तत्काल नेतृत्व नछाड्ने ओलीकाे घाेषणा

 जेठ २०, २०८३ बुधबार १६:५२:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जस्तोसुकै चुनौतीपूर्ण परिस्थितिमा पनि पार्टीको नेतृत्व गरिरहने र चुनौतीहरूको सामना गर्दै अगाडि बढ्ने बताउनुभएकाे छ ।

आजदेखि शुरू भएकाे पार्टीको ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ सम्बन्धी दुई दिने कार्यशालामा उहाँले आफ्नो स्वास्थ्यमा पूर्ण सुधार आएको जानकारी दिँदै पार्टीलाई सफलताको मार्गमा डोहोर्‍याएर मात्र विधिसम्मत ढङ्गले विश्राम लिने उल्लेख गर्नुभयाे ।

अध्यक्ष ओलीले पार्टीभित्र अनुकूल परिस्थितिमा उत्साहित हुने र प्रतिकूल समयमा जिम्मेवारीबाट पन्छिने प्रवृत्तिको आलोचना गर्नुभयो । विगत केही समयदेखि स्वास्थ्यका कारण कार्यकर्ता र नागरिकको बीचमा सघन रूपमा पुग्न नसकेको स्वीकार गर्दै उहाँले अब आफू पूर्ण स्वस्थ भएको र सक्रिय रूपमा सार्वजनिक गतिविधिमा फर्कने बताउनुभयो ।

आफ्नो नेतृत्वको विषयमा चर्चा गर्दै ओलीले महाधिवेशनले आफूलाई प्रधानमन्त्री बन्नका लागि मात्र नभई सङ्घर्षको नेतृत्व गर्न अध्यक्ष चुनेको स्मरण गराउनुभयो ।

उहाँले भन्नुभयो, ‘सजिलो परिस्थिति आयो भने फुरुङ्ग परिहाल्ने, केटाकेटीलाई दशैँ आएजस्तो आँगनमा निस्केर ‘दशैँ आयो’ भनेर नाच्न थाल्ने, अप्ठ्यारो परिस्थिति आयो भने अनेक प्रकारका वितण्डा मच्चाउने, अनेक निहुँ खोज्ने, आफूले राम्रो गरेको तर अरूले नराम्रो गरेको भन्दै नागरिकका बीचमा जाने, आफ्नो कमी नदेख्ने र अरूको कमी मात्र देख्ने प्रकारकाे हुनु हुँदैन । सजिलो पर्‍याे भने, अनुकूल वातावरण बन्यो भने, प्रधानमन्त्री बन्न पाइने भयो भने कस्सिएर अगाडि बढ्ने र प्रधानमन्त्री बन्ने, अनि अप्ठ्यारो अवस्था आयो भने झोला फालेर भागिहाल्ने होइन ।’

अध्यक्ष ओलीले राजनीतिक दल र नागरिकबीचको सम्बन्ध नङ्ग र मासुको जस्तो हुनुपर्ने पनि बताउनुभयो ।

अन्तिम अपडेट: जेठ २८, २०८३

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया