राष्ट्रिय खुला महिला बास्केटबल असार पहिलो हप्तादेखि
जेठ २९, २०८३ शुक्रबार
एकादेशमा एउटा गाउँ थियो । गाउँमा धेरै मान्छे थिए । तिनीहरु बाइक चढ्थे । त्यही गाउँमा एउटा मान्छे थियो । उस्को नाम नेपाल थियो । नेपालको परिचय निकै पुरानो थियो । गाउँलेले उसलाई ‘साइकलवाला’ भनेर चिन्दथे । किनभने ऊ वर्षौंदेखि एउटै पुरानो साइकल चढेर हिँडिरहेको थियो । साइकल पनि कस्तो भने—घण्टी बजाउँदा ब्रेक लाग्ने, ब्रेक थिच्दा चेन खस्ने, चेन चढाउँदा पाङ्ग्राको हावा फुस्किने ।
तर नेपाललाई त्यो साइकलसँग अचम्मको मोह थियो । किनकि त्यही साइकलले उसलाई उकालो चढाएको थियो, त्यही साइकलले कहिले भोकै पेट बजार पुर्याएको थियो, त्यही साइकलले चुनावी भाषणमा विकासका सपना देखाएको थियो । सबैभन्दा ठूलो कुरा, विचरा नेपाल साइकलमा गुडिरहेको छ भनेर धनीहरुले दया गर्थे । कहिले साइकलमा हावा भर्ने पम्प दिन्थे, कहिले साइकल हिँड्ने गोरेटो खोस्रने पैसा दिन्थे, कहिले खानेकुरा र लत्ताकपडा बाँड्थे ।

एकदिन गाउँका टाठाबाठा मानिसहरू भेला भए । कसैले कोट लगाएका थिए, कसैले टाई ।
एकजनाले फाइल पल्टाउँदै भन्यो : नेपालजी, अब तपाईंको स्तर फेरिनुपर्छ ।
अर्कोले भन्यो : साइकल छोडेर बाइक चढ्ने बेला भयो त ।
नेपाल झसङ्ग भयो र साइकलतिर हेर्यो । साइकलले पनि उसको अनुहारतिर त्यस्तै निरीह आँखाले हेरेजस्तो लाग्यो ।
टाठाबाठा र धनीमानी गाउँलेले सम्झाउन थाले : हेर नेपाल, अहिले दुनियाँ कहाँ पुगिसक्यो । मान्छेहरू बिजुलीको कारमा गुडिरहेका छन् । तिमी अझै साइकलमै ?
नेपालले निधारको पसिना पुछ्दै भन्यो : रहर त मलाई पनि छ दाइ । तर बाइक भनेको फोटो खिचेर मात्रै चल्ने कुरा हैन नि !
अर्को गाउँलेले भन्यो : किन नसक्ने ? बैंकले लोन दिन्छ । नेताले उद्घाटन गर्छ । पत्रिकाले ठूला हेडलाइन बनाउँछ, ‘नेपाल अब बाइक युगमा प्रवेश !’
यो सुनेर नेपाल अलि गम्भीर भयो । उसले बाटोतिर हेर्यो । बाइक मात्रै भएर के गर्नु सडकको हालत खराब छ । कतै बाढीले पुल बगाएको छ, कतै पहिरो खसेको छ । महंगो पेट्रोल किन्नै गाह्रो । बिजुलीबाट चल्न पनि गाह्रो, भरपर्दो पनि भर छैन ।
सर्भिसिङ खर्च छुट्टै । बीच बाटोमा बिग्रियो भने धकेल्नुपर्ने पनि आफैंले । सबैभन्दा ठूलो कुरो पैसो खोइ ? साइकलमा घिसारिन त गाह्रो भैसक्यो, बाइकमा कसरी बत्तिने ?
तर गाउँका केही मानिसहरू भने अति उत्साही थिए । उनीहरूलाई बाइकभन्दा धेरै बाइकको नम्बर प्लेट मन परेको थियो ।
कसैले भन्यो : हामी पनि अब विकसित क्लबमा छिर्ने हो ।
अर्कोले भन्यो : साइकलवालालाई कसले गन्दछ र आजकल । बाइक लिएर विकसित क्लबमा छिर्ने हो भने पो विदेशी पाहुना आउँदा पनि इज्जत बढ्छ त ।
नेपाल चुप लागेर सुनिरह्यो । उसले साइकलमै हिंड्दाको फाइदा सम्झियो । न पेट्रोल हाल्नुपर्ने, न सर्भिसिङ गर्नुपर्ने । देख्नेहरुले विचरा भन्छन्, केही न केही दिन्छन् । बाइकमा हिंड्न थाल्यो भने त अरुले यो पनि हामी सरहकै भएछ भन्छन्, केही दिंदैनन्, उल्टो आँखा तर्छन् । त्यसपछि नेपालले बाइक चढ भन्नेहरुलाई चिठी लेख्यो ।
‘आदरणीय हजुरहरू, म बाइक चढ्न असक्षम होइन । तर अहिलेको अवस्थामा बाइक चढेँ भने मभन्दा किस्ता छिटो दौडिन्छ । मेरो बाटो अझै उकालो छ । घरको छाना चुहिरहेको छ । भित्तामा बाँसको टेको छ । आँगनमा हिलो छ । छोराछोरीको खुट्टामा अझै चप्पल छैन । त्यसैले मलाई अलि समय दिनुस् । कम्तिमा तीन वर्ष पर्खनुस् ।’
नेपाललाई बाइक चढाउन ठिक्क परेका मान्छेहरु चिठी पढेर अचम्ममा परे ।
उनीहरूले सोचे : अरे यो मान्छे कस्तो ? बाइक चढ्ने उमेर, मौका र छुट सबै पाइसक्यो । अलिकति मेहनत गरे बाइक कुदाउन सक्थ्यो । तर यसलाई साईकल चढेर ‘बिचरा’ सुन्न नै मनपर्दो रहेछ ।
अर्कोले थप्यो : ठीकै छ । चढ्दैन भने किन जबर्जस्ती गर्ने ? साइकलै चलाओस्, साइकलै रमाओस् ।
गाउँका बुढापाकाले साउती मारे : उसले पनि हिसाब त राम्रोसँगै गरेको छ नि । बाइक चढेपछि मान्छेले सोध्न थाल्छन् – अब कहिले चार पांग्रे कार चढ्छौ ? कुन कार चढ्छौ ? कतिको चढ्छौ ? अचेल कति कमाउँछौ ? कति कमाउने उद्देश्य राखेका छौ ? देशलाई के दियौ ? समाजलाई कहाँ पुर्यायौ ? तर साइकलमै रहुन्जेल त सजिलो छ । हरेक चुनावमा उभिएर फेरि भन्न पाइन्छ–हामीलाई पनि बाइक चढ्ने ठूलो रहर छ । यो पटक साथ दिनुस्, अर्कोपटक त बाइकमै उड्छौं ।
गाउँलेहरू फेरि हाँसे । उनीहरुले बुझे यो नेपाललाई बाइकभन्दा बाइक चढ्ने सपना सुरक्षित लाग्दो रहेछ । साइकलमा गुडिरहँदा उकालो देखाएर भाषण गर्न पाइन्छ, धुलो देखाएर सहानुभूति माग्न पाइन्छ, र ‘अब त बाइक चढ्ने बेला आयो’ भन्दै हरेक पटक नयाँ भोट बटुल्न पाइन्छ ।
त्यसैले नेपाल अझै साइकलमै छ, केही वर्ष साइकलमै रहनेछ । नेपालको साइकलमा पुरानै घण्टी बजिरहनेछ । चेन बेला–बेला खसिरहनेछ । तर भाषणमा बाइकको माइलेज बढिरहनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ।
