पर्यटक बोकेर स्थलमार्ग हुँदै नेपाल भित्रिने गाडी अब अनलाइनबाटै दर्ता गर्न सकिने

 वैशाख २३, २०८३ बुधबार ७:४६:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सरकारले भारतीय पर्यटक तथा भारत हुँदै तेस्रो देशबाट नेपाल भित्रिने पर्यटकलाई सहजीकरण गर्न अनलाइन सेवा शुरु गरेको छ । 

अर्थ मन्त्रालय अन्तर्गतको भन्सार विभागले स्थलमार्ग भएर नेपाल भित्रिने पर्यटकवाहक गाडीले अनलाइनबाटै विवरण भर्न र राजश्व तिर्न सक्ने प्रणाली विकास गरेर सञ्चालनमा ल्याएको हो । भन्सार विभागले सञ्चालन गरेको प्रणालीको हिजो मंगलबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले शुभारम्भ गर्नुभयो । 

नयाँ प्रणाली सञ्चालनमा आएसँगै अब नेपाल भित्रिने भारतीय पर्यटक तथा तेस्रो देशका पर्यटकले अनलाइनबाटै आफ्नो विवरण र राजश्व तिर्न सक्ने भएका छन् । यसअघि भन्सार नाकामा आएर यस्ता गाडीले भौतिक रूपमा अस्थायी इजाजत लिनुपर्ने व्यवस्था थियो । 

साथै, नेपाल यात्राकै क्रममा यात्रा अवधि सकिए नवीकरणका लागि भन्सार नाकामै पुग्नुपर्ने वा जरिवाना तिर्नुपर्ने बाध्यता थियो । तर, नयाँ अनलाइन प्रणाली शुरु भएसँगै अब नेपाल भित्रिने पर्यटकले आफ्नो साधनको इजाजत पत्र घरैबाट अनलाइनमार्फत भरेर अनलाइनबाटै पैसा तिरेर बिना झन्झट नेपाल घुम्न आउन सक्छन् । 

अर्थमन्त्री डा.वाग्लेले सीमा क्षेत्रमा पर्यटकले पाउने सास्ती अब हट्ने बताउनुभयो । भन्सार विभागका महानिर्देशक श्यामप्रसाद मैनालीले नेपाल भित्रिने पर्यटक बोकेका विदेशी गाडीको इजाजत अब डिजिटल भएको बताउनुभयो । नेपाल सरकारलाई तिर्नुपर्ने राजश्व पनि त्यस्ता पर्यटकवाहक गाडीले अनलाइनबाट वा बैङ्क काउन्टरबाट तिर्न सक्छन् । 

अनलाइनबाट पैसा तिरेका गाडीले भन्सारमा आफ्नो इमेलमा प्राप्त क्युआर कोड देखाएरै नेपाल छिर्न सक्ने महानिर्देशक मैनालीले बताउनुभयो । प्राप्त क्युआर नै बोकेर पर्यटकवाहक गाडी आफ्नो गन्तव्यमा पुग्न सक्ने भन्सार विभागले जनाएको छ । आफ्नो यात्रा अवधि सकिएको खण्डमा पनि नेपालस्थित ठेगानाबाट अनलाइनमार्फत नै यात्रा अवधि थप गर्न सक्नेछन् । 

यो सबै सेवा लिनका लागि भन्सार विभागको वेबसाइटमा गएर हाम्रा सेवाहरू शीर्षकमा रहेको टीआईभी शीर्षकमा क्लिक गर्नुपर्छ र त्यसबाट भित्र रहेको विवरण अनलाइनबाट भर्न सकिन्छ । सबै विवरण अद्यावधिक गरिसकेपछि अन्तिममा ग्राहकलाई विवरण सबै खुल्ने क्युआर कोड प्राप्त हुन्छ । त्यसैका आधारमा आफूले तिर्न पर्ने शुल्क तिरेर ती गाडी नेपाल भित्रिन सक्छन् । 

विभागका अनुसार राष्ट्रिय एकद्धार प्रणालीमार्फत नेपाल भित्रिने विदेशी नागरिकलाई सहजता प्रदान गर्न अस्थायी सवारी आयात (टीआईभी) मोड्युल विकास गरिएको हो । तत्कालका लागि यो सेवा नेपाल भित्रिने भारतीय तथा तेस्रो देशका पर्यटकले प्रयोग गर्ने साधनका लागि लागू गरिएको भन्सार विभागले जनाएको छ । 

चिनियाँ नाका भएर स्थल मार्गबाट चिनियाँ गाडीसहित पर्यटक आउने नगरेको र आएको खण्डमा उनीहरूको हकमा पनि यो सेवा रहेको विभागले जनाएको छ । तत्कालका लागि यो सेवाबाट भारत र बङ्गलादेशका पर्यटक लाभान्वित हुने विश्वास छ ।

अन्तिम अपडेट: बैशाख २९, २०८३

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया