अब नेपालमै विद्यार्थीले अन्तर्राष्ट्रिय स्तरको साइबर सुरक्षा, एआई र डेटा साइन्सका पाठ्यक्रम पढ्न पाउने

 जेठ २, २०८३ शनिबार १७:१५:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपालको सूचना प्रविधि अर्थात् आईटी क्षेत्रमा दक्ष जनशक्तिको अभावलाई सम्बोधन गर्दै टेकपाइला इनोभेसनले विश्वविख्यात एनसीसी एजुकेशन यूकेसँग रणनीतिक साझेदारीको घोषणा गरेको छ । याे साझेदारी भएसँगै अब कक्षा ११ र १२ का नेपाली विद्यार्थीहरूले आफ्नै विद्यालयमा अन्तर्राष्ट्रिय स्तरको साइबर सुरक्षा, एआई र डेटा साइन्सका पाठ्यक्रम पढ्न पाउनेछन् ।

टेकपाइलाले विद्यालय र कलेजहरूका लागि कुनै थप वित्तीय भार नपर्ने गरी शुन्य लागतमा यो कार्यक्रम ल्याएको हो । कम्पनीले नै दक्ष प्रशिक्षक र अत्याधुनिक सिकाई व्यवस्थापन प्रणाली उपलब्ध गराउनेछ । जसले गर्दा बजेट वा पूर्वाधारको अभावमा कुनै पनि नेपाली विद्यार्थी आधुनिक प्रविधि शिक्षाबाट वञ्चित हुनुपर्ने छैन ।

काठमाण्डौमा आयोजित कार्यक्रममा टेकपाइला इनोभेसनका एसोसिएट डाइरेक्टर एवम् प्रविधि विज्ञ चिरञ्जीवी अधिकारीले ‘डिजिटल नेपालको जगः सीपमा आधारित शिक्षा र वैश्विक प्रतिस्पर्धा’ विषयमा प्रस्तुतीकरण गर्दै उहाँले नेपालको आईटी क्षेत्र वार्षिक रूपमा २० देखि २५ प्रतिशतले वृद्धि भइरहे पनि ७० प्रतिशत कम्पनीहरूले दक्ष जनशक्ति नपाएको तथ्याङ्क प्रस्तुत गर्नुभयो ।

नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले आईटी र एआई शिक्षालाई सरकारले पनि प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो । उहाँले विगत तीन वर्षभित्रमा नेपालको आईटी र एआई सर्भिस व्यवसाय दोब्बर भएको समेत बताउनुभयो । सन् २०२३ मा ७० अर्ब रुपैयाँ बराबरको रहेको यो क्षेत्र अहिले १ सय ४० अर्ब पुगेको निवतर्मान अध्यक्ष मल्ले जानकारी दिनुभयो ।

नेपाल टेलिकमका निर्देशक डा. शालिग्राम पराजुलीले राज्यले नीति, पूर्वाधार र मानव संसाधन विकासलाई समानान्तर रूपमा लैजानुपर्ने बताउनुभयो । नयाँ पुस्ताको मुख्य माग रोजगारी, सुशासन र समृद्धि भएकाले ती सबै लक्ष्यलाई आईटी र एआई टूल्स मार्फत छिटो सम्बोधन गर्न सकिने उहाँको भनाइ छ ।

हिसानका महासचिव रामहरि सिलवालले टेकपाइला इनोभेसनको यो महाअभियान भएकाले युवाहरूलाई प्रविधिको उपभोक्ता मात्र नभइ सिर्जनकर्ता बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गुर्नभयो ।

डीजी ग्रुपका अध्यक्ष विज्ञान श्रेष्ठले विश्वस्तरीय आईटी सेवा तथा उत्पादनहरू विकास गरेर नेपाली प्रविधिलाई विश्वमा पुर्‍याउन महत्त्वपूर्ण जग बसालेको बताउनुभयो । 

अन्तिम अपडेट: जेठ २९, २०८३

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया