राष्ट्रिय खुला महिला बास्केटबल असार पहिलो हप्तादेखि
जेठ २९, २०८३ शुक्रबार
सूचना प्रविधिको तीव्र विकासले हाम्रो दैनिक जीवन र बैंकिङ कारोबारलाई हातको औँलामा सीमित गरिदिएको छ, तर यही सहजतासँगै डिजिटल ठगीको एउटा डरलाग्दो छायाँ पनि भित्रिएको छ ।
पछिल्लो समय नेपालमा डिजिटल माध्यमको दुरुपयोग गरी हुने आपराधिक गतिविधि बढेको छ जसलाई पछिल्ला तथ्याङ्कले पनि पुष्टि गर्छ । चालू आर्थिक वर्षको झन्डै ९ महिनाको अवधिमा मात्रै ५ हजार ४३३ वटा विद्युतीय माध्यम सम्बद्ध ठगी वा साइबर अपराधका उजुरी दर्ता हुनुले यो समस्या विगतका वर्षहरूभन्दा निकै चुनौतीपूर्ण बनेको प्रष्ट पार्छ । विशेषगरी डिजिटल सचेतनाको कमी र अपराधको फेरिँदो शैलीका कारण धेरै नागरिकले आफ्नो वर्षाैँकाे कमाइ एकै निमेषमा गुमाउनु परिरहेको छ ।
अहिलेको समयमा सबैभन्दा ठूलो समस्याका रूपमा ’कनेक्ट आइपीएस’ सँग मिल्दोजुल्दो नाम प्रयोग गरी पठाइने ’फिसिङ लिङ्क’ हरू देखा परेका छन् । पछिल्लो केही हप्तादेखि ठगहरूले ठूलो सङ्ख्यामा मानिसहरूलाई म्यासेज पठाएर ‘तपाईंको अकाउन्ट लक गरिएको छ’ भन्ने भ्रम सिर्जना गर्ने र लिङ्कमा क्लिक गर्न लगाउने प्रवृत्ति बढेको छ । जब कुनै प्रयोगकर्ताले त्यस्ता शङ्कास्पद लिङ्कमा क्लिक गर्छ, ती ठगहरूले व्यक्तिको खातामा पहुँच पुर्याउँछन् र खातामा भएको सबै रकम विभिन्न अन्य खाताहरूमा तुरुन्तै ट्रान्सफर गर्छन् । अनुसन्धानलाई थप जटिल बनाउन उनीहरूले प्रयोगकर्ताको खाताको रकमलाई एउटै खातामा नराखी धेरै बैंकका विभिन्न खाताहरूमा टुक्रा–टुक्रा पारेर पठाउने गर्छन् जसले गर्दा पैसा ट्र्याक गर्न र दोषी पत्ता लगाउन प्रहरीलाई समेत निकै समय र मेहनत लाग्ने गर्छ ।
ठगीका शैलीहरू केवल ‘फिसिङ लिङ्क’ मा मात्र सीमित छैनन् । ठगहरूले बैंक वा डिजिटल वालेटका कर्मचारी बनेर केवाईसी अपडेट गर्ने बहानामा व्यक्तिगत विवरण र ओटीपी माग्ने, चिठ्ठा परेको वा बहुमूल्य उपहार आएको प्रलोभन देखाएर भन्सार शुल्कका नाममा रकम असुल्ने जस्ता शैलीहरू अझै अपनाइरहेका छन् । त्यस्तै वैदेशिक रोजगारीको झुटा आश्वासन दिने, अनलाइन शपिङका नक्कली विज्ञापन राखेर पैसा लिएपछि ब्लक गर्ने र कोठा खोजिदिने बहानामा एडभान्स पेमेन्ट मागेर ठग्ने प्रवृत्ति पनि उत्तिकै व्याप्त छ । कतिपय अवस्थामा त ‘स्क्रिन शेयर’ गर्न लगाएर वा ट्रान्जेक्सन डिटेल मागेर पीडितको खातामा कति मौज्दात छ भनी हेर्ने र त्यसैअनुसार रणनीति बनाएर खाता रित्याउने गरेको समेत पाइएको छ ।
यस्तो डिजिटल पासोबाट बच्नका लागि प्रयोगकर्ता आफैँ सचेत हुनुको विकल्प छैन । यदि कुनै कारणवश शङ्कास्पद लिङ्कमा क्लिक भइहालेमा वा झुक्किएर ओटीपी शेयर गरिएमा तत्काल सम्बन्धित बैंकलाई जानकारी गराएर खाता होल्ड गर्न लगाउनु पर्छ । साथै प्रहरीको साइबर ब्युरो वा नजिकैको प्रहरी कार्यालयमा तुरुन्तै खबर गरेर पनि बैंक खाता रोक्का गरी रकम सुरक्षित राख्ने प्रयास गर्न सकिन्छ ।
यस्ता ठगी कार्यमा संलग्नहरूलाई विद्युतीय अपराध ऐन अन्तर्गत साइबर ठगीको कसुरमा कडा कानूनी कारबाही हुने व्यवस्था छ, तर पनि अपराधीहरूले प्रविधिको छिद्र प्रयोग गरेर नयाँ–नयाँ शैली अपनाइरहेका हुन्छन् ।
डिजिटल माध्यमलाई सुरक्षित बनाउन प्रयोगकर्ताले केही आधारभूत सुरक्षा उपायहरूलाई आफ्नो संस्कारकै रूपमा विकास गर्नुपर्छ । इमेल र बैंकिङ एपहरूमा अनुमान गर्न नसकिने बलियो पासवर्ड राख्ने र अनिवार्य रूपमा ‘टु फ्याक्टर अथेन्टिकेशन’ सक्रिय गर्ने बानीले सुरक्षाको एउटा बलियो घेरा निर्माण गर्छ । आफ्ना व्यक्तिगत विवरण, पिन नम्बर र ओटीपी कसैसँग पनि कहिल्यै शेयर गर्नु हुँदैन । त्यस्तै अपरिचित व्यक्तिबाट आउने ह्वाट्सएप कलहरूले ब्ल्याकमेलिङ र ठगीको जोखिम निम्त्याउने हुँदा त्यस्ता कलहरूलाई बेवास्ता गर्नु नै बुद्धिमानी हुन्छ । अनलाइन शपिङ गर्दा आधिकारिकता जाँच गर्ने र सकेसम्म सामान हात परेपछि मात्र पैसा तिर्ने पद्धति अपनाउनुपर्छ ।
कुनै पनि लोभलाग्दो अफर वा सजिलै पैसा कमाउने प्रलोभनमा नपर्नु र आधिकारिक निकायहरूले जारी गरेका सचेतनामूलक सन्देशहरूलाई आत्मसात गर्नु नै डिजिटल ठगीबाट जोगिने अचुक मन्त्र हो ।
(साइबर ब्युरोका प्रवक्ता एवम् प्रहरी उपरीक्षक दिलीपकुमार गिरीसँगको कुराकानीमा आधारित)
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
गिरी साइबर ब्युराेका प्रवक्ता हुनुहुन्छ ।