झन्डै साढे ३ कराेड रुपैयाँकाे स्राेत नखुलेपछि गाउँपालिका अध्...
असार २२, २०८३ सोमबार
चीनले आफ्नो रणनीतिक आणविक पनडुब्बीबाट लामाे दूरीकाे ‘डमी’ अर्थात् नक्कली वारहेड जडित ब्यालिस्टिक क्षेप्यास्त्र प्रशान्त महासागरतर्फ परीक्षण गरेको छ । अस्ट्रेलियाले प्रशान्त महासागरीय टापु राष्ट्र तथा छिमेकी देश फिजीसँग नयाँ रक्षा सम्झौतामा हस्ताक्षर गरेको केही घण्टापछि नै चीनले क्षेप्यास्त्र परीक्षण गरेको बीबीसीले जनाएको छ ।
अस्ट्रेलियाकी विदेशमन्त्री पेनी वोङले चीनमाथि यस क्षेत्रलाई ‘अस्थिर’ बनाएको आरोप लगाउनुभएको छ । चीनले भने यसलाई आफ्नो वार्षिक सैन्य कार्यक्रमको नियमित हिस्सा भनेको छ ।
सन् २०२२ मा चीनले सोलोमन टापुहरूसँग सुरक्षा सम्झौतामा हस्ताक्षर गरेपछि अस्ट्रेलियाले प्रशान्त क्षेत्रका आफ्ना सम्बन्धहरू सुदृढ बनाउने प्रयास गरेको छ । चीनको सम्झौताले यसले भविष्यमा त्यहाँ स्थायी सैन्य अखडा स्थापना गर्न सक्ने आशङ्का निम्त्याएको छ ।
यसैबीच क्षेप्यास्त परीक्षणले जापानसहितका देशहरूको चिन्ता बढाएको र दक्षिण प्रशान्त क्षेत्रमा चीनको बढ्दो सैन्य उपस्थितिमाथि नयाँ बहस शुरू भएको खबरमा उल्लेख छ ।
प्रक्षेपण भएको दिन नै चीन र रुसले पूर्वी चीनको प्रमुख नौसैनिक बन्दरगाह छिङदाओबाट संयुक्त वार्षिक नौसैनिक अभ्यास पनि शुरू गरेका छन् । यद्यपि यो क्षेप्यास्त्र परीक्षण संयुक्त अभ्यासकै हिस्सा थियो वा थिएन भन्नेबारे स्पष्ट भइसकेको छैन ।
जापानले परीक्षणको निन्दा गर्दै चीनलाई यस्तो कदम पुनर्विचार गर्न आग्रह गरेको छ ।
चीनले पछिल्ला वर्षहरूमा आणविक हतियार र सैन्य क्षमता तीव्र रूपमा विस्तार गर्दै आएको छ । अमेरिकी रक्षा मन्त्रालयका अनुसार सन् २०२३ सम्म चीनसँग ५०० भन्दा धेरै आणविक हतियार थिए भने सन् २०३० सम्म त्यो सङ्ख्या १ हजारभन्दा धेरै पुग्न सक्ने अनुमान छ ।
यसअघि सेप्टेम्बर २०२४ मा चीनको रकेट फोर्सले फ्रेन्च पोलिनेसिया नजिक अन्तर्राष्ट्रिय जलक्षेत्रमा डमी वारहेडसहित लामो दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेको थियो ।
गएको महिना सार्वजनिक भएको न्युजिल्यान्डको रक्षा बलको आन्तरिक दस्तावेजले पनि प्रशान्त क्षेत्रमा चीनको नौसैनिक गतिविधि र ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण अब नियमित बन्दै जाने चेतावनी दिएको थियो ।
दोस्रो विश्वयुद्धपछि यही क्षेत्रमा भएका आणविक परीक्षणले प्रशान्त टापु राष्ट्रहरूमा गहिरो असर छोडेकाले चीनको बढ्दो सैन्य गतिविधिलाई उनीहरूले विशेष चासोका साथ हेरिरहेका छन् । यद्यपि चीनले अस्पताल, सडक र खेलकुद पूर्वाधारजस्ता विकास परियोजनामार्फत पनि प्रशान्त टापु राष्ट्रहरूसँग आफ्नो प्रभाव विस्तार गर्ने प्रयासलाई निरन्तरता दिइरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।