राष्ट्रिय खुला महिला बास्केटबल असार पहिलो हप्तादेखि
जेठ २९, २०८३ शुक्रबार
प्रिय श्रीमती, छोरा, बुहारी, नातिनातिना तथा घरका सबै करदाता सदस्यहरू,
हाम्रो घरको वार्षिक बजेट सार्वजनिक गर्नुअघि म यो बजेटको सिद्धान्त र आधार प्रष्ट पार्न चाहन्छु । घरेलु बजेटको एकमात्र सिद्धान्त, एकमात्र आधार र एकमात्र प्रेरणा स्रोत देशको बजेट हो भन्ने कुरा सबैले बुझ्नेगरी स्पष्ट पार्न चाहन्छु । देश चलाउन सरकारले जे गर्छ, नागरिकले पनि त्यसै गर्नुपर्छ ।
सबैभन्दा पहिले, यो घरका सबैलाई स्पष्ट जानकारी होस् कि हाम्रो घरको अर्थतन्त्र सुधारिएको छ । सुधारिएको छ भन्नुको अर्थ, पहिले जसरी बाँचिरहेका थियौँ, अब त्यसरी अब बाँच्न सकिँदैन भन्ने हो ।
सबैभन्दा पहिले बिजुलीको कुरा गरौँ ।
केही महिनाअघि मात्रै सरकारका मान्छेहरूले भने, ‘अब खाना पकाउनका लागि ग्यास छाडौँ, बिजुली प्रयोग गरौँ । देशमा विद्युत् उत्पादन बढेको छ । ग्यासभन्दा बिजुली सस्तो हुन्छ ।’
त्यही सुनेर मैले सहकारीबाट ऋण लिएँ । बिजुली चुल्हो किनेँ । गाउँमा गर्वका साथ घोषणा गरेँ, ‘अब म आधुनिक नागरिक भएँ ।’
तर अहिले थाहा भयो, आधुनिक हुनु भनेको त कर तिर्न योग्य हुनु पो रहेछ । धेरै बिजुली चलाउँदा कर लाग्ने भयो । त्यसैले अबदेखि घरमा बिजुली कम बालिनेछ । खाना पकाउँदा बिहान चिया उमालेर त्यही तातो पानी दिउँसो र बेलुका पनि प्रयोग गरिनेछ । पाक्न ढिलो हुने दाल तरकारी अबदेखि पकाइने छैन । भात पकाउँदै गर्दा त्यसको माड झिकेर त्यसमै गुन्द्रुकका दुई/चार त्यान्द्रा मोलेर काम चलाइनेछ । यदि कसैले राति बत्ती बालेर किताब पढेको भेटिएमा उसलाई राष्ट्रिय अर्थतन्त्रविरुद्धको गतिविधि गरेको मानिनेछ ।
अब शहर बस्ने छोराको विषयमा कुरा गरौँ । छोरो शहरमा बसेर सरकारी जागिरको तयारी गरिरहेको छ । वर्षाैँदेखि तयारी गरिरहेको छ । जागिर कहिले आउँछ, भगवानलाई पनि थाहा छैन । पहिले पेट्रोलको बाइक थियो । पेट्रोल महँगो भयो । पैसाको जोहो नहुञ्जेल राइड शेयरिङ गरेर काम चलाउँदै थियो । केही दिनअघि फोन गरेर भन्यो, ‘बा, ऋण गरेर भए पनि बिजुली बाइक किनौँ । सस्तो पर्छ ।’
मैले समर्थन गर्दै भनेँ, ‘बाबु, देशले बिजुली प्रयोग गर भनिरहेको छ, किन नकिन्ने त ?’
बजेट सुनेपछि छोराले फोन गरेर भन्यो, ‘बा, बाइक किन्ने योजना स्थगित गर्नुपर्ने भयो ।’
‘किन बाबु ?’
‘पहिले पेट्रोलले डस्यो, अब बिजुलीले पनि डस्ने भयो । त्यसमाथि राइड शेयरिङमा समेत ५ प्रतिशत कर भनेपछि भाडा महँगो हुने हुन्छ, अनि को चढ्छ र ? म आफैँ पनि कहिलेकाहीँ मोटरसाइकल बिग्रिँदा अर्काको मोटरसाइकलमा भाडा तिरेर जान्थेँ, अब महँगो हुने भएपछि नचढ्ने निर्णय गरिसकेँ ।’
छोराको कुरो सुनेपछि मैले आगामी वर्षदेखि हाम्रो घरको यातायात नीति परिवर्तन गरेको छु । छोरो शहरमा पैदल हिँड्नेछ । आवश्यक परे सवारीको सट्टा दौड प्रतियोगितामा भाग लिएर आम्दानी खोज्नेछ ।
अब नातिनातिनाको शिक्षातर्फ जाऔँ । शुरूमा उनीहरूलाई सरकारी विद्यालयमा पढाउने प्रयास गरिएकै हो, तर सरकारी स्कुल सुध्रिए भन्ने सुनियो, सुध्रेको र सुध्रिने लक्षण देखिएन । त्यसैले दुःख गरेर निजी विद्यालयमा भर्ना गरियो । बजेटले निजी स्कुलको शुल्क पनि बढाउने भयो । देशको बजेटका आधार टेकेर घरको नयाँ शिक्षा नीतिमा केही फेरबदल भएको छ– नाति सोमवार स्कुल जानेछ, नातिनी मङ्गलवार जानेछिन् । एकैदिन दुवै गए भने ज्ञान धेरै भएर घरको सन्तुलन बिग्रिन सक्छ । किताब किन्नुपर्ने अवस्था आयो भने एउटा किताब दुई जनाले आधा–आधा पढ्नेछन् । नपुगेमा गुगलमा फोटो हेरेर परीक्षा दिने व्यवस्था मिलाइनेछ ।
अब स्वास्थ्य क्षेत्रको कुरा गरौँ । हामी बुढाबुढी अब डाँडामाथिको घाम भैसक्यौँ । बेलाबेला घुँडा दुख्छ, ढाड दुख्छ, प्रेसर बढ्छ । सरकारी अस्पतालमा उपचार गर्न बिहान ५ बजे लाइन बस्यो, ९ बजे टिकट पाइन्छ । १२ बजे डाक्टर भेटिन्छन् । डाक्टरले बिरामीको अनुहारभन्दा घडी धेरै हेर्छन् । आफ्नो व्यथा भन्न नपाउँदै उनले अर्को बिरामी बोलाइसक्छन् । त्यसैले बाध्य भएर निजी अस्पताल जानुपर्छ । अब त त्यहाँ पनि थप कर लाग्ने भयो ।
त्यसैले आगामी वर्षदेखि हाम्रो घरको स्वास्थ्य नीति यस्तो हुनेछ—
सामान्य ज्वरो आएमा २ दिन पर्खिने
२ दिनपछि पनि निको नभए ३ दिन थप पर्खिने
त्यसपछि पनि निको नभए रोग आफैँ थाकेर जाने आशा गर्ने
यदि कसैलाई धेरै नै गाह्रो भयो भने अस्पताल लैजानुअघि परिवार बैठक बसेर ‘उपचार गर्ने कि आर्थिक अनुशासन कायम गर्ने’ भन्ने विषयमा छलफल गरिनेछ ।
अब खानपानतर्फ लागौँ । महँगी यसै बढिरहेको थियो, अब झन् बढ्ने भएको छ । त्यसैले खर्च कटौती आवश्यक छ ।
पहिले बिहान बेलुका भात र दिउँसो खाजा खान्थ्यौँ । अब राष्ट्रिय उत्पादन र वित्तीय अनुशासनलाई ध्यानमा राख्दै खाजा कटौती गरेर दुई छाक भात मात्रै खाने बानी बसालिनेछ ।
दुई छाक पनि महँगो पर्न थालेमा सबैले मङ्गलवार र शनिवार महाकालीको व्रत बस्नु पर्नेछ । व्रत बस्दा हुने फाइदाका बारेमा व्यापक जनचेतना फैलाइनेछ । चिया स्वास्थ्यका लागि हानिकारक छ भन्ने सन्देश घरमा आएका पाहुनाका कानमा समेत पुर्याइनेछ ।
अब मनोरञ्जन क्षेत्र । अहिलेसम्म परिवारका सबै सदस्यहरूले मोबाइलमा फेसबुक, टिकटक, युट्युब हेरेर हाँस्ने र नाच्ने गर्दै आएकोमा यसलाई क्रमभङ्ग गरिनेछ । धेरै मोबाइल चलाउँदा धेरैपटक चार्ज गर्नुपर्ने र धेरैपटक चार्ज गर्दा बिजुली धेरै खर्च हुने भएकाले मोबाइलको प्रयोग कम गरिनेछ । बेलुका सुत्नुअघि परिवारका सबै सदस्य एक ठाउँमा बसेर पालैपालो जोक, चुट्किला, कथा र गीत भन्ने अभ्यास गरिनेछ । मोबाइलको लत घटाई परिवारभित्रको सञ्चार र सम्बन्ध प्रगाढ बनाउने र छिमेकीहरूसम्म पनि सम्बन्ध विस्तार गर्न यो कदम सहायक सिद्ध हुने आशा गरिएको छ ।
हाम्रो घरले आजका मितिदेखि युवाको सरकारले चलाएको देशले बनाएको बजेटको बाटो पछ्याउने निर्णय गरेको छ ।
पहिले सरकारले भन्यो — बिजुली प्रयोग गर । हामीले गर्याैँ ।
पहिले सरकारले भन्यो— छोराछोरीलाई राम्रो शिक्षा देऊ । हामीले दियौँ ।
पहिले हामीलाई भनियो— स्वास्थ्यमा लगानी गर । हामीले गर्याैँ ।
पहिले सरकारले भन्यो— आधुनिक बन । हामी बन्यौँ ।
बजेट प्रस्तुत गर्दै सरकारले घोषणा गर्याे करको दायरा बढाएका छौँ, आम्दानीमा लाग्ने कर घटाएका छौँ । तीन हात उफ्रेर ताली बजाएको भोलिपल्ट थाहा भो ‘यो घरमा बल्ने बिजुली पनि करको दायरामा परेछ । केटाकेटी पढ्ने स्कुल करको दायरामा समेटिएछ । बुढाबुढीका हाडजोर्नीको उपचार पनि करयोग्य हुन पुगेछ ।
करको अर्थ जोरजबरजस्ती हो । कर नतिरे सरकार जबरजस्तीमा उत्रिन्छ भन्ने त सुकुम्वासी बस्तीमा डोजर चल्दै देखिसकियो । त्यसैले सरकारले कर तिर भनेर करकर नगरोस् भन्ने एकमात्र उद्देश्य पूरा गर्न घरको बजेट नीति परिवर्तन गरिएको हो ।
यो घरको बजेट अनुसार, आगामी वर्षको मूल नारा हुनेछ—
‘थोरै खाऔँ, थोरै पढाऔँ, तर करकर नगरि सरकारलाई धेरै कर तिरौँ ।’
अन्त्यमा, घरका सबै सदस्यलाई धन्यवाद दिँदै भन्न चाहन्छु :
जय घरेलु अर्थतन्त्र !
जय बजेट !
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ।
