमा त्यसलाई आफ्नो भन्नु सरासर चोरी हो ।
आफ्नो सीप सुधार्न अरु कलाकारका गीत गाएर अभ्यास गर्न पाइन्छ । तर त्यसलाई व्यावसायिक रूपमा प्रयोग गर्न पाइँदैन । यो सीमा बुझ्नैपर्छ । प्रविधि सधैँ टिकिरहँदैन । अडियो क्यासेटबाट सिडी, भिसिडी, पेनड्राइभ हुँदै आज मोबाइलसम्म आइपुगेका छौँ । तर जुनसुकै माध्यम आए पनि त्यसको अनधिकृत प्रयोग गर्नु गलत हो ।
एआईको अन्धाधुन्ध प्रयोगले नेपालीपन र मौलिकतामा गम्भीर असर पारिरहेको छ । सारंगी, मादल, बाँसुरी, सहनाइ जस्ता लोकबाजाहरू बजाएर जीविकोपार्जन गर्ने कलाकारहरू संकटमा परेका छन् । सबै बाजा कम्प्युटरबाटै बज्न थालेपछि अब कसले सिक्ने ? वास्तविक बाजाको मिठास एआईबाट बनेको संगीतमा हुँदैन । एआईले संगीतकर्मीको घाँटी निमोठ्ने काम गरिरहेको अनुभूति धेरै कलाकारलाई हुन थालेको छ ।
गाउन नसक्ने व्यक्तिले एआई प्रयोग गरेर गायक बनेर हिँड्ने अवस्था आएको छ । न मेहनत, न संघर्ष । एआईबाट गीत निकाल्न सकिएला, तर मञ्चमा उभिएर गाउने सामर्थ्य हुँदैन । गीतको स्वाद, मिठास र आत्मा हराउँदै जान्छ ।
आफ्नै स्वर र आफ्नै सिर्जनाभित्र रहेर एर्आइको प्रयोग गर्न सकिन्छ, व्यावसायिक रूपमा पनि । तर अरु अधिकारवाला सर्जकको सम्पत्तिबाट नाजायज फाइदा उठाउने काम गर्न पाइँदैन ।
शुरुमा नयाँपनका कारण एआईबाट बनेका गीत चर्चामा आउन सक्छन्, तर दीर्घकालीन रूपमा यसले आफ्नै खुट्टामा बञ्चरो हानेको महसुस गराउन सक्छ । जे–जे प्रविधि आए पनि त्यसको सदुपयोग गर्नुपर्छ । तर संगीतका कक्षा लिन, स्वर अभ्यास गर्न र गुनगुनाउन छोड्न हुँदैन । मौलिकता हरायो भने सबै कुरा हराउँछ ।
लोकबाजाको प्रयोग गरौँ, मौलिक बाजाका कलाकारलाई सम्मान गरौँ र बाँच्ने अधिकारबाट बञ्चित नगरौँ । सफल कलाकार मेहेनतबाट बन्छ । सिकेपछि मात्र निखारता आउँछ । एआई सहायक हुन सक्छ, प्रतिस्थापन होइन ।
(वरिष्ठ लोकगायक पुरुषोत्तम न्यौपानेसँग महेश ज्ञवालीले गरेको कुराकानीमा आधारित ।)
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
न्यौपाने वरिष्ठ लोकगायक हुनुहुन्छ ।