राष्ट्रिय खुला महिला बास्केटबल असार पहिलो हप्तादेखि
जेठ २९, २०८३ शुक्रबार
नेपालमा उच्च शिक्षा पूरा गरेपछि धेरै युवाको पहिलो चिन्ता हुन्छ– अब के गर्ने ? कोही वैदेशिक अध्ययन वा रोजगारीतर्फ जान चाहन्छन्, कोही सरकारी वा निजी क्षेत्रमा जागिर खोज्छन्, कोही आफ्नै उद्यम शुरू गर्न चाहन्छन् भने केहीले पारिवारिक पेशालाई निरन्तरता दिन खोजिरहेका हुन्छन् । तर धेरै विद्यार्थीमा आफ्नो रुचि, सीप र अवसरबारे स्पष्ट मार्गनिर्देशनको अभाव देखिन्छ । यही अवस्थामा पछिल्लो समय केही क्याम्पस तथा विश्वविद्यालयले पढाइसँगै रोजगारी र सीप विकासलाई जोड्ने अभ्यास शुरू गरेका छन् जसलाई सकारात्मक र समयानुकूल प्रयासका रूपमा हेरिएको छ ।
केही शैक्षिक संस्थाले विद्यार्थीलाई कक्षा कोठाभित्रको सैद्धान्तिक ज्ञानमा मात्र सीमित नराखी इन्टर्नशिप, अनुसन्धान, परियोजना तथा विभिन्न सङ्घ–संस्थासँगको सहकार्यमार्फत काम गर्ने अवसर दिन थालेका छन् । विद्यार्थीले पढ्दै गर्दा नै अनुसन्धान, तथ्याङ्क सङ्कलन, विश्लेषण, प्रशासनिक सहयोग वा अन्य व्यावसायिक अनुभव हासिल गर्न पाउँदा उनीहरूमा आत्मविश्वास बढ्ने र भविष्यको रोजगारीका लागि आवश्यक आधार तयार हुने विश्वास गरिएको छ । विशेषगरी विश्वविद्यालयहरूले अनुसन्धानमूलक परियोजनालाई विस्तार गर्न सके विद्यार्थीलाई पढ्दापढ्दै नै काम र आम्दानी दुवैको अवसर उपलब्ध गराउन सक्ने सम्भावना देखिन्छ ।
नेपालका धेरै विश्वविद्यालय अझै पनि पुरानै शिक्षण पद्धतिमै केन्द्रित छन् । पढ्ने, परीक्षा दिने र डिग्री हासिल गर्ने प्रक्रियामै विद्यार्थी सीमित भइरहेका छन् । जबकि विश्वविद्यालय ज्ञान उत्पादन र अनुसन्धानमा आधारित संस्था हुनुपर्ने मान्यता छ । यदि विश्वविद्यालयले अनुसन्धान परियोजना ल्याउने, काेष जुटाउने र उद्योग तथा संस्थासँग सहकार्य गर्ने अभ्यास बढाउन सके विद्यार्थीलाई त्यही परियोजनामा सहभागी गराएर व्यावहारिक अनुभव दिन सकिन्छ । यसले विद्यार्थीलाई बजारसँग जोड्ने, कामको संस्कृतिबारे बुझाउने र पेशागत सम्बन्ध विस्तार गर्न मद्दत पुग्छ ।
यद्यपि शैक्षिक संस्था आफैँ रोजगारी दिने केन्द्र भने होइनन् । उनीहरूको मुख्य भूमिका सहजीकरण गर्ने हो । त्यसका लागि विश्वविद्यालय तथा कलेजहरूले ‘करियर डेभलपमेन्ट सेल’ वा ‘प्लेसमेन्ट सेल’ स्थापना गरेर विद्यार्थीलाई करियर परामर्श, सीभी लेखन, अन्तर्वार्ता तयारी, रोजगारी खोज्ने तरिका, इन्टर्नशिप तथा सीप विकाससम्बन्धी जानकारी दिन सक्छन् । निजी क्षेत्र, बैंक, आईटी कम्पनी, गैरसरकारी संस्था, स्थानीय सरकार तथा उद्योगसँग सहकार्य गरेर विद्यार्थीलाई अवसरसँग जोड्न सकिन्छ ।
यस्ता साझेदारीले विद्यार्थीलाई आफ्नो रुचिअनुसारको क्षेत्रमा प्रवेश गर्न सहज बनाउँछ । सीप विकासलाई अहिलेको शिक्षाको सबैभन्दा महत्त्वपूर्ण पक्ष मानिएको छ । नेपालमा शिक्षा अझै धेरै सैद्धान्तिक भएकाले विद्यार्थीमा व्यावसायिक तथा व्यावहारिक सीपको कमी देखिन्छ । त्यसैले विद्यार्थीले डिग्रीसँगै आफ्नो रुचिअनुसारको कुनै न कुनै सीप सिक्नुपर्ने आवश्यकता हुन्छ । कलेजहरूले सीप सिकाउने वातावरण तयार गर्न, सम्बन्धित विज्ञ र उद्यमीलाई विद्यार्थीसँग जोड्न तथा उद्यमशीलताको सम्भावनाबारे जानकारी दिन सक्छन् । यसले विद्यार्थीलाई रोजगारी मात्र होइन, आफ्नै उद्यम शुरू गर्न पनि प्रेरित गर्न सक्छ ।
विद्यार्थी विदेशिने मुख्य कारणमध्ये राम्रो अवसर, आम्दानी र पढ्दै कमाउँदै गर्न पाउने व्यवस्था पनि एक हो । विशेषगरी अस्ट्रेलियालगायत देशमा अध्ययनसँगै काम गर्न पाउने वातावरणले नेपाली विद्यार्थीलाई आकर्षित गरिरहेको छ । यही अवधारणालाई ध्यानमा राखेर नेपालमा पनि ‘पढ्दै कमाउँदै’ कार्यक्रमको चर्चा बढेको छ । सरकारको नीति तथा कार्यक्रममा समेत समेटिएको यो अवधारणा प्रभावकारी रूपमा कार्यान्वयन गर्न सकिए विद्यार्थीले पढाइसँगै अनुभव र आम्दानी दुवै हासिल गर्न सक्ने विश्वास गरिएको छ । यसले आर्थिक अभावका कारण पढाइ छोड्नुपर्ने अवस्था कम गर्नुका साथै युवालाई देशभित्रै अवसर खोज्न प्रोत्साहित गर्न सक्छ ।
तर यसको कार्यान्वयन भने चुनौतीपूर्ण देखिन्छ । यस्तो कार्यक्रम सञ्चालन गर्न दक्ष मानवस्रोत, आर्थिक लगानी, उद्योगसँग सहकार्य र प्रभावकारी व्यवस्थापन आवश्यक पर्छ । सबै क्षेत्रका सीप र अवसर एउटै संस्थाले उपलब्ध गराउन सम्भव हुँदैन । साथै अहिले धेरै युवामा ‘नेपालमा अवसर छैन’ भन्ने मानसिकता बलियो बन्दै गएको छ जसका कारण यहाँ भएका प्रयासप्रति पनि सहजै विश्वास नहुने अवस्था छ । त्यसैले विश्वास निर्माण, गुणस्तरीय अवसर सिर्जना र दीर्घकालीन योजना आवश्यक देखिन्छ ।
नेपालमै अवसर खोजिरहेका युवाले शुरूमै ठूलो आम्दानीको अपेक्षा गर्नु हुँदैन । करियरको शुरूआत सानो अनुभव, न्यून पारिश्रमिक वा स्वयंसेवी कामबाट पनि हुन सक्छ भन्ने मानसिकता आवश्यक छ । काम गर्दै सिक्ने, धैर्य राख्ने, सीप विकासमा ध्यान दिने र आफ्नो रुचिको क्षेत्रसँग जोडिने प्रयासले भविष्यमा राम्रो अवसर निर्माण गर्न सकिन्छ । डिग्री मात्र पर्याप्त नहुने भएकाले व्यावसायिक अनुभव, नेटवर्क र बजारअनुसारको सीप नै आजको मुख्य आवश्यकता बनेको छ ।
(शिक्षा तथा रोजगार विज्ञ चिरञ्जीवी बरालसँग महेश ज्ञवालीले गरेको कुराकानीमा आधारित)
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
बराल शिक्षा तथा रोजगार विज्ञ हुनुहुन्छ ।