आजदेखि माैसमी गतिविधि बढ्ने, प्रदूषणकाे अवस्था क्रमिकरूपमा सुधार हुने सम्भावना

 फागुन २८, २०८२ बिहीबार ८:३३:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – जल तथा मौसम विज्ञान विभागले आजदेखि मौसमी गतिविधि बढ्ने जनाएको छ । विभागको मौसम पूर्वानुमान महाशाखाले विशेष मौसम बुलेटिन निकालेर आजदेखि वायुमण्डलमा मौसमी गतिविधि बढ्दै जाने देखिएको तथा देशका केही ठाउँमा क्षणिक वर्षाको सम्भावना पनि देखिएकाले अहिलेकाे प्रदूषणको अवस्थामा क्रमिकरूपमा सुधार हुने सम्भावना रहेको जनाएको हो ।

नेपालको उपल्लो वायुमण्डलमा उच्च चापीय मौसम प्रणाली स्थिर रही पश्चिमी न्यून चापीय प्रणाली सक्रिय हुन नसकेको तथा वायुमण्डलको तल्लो तहमा न्यून चापीय गतिविधि बढ्न नसकेको कारणले पर्याप्त वर्षा हुन नसकी प्रदूषण वायुमण्डलको तल्लो तहमै सञ्चित रहँदा केही दिनदेखि देशका धेरै भू–भागमा तुवाँलो देखिएको महाशाखाले जनाएको छ ।

पछिल्ला दिनमा काठमाण्डौसहित देशका धेरै ठाउँमा प्रदूषण अस्वस्थकर तहमा पुगेको छ । वायुको गुणस्तर मापन गर्ने ‘आईक्यू एअर’ का अनुसार काठमाण्डौको वायु गुणस्तर सूचकाङ्क अर्थात् एक्यूआई १५० भन्दा माथि छ । वायु गुणस्तर सूचकाङ्क अनुसार एक्यूआई ५० सम्म हुँदा राम्रो, ५१–१०० हुँदा मध्यम, १०१–१५० हुँदा संवेदनशील समूहका लागि अस्वस्थ, १५१–२०० हुँदा अस्वस्थ, २०१–३०० निकै अस्वस्थ मानिन्छ । ३०१ भन्दा माथि भएमा खतरनाक तहमा पुगेको सङ्केत गर्दछ ।

केही दिनदेखि प्रदूषण अस्वस्थ अवस्थामा पुगेपछि सरकारले सकेसम्म घरभित्रै बस्न र बाहिर निस्किँदा मास्क लगाउन आग्रह गरेको छ ।

यसैबीच आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भागका केही ठाउँहरू, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भाग तथा मधेश प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८३

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया