म्यानपावरले भिसा लगाइदिएको कम्पनी मलेसियाबाट फर्किने बेलामा मात्रै देखियो

 बैशाख ८, २०७६ आइतबार १४:३५:३७ | मेरो कथा मेरो भोगाई

धर्म थपलिया, धादिङ, निलकण्ठ नगरपालिका १० । 

‘विदेश भनेकै पैसा कमाइ हुने देश हो । जहाँ पुगेको भोलिपल्टदेखि नै पैसा कमाउन थालिन्छ ।’ एकपल्ट पनि परदेशको दुःख नदेखेका धेरैले यस्तै सपना साँच्नुहुन्छ होला । मैले पनि मलेसिया जानुअघि यस्तै सोचेको थिएँ ।

म जाने देश कस्तो हो, मैले त्यहाँ गएर गर्ने काम के हो केही बुझिनँ । यसको जिम्मा म्यानपावरलाई नै दिएको थिएँ  । मैले त मात्र सपना देखेको थिएँ । विदेश गएपछि टन्न कमाइन्छ, काठमाण्डौमा घर बनाउँला, नभए पनि व्यापारी बन्ने गरीको पैसा त कमाउँछु यस्तै यस्तै । 

यही सपना पूरा गर्न सन् २००६ मा एमएन इन्टरनेशनल म्यानपावरलाई ८५ हजार रुपैयाँ बुझाएर मलेसिया पुगें । इलेक्ट्रोनिक्स कम्पनीमा काम भनिएको थियो । भिसा नेशन टेक कम्पनीको लागेको थियो । 

तर त्यहाँ पुगेपछि हामीलाई अर्कै कम्पनीमा काममा लगाइयो । काम इलेक्ट्रोनिक्स भनिएको थियो । तर कसरी गर्ने भन्ने तालिम लिएको भए पो आउनु । मलेसिया पुगेको १५ दिनपछि नै १२ घण्टे ड्यूटी पर्‍यो । त्यो पनि रातीको । काम गर्न एकदमै गाह्रो थियो । त्यसमाथि पनि भाषा नबुझिने । 

मैले काम गर्ने कम्पनीमा स्थानीयहरु पनि थिए । उनीहरुले काम बिगारेपछि हामीलाई दोष लगाइदिँदा रहेछन् । भाषा नबुझ्ने भएकाले जे भने पनि मुन्टो हल्लाउँदा अरुले गरेको गल्तीको सजाय आफूले भोग्नुपर्‍यो । 

नेपालबाट जाने बेलामा हामीलाई ८ घण्टा मात्रै काम गर्नुपर्छ भनेको थियो । तर १२ घण्टा त अनिवार्य काम गर्नुपथ्र्यो । ओभरटाइम त बिदाको दिन काम गर्दा मात्रै पाइन्थ्यो ।

रातबिरात नभनी काम गर्न एकदमै गाह्रो भयो । जस्तो भए पनि काम त गर्नैपर्ने । तलब ७५० रिंगिट थियो । त्यसमा पनि लेभी काटिन्थ्यो । भत्ता एकदमै थोरै हुन्थ्यो । सबै गरेर महिनामा ७ सय रिंगिटसम्म कमाइहुन्थ्यो । 

तीन वर्षको करार अवधिका लागि गएको थिए । तर ३३ महिनामै फर्किएँ । त्यो पनि दुई महिनाको तलब नै नलिइकन ।

त्यो बेलामा मलेसियामा भएको आर्थिक मन्दीको असर हाम्रो कम्पनीमा पनि पर्‍यो । काम दिन नसक्ने भन्दै हामीलाई बल्ल नेशन टेक कम्पनीमा लगिदियो ।

त्यो बेलामात्रै हामीले भिसा लागेको कम्पनी देख्यौं । दुई महिना यसै बस्यौं । हामी समस्यामा परेपछि नेपाली दूतावास मलेसियासँग सहयोग माग्यौं तर दूतावासले सहयोग गरेन । 

कमाउन गएका हामी समस्यामा परेर बस्नुपर्‍यो । पछि कम्पनीले नै टिकट काटिदिएपछि घर फर्किएँ ।

 जाँदा जुन सपना देखेको थिएँ, सपनामा देखेजस्तो नुहुने रहेछ परदेश । आफू जाने देश, गर्ने काम र वातावरणसँगै भाषाको ज्ञान पनि चाहिने रहेछ । यस्ता कुराको ज्ञान त्यहाँ गएपछि मात्रै पाइयो । 

विदेशबाट फर्किएपछि यहीँ केही गर्छु भनेर पोखराको लेक साइडमा साथीसँग मिलेर होटल खोलियो खासै राम्रो व्यापार भएन । त्यसपछि गाउँनै फर्किएँ । अनि रिर्टनी स्वयमसेवकका रुपमा सुरक्षित आप्रवासन परियोजना सामी अन्र्तगत धादिङमा काम गरें । 

विदेश जान लागेका थुप्रैलाई आफ्नो भोगाइ सुनाउँदै सही सुचना दिएँ । अहिले पनि म आप्रवासी कामदारकै हकहितका लागि काम गरिरहेको छु । म जस्तै विदेशबाट फर्किएकाहरु मिलेर आप्रवासी कामदार हकहित केन्द्र खोलेका छौं । यही संस्थामार्फत सचेतनामुलक कार्यक्रमहरु गर्दै आएका छौं । 

मलाई त लाग्छ सकेसम्म विदेश नजाउँ, त्यहाँ गर्ने मेहनत यहीँ गर्दा त्यहाँको जतिकै कमाउन र जमाउन सकिन्छ । हैन जाने नै हो भने पनि बुझेर मात्र जाउँ । नत्र दुःख पाइन्छ ।

अन्तिम अपडेट: भदौ २२, २०७६

तपाईको प्रतिक्रिया