सुनको भाउ आज एकैदिन तोलामा ४ हजार ४ सय रुपैयाँले बढ्यो
बैशाख २९, २०८३ मंगलबार
अहिले पेट्रोलियम पदार्थको मूल्यवृद्धिले विभिन्न क्षेत्रमा प्रभाव पारेको छ । विशेषगरी सार्वजनिक यातायातमा भाडा बढेको छ, ढुवानी खर्च पनि बढिरहेको छ । यसअघि पनि हडताल, नाकाबन्दी जस्ता कारणले इन्धन अभाव हुँदा यातायात क्षेत्रमा समस्या आएको अनुभवका आधारमा साझा यातायातले दीर्घकालीन समाधानबारे सोच्दै आएको छ ।
यही समस्यालाई ध्यानमा राख्दै २०८१ साल वैशाखमा साझा यातायातले डिजेलबाट चल्ने बसलाई पूर्णरूपमा विद्युतीय बस बनायो ।
साझाले प्रयोग गरेको गाडी झन्डै १४ वर्ष पुरानो हो । २ वर्ष पहिले एउटा स्पाइनल इन्जुरी रिह्याबिलिटेशन सेन्टरले गाडी सहयोग गर्याे । त्यसपछि गाडीलाई रूपान्तरण गर्ने काम शुरू भयो ।
साना गाडीमा केही अनुसन्धान भएको भए पनि ठूला बसलाई नेपालमा पहिलो पटक आफ्नै प्रविधि र प्राविधिक जनशक्तिको प्रयोग गरेर विद्युतीय गाडी (ईभी) मा रूपान्तरण गर्ने काम साझा यातायातले शुरू गर्याे ।
रूपान्तरणका क्रममा गाडीको चेसिस र इन्जिन परिवर्तन गरियो । त्यसपछि चीनबाट अन्तर्राष्ट्रिय सम्झौता प्रक्रियामार्फत ब्याट्री, कीट र अन्य उपकरणहरू ल्याइयो । दक्ष प्राविधिक जनशक्ति नेपालकै हुन् । यो प्रक्रिया निकै महँगो भयो ।
महँगो हुनुको मुख्य कारण नेपालमा कन्भर्जनसम्बन्धी नीति स्पष्ट नहुनु हो । २०७८ सालमै नेपाल सरकारले इन्धनबाट चल्ने गाडीलाई ईभीमा रूपान्तरण गर्न ‘कन्भर्जन पोलिसी’ ल्याएको थियो । तर नीति स्पष्ट थिएन । त्यसको कार्यविधि, मापदण्ड, कुन प्रकारका र कति वर्ष पुराना गाडी रूपान्तरण गर्न मिल्ने भन्ने विषय स्पष्ट थिएन ।
आवश्यक उपकरणहरू आयात गर्दा करको स्पष्ट मापदण्ड नभएकाले सामान झन्डै ६ महिनाभन्दा धेरै समयसम्म एअरपोर्टमै रोकियो । विभिन्न प्रयासपछि मात्र ती सामग्री साझाको कार्यालयसम्म आइपुग्यो ।
रूपान्तरण गरिएको गाडीमा ५६ किलोवाट/घण्टा क्षमताको ब्याट्री प्रयोग भएको छ । तर रूपान्तरणको लागत धेरै बढ्यो । विशेषगरी करकै कारण लागत झन्डै तीन गुणासम्म बढ्यो । त्यसमाथि एउटा मात्र गाडीका लागि उपकरण ल्याउँदा खर्च झन् बढी हुन्छ ।
समग्रमा नयाँ सामानका लागि ६५ लाख र डेन्टिङ पेन्टिङ र मर्मतका लागि थप १५ लाख गरेर झन्डै ८० लाख रुपैयाँ खर्च भयो ।
अहिले गाडी तयार भएर चल्ने अवस्थामा छ । तर मुख्य समस्या रुट परमिट र दर्ता (नम्बर प्लेट) को अभाव हो । यी कानूनी प्रक्रियाहरू पूरा नभएकाले गाडी अझै सञ्चालनमा आउन सकेको छैन ।
एउटा पुरानो गाडीको जीवनकाल सामान्यतया १४ देखि २० वर्षसम्म हुन्छ । यदि ५–६ वर्ष पुरानो गाडीलाई विद्युतीय प्रणालीमा रूपान्तरण गरियो भने त्यसले फेरि नयाँ जीवन पाउँछ ।
विशेषगरी ब्याट्रीको आयु कम्तीमा १० वर्षसम्म हुन्छ । यसले गाडीको सञ्चालन अवधि थप १० वर्ष बढाउँछ । साथै इन्धनमा हुने खर्चको तुलनामा सञ्चालन खर्च ३ देखि ४ गुणासम्म कम हुन्छ ।
एउटा विद्युतीय बसको मूल्य कम्तीमा पनि झन्डै १ कराेडदेखि डेढ कराेड रुपैयाँसम्म पर्छ जुन आकारअनुसार फरक हुन सक्छ ।
एउटा गाडी कन्भर्सन (डिजेलबाट विद्युतीय बनाउने) गर्दा झन्डै ५०–८० लाख रुपैयाँसम्म खर्च हुन सक्छ । यदि गाडी धेरै बिग्रेको छैन भने ४५–५० लाख रुपैयाँमै पनि कन्भर्सन सम्भव हुन सक्छ । यस हिसाबले एउटै नयाँ बस किन्नुभन्दा ३ वटा पुराना बसलाई कन्भर्ट गर्न सकिन्छ । त्यसैले यो काम असम्भव होइन, सम्भव छ ।
तर यसका लागि प्राविधिक जनशक्ति, सीप र प्रविधिको ज्ञान आवश्यक पर्छ । साझा यातायातसँग अहिले अनुभव र दक्षता बढ्दै गएको छ । अब यसलाई अझ विस्तार गर्न तालिम केन्द्र र कन्भर्सन वर्कशप स्थापना गर्न सकिन्छ ।
लागतका हिसाबले ठूलो संख्यामा गाडी ल्याउन सरकारको सहयोग आवश्यक हुन्छ । जस्तै—करमा छुट (सब्सिडी) वा बैंकिङ सुविधामा सहुलियत दिनुपर्ने हुन्छ । त्यसका लागि स्पष्ट नीति, कार्यविधि र योजना बनाउनुपर्छ—कुन गाडी कन्भर्ट गर्ने, कहिले र कसरी गर्ने भन्ने सबै कुरा निर्धारण गर्नुपर्छ ।
अहिले विश्वमा इन्धन संकटको सम्भावना देखिँदै गएको छ र नेपाल पनि विद्युत् उत्पादनतर्फ अघि बढिरहेको छ । त्यसैले अब विद्युतीय गाडीमा जानु आवश्यक छ । यसका लागि २ वटा मोडेल अपनाउन सकिन्छ एउटा हाइब्रिड मोडेल (डिजेल र इलेक्ट्रिक दुबैले चल्ने) र फुल ईभी मोडेल (पूर्ण रूपमा विद्युतीय) । नेपालमा सबै ठाउँमा चार्जिङ स्टेशन पर्याप्त छैनन्, शुरूमा हाइब्रिड उपयुक्त हुन्छ । बिस्तारै चार्जिङ पूर्वाधार विकास भएपछि पूर्ण विद्युतीय गाडीमा जान सकिन्छ ।
यसरी चरणबद्ध रूपमा पुराना इन्धन गाडीलाई विस्थापित गर्दै नयाँ विद्युतीय गाडीतर्फ जान सकिन्छ । यसका लागि सरकार, निजी क्षेत्र र सरोकारवालाहरूबीच सहकार्य आवश्यक हुन्छ र त्यसतर्फ काम शुरू भइसकेको छ ।
शुरूमा अनुभव नभएकाले एउटा गाडी रूपान्तरण गर्न झन्डै ५–६ महिना लाग्यो । तर अहिले प्रविधि, उपकरण र दक्ष जनशक्ति उपलब्ध भएमा कम समयमै गाडी रूपान्तरण गर्न सकिन्छ ।
इन्धन खर्चको हिसाबले हेर्दा विद्युतीय बस धेरै सस्तो पर्छ । सञ्चालन खर्च पनि निकै कम हुन्छ । तर मर्मत एउटा महत्त्वपूर्ण चुनौती हो । गाडी ल्याउँदा स्पेयर पार्ट्स कुन कम्पनीको हो, यहाँ उपलब्ध हुन्छ कि हुँदैन, मर्मत केन्द्र (डिपो) छ कि छैन भन्ने कुरा ध्यान दिन जरुरी हुन्छ ।
स्पेयर पार्ट्सकाे स्टक कसरी राख्ने, बजारमा त्यसको उपलब्धता कसरी सुनिश्चित गर्ने भन्ने विषयमा पनि स्पष्टता आएको छ । यी सबै कुरा राज्यको नीतिभित्र समेटिन आवश्यक छ ।
चार्जिङको कुरा गर्दा पनि फरक–फरक दर छन् । अफ–पिक समयमा चार्ज गर्दा प्रतियुनिट ३ रुपैयाँ ४० पैसा लाग्छ भने पिक समयमा झन्डै ९ रुपैयाँसम्म पर्छ । त्यसैले पर्याप्त ठाउँ र सही समय व्यवस्थापन पनि आवश्यक हुन्छ ।
यस क्षेत्रमा धेरै सूचक र पक्षहरू जोडिएका छन् । एउटै कारणले मात्र यसलाई सञ्चालन गर्न सकिँदैन । सबै पक्षको गहिरो अध्ययन र विश्लेषण गरेर नीति बने प्रभावकारी हुन्छ ।
अनुभवलाई आधार बनाएर नीति तयार गरिएमा अरूले फेरि शुरूदेखि संघर्ष गर्नु पर्दैन । यसमा जोखिम र अवसर दुवै छन् । तर राम्रो तयारी र स्पष्ट योजना भएमा पछाडि फर्कनुपर्ने अवस्था आउँदैन ।
यसरी भविष्यमा केही वर्षभित्रै नेपालमा पूर्णरूपमा वातावरणमैत्री, प्रयोगकर्तामैत्री विद्युतीय बस सञ्चालन गर्न सकिने सम्भावना छ ।
अहिले गाडी सञ्चालन गर्न नीतिगत स्पष्टता आवश्यक हुन्छ । त्यो प्रष्ट भएपछि मात्र गाडी पूर्णरूपमा सडकमा ल्याउन सकिनछ । अहिले रुट परमिट लगायतका केही प्रक्रिया बाँकी छन् जसले सञ्चालनमा ढिलाइ भइरहेको छ । यदि यी सबै प्रक्रिया सहज बने गाडी तुरुन्तै चलाउन सकिन्छ । सरकारले विद्युतीय रूपान्तरणको घोषणा गरेपछि आन्तरिक रूपमा पनि त्यसको तयारी शुरू भइसकेको छ । तर ठ्याक्कै कहिलेदेखि सञ्चालन हुन्छ भन्ने कुरा अहिले भन्न सकिँदैन ।
गाडीको कार्यक्षमता ब्याट्रीको क्षमता, गाडीको तौल र बनावटमा भर पर्छ । अहिले ५६ किलोवाट–घण्टाको ब्याट्रीले झन्डै १०० किलोमिटर रेन्ज दिन्छ जुन पर्याप्त मानिँदैन । अहिले साना गाडीहरूले पनि २०० देखि ३०० किलोमिटर रेन्ज दिन थालेका छन् ।
यदि ब्याट्री क्षमता बढाएर १०० किलोवाट–घण्टा पुर्याइयो भने २०० किलोमिटर वा त्योभन्दा धेरै रेन्ज पाउन सकिन्छ । तर यो गाडीको आकार, सिट संख्या, तौल र प्रयोग गरिएको प्रविधिमा निर्भर हुन्छ ।
त्यसैगरी प्रयोग हुने कम्पनी र ब्रान्डको गुणस्तर पनि महत्त्वपूर्ण हुन्छ । राम्रो गुणस्तरको सामग्री प्रयोग गरियो भने लामो समय टिक्छ, नत्र छिट्टै बिग्रन सक्छ ।
त्यसैले गाडी रूपान्तरण गर्दा सबै प्राविधिक पक्षहरू विश्लेषण गरेर मात्रै काम गर्नुपर्छ । त्यसो गर्दा १०० किलोमिटरको रेन्जलाई २००–२५० किलोमिटरसम्म पुर्याउन सकिन्छ । लागत र क्षमताको कुरा गाडीको आकार र गुणस्तरमा निर्भर हुन्छ ।
अहिलेसम्म एउटा मात्रै डिजेल बसलाई विद्युतीयमा रूपान्तरण गरिएको छ । अब थप बसहरू रूपान्तरण गर्ने योजना रहेको छ ।
चालक र परिचालकका लागि भने केही तालिम आवश्यक पर्छ । उदाहरणका लागि हाइड्रोलिक ब्रेक र म्यानुअल ब्रेक चलाउँदा फरक अनुभव हुन्छ । त्यसैगरी विद्युतीय गाडी चलाउन शुरूमा अलि फरक लाग्न सक्छ तर तालिम पाएपछि सजिलो हुन्छ । जोखिम र चुनौती त सबै गाडीमा हुन्छन्, त्यसैले यो ठूलो समस्या होइन ।
अहिले विद्युतीय साना गाडीहरू चलिरहेका छन् र बस पनि उकालोमा सहजै चल्न सक्छ । तर त्यसका लागि ‘ग्राउन्ड क्लियरेन्स’ राम्रो हुनुपर्छ । साथै सडकको अवस्थाअनुसार गाडीको ‘स्पेसिफिकेशन’ मिलाउनुपर्छ । नेपालको भूगोल र बाटोअनुसार गाडी छनोट गर्नुपर्छ ।
(साझा यातायातका प्रमुख कार्यकारी अधिकृत भूपेन्द्र अर्यालसँग महेश ज्ञवालीले गरेकाे कुराकानीमा आधारित)
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
अर्याल साझा यातायातका प्रमुख कार्यकारी अधिकृत हुनुहुन्छ ।