‘मेहनत गरे आफ्नै देशको माटोमा सुन फलाउन सकिन्छ’

 जेठ १८, २०८३ सोमबार ११:५२:१२ | महेश ज्ञवाली
unn.prixa.net

काठमाण्डाै – काठमाण्डौको भीडभाड र कोलाहलभन्दा केही पर ललितपुरको शान्त बस्ती बुङ्गमतीमा ३० वर्षीया रमिला पुन मगरको दैनिकी निकै व्यस्त तर लोभलाग्दो गरी चलिरहेको छ । मकवानपुर माइती र रोल्पा घर भएकी रमिला विगत पाँच वर्षदेखि बुङ्गमतीको माटोमा आफ्नो पसिना सिञ्चित गर्दै हुनुहुन्छ । कहिले तरकारीबारीमा खनीखोस्री गर्न, कहिले बङ्गुर र बाख्रालाई दानापानी दिन त कहिले हरिया तरकारीले भरिएको क्रेट बोकेर बजार कुद्न उहाँलाई भ्याइनभ्याइ हुन्छ ।

हिजोआज रोजगारी र राम्रो कमाइको खोजीमा लाखौँ युवा वैदेशिक रोजगारीमा जाने लहर चलेको  छ । तर रमिला भने त्यो लहरभन्दा भिन्न, आफ्नै देशको माटोमा सुन फलाउन सकिन्छ भन्ने जीवन्त उदाहरण बन्नुभएको छ ।

विवाहअघि रमिलाको दैनिकी बेग्लै थियो । उहाँ पढ्दै, हस्तकलासम्बन्धी काम गर्नुहुन्थ्यो । ढुङ्गा र माटोबाट सुन्दर मूर्तिहरू कोर्न खप्पिस रमिलाले त्यतिबेलै महिनाको ३० देखि ४० हजार रुपैयाँसम्म कमाउनुहुन्थ्यो । तर, विवाहपछि उहाँको जीवनले नयाँ मोड लियो । सासू र ससुराले सम्हाल्दै आएको कृषि र पशुपालन व्यवसायलाई उहाँले आफ्नो कर्मक्षेत्र बनाउने निर्णय गर्नुभयो ।

विगत दुई वर्षदेखि सासू–ससुराले यो व्यवसाय पूर्णरूपमा रमिलाकै काँधमा सुम्पिनुभएको छ । अहिले ससुरा बुबाले रोल्पाको गाउँमा गएर बाँझो जमिन खनेर सुन्तला खेती र तरकारी व्यवसाय बढाउँदै हुनुहुन्छ भने सासू आमाले बालाजुको मित्रनगर चोकमा नयाँ मासु पसल खोलेर व्यवसायलाई सघाइरहनुभएको छ । बुङ्गमतीको तीन रोपनी भाडाको जग्गाको वार्षिक भाडा ९०–९५ हजार रुपैयाँ तिर्नुपर्छ ।

रमिलाको कृषि फर्म बहुआयामिक छ । उहाँको फर्ममा २०–२५ वटा बङ्गुर छन् । ७ वटा बाख्रा छन् । हाँस र कुखुराका चल्लाहरू छन् । र छोरालाई दूध खुवाउन र मलजलका लागि पालिएको एउटा गाई छ ।

जग्गाभरि काँक्रा, गोलभेँडा र काउलीलगायतका ताजा तरकारीहरू लटरम्म फलिरहेका छन् ।

यी सबै व्यवसाय रमिला एक्लैले सम्हाल्नुहुन्छ । बिहान सबेरै उठेर बङ्गुर र बाख्रालाई दानापानी दिने, खोर सफा गर्ने, तरकारी गोडमेल गर्ने र ती ताजा तरकारीहरू बोकेर सातदोबाटो, चापागाउँ चोक र खुमलटारको बजारसम्म बेच्न जाने काम उहाँ आफैँ गर्नुहुन्छ । ‘आफैँ बजार जाँदा ग्राहकले ताजा तरकारी पाउँछन्, सस्तो–मस्तो जे भए पनि आफैँ बेचेर छोराको स्कुल छुट्ने समयसम्ममा म घर आइपुग्छु’, उहाँ गर्वका साथ सुनाउनुहुन्छ ।

‘अरूको काम गर्न जाँदा कति दुःख हुन्छ, समयमा जानुपर्‍याे, बच्चा बिरामी हुँदा पनि बिदा पाउन गाह्रो हुन्छ । तर आफ्नो काममा म आफैँ मालिक हुँ । कतिखेर काम गर्ने र कतिखेर बच्चालाई समय दिने भन्ने कुरा मेरो आफ्नै हातमा हुन्छ’, रमिला बताउनुहुन्छ ।

हाम्रो समाजमा अझै पनि पुरुषलाई घरायसी अर्थतन्त्रको खम्बा मान्ने सोच जीवितै छ । तर रमिला ‘म आफैँ कमाउने, म आफैँ रमाउने’ सिद्धान्तमा विश्वास गर्नुहुन्छ । खर्च र लगानी कटाएर वार्षिक ८ देखि १० लाख रुपैयाँसम्म आम्दानी हुने यो व्यवसायबाट उहाँ पूर्ण सन्तुष्ट हुनुहुन्छ ।

विदेशमा कति कमाइ हुन्छ, उहाँलाई थाहा छैन र जान्न मन पनि छैन । विदेशमा रहेका उहाँका आफ्नै बुबाले पनि ‘छोरी मान्छे विदेश जानु हुँदैन, देशमै केही गर्नुपर्छ’ भन्दै ढाडस दिनुहुन्छ । मिडिया र सामाजिक सञ्जालमा विदेशिएका नेपालीहरूले भोगेका दुःख, कुटपिट र कष्टका भिडियो देख्दा उहाँको मन सिरिङ्ग हुन्छ ।

वैदेशिक रोजगारीको सपना देख्ने र नेपालमा अवसर देख्ने युवा तथा महिलाहरूलाई रमिला एउटै सुझाव दिनुहुन्छ— ‘उमेर छँदा विदेशमा पसिना बगाएर पैसा त कमाइएला, तर बुढेसकालमा फर्केर फेरि के गर्ने भन्ने अन्योल हुन्छ । त्यसैले शुरूदेखि नै आफ्नै देशको हावापानीमा घुलमिल भएर, सानै भए पनि योजनाबद्ध काम गर्दा भविष्य सुरक्षित हुन्छ ।’

पेशामा कहिले नाफा त कहिले घाटा हुनु स्वाभाविक हो, तर परिवारसँगै बसेर, आफ्नै देशको माटोमा पसिना बगाउँदा मिल्ने आत्मसन्तुष्टि संसारको कुनै पनि कुनामा नपाइने रमिलाको बलियो बुझाइ छ । ३० वर्षकै उमेरमा उद्यमशीलताको बलियो जग बसालेकी रमिला पुन मगर साँच्चै नै नेपाली समाजका लागि एक उत्प्रेरणाको स्रोत र अनुकरणीय पात्र बन्नुभएको छ ।

भान्साको स्वाददेखि बजारको स्टलसम्मः ‘आमा छोरी अचार’ को लोभलाग्दो यात्रा

हरेक घरको भान्सामा पाक्ने खानाको एउटा छुट्टै स्वाद हुन्छ, विशेषगरी आमाको हातको स्वादमा । त्यो स्वाद जसमा माया, ममता र रैथानेपन घोलिएको हुन्छ । तर धेरैजसो घरमा त्यो स्वाद भान्साकोठाभित्रै सीमित रहन्छ । पाल्पाकाे राम्दी पिपलडाँडा स्थायी घर भई अहिले काठमाण्डौको अनामनगर बस्दै आएका निरज अर्यालको परिवारले भने आफ्नो भान्साको त्यही विशिष्ट स्वादलाई घरभित्र मात्रै सीमित राखेन । कोभिड–१९ को कठिन समयमा एउटा सुन्दर सोचका साथ जन्मियो ‘आमा छोरी अचार’ ।

आज ललितपुरका विभिन्न मेला र बजारका स्टलहरूदेखि सामाजिक सञ्जालहरूमा यो नाम चर्चित बन्न थालेको छ । तर, यो केवल एउटा अचार व्यवसाय मात्र होइन, यो त आमाको सीप, छोरीको योजना र एउटा परिवारको सामूहिक कडा मेहनतको कथा हो ।

कुरा पाँच/छ वर्ष अगाडिको हो । विश्व कोभिड–१९ को महामारीले ठप्प थियो, मानिसहरू घरभित्रै सीमित थिए । अनामनगरको अर्याल निवासमा पनि दैनिकी अन्योलग्रस्त थियो । त्यही समयमा आमाले घरमा खानका लागि परम्परागत शैलीमा अचार बनाउनुभयो । आमाको हातको त्यो स्वाद चाखेपछि छोरी (दिदी) को दिमागमा एउटा व्यावसायिक भिजन आयो, ‘मम्मी, यही अचारलाई बजारमा लगेर किन केही नगर्ने ?’

घरको भान्साबाट शुरू भएको त्यो सानो प्रयासले आज व्यावसायिक रूप लिइसकेको छ । विगत एक डेढ वर्षदेखि त यो नामले बजारमा आक्रामक रूपमा पाइला चालेको छ । अनलाइन माध्यम र ठाउँ–ठाउँमा लाग्ने स्टलहरूमार्फत ‘आमा छोरी अचार’ ग्राहकमाझ पुगिरहेको छ ।

‘यो गालेको अचार मात्र होइन, व्यस्त जीवनशैलीका लागि तरकारी सरह खान मिल्ने ‘डिफरेन्ट’ प्रोडक्ट हो’, निरज अर्याल बताउनुहुन्छ ।

काठमाण्डौको व्यस्त दैनिकीमा दाल–भात पकाएर फेरि तरकारी बनाउने समय नहुनेहरूका लागि यो अचार एउटा अचुक विकल्प बनेको छ । एक/दुई चम्चा अचारले नै तरकारीको काम फत्ते गर्ने भएपछि कामकाजी मानिसहरूका लागि यो निकै उपयोगी सिद्ध भएको छ ।

हिजोआज बजारमा व्यवसाय शुरू गर्नुअघि विभिन्न तालिम लिने चलन छ । तर, ‘आमा छोरी अचार’ को विशेषता के हो भने यसका लागि आमाले कुनै सरकारी वा निजी संस्थाबाट अचार बनाउने तालिम लिनुभएको छैन । उहाँले सानोमा, गाउँको परिवेशमा आफ्ना आमा–हजुरआमाबाट जे सिक्नुभयो र आफ्ना छोराछोरीलाई बाल्यकालमा जे पकाएर खुवाउनुभयो, त्यही रैथाने सीपलाई आज सिसाको बट्टामा बन्द गरेर बजारमा पस्कने गर्नुहुन्छ । यही मौलिकता नै यसको सबैभन्दा बलियो पक्ष हो ।

शुरू–शुरूमा नयाँ स्वाद भएकाले मानिसहरूको जिब्रोमा बस्न केही समय लागे पनि अहिले ग्राहकहरूको प्रतिक्रिया निकै उत्साहजनक छ । नेपालमा मात्र होइन, यहाँबाट विदेश जानेहरूले समेत कोसेलीका रूपमा यो अचार लैजाने गरेका छन् भने विदेशमा बस्नेहरूले नेपालमा रहेका आफ्ना आमाबुबामार्फत यसको माग गर्ने गरेका छन् ।

अहिले यो ब्रान्डसँग ६ थरी अचार छन्– टिमुरको छोप, बदामको अचार, तिलको छोप, माछाको अचार (दुईथरी), चिकेन अचार छन् ।

‘व्यापार गरेपछि नाफा त चाहिन्छ नै, केवल समय सदुपयोगका लागि मात्र त समाजसेवा गरे भइहाल्यो नि’, निरज भन्नुहुन्छ । तर नाफा कमाउने नाममा गुणस्तरमा सम्झौता नगर्ने अर्याल परिवारको दृढ सङ्कल्प छ ।

त्यसैले बजारीकरणको शैली पनि फरक छ । उहाँहरूले शुरूमै सीधै पसलहरूमा सामान राख्नुहुन्न । स्टलहरूमा आफैँ उभिएर पहिले ग्राहकलाई स्वाद चखाउनुहुन्छ र ग्राहकले मन पराएपछि मात्र बिक्री गर्नुहुन्छ । यही बुथ–मार्केटिङ र ‘माउथ टु माउथ’ प्रचारको बलमा आज यो व्यवसायले घरेलुस्तरमै भए पनि महिनाको १ देखि २ लाख रुपैयाँसम्मको राम्रो आर्थिक कारोबार गर्न सफल भएको छ । घरको फुर्सदको समय उपयोग गरेर यति आम्दानी हुनु आफैँमा एउटा लोभलाग्दो सफलता हो ।

यो यात्रा सहज भने थिएन । निरजकी दिदी अलिकति असहाय (शारीरिक रूपमा चुनौतीपूर्ण वा विशेष अवस्था) हुनुहुन्छ । त्यस्तो अवस्थामा पनि कम्पनी दर्ता गर्न सरकारी कार्यालयहरू धाउँदा प्रणालीगत झन्झट र असहजीकरणको सामना गर्नुपर्‍याे । राजनीतिक अस्थिरता र प्रशासनिक ढिलासुस्तीका कारण कतिपय अवस्थामा निराश हुनुपर्ने स्थिति आयो ।

आज देशका हजारौँ महिलाहरू २०–२५ हजार रुपैयाँको जागिरका लागि वा आर्थिक बाध्यताका कारण रोमानिया, साइप्रस जस्ता वैदेशिक रोजगारीमा गइरहेका छन् । यस्तो अवस्थामा ‘आमा छोरी अचार’ ले एउटा बलियो फरक उदाहरण प्रस्तुत गरेको छ ।

निरज थप्नुहुन्छ, ‘हाम्रो समाजमा अझै पनि महिलाहरू घरभित्रै बस्नुपर्छ भन्ने मानसिकता छ । तर, हाम्रो घर बुबाले होइन, आमाहरूले चलाउनुहुन्छ । यदि हाम्रा दिदीबहिनीहरूलाई सही शिक्षा, सञ्चार र प्रविधिको ज्ञान दिने हो भने हरेक घरबाट एउटा उद्यमी निस्किन सक्छ । हाम्रा महिलाहरूसँग असीमित सीप छ ।’

आफ्नै देशमा बसेर, न्यून समय र घरकै स्रोतसाधन प्रयोग गरेर पनि आत्मनिर्भर बन्न सकिन्छ भन्ने कुराको प्रत्यक्ष प्रमाण बनेको छ यो व्यवसाय । सरकारले व्यवसाय दर्ता प्रक्रियामा सहजीकरण गरिदिने र वडा–वडामा पुगेर महिलाहरूलाई डिजिटल साक्षरता तथा बजारको मार्गप्रशस्त गरिदिने हो भने धेरै महिलाहरू वैदेशिक रोजगारीमा जानु पर्ने थिएन ।

अन्तिम अपडेट: जेठ २९, २०८३

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

महेश ज्ञवाली

महेश ज्ञवाली उज्यालाेमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया