झन्डै साढे ३ कराेड रुपैयाँकाे स्राेत नखुलेपछि गाउँपालिका अध्...
असार २२, २०८३ सोमबार
काठमाण्डौ – ललितपुर महानगरपालिका वडा नम्बर ४ का राजन खड्काको मानसपटलमा अझै पनि फुटबलसँग जोडिएका स्वर्णिम स्मरण जीवन्त छ । सात दशक पहिले तत्कालीन राजा महेन्द्रले निर्माण गरेको दशरथ रङ्गशाला र नेपाली फुटबलको त्यो स्वर्ण युग राजनको स्मृतिमा अझै ताजा छ । रङ्गशालाको प्यारापिटमा बसेर हेरेका ती रोमाञ्चक खेलहरू सम्झिँदै उहाँ भन्नुहुन्छ, ‘हामीले अलि अगाडिको पुस्ताका राजु शाक्य र मणि शाहहरूको खेल धेरै सुन्यौँ र हेर्याैँ पनि । राजु शाक्यको त्यो लामो कपाल र उनले फाल्ने ‘लङ थ्रो’ हेर्न रङ्गशालामा खुबै मजा आउँथ्यो । त्यो दृश्य अझै आँखा अगाडि घुम्छ ।’
नेपाली फुटबल अहिलेसम्म आइपुग्दा बिस्तारै लय समात्दै गरेकोजस्तो राजन खड्कालाई लागेको थियो । तर, पछिल्लो समय नेपाली फुटबलको दुर्दशा र टीठलाग्दो अवस्था देखेर उहाँ निकै चिन्तित र दुःखी हुनुहुन्छ ।
एकातिर विश्वकप फुटबलको रौनक सबैतिर छाएको छ भने अर्कोतर्फ अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) लाई निलम्बनको पत्र काटेको छ । फुटबल विश्लेषक सञ्जीवकुमार शाहका अनुसार नेपालको खेलकुदमा सरकार वा राजनीतिक पक्ष जहिले पनि हाबी हुन खोजिरहेको देखिन्छ । एन्फाभित्रको राजनीतिक वातावरण पनि कतिपय अवस्थामा त्यति सुमधुर छैन र कोही पनि मिलेर जान सक्ने अवस्था देखिँदैन । यो बीचमा आएको नेतृत्वले गर्नुपर्ने रचनात्मक गतिविधिहरू केही पनि नभएकाले अहिले फुटबल गतिविधि प्रायः शून्य नै भएको उहाँको ठहर छ ।
नेपालको सबैभन्दा धेरै चर्चित र धेरै खेल हुने ऐतिहासिक दशरथ रङ्गशाला अहिले खालीजस्तै छ । जहाँ फुटबलबाहेकका अन्य गैरखेलकुद कार्यक्रमहरू चलिरहेका छन् । तर, खासमा हुनुपर्ने फुटबल गतिविधि भने पूर्णरूपमा ठप्प छ ।
फुटबल विश्लेषक शाहका अनुसार खेलाडीले मैदानमा नखेलेसम्म र खेलाडीले उपयुक्त अवसर नपाएसम्म एन्फाजस्तो खेल संस्थाको औचित्य नै रहँदैन । आजभोलि नेपालका स्थापित र चर्चित फुटबल खेलाडीहरू धमाधम विदेश पलायन भइरहेका छन् भने नयाँ आउने खेलाडीहरूले पनि त्यति राम्रो अवसर पाउन सकेका छैनन् । एन्फाले पूर्वाधारको ठीकसँग विकास गर्न त सकेको छैन नै, भएको पूर्वाधारलाई पनि उपयोग गर्न सकेको छैन ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पनि एन्फालाई हेर्ने दृष्टिकोण सकारात्मक छैन । दुईतर्फी कुरा नमिल्नु, खेलकुद बुझ्ने सही मान्छे सही ठाउँमा नहुनु र खेलाडीको मेहनत एवम् सम्मानका लागि काम नहुनुले नै आज यो सङ्कट निम्त्याएको हो । यहाँ राजनीति र आफ्नो मान्छेहरूलाई नेतृत्वमा पुर्याउने होडबाजी मात्र चल्छ जसका कारण खेलाडी छनोटमा समेत विभेद देखिने गरेको छ । फिफा र एएफसीले पटक–पटक चेतावनी दिँदादिँदै पनि आन्तरिक कलह निरन्तर चलिरह्यो । फिफाले कुनै पनि देशमा राजनीतिक हस्तक्षेप चाहँदैन र पछिल्लो समय सरकारी हस्तक्षेप अलि धेरै भएकाले फिफाको यो कडा कदम स्वाभाविक नै देखिन्छ ।
नेपाली फुटबलको इतिहासमा फिफाबाट मान्यता प्राप्त गरेको ५४ वर्ष भइसकेको छ । यो साढे पाँच दशक लामो इतिहासमा पहिलो पटक फिफाले नेपाललाई निलम्बन गर्दा राष्ट्रिय टोलीका पूर्वकप्तान एवम् पूर्वखेलाडी उपेन्द्रमान सिंह साह्रै दुःख लागेको बताउनुहुन्छ । झन्डै ३५–३६ वर्ष फुटबलमै जिन्दगी बिताएका र पदाधिकारी भएरसमेत काम गरिसकेका सिंह यसलाई ठूलो धक्का मान्नुहुन्छ । उहाँका अनुसार यसले खेलाडी, प्रशिक्षक र समग्र खेल क्षेत्रलाई ठूलो मारमा पारेको छ र नेपाली फुटबल अब कता जान्छ भन्ने कुरा अन्योलमै छ ।
फिफाको निलम्बन नखुलेसम्म कुनै पनि पुरुष, महिला वा फुटसलका खेलाडीहरूले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन पाउने छैनन् जसले गर्दा उनीहरूले आफ्नो क्षमता प्रदर्शन गर्ने र विकास गर्ने अवसर सबै गुमाएका छन् । फुटबलमा खेल गतिविधि नभएको कारणले गर्दा समर्थकहरू आक्रोशित छन् । कर्पोरेट हाउस र स्पोन्सरहरू पनि विवादित फुटबल छोडेर अन्तै गइरहेका छन् जसले फुटबलको साखलाई एकदमै तल गिराएको छ ।
यो निलम्बन भइसकेपछि अब क्यालेन्डरअनुसारका कुनै पनि अन्तर्राष्ट्रिय गतिविधिहरू गर्न पाइने छैन । यद्यपि, राखेपले कमिटी बनाइदिएमा केही हदसम्म चलाउन सकिएला तर अन्तर्राष्ट्रियस्तरबाट आउने सहयोग पूर्णरूपमा रोकिनेबित्तिकै नेपाली फुटबल ठूलो आर्थिक सङ्कटमा पर्ने देखिन्छ ।
पूर्वखेलाडी सिंहका अनुसार यो निलम्बन अवधि तीन महिना, छ महिना वा पाँच वर्षसम्मको लामो पनि हुन सक्छ । किनकि विगतमा पाकिस्तान लामो समय ‘सस्पेन्ड’ भएको र भारत चार हप्तामै फुकुवा भएको इतिहास छ । एन्फाले गरेको एउटा गलत र हठपूर्ण निर्णयका कारण आज यो दुर्घटना निम्तिएको हो । देशको खेलकुद ऐन र नियमअनुसार तहगत चुनाव नगरिकन नेतृत्व तह ‘अर्ली इलेक्शन’ मा जानु नै फुटबललाई सङ्कटमा धकेल्नु थियो ।
राष्ट्रिय खेलकुद परिषद्ले अभिभावक संस्थाको नाताले खेलकुद ऐनअनुसार तहगत चुनावमा जान मात्र भनेको थियो जसलाई सरकारको हस्तक्षेप भन्न मिल्दैनथ्यो । तर एन्फाका अध्यक्ष र महासचिवहरूले घमण्ड देखाउँदै फिफाको आडमा ‘अर्ली इलेक्शन’ कै अडान लिए जसलाई फिफामा गलत भाष्य गरियो । यदि नेतृत्व तहमा नेपाली फुटबललाई साँच्चै माया गर्ने नेता भइदिएको भए आफैँ एक पाइला तल झरेर पनि यो निलम्बनलाई रोक्न सक्ने सम्भावना हुन्थ्यो । गणेश थापाको पालामा पनि यस्तै कमिटी बनेर निलम्बन हुने अवस्था आउँदा उहाँ आफैँ खेलाडी र क्याप्टेन भएकाले एक ‘स्टेप ब्याक’ भएर नेपाली फुटबललाई बचाउनुभएको थियो । तर, फुटबल नै नखेलेर नेतृत्वमा आएका मान्छेहरूमा फुटबल र खेलाडीप्रति वास्तविक माया नहुने रहेछ भन्ने कुरा आज प्रमाणित भएको खेल विश्लेषकहरू बताउँछन् ।
वर्तमान समयमा यो सङ्कटग्रस्त अवस्थाबाट बाहिर निस्कनका लागि सरकार र एन्फा दुवै जना सक्रिय भएर एकै ठाउँमा बस्नुको विकल्प छैन । फुटबल विश्लेषक सञ्जीवकुमार शाहका अनुसार एन्फाका पदाधिकारीहरू यो गम्भीर सङ्कट समाधान गर्न नेपालमा बसेर सघन छलफल गर्नुको साटो फिफा विश्वकप हेर्नकै लागि अमेरिका पुग्ने प्रयास गरिरहेका छन् जसका कारण उनीहरूलाई विमानस्थलबाट समेत फर्काइयो । पदाधिकारीहरूको यस्तो गैरजिम्मेवार प्रवृत्तिको सट्टा चुनावी प्रक्रियालाई लोकतान्त्रिक र पारदर्शी बनाउनेतर्फ ध्यान जानु जरुरी छ । राष्ट्रिय खेलकुद परिषदमा अहिले आएका युवा नेतृत्वले अझ बढी सक्रियता देखाएर एन्फालाई झकझकाउनुपर्छ र सकारात्मक वातावरण बनाउन दबाव सिर्जना गर्नुपर्छ ।
नेपाली फुटबलको आन्तरिक पाटो हेर्ने हो भने नेतृत्वका लागि पटक–पटक विवाद र गुटबन्दी भइ नै राख्छ जसले खेलाडीको गतिविधिलाई शून्य पारिदिन्छ । विगतमा गणेश थापामाथि मुद्दा चलेर नेतृत्व परिवर्तन हुँदा पनि आउने नयाँ नेतृत्वले सोचेअनुसार काम गर्न सकेन । खेल र पूर्वाधार विकासमा लगानी गर्नुको साटो सीमित व्यक्तिहरू आफ्नै फाइदाका लागि कुर्सीमा बसिरहे । आज खेलाडी घाइते हुँदा एन्फाले उपचार गर्न नसक्ने लज्जास्पद अवस्था छ, जबकि खेल्ने खेलाडीको तुलनामा नखेल्ने र तलबमा बस्ने पदाधिकारीहरूको पारिश्रमिक सोचेभन्दा धेरै ।
कुनै समय दक्षिण एशियाली क्षेत्रमा बलियो मानिने नेपाली फुटबल आज आन्तरिक राजनीतिको शिकार भएको छ जसले अन्तर्राष्ट्रिय मञ्चमा देशको बदनाम गरेको छ । जबसम्म नेपाली फुटबलको नेतृत्वमा खेलाडीको मर्म बुझ्ने मानिस आउँदैनन्, तबसम्म खेल पूर्णरूपमा व्यावसायिक बन्दैन र राजनीतिक हस्तक्षेप एवम् प्रशासनिक अराजकताको अन्त्य हुँदैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
महेश ज्ञवाली उज्यालाेमा कार्यरत हुनुहुन्छ ।