झन्डै साढे ३ कराेड रुपैयाँकाे स्राेत नखुलेपछि गाउँपालिका अध्...
असार २२, २०८३ सोमबार
गुरुजीले ट्रक चलाउन थालेको तीन दशक बितिसक्यो । यसबीचमा सडकदेखि सरकारसम्म धेरै कुरा फेरिए । तर गुरुजीको जीवनमा खासै परिवर्तन भएको छैन । दिनरात ट्रक चलाउने, त्यसबाट हुने कमाइले घरपरिवार चलाउने ।
आफ्नो दैनिकीलाई निरन्तरता दिँदै गुरुजी ट्रकको सिटमा बसे । ट्रक यति पुरानो भइसकेको छ कि कहिलेकाहीँ इन्जिनको आवाज सुन्दा ट्रक चलिरहेको छ कि सिकारु गायकले गीत गाइरहेको छ भनेर छुट्याउन गाह्रो । तर त्यही ट्रकले उनको घर चलाएको छ । छोराछोरी पढाएका छन् । बैंकको किस्ता तिरेका छन् । इन्धनको मूल्य बढ्दा पनि ट्रक रोकेनन्, सडक बिग्रँदा पनि थकाइ मारेनन् ।
आज पनि उनी ट्रक लिएर राजमार्गतिर लागे, मोबाइलमा बजिरहेको रेडियो सुन्दै ।
रेडियोमा समाचार बज्न थाल्यो, ‘अब ट्राफिक नियम उल्लङ्घन गर्नेलाई न्यूनतम पाँच सयदेखि अधिकतम एक लाख रुपैयाँसम्म जरिवाना गर्ने तयारी भएको छ ।’
गुरुजी झस्किए, ‘एक लाख ?’
उनले ट्रकको स्टेरिङ समाउँदै मनमनै हिसाब गर्न थाले । एक लाख त उनले ट्रक चलाएर तीन/चार महिनामा जोगिने रकम पनि होइन ।

रेडियो फेरि बज्यो - ‘अपारदर्शी, सिसा प्रयोग गर्नेलाई एक लाख रुपैयाँसम्म जरिवाना ।’ उनले ट्रकको अगाडिको फुटेको सिसातिर हेरे, ‘हाम्रो सिसा त यति पारदर्शी छ कि बाहिरबाट भित्र मात्र होइन, भित्रबाट भविष्य पनि देखिन्छ ।’
यत्तिकैमा अगाडि सडकमा ठूलो खाल्डो आयो । उनी सिटबाट एक हात माथि उछिट्टिए । ट्रक सम्हाल्दै बर्बराए, ‘ल चालकले नियम मिचे एक लाख जरिवाना रे । तर यो खाल्डो नपुर्नेलाई चाहिँ कति जरिवाना ?’
खाल्डोले उनको प्रश्न सुनेन । बरु अर्को खाल्डोले स्वागत गर्यो ।
राजमार्गमा कतैकतै सडक छ कि खाल्डाभित्र सडक छ भन्ने छुट्याउन नसकिने अवस्था थियो । उनले फेरि सोचे, ‘यदि खाल्डोको गहिराइअनुसार जरिवाना लाग्ने हो भने त सम्बन्धित निकायले घर बेचेर पनि रकम तिर्न पुग्दैन होला ।’
अलि पर पुगेपछि मोड आयो । तर ट्राफिक संकेत थिएन । पहिले भएको बोर्ड मेटिएर भूतपूर्व संकेतजस्तो देखिन्थ्यो । रेडियोमा समाचार बजिरहेको थियो - ‘ट्राफिक संकेत पालना नगरे तीनदेखि पाँच हजार रुपैयाँसम्म जरिवाना ।’
गुरुजी हाँसे, ‘संकेत पालना नगरे जरिवाना ठीक छ । तर संकेत नै नराख्ने, मेटिएको बोर्ड नबनाउनेलाई कति जरिवाना ?’
उनलाई लाग्यो, अबको कानुनमा नागरिकका लागि मात्र दण्ड छ, जिम्मेवार निकायका लागि प्रश्न सोध्न पनि अनुमति चाहिने हो कि !
ट्रक अगाडि बढ्यो । उनले जीवनभर ट्राफिक नियम पालना गरे । रातभरि गाडी चलाए, घाममा जले, वर्षामा भिजे । तर एक पटकको घटना उनलाई अझै सम्झनामा छ । एउटा चेकपोस्टमा ट्राफिकले रोकेर भनेको थियो, ‘नियम त केही मिच्नुभएको छैन, तर मिलाएर जानुस् न ।’ त्यो ‘मिलाएर’ भन्ने शब्दको नेपाली अर्थ आजसम्म उनले बुझ्न सकेका थिएनन् ।
आज रेडियोले जरिवानाको सूची सुनाउँदै गर्दा गुरुजीले मनमनले सोचे, ‘ट्राफिक नियम नमिच्दा पनि पैसा लेउ भनेर संकेत गर्ने ट्राफिकलाई कति जरिवाना ? यदि त्यो पनि कानुनमा लेखिएको भए सायद राजस्व कार्यालयको भवन सानो पर्थ्यो होला ।
अलि पर पुगेपछि सडक विस्तारको काम भइरहेको ठाउँ आयो । बोर्डमा हेर्दा काम सम्पन्न हुने मिति दुई वर्षअघि नै सकिएको रैछ । तर सडक हेर्दा लाग्थ्यो, काम शुरु हुने मिति पनि अझै आएको छैन । छेउमा डोजर अनि मजदुर कम, धुलो बढी थियो ।
गुरुजीले फेरि हिसाब निकाले - निर्धारित समयमा सडक निर्माण नसक्ने कम्पनीलाई कति जरिवाना ?
उनी आफैँ अन्योलमा परे । केही दिनअघि लाइसेन्सको कुरा सम्झिए । लाइसेन्स नवीकरण गर्न जाँदा कार्यालयका कर्मचारीले भनेका थिए, ‘अब पहिलेजस्तो ढिलो हुन्न, छिटै लिन आउनुस् ।’
तर एक हप्तापछि लिन जाँदा अझै बनेको रहेनछ ।
उनले फेरि आफैँलाई सोधे, ‘समयमै लाइसेन्स दिन नसक्नेलाई कति जरिवाना ?’ नागरिकले एक दिन ढिला कर तिर्दा जरिवाना तर कार्यालयले एक वर्ष ढिला सेवा दिँदा के हुन्छ ? सायद धन्यवाद ! सायद अर्को टोकन ! सायद फेरि अर्को लाइन !
ट्रक गन्तव्यतिर बढ्दै थियो । रेडियोको समाचारमा अब नेताको भाषण बज्न थाल्यो । प्रधानमन्त्रीले सरकारको गाडी 'एक्सप्रेस वे'मा दौडिरहेको भनेछन् । गुरुजीले अगाडिको सडक हेरे । सडकमा खाल्डो । सडक छेउमा रुल्लटुल्ल भएर उभिरहेका सुकुम्वासी । डोजरले बस्ती भत्काएपछि अब कहाँ जान्ने चिन्ता छ । वरपर महँगीले थलिएका नागरिक । विदेश जाने लाइनमा उभिएका युवाहरू । मल खोज्दै हिँडेका किसान । अस्पतालको लामो लाइनमा उपचारको पालो कुर्दै बसेका बिरामी । तर विकासको एक्सप्रेस वे खासै देखिएन ।
गुरुजी मुसुक्क हाँसे । एक्सप्रेस गाडी पनि आकस्मिक ठाउँमा रोकिन्छ । तर नागरिकको पीडा देख्दा सरकारको गाडी किन नरोकिएको ? उनको प्रश्नको उत्तर रेडियोले पनि दिएन । सायद त्यसको जरिवाना तोकिएको थिएन । सायद कानुनको मस्यौदामा त्यो शीर्षक छुटेको थियो । नागरिकलाई मात्र नियम सम्झाउने देशमा सत्तालाई ऐना देखाउने व्यवस्था थिएन ।
गन्तव्य नजिक आइपुग्दा गुरुजी निष्कर्षमा पुगे । जरिवाना बढाउनु ठिकै पनि होला । ट्राफिक नियम पालना हुनुपर्छ । सडक सुरक्षित हुनुपर्छ । हेल्मेट, सीट बेल्ट, लेन अनुशासन सबै आवश्यक छन् । तर कानुन साँच्चै न्यायपूर्ण तब हुन्छ, जब चालकलाई मात्र होइन, खाल्डो बनाउनेलाई पनि सोधिन्छ । ट्राफिक संकेत नराख्नेलाई पनि सोधिन्छ । सेवा दिन नसक्नेलाई पनि सोधिन्छ । भ्रष्टाचार गर्नेलाई पनि सोधिन्छ । समयमै काम नगर्नेलाई पनि सोधिन्छ ।
नत्र देशमा एउटै नियम बाँकी रहनेछ - गल्ती जसले गरे पनि जरिवाना चाहिँ नागरिकले तिर्ने !
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ।
