सिकाइ पद्धति सुधारे हप्तामा चार दिन बिदा दिए पनि शैक्षिक गुणस्तर खस्कंदैन

 जेठ २२, २०८३ शुक्रबार १८:१९:५ | डा. विद्यानाथ कोइराला
unn.prixa.net

नेपालमा हतारमा हप्ताको दुई दिन (शनिवार र आइतवार) बिदा दिने जुन निर्णय गरियो, त्यो यसको मूल मर्म र गहिराइ नबुझी गरिएको पश्चिमा देशहरूको देखासिखी मात्र हो । यो गर्मी महिनामा जबरजस्ती टाई बाँधे जस्तै अव्यावहारिक बुद्धि हो । राष्ट्रिय पाठ्यक्रमले विद्यालय २ सय २० दिन चल्नुपर्ने र त्यसैअनुसार क्रेडिट घण्टा निर्धारण गरेको अवस्थामा, कुनै गम्भीर गृहकार्य र पूर्वतयारी बिना एक दिन सोझै बिदा थपिदिँदा शैक्षिक सत्र र पढाइको वार्षिक लक्ष्य नै खलबलिन पुगेको छ ।

नेपालको संविधानले तीन तहका सरकारहरूबीच मातहतको नभई सहकार्य र समन्वयमा आधारित सम्बन्धको परिकल्पना गरेको छ । तर, संघीय सरकारले विद्यालय सञ्चालन र बिदाको सवालमा पालिकासँग कुनै पूर्वसंवाद र छलफल नै नगरी केन्द्रबाट सोझै निर्णय लाद्ने काम गर्‍याे । पालिकाको एकल अधिकार सूची (संविधानको अनुसूची ८) माथि यसरी हस्तक्षेप गर्नुले केन्द्रको केन्द्रीकृत र अहङ्कारी चिन्तनलाई उदाङ्गो पारेको छ ।

यो निर्णयले पालिकामा ठूलो व्यावहारिक अलमल र ‘बिजोग’को स्थिति सिर्जना गरेको छ । हप्तामा दुई दिन बिदा भएपछि सोमवार पनि त्यसै सुस्ताउने र शुक्रवार आधा दिनमै मानिसहरू हिँडिहाल्ने हुँदा विद्यालयको पढाइ ठप्प जस्तै हुन पुगेको छ । यसको व्यवस्थापनका लागि सरकारले शिक्षकहरूको बिदा कटौती त गर्‍याे, तर त्यसबापत कर्मचारीलाई न त अतिरिक्त आर्थिक सुविधा दियो, न त आफ्नो रहरले वर्षमा निश्चित दिन बिदा बस्न पाउने न्यायोचित व्यवस्था नै गर्‍याे । यसले शिक्षकहरूमाथि न्याय गर्नुको साटो थप मर्का थपिदिएको छ ।

हाम्रो राष्ट्रिय गानले देशको बहुलता र विविधताको वकालत गर्छ, तर शिक्षा मन्त्रालयको नीति भने सबैलाई एउटै डालोमा राख्ने ‘ब्यारेक’को जस्तो एकरूपतावादी शैलीको देखिन्छ । हिमाल, पहाड र मधेशको भिन्न भूगोल तथा फरक–फरक सांस्कृतिक परिवेश भएका ठाउँहरूमा एउटै नियम लागू हुन सक्दैन । उदाहरणका लागि, मुस्लिम बाहुल्य क्षेत्रमा केवल आधा घण्टाको बिदाले नमाज पढ्न भ्याइँदैन । यस्ता गम्भीर र संवेदनशील धरातलीय यथार्थलाई देशको नेतृत्वले पटक्कै बुझ्न सकेको देखिँदैन ।

केन्द्रको अस्पष्ट नीतिका कारण अहिले एउटै पालिकाभित्र पनि कुनै विद्यालय आइतवार खुल्ने र कुनै बन्द रहने अराजक स्थिति छ । छिमेकी विद्यालयका साथीहरू स्कुल गइरहँदा आफ्नो विद्यालय भने बिदा हुनुले विद्यार्थीहरूको मनोविज्ञानमा निकै नकारात्मक प्रभाव पारेको छ । यसले उनीहरूको सिकाइ उपलब्धि र शैक्षिक गुणस्तरमा समेत गम्भीर खाडल सिर्जना गरिरहेको छ ।

अन्तर्राष्ट्रिय स्तरमा देशअनुसार विद्यालय सञ्चालनका फरक अभ्यासहरू छन् । चीनमा बिहानैदेखि पूरा दिन, अमेरिकामा पाँच दिन र नर्वे–फिनल्यान्डतिर तीन दिन मात्र पनि विद्यालय चल्ने गर्छन् । ती देशहरूमा बिदाका दिन विद्यार्थीहरूलाई व्यस्त राख्न ‘प्रोजेक्ट वर्क’ र ‘असाइनमेन्टहरू’ दिने गरिन्छ । तर, हाम्रो सन्दर्भमा ‘सक्षमतामा आधारित पाठ्यक्रम’ भनिए पनि आन्तरिक मूल्याङ्कनको गलत प्रविधि र स्वतः पदोन्नतिले शैक्षिक स्तर धराशायी बनेको छ । वर्तमान अवस्थामा हाम्रा विद्यार्थी प्रविधिमा अगाडि बढिसकेका छन् भने शिक्षकहरू पछाडि परेका (भुत्ते भएका) छन् । यसरी पछाडि परेका शिक्षकबाट अगाडि बढेका विद्यार्थीलाई मार्गनिर्देशन गर्नु र उनीहरूलाई सिर्जनशील काममा व्यस्त राख्नु आजको सबैभन्दा ठूलो चुनौती हो ।

यो बिदाको सङ्कटलाई अवसरमा बदल्न र शिक्षण कलालाई सुधार्न सबै पक्षले आफ्नो जिम्मेवारी परिवर्तन गर्नुपर्ने देखिन्छ । अभिभावकहरूले बालबालिकालाई घरायसी र व्यावहारिक काममा संलग्न गराउनुपर्छ । बच्चा घाँस काट्न, बाख्रा हेर्न वा कुखुरा पालनमा जाँदा उसले कुन वनस्पति शास्त्र वा व्यावहारिक ज्ञान सिकिरहेको छ भनी बुझ्न सक्ने क्षमता अभिभावकमा हुनुपर्छ, जसले गर्दा विद्यालय नगएका दिन पनि सिकाइ निरन्तर रहोस् ।

विद्यार्थीहरू केवल मोबाइलमा मात्र घोरिने संस्कृतिबाट मुक्त हुनुपर्छ । उनीहरूले मोबाइल, किताब, आमाबुबा, छिमेकी र उपलब्ध एआई प्रविधिको समेत सही प्रयोग गरेर सूचनाहरू सङ्कलन गर्ने, अनुसन्धान गर्ने र त्यसलाई कक्षाकोठामा प्रस्तुत गर्ने बानी बसाल्नुपर्छ ।

शिक्षकहरूले सबैलाई एउटै गृहकार्य दिने र कापी जाँच्ने परम्परागत बोझिलो शैली बदल्नुपर्छ । विद्यार्थीहरूलाई फरक–फरक र सिर्जनशील गृहकार्य दिने, एकअर्काको कापी जाँच्न लगाउने, सामूहिक संवाद गराउने र कक्षामा प्रस्तुतीकरण गर्न लगाउने संस्कृति निर्माण गर्नुपर्छ । यसले विद्यार्थीमा विश्लेषणात्मक, संश्लेषणात्मक र सिर्जनशील क्षमताको विकास गराउँछ ।

सरकारले हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने बानी छोड्नुपर्छ । सरकारले शिक्षकहरूलाई २१औँ शताब्दी अनुकूल बनाउन उत्कृष्ट शिक्षण अभ्यासहरूलाई डिजिटल माध्यमबाट राष्ट्रिय स्तरमा सङ्कलन गर्ने र मोबाइल/फेसबुकमार्फत सबै शिक्षकले हेर्न मिल्ने प्रविधि बनाउने, शिक्षकहरूको घर–घर र मोबाइलसम्म युट्युब वा अनलाइन माध्यमबाट आधुनिक शिक्षण कक्षासम्बन्धी तालिम सामग्री पुर्‍याउन सक्नुपर्छ ।

यदि शिक्षालाई गरिखाने सीप, उत्पादन, आधुनिक प्रविधि र व्यावहारिक जीवनसँग जोड्ने कला सरकार, शिक्षक र अभिभावकले विकास गर्ने हो भने हप्तामा दुई दिन मात्र होइन, चार दिन बिदा दिए पनि देशको शैक्षिक गुणस्तर खस्कने छैन । मुख्य मुद्दा बिदाको दिन कति भन्ने होइन, शिक्षण कला कस्तो छ भन्ने हो । 

(डा. विद्यानाथ कोइरालासँग महेश ज्ञवालीले गरेको कुराकानीमा आधारित ।)

अन्तिम अपडेट: असार २५, २०८३

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

डा. विद्यानाथ कोइराला

डा. काेइराला शिक्षाविद् हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया