स्वास्थ्य बीमा नाफामूलक व्यवसाय हाेइन, राज्यकाे लगानी हाे : मन्त्री मेहता

 असार २२, २०८३ सोमबार १७:२२:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : रासस

काठमाण्डाै – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले स्वास्थ्य बीमालाई नाफा–नोक्सानको दृष्टिकोणबाट हेर्न नहुने बताउनुभएको छ ।

राष्ट्रियसभामा आज विनियोजन विधेयकको मन्त्रालयगत छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री मेहताले स्वास्थ्य बीमा नाफामूलक व्यवसाय नभई सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम भएको बताउनुभएको हो । यसलाई सामाजिक न्याय, जोखिम बाँडफाँट र राज्यको स्वास्थ्य लगानीका रूपमा बुझ्नुपर्ने उहाँको भनाइ छ ।

मेहताले राज्यले स्वास्थ्य बीमालाई प्राथमिकताका साथ अगाडि बढाएको पनि जानकारी दिनुभयो । सरकारले आउँदो आर्थिक वर्षका लागि स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत १५ अर्ब रुपैयाँ विनियोजन गरेको उहाँको भनाइ छ ।

चालू आर्थिक वर्षमा १० अर्ब बजेट विनियोजन गरेको भए पनि २३ अर्ब रुपैयाँभन्दा धेरै दाबी भुक्तानी गरेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार २०८२ मङ्सिर मसान्तसम्म स्वास्थ्य बीमा बोर्डमा आबद्ध सबै सेवा प्रदायक संस्थाको दाबी भुक्तानी फर्छ्याेट भइसकेको छ । मङ्सिरपछि प्राप्त दाबी भुक्तानीका लागि आवश्यक बजेट तथा दिगो स्रोत सुनिश्चित गर्न अर्थ मन्त्रालयसँग समन्वय भइरहेको मन्त्री मेहताले जानकारी दिनुभयो ।

मन्त्री मेहताले धेरैजसो बिरामी व्यक्तिमात्र बीमामा आबद्ध हुँदा कार्यक्रमको दिगोपनमा समेत चुनौती थपिएको उल्लेख गर्नुभयाे । स्वास्थ्य बीमा सुधारका लागि मन्त्रालयले अल्पकालीन र दीर्घकालीन दुवै रणनीति अघि बढाएको उहाँकाे भनाइ छ । अल्पकालीन योजनाअन्तर्गत सुविधा प्याकेजको पुनरावलोकन, निजी स्वास्थ्य संस्थामा बीमा सेवाको व्यवस्थापन तथा प्रभावकारी अनुगमनलाई प्राथमिकता दिएको उहाँले बताउनुभयो । दीर्घकालीन रूपमा सबै क्षेत्रका कर्मचारीलाई अनिवार्य रूपमा स्वास्थ्य बीमामा आबद्ध गराउने र सामाजिक स्वास्थ्य सुरक्षा कोषअन्तर्गतका सेवाहरू एकीकृत गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो ।

मन्त्री मेहताका अनुसार स्वास्थ्य क्षेत्रकाे लगानी खर्च नभई मानव पूँजी निर्माण र देशको भविष्यमा गरिएको लगानी हाे ।

अन्तिम अपडेट: साउन ६, २०८३

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया