वैशाखभित्र पोलिटब्युरो र केन्द्रीय पदाधिकारको जिम्मेवारी तोकिन्छ, ६ महिनाभित्र अधिवेशन गर्छौँ

 बैशाख १५, २०७६ आइतबार १८:५:३९ | झलनाथ खनाल
unn.prixa.net

काठमाण्डौ - तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र औपचारिक रुपमा मिलेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको पनि झण्डै एक वर्ष पुग्न लाग्यो । यो अवधि एउटा गतिहीन, अन्यौलग्रस्त र असमञ्जस्यतामा गुज्रन पुग्यो ।

हामीले एकतापछि जुन खालको अपेक्षा गरेका थियौँ त्यो हुन सकेन । तल्लो तहसम्म एकताबद्ध नहुँदा पार्टी निष्कृय जस्तो अवस्थामा थियो । पार्टी सदस्यहरु निस्कृय भएर बसेका थिए । पार्टीमा एक किसिमको गतिहीनता उत्पन्न भएको थियो । पार्टीमा अन्योल थियो । के होला ? कसो होला भन्ने वातावरण बनेको थियो । 

तर अब पार्टीलाई तल्लो तहसम्मै एकताबद्ध बनाएर लैजाने प्रकृया अगाडि बढाउँदै लगेका छौँ । नेतृत्व पंक्तिका साथीहरु बसेर छलफल गर्दै जाने क्रममा पार्टीलाई गतिशीलता प्रदान गर्न हामीले एउटा मापदण्ड निर्माण गर्‍याैँ र त्यसबाटै जिल्ला तहको एकतालाई टुंग्याउने काम भइरहेको छ । अहिलेको संरचना निर्माण भनेको आगामी अधिवेशनसम्मका लागि मात्रै हो । त्यसपछि त निर्वाचित भएर नेतृत्व र पदाधिकारी चयन हुन्छन् । गाउँ कमिटीदेखि केन्द्रसम्मकै संरचना फेरबदल हुन्छ ।  

जिल्ला तहको एकताले पूर्णता पाउँदै गर्दा जिम्मेवारी पाएका साथीहरुमध्ये केही साथीहरुले असन्तुष्टि पोखेको भन्नेखालका कुराहरु बाहिर आए । तर यसमा असन्तुष्ट बनेर बस्नु पर्ने केही पनि छैन । कतिपय साथीहरुलाई जिल्ला कमिटीको अध्यक्षभन्दा तल्लो तहमा पनि बसेर काम गर्नुपर्दा केही अप्ठ्यारो लाग्नु स्वभाविक होला । कतिपय साथिहरु केन्द्रीय कमिटीका सदस्य हुनुहुन्छ । कतिपय सांसद हुनुहुन्छ, कतिपय स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि हुनुहुन्छ । 

तर जे भए पनि तल्लो तहमा बसेर काम गर्दा उहाँको केन्द्रीय कमिटीको सदस्य, जनप्रतिनिधि तथा सांसद जे हुनुहुन्छ त्यो पनि कायम नै रहन्छ । त्यसमा अन्यथा लिएर बस्नु उचित हुँदैन । माथिल्लो स्टाटसलाई तल झारेको भए अप्ठ्यारो हुन्थ्यो तर त्यो नगरी तल काम गर्ने कुरामा त्यो पनि अधिवेशन नहुन्जेलसम्मका लागि काम गर्ने कुरामा कसैले आपत्ति मान्नु पर्दैन । स्वभाविक रुपमा लिन आग्रह पनि गर्छु ।  

अहिले हामी नेतृत्व वर्गमा रहेकाहरु अर्थात सचिवालयमा रहेका साथिहरु सँधैजसो छलफल र संवादमा नै हुन्छौँ । हो कुनै बेला अध्यक्षद्वय मात्रैले आफ्नो कुरा लाद्ने प्रयत्न गरेका थिए । तर सामूहिक नेतृत्व र सामूहिक छलफलबाट सबै कुराहरु हुनुपर्छ भन्ने हाम्रै अडानले अहिले विस्तारै पार्टीका काम कारवाहीहरु सकारात्मक हुन थालेको छ ।

यो हाम्रो पार्टीका लागि सकारात्मक पक्ष हो । कोही कसैलाई निस्तेज नगरी सबैलाई समेटेर लैजानुपर्छ भन्ने भावना पार्टीमा विकास हुन सक्यो भने मात्रै पार्टीले जीवन्तता पाउने हो । अहिले हामी त्यसैमा लागि परेका छौँ । पार्टीले गर्ने निर्णयहरु बिस्तारै विधि र पद्धति अनुसार हुन थालेका छन् । 

वैशाखभित्र पोलिटब्युरो 

सुरुमा पार्टी एकीकरण गर्ने बेला तल्लो तहका कमिटीहरु भंग गर्नु हाम्रो भूल थियो । गठन र भंगको तादात्म्यता मिलाउँदै अघि बढ्न सकेको भए राम्रो हुन्थ्यो । तर अब त्यासाे हुन सकेन । हामी त्यो भूललाई सच्चाउने गरी काम गरिरहेका छौँ ।

प्रदेश कमिटी बनाइसकेका छौँ । जिल्ला कमिटीका अध्यक्ष र सचिव तोकिसकेका छौँ । केन्द्रीय कमिटी बनिसकेको छ । यसले गर्दा हामीले तल्लो तहसम्मको एकताको आधार तयार पारिसकेका छौँ । पार्टी सिंगो रुपमा एकताबद्ध हुँदै गएको छ । 

अब हामीले केन्द्रीय तहमा कतिपय संरचनाहरु बनाउन बाँकी छ । केन्द्रीय कमिटीका सदस्यहरुको कार्यविभाजन, पोलिटब्यूरो गठन, वर्गीय संगठनहरुको एकता बाँकी छ । यसलाई पनि हामी जतिसक्दो छिटो टुंगाउने गरी काम अघि बढाइरहेका छौँ । 

सम्भवत यो वैशाख महिनाभित्रमा धेरै काम हामीले सक्ने तयारीमा लागेका छौँ । हामी अहिले यही छलफलमै छौँ । 

वरीयतामा अझै असन्तुष्ट

पार्टी एकीकरणको घोषणा गरिसकेपछि लामो समयसम्म पार्टी विघटित रुपमा थियो । त्यसकारण म सुरुमा असन्तुष्ट थिएँ । तर अब पार्टी एकीकरण तर्फ अघि बढ्यो र हामीबीच पनि समझदारी बढ्दै गएको छ ।

यसमा असन्तुष्ट भएर पार्टीका विरुद्ध, पार्टीले गरेका निर्णयका विरुद्ध हामीले बोल्ने कुरा छैन । त्यसैले पार्टीको हितका लागि कहिले असन्तुष्ट हुनु पर्ने त कहिले सकृय भएर लाग्नु पर्ने खाँचो पनि हो । त्यही अनुरुप म लागेको हुँ । 

हुन त मेरो वरीयताको मुद्धा पार्टीभित्र अझै छ । त्यसको अझैसम्म कुनै सुनुवाई भएको छैन । पार्टीभित्र यसबारेमा मेरो फरक मत छ । यसैलाई मात्रै इस्यु बनाएर म रिसाएर बस्नु उचित पनि हुँदैन ।

पार्टीले अन्तिमसम्ममा मेरै पक्षमा निर्णय लिने छ भन्ने मलाई विश्वास छ । पार्टीले आफ्नो गल्ति सच्चाउँदै मेरो पक्षमा निर्णय गर्ने छ ।  

सामूहिक नेतृत्वको अवधारणामा पार्टी छ 

जहासम्म दुईटा अध्यक्षको कुरा छ उहाँहरुलाई हामीले नै बनाएका हौँ । मान्छेले बाहिरबाट हेर्दा सम्पूर्ण कुरा दुई जना अध्यक्षले मात्रै गरेको हो कि भन्ने पनि लागेको होला तर त्यस्तो होइन । त्यसरी काम चल्दा पनि चल्दैन । दुई जना अध्यक्षले मात्रै सबै कुरा हामी हेर्छौँ भन्नु भयो भने पनि त्यो सम्भव  हुँदैन ।

पार्टी कमिटीहरु छन्, कमिटीहरुलाई क्रियाशिल बनाउनुपर्छ । प्रभावशाली र नियमित बनाउनुपर्छ । यस्तो हुन सकेन भने वास्तवमा कम्युनिष्ट पार्टी चल्दा पनि चल्दैन । 

दुई जना अध्यक्षको शैली तानाशाही भयो, अधिनायक भयो, एकलौटी भयो भन्ने कुरै छैन । सबै कुरामा सबैको उत्तिकै भूमिका छ । त्यसैको परिणति हो जिल्ला तहको एकता । यो सामूहिक नेतृत्व र सामुहिक छलफलबाटै सम्भव भएको हो नि । 

म कतै पनि हराएको छैन । अहिले पनि म अत्यन्त क्रियाशील कार्यकारी सचिवालयको सदस्य हुँ । मैले आफ्नो भूमिका खेलिरहेको छु । म निस्कृय बस्नुपर्ने अवस्था छँदै छैन । पार्टी संरचनाको आधारमा अघि बढ्नु पर्छ त्यसरी नै अहिले बढ्ने काम भइरहेको हो । कुनै ठाउँमा मेरो भूमिका देखिएला कुनैमा नदेखिएला । तर नदेखिएको काममा पनि आन्तरिक रुपमा भने हामी सबैको सामूहिक छलफल र सामूहिक विचारबाटै कामहरु हुनेगरेको छ । 

पार्टीका अध्यक्ष हुन् वा सचिवालयका सदस्य वा अन्य कमिटिका जो कोही पनि हुन् सबैको आ–आफ्नै भूमिका हुन्छ । सबैको भूमिका उत्तिकै महत्वपूर्ण पनि रहन्छ ।  

विस्तारै विधि पद्धतिमा 

तत्कालिन एमाले जसरी विधि र पद्धतिमा चल्ने गरेको थियो । माथिदेखि तलसम्मको एकताको जुन खालको चेन थियो त्यही रुपमा एकीकरणपछिको नेकपालाई पनि अगाडि बढाउने गरी काम गर्नु पर्ने थियो । अहिलेसम्म हामीले त्यो चेन निर्माण गर्न सकेनौँ । तर अब हामी त्यही चरणमा प्रवेश गरेका छौँ । 

अहिले त हामीमा धेरै चिजहरु खलबलिएका छन् । पार्टीभित्र अराजकताको स्थिति छ । यो सबैलाई अन्त्य गर्दै पार्टीलाई विधि सम्मत ढंगले अगाडि लैजानुको हाम्रो अगाडि अरु विकल्प छैन । 

विधि स्थापित नगरी, नीति स्थापित नगरी, प्रकृया स्थापित नगरी कम्युनिष्ट पार्टीलाई अगाडि बढाउनै सकिँदैन । एकीकरणपछि हामीले एउटा दस्तावेज तयार पारेका छौँ । त्यसमा समग्र पार्टीको कार्यदिशा के हो ? नीति के हो ? सिद्धान्त के हो ? लक्ष्य के हो ? सबै कुरा प्रष्ट लेखेका छौँ ।  

त्यस्तै हामीले विधान पनि बनाएका छौँ । त्यसले केन्द्रीय कमिटी कसरी चल्छ, पोलिटब्युरो, स्थायी समिति, सचिवालय कसरी चल्छदेखि सिंगो पार्टी कसरी चल्छ भन्ने निश्चित विधि स्थापित गरेका छौँ । मात्रै त्यसलाई अब कार्यान्वयनमा लैजानु पर्ने खाँचो छ ।  

समग्र पार्टी नै एकीकरण भइनसकेको अवस्थामा ति विधि लागू गरिहाल्न सकिने अवस्था थिएन । त्यसैले केही ढिला मात्रै भएको हो । तर अब पार्टी एकीकरणको काम सक्ने संघारमा हामी छौँ । एकीकरण नसकिँदा एउटा अन्योल रहनु, असंगठित रहनु स्वभाविक हो । त्यतिमात्रै होइन जे मन लाग्यो त्यही बोल्ने, जे मन लाग्यो तेही गर्ने परिपार्टी पनि देखियो । त्यसको मूल कारण भनेको पार्टी पूर्ण रुपमा एकताबद्ध भइनसक्नु थियो ।

पार्टीको निर्णय तल्लो तहसम्म सर्कुलेशन हुन नसकेको अवस्था थियो । त्यो कारणले गर्दा एउटा अराजकताको अवस्था बनेको हो । तर अब यो सँधै यस्तै रहिरहँदैन । अब यसले गति लिन्छ । जति पार्टी एकीकृत हुँदै जान्छ । विस्तारै विधिसम्मत ढंगले पार्टी संचालन हुन थाल्छ त्यसपछि सबै अराजकता र अनेकताका कुराहरु समाप्त भएर जान्छन् । 

आउने हप्ताभित्रमा केन्द्रीय सदस्यहरुको कार्यविभाजन र पोलिटब्युरो गठनको काम लगभग टुंगोमा पुर्याइसक्ने गरि हामीले काम गरिरहेका छौँ । स्थायी समितिका बैठकहरु नियमित हुनुपर्छ । हरेक कमिटी नै नियमित हुनुपर्छ । मेजर डिसिजन गर्दा झनै स्थायी समितिबाट गर्न सक्नु पर्छ ।

भर्खरै भएको जिल्ला तहको एकताको निर्णय पनि स्थायी समितिबाट गर्न सकेको भए धेरै राम्रो हुन्थ्यो । सबैलाई चित्त पनि बुझ्थ्यो । सबै एकताबद्ध भएर लाग्नु पनि हुन्थ्यो । त्यसो हुन नसक्दा केही साथिहरु असन्तुष्ट हुन पुग्नु भएको हो । त्यसमा पार्टी संचालन गर्ने कमरेडहरुले विशेषगरी दुवै अध्यक्षहरुले पार्टी संचालन गर्ने विधि र पद्धतिलाई अलि फराकिलो ढंगले अगाडि बढाउनुपर्छ ।  

छ महिनाभित्र अधिवेशन 

जनवर्गीय संगठनहरु भनेको पार्टीका हातखुट्टाहरु हुन् । तिनलाई जतिसक्दो चाँडो क्रियासिल गराउनु पर्ने अवस्था छ ।

अबको छ महिनाभित्रमा अधिवेशन सक्ने गरी सबै किसिमको तम्तयारी अघि बढाउनुपर्छ । त्यो हुन सक्यो भने पार्टीको क्रियाशीलता अत्यन्त तीव्र भएर जान्छ । छ महिनाभित्र अधिवेशन गराउन चुनौती त छ तर राम्ररी लाग्यौँ भने गर्न नसक्ने केही पनि छैन ।

त्यसैले सबैले आआफ्नो स्थानबाट आवश्यक भूमिका निर्वाह गर्नु जरुरी छ । पार्टीलाई क्रियाशील बनाइयो भने, पार्टीलाई सदृढ बनाइयो भने हामी सबैका लागि फाइदा हो । 

आचरणमा ध्यान दिनु जरुरी

कम्युनिष्ट पार्टीलाई अगाडि बढाइरहँदा कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताले आफ्नो आचरणमा विशेष ध्यान दिनुपर्छ । तडक भडकमा लाग्नुहुँदैन । 

सरल व्यवहार र नागरिकसँगको सम्पर्कलाई निरन्तरता दिनुपर्छ । नेता कार्यकर्ताको कार्यशैली सुधार्नु भनेको पार्टीको जीवन हो । यदी नेता कार्यकर्ताको कार्यशैली सुधार्न सकिएन भने पार्टीको जीवन अन्त्य हुन्छ ।

त्यस कारण आचरण निरन्तर सुधार गर्दै जीवन्त बनाउने काम गर्नुपर्छ । त्यो हुन सके मात्रै हामी कम्युनिष्ट रहन्छौँ । हाम्रा मूल्य मान्यताहरु रहन्छ । 

गफ होइन काम गर्नुपर्छ

सरकारमा रहेका मान्छेहरुले पनि आफ्नो कार्यशैली परिवर्तन गर्नुपर्ने अवस्था छ । उहाँहरु धेरै बोल्ने होइन काम गरेर देखाउने हो । प्रधानमन्त्रीदेखि लिएर सबै मन्त्रीहरु एक्सनमा जानुपर्छ । एक्सनले नै धेरै कुराको जवाफ दिन्छ । 

यो सरकारको उद्धेश्य के हो ? यो सरकार के काम गरिरहेको छ । यो सरकारको चरित्र के हो ? भन्दै ब्याख्या गर्दै हिँड्ने होइन । कामबाटै त्यसलाई पुष्टि गर्ने ध्याउन्नमा लाग्नुपर्छ । यो सबै सरकारमा रहेकाहरुले पनि बुझ्नुपर्छ, प्रधानमन्त्रीले झनै बुझ्नु पर्छ अनि पार्टी नेतृत्वले पनि बुझ्नु पर्छ । भाषणमात्रै गरेर मात्रै कुनै पनि हालतमा चल्दैन । 

झन कम्युनिष्ट पार्टीले सैद्धान्तिक कुरा मात्रै गर्दैन । जुन कुरा व्यवहारमा उतार्न सक्छ त्यही कुरा बाहिर गर्छ । सिद्धान्त र व्यवहारमा एक रुपता कायम गर्नुपर्छ । अनि मात्रै हामी समाजवाद तर्फ अघि बढ्न सक्छौँ । 

यो सरकारका सामु संवैधानिक रुपले अत्यन्त महत्वपूर्ण आधार छ । जनमतका हिसाबले पनि महत्वपूर्ण आधार छन् । ऐन, कानुन कतै कुनै बाधा विघ्न यदी छन् भने पनि सच्चाउन सक्ने, सुधार गर्न सक्ने, संशोधन गर्न सक्ने ताकत छ । यो सरकारलाई अग्रगतितर्फ अगाडिबढ्न कुनै बाधा अवरोध छैन । 

एकदमै फड्को हानेर अगाडि बढ्नका लागि सरकार सामु कुनै तगारो छैन । सिंगो नागरिकको समर्थन छ । सरकार अगाडि बढ्नु पर्छ । कतिपय बेलामा भएका कमिकमजोरीलाई सरकारको नेतृत्व गरिरहनुभएका प्रधानमन्त्रीले देख्नु पर्छ । पार्टीले पनि देख्नु पर्छ ।

त्यस्ता कमिकमजोरीको समिक्षा गर्दै अघि बढ्नुको विकल्प हाम्रो माझ अरु छैन । त्यसो गर्न सकिए पार्टी र सरकारमाथि नागरिकको विश्वास जाग्नुका साथै भरोसा कायम रहन्छ ।  

अन्तिम अपडेट: भदौ २३, २०७६

झलनाथ खनाल

खनाल पूर्व प्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया