साउनको हरियो, सरकारको निलो !

 असार २१, २०८३ आइतबार ११:४८:४९ | मिलन तिमिल्सिना
unn.prixa.net

तस्वीर : एआई

काठमाण्डौको बस स्टपमा दुई जना महिला बसको प्रतीक्षामा छन् । साउने झरी परिरहेको छ । दुवैको हातमा हरियो चुरा, गलामा हरियो पोते ।

सीता : सुनेकी होलाउ नि अब त महिलाका लागि निलो बस चल्ने रे । अब त हाम्रो पनि दिन आएजस्तो छ ।

गीता : निलो बस चढेपछि भाडा पनि नलाग्ने भनेका छन् । भीड पनि नहुने होला । कसैले धक्का पनि नदिने । बसमै चिया–खाजा पनि पाइने कि क्या हो ?

सीता : (हाँस्दै) त्यति धेरै त नहोला । तर महिलाका लागि छुट्टै बस भनेपछि केही सजिलो होला नि ।

गीता : के सजिलो होला र ? पहिले चढ्दै गरेको बस त भनेको बेलामा आउँदैन । त्यही बसका लागि १५/२० मिनेट कुर्नुपर्छ । अब निलो बस मात्रै चढ्ने भनेर कुर्दा त दुई घण्टा यतै बस स्टपमा बित्ने भो ।

सीता : त्यसो हुँदा अफिस ढिलो पुगिन्छ ।

गीता : अफिस ढिलो पुगेपछि हाजिर काटिन्छ, तलब काटिन्छ ।

सीता : श्रीमानसँग बजार जानुपर्‍याे भने श्रीमान् अर्को बसमा आफू चाहिँ निलो बसमा ।

गीता : त्यही त घरबाटै प्रेम छुट्टियो, बस स्टपबाटै दाम्पत्य अलग !

सीता : एउटै गन्तव्य, दुई वटा बस ।

गीता : अनि श्रीमानले फोन गरेर सोध्लान्–कहाँ पुग्यौ ? म जवाफ दिन्छु–तिमीभन्दा दुई बस पछाडि छु । उनले भन्लान्–म त घर पुगिसकेँ । अनि मेरो जवाफ होला–म त महिला सम्मानको लाइनमा छु ।

दुवै जना हाँस्छन् ।

त्यत्तिकैमा एउटा हरियो साझा बस अगाडिबाट गुड्छ ।

सीता : यस्तै हरियो बसलाई निलो रङ्ग लगाउन रे ।
गीता : त्यही त छ अचम्म ! हामीलाई चाहिएको सहज र सुरक्षित सेवा थियो, सरकारले रङ्ग बदलिदियो ।

सीता : अर्को कुरा साउन त हरियो रङ्गको महिना हो । प्रकृति हरियो हुन्छ । वन हरियो हुन्छ । धान हरियो हुन्छ । महिलाको चुरा हरियो । पोते हरियो । साडी हरियो । अनि महिला मात्रै चढ्ने बस चाहिँ निलो हुने भयो ।

गीता : मलाई त डर पो लाग्न थाल्यो । आज बस निलो । भोलि भन्न बेर छैन, साउनमा हरियो चुरा नलगाउनु, निलो लगाउनु । हरियो पोते हटाउनु, निलो पोते लगाउनु । टीका पनि निलो लगाए अझ सरकारी योजना सफल हुन्छ ।

सीता : निलो सिन्दूर पनि आउला कि ?

गीता : किन नआओस् ? अहिले त नीति कम, रङ्ग बढी फेरिने जमाना छ । समस्या जहाँको त्यहीँ छ, रङ्ग मात्रै नयाँ ।

सीता : तर सरकारको उद्देश्य त महिलालाई सुरक्षित बनाउनु होला नि ।

गीता : सुरक्षा बसको रङ्गले ल्याउँछ ? दुर्व्यवहार गर्ने मान्छे बदलिएको छ ? सोच बदलिएको छ ? कानून कार्यान्वयन बलियो भएको छ ? चालक र सहचालकको व्यवहार बदलिएको छ ? भीड घटेको छ ? बस थपिएको छ ? समयमै बस पाइने गरेको छ ? यदि यीमध्ये एउटा पनि बदलिएको छैन भने रङ्गले मात्रै के गर्छ ?

सीता : त्यसो भए समाधान के त ?
गीता : समाधान धेरै गाह्रो छैन । सबै बस सुरक्षित बनाऊ । सबै चालकलाई जिम्मेवार बनाऊ । सबै रुटमा पर्याप्त बस चलाऊ । जुनसुकै बस चढे पनि महिलाले सुरक्षाको अनुभव गरून् । त्यो भयो भने निलो बस खोज्नै पर्दैन ।

सीता : कुरा त ठीक हो । महिलालाई छुट्टै बस होइन, जहाँ गए पनि सम्मान चाहिएको हो ।

गीता : हो नि । हामीलाई छुट्टै गाडी होइन, बराबरीको यात्रा चाहिएको हो । पुरुषसँगै यात्रा गर्दा डर नलाग्ने वातावरण चाहिएको हो । बसको रङ्ग फेरिनुभन्दा सोचको रङ्ग फेरियो भने धेरै राम्रो हुन्थ्यो ।

त्यत्तिकैमा टाढाबाट एउटा बस आएको देखिन्छ । दुवै जना उत्साहित हुन्छन् ।

सीता : हेर, बस आयो ।

बस नजिक आउँछ । तर अर्कै रुटको बस रहेछ । दुवैको अनुहार फेरि ओइलाउँछ ।

गीता : अब हरियो बस पर्खने कि निलो बस सम्झने ?

सीता : साउनको हरियो त प्रकृतिले बचाइदेला । हाम्रो सार्वजनिक यातायात कसले बचाउने ? दुवै फेरि बस स्टपको बेन्चमा बस्छन् । सामुन्ने रूखका पातहरू साउने झरीले झन् हरिया हुँदैछन् । बस स्टपमा उभिरहेका यात्रुहरूको अनुहार चाहिँ प्रतीक्षाले फिक्का हुँदै गएको छ ।

गीता : आखिर समस्या बसको रङ्गमा हैन नि । समस्या त यात्रुको समय, सुरक्षाको भरोसा र यातायात व्यवस्थामै रहेछ । बस निलो बनाउँदैमा महिलाको यात्रा सजिलो हुँदैन । सार्वजनिक यातायात सबैका लागि सुरक्षित, भरपर्दो र पर्याप्त बन्यो भने हरियो, निलो, रातो वा सेतो, जुनसुकै होस्, बसको रङ्ग कसैले हेर्दैन । सबैले गन्तव्य मात्रै हेर्छन् ।

सीता : देशमा नीति फेरिन गाह्रो छ क्या । नियति फेरिन त्योभन्दा झन् गाह्रो । त्यसैले होला, सरकारलाई बसको रङ्ग फेर्नै सबैभन्दा सजिलो काम लाग्यो ।

अन्तिम अपडेट: साउन ६, २०८३

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया