लिग–२ क्रिकेट : नेपाल स्कटल्यान्डसँग २ रनले पराजित

 वैशाख २९, २०८३ मंगलबार १८:१०:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : क्यान

काठमाण्डाै – आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग डीएलएस नियमका आधारमा २ रनले पराजित भएको छ ।

वर्षाका कारण प्रभावित भएको खेलमा नेपालले ३९ ओभरमा २२१ रनको लक्ष्य पाएको थियो । नेपालले निर्धारित ओभरमा ७ विकेट गुमाएर २१८ रनमात्र बनाउन सक्यो । नेपालका गुल्शन झाले नटआउट ६१, दीपेन्द्रसिंह ऐरीले ५५ रन बनाए । स्कटल्यान्डका ब्राड करीले ३ विकेट लिए ।

यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट रङ्गशालामा टस जितेर ब्याटिङ गरेको स्कटल्यान्डले ५० ओभरमा ८ विकेट गुमाएर २४३ रन बनाएको थियो । स्कटल्यान्डका जर्ज मुन्सेले ७५ रन बनाए । नेपालका सन्दीप लामिछानेले ४ तथा करण केसी र नन्दन यादवले २/२ विकेट लिए ।

यो जीतसँगै स्कटल्यान्डले २९ खेलमा ३६ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । नेपाल २५ खेलमा १८ अङ्कसहित सातौँ स्थानमा छ ।

आजदेखि शुरू भएको लिग–२ शृङ्खलामा नेपाल, स्कटल्यान्ड र अमेरिका सहभागी छन् । नेपालले दोस्रो खेलमा जेठ २ गते अमेरिकासँग, तेस्रो खेलमा जेठ ४ गते फेरि स्कटल्यान्डसँग र चौथो खेलमा जेठ ८ मा अमेरिकासँग फेरि खेल्नेछ ।

यसअघि नेपालले घरेलु मैदानमै ओमान र संयुक्त अरब इमिरेट्स (यूएई) सँग लिग–२ शृङ्खला खेलेको थियो । यो शृङ्खलामा नेपालले ४ मध्ये ३ खेल जितेको थियो ।

यसबीचमा नेपालको ‘ए’ टोलीले अमेरिका र स्कटल्यान्डसँग २/२ वटा अभ्यास खेल खेलेकोमा सबै जितेको थियो ।

अन्तिम अपडेट: जेठ २७, २०८३

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया