गिरु सर, मैले स्वर्गको टुक्रा भेटेँ नि !

 बैशाख २९, २०७६ आइतबार १३:५८:७ | अर्जुन पोख्रेल
unn.prixa.net

कक्षा २ मा पढ्दा गिरु सरले भन्नुभएको थियो, ‘नेपाल स्वर्ग जस्तै सुन्दर देश हो ।’ सरले दोहोर्‍याएर सोध्नुभएको थियो, ‘नेपाल कस्तो देश हो ?’ सबै विद्यार्थीले एकै स्वरमा भने ‘नेपाल स्वर्ग जस्तै देश हो सर ।’

मैले पनि दाहिने हातले नाकको सिंगान पुछ्दै त्यही स्वरमा स्वर मिलाएर भनेँ ‘नेपाल स्वर्ग जस्तै देश हो । मलाई याद छ, श्री कमेरपानी प्राविदेखिको मेरो प्यारो साथी अनि छिमेकी हिमालले त्यहीबेला गिरु सरलाई सोधेको थियो, ‘सर स्वर्ग कस्तो हुन्छ ?’

कति सजिलो गरी गाह्रो प्रश्न गरेछ हिमालले । अहिले सम्झन्छु, त्यतिखेर हिमालको त्यो अनौठो प्रश्नले गिरु सर पनि एकछिन अक्क न बक्क हुनुभएको थियो ।

जवाफ दिउँ कि नदिउँ झैँ गरेर गिरु सरले आफ्नै फाटेको गोल्ड स्टार जुत्ता हेर्दै कपाल कन्याउनुभयो । हामी पनि हिमालको प्रश्नको जवाफ कुरेर सरको मुखतिर ट्वाल्ल परेर हेरिरह्यौँ । त्यतिखेर स्कुलमा बेञ्च थिएन । त्यो धुलो भुईंमा बसेर पढ्नुपर्ने । अनि त्यही धुलो भुईंमा बसेर मैले स्वर्गको कल्पना गरेँ । त्यो अनकण्टार ठाउँ । त्यो उजाड बस्ती जस्तो हुन्छ कि हुन्न होला त्यो स्वर्गमा ? मनमा अनेक प्रश्नहरु खेल्न थाले । सायद हुन्छ, त्यसैले त सरले भन्नुभयो नि नेपाल स्वर्ग जस्तै देश हो । 

उत्तरको प्रतिक्षा गरिरहेका हामीलाई गिरु सरले भन्नुभयो, ‘ठूलो भएपछि नेपाल घुम्न जानु अनि थाहा पाउनेछौ नेपाल स्वर्ग हो भन्ने कुरा ।’

सबैजनाले हुन्छ भन्दै टाउको हल्लाए । 

सानो छँदाका धेरैजसो यादहरु मेरो दिमागबाट धमिलो हुँदै गइसक्यो । जिन्दगी जति अघि बढ्दै गयो, यादहरु मेटिंदै गए, थपिंदै गए । सायद जिन्दगीको रीत नै यही हो । यद्यपी धेरथोर सम्झनामा रहेका कुराहरुमध्ये दुई कक्षा हुँदा गिरु सरले भन्नुभएको यो कुरा श्री कमेरपानी प्रावि मूलपानी, बलभद्र मावि सिलिंगे अनि रत्नराज्यलक्ष्मी क्याम्पस काठमाण्डौसम्म आइपुग्दा पनि मलाई प्रष्ट याद छ । 

त्यो दिनदेखि मैले स्वर्ग खोज्न थालेँ । साँच्चै कस्तो हुन्छ होला स्वर्ग ? मेरो प्युठानको पाखा पखेरो जस्तो कि यो काठमाण्डौको व्यस्त सडक जस्तो ? प्यूठानमा मेलापात गर्दादेखि काठमाण्डौका गल्ली चाहार्दासम्म नेपाल स्वर्ग हो भन्ने कुरा घुमेपछि थाहा पाउँछौं भन्ने गिरु सरको जवाफ झल्झली सम्झिरहन्थें ।

सम्झिरहेको हुन्छु । गिरु सरले भनेको स्वर्ग जस्तो नेपाल कस्तो हुन्छ भन्ने उत्तरको यथार्थता खोज्न मैले धेरै प्रयास गरें । तर भेटें, पुस्तकका पाना र केही फोटामा मात्र । 

र पछिल्लो केही वर्षमा त झन मेरो त्यो स्वर्गको खोजी व्यापक रुपमा अघि बढ्दैछ ।

स्वर्गको खोजी : मुस्ताङ अनि रारामा

पछिल्ला ३ वर्षमा म लगायत मेरा साथीहरु शिव, ऋग्वेद अनि उत्तमले केही ठाउँ घुम्यौं । हाम्रो पहिलो यात्राको गन्तव्य थियो, मुस्ताङ । काठमाण्डौबाट गाडीमा गयौँ । तर खासै रमाइलो भएन । प्रकृति र जनजीवन बुझ्न पाइएन जस्तो लाग्यो । अनि हामीले ४ दिन लगाएर हिँडेरै पोखरा झर्ने निर्णय गर्‍याैँ । 

त्यसपछि हाम्रो दोस्रो यात्रा थियो, रारा । बाटाका ढुँगामाटोसँग पौंठेजोरी खेल्दै, पहाडहरुसँग गफिंदै, अनि पसिनाले निथ्रुक्क त्यो शरीरलाई प्रकृतिको चिसो हावाले शितलता दिंदै डुल्नुको मज्जा त्यो गाडीमा हाई काढ्दै, निदाउँदै गरेको यात्रामा कहाँ हुन्छ र ?

त्यसैले हामी जुम्लाको खलंगाबाट दुई दिन लगाएर रारा पुग्यौं । अनि मैले देखें, स्वर्गको टुक्रा,  रारा । त्यसदिन मैले गिरु सरलाई सम्झिएँ । उहाँले भनेको स्वर्ग जस्तो नेपाल देखेर, रारालाई हेर्दै मनमनै मुस्कुराउँदै भने, सर तपाईंले भन्नुभएको स्वर्ग जस्तै मेरो देश भेटाउँदै छु, म ।

स्वर्ग भेट्दा 

केही दिनअघि केही पत्रकारसहित काठमाण्डौबाट २० जनाको टोली तनहुँ, कास्की, पर्वत, म्याग्दी र मुस्ताङको भ्रमणमा गएका थियौं । खासमा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अवलोकनको लागि टोलीले काठमाण्डौ छाडेको थियो । कृषिका विभिन्न प्रगति र दुर्गतिको साथमा स्वर्ग जस्तो नेपालका केही टुक्रा पनि यो यात्राका भेटियो । 

बालुवा तस्करको जालबाट फुत्कन नसकेको त्रिशूलीको धमिलो छाल हेर्दै हामीले यात्रालाई अघि बढाएका थियौं । त्रिशूलीलाई तस्करले कब्जामा पारे पनि मर्स्याङ्दीलाई अझै पारेका रहेनछन् क्यारे । मुग्लिन तरेपछि कञ्चन मर्स्याङ्दी नदी देखियो । अहिलेसम्म तस्करले आफ्नो अस्तित्व लुट्न नसकेको भएर होला मर्स्याङ्दी घमण्डका साथ बगिरहेको थियो ।

अनि म मनमनै मुस्कुराउदै थिएँ, उसको आडम्बर देखेर । गाडीमा अनेक अनेक रोजाइका गीत । मन मिल्ने साथीसँगको यात्रा । साथमा वसन्त ऋतुका पालुवालाई साक्षी राखेर हुत्तिएका अनेकाैँ नदीको साथ त छँदैछ ।

साना कुरालाई ठूला बनाएर बसको यात्रा स्मरणीय बनाउने बोमलाल, गुल्मी प्यूठानको लवजले सबैलाई पेट मिचिमिची हाँस्न बाध्य बनाउने मदन खनाल र यज्ञ बन्जाडे, गायिकाको उपाधी पाएकी सुजता अनि अंग्रेजी मिसको उपाधी दिइएकी अपर्णाले पनि यात्राको रमाइलोमा झन धेरै रमाइलो थपे । यसै पनि सबैका प्यारा बनेका किरण आचार्यले राम्रो मोवाइलबाट फोटा खिच्ने भएपछि सबैका दाइ बने । किरणले सात दिनको यात्रामा मात्रै १५ सयभन्दा धेरै फोटा खिचेका थिए । 

तनहुँमा कृषिका केही फर्मको अवलोकनपछि हामी पोखरामा बास बस्यौँ । पोखरा पुग्दा राती भैसकेकाले कसैले पनि फेवाताल या डेभिड फल्स हेर्न जाने प्रस्ताव गर्न पाएनन् । अर्को दिन बिहानै उठेर यात्रा पर्वततिर सोझियो ।

रिपोर्टिङ धेरै, घुमघाम कम भएको गुनासोलाई पर्वतले सम्बोधन गर्‍यो । पर्वतको फलेवासमा रहेको मकै जोन पुग्दा नै साथीहरु उत्साहित थिए । किनकी पारितिर देखिएका अग्ला अग्ला झोलुंगे पुल घुम्न जाने तयारीले सबैको मन फुरुँग भैसकेको थियो ।

बुढापाकासँगको घतलाग्दो कुराकानी र मकै जोन फलेवासको न्यानो आथित्यतासँगै हामी कुश्मा मुडिकुवा जोड्ने अग्लो झोलुंगे पुल पुग्यौँ । 

ओहो कति अग्लो पुल ! तल हेर्दा मुटु सिरिंग हुने । कसैले सेल्फी खिचे । कोही तल हेरेर टोलाए । तर कसैलाई त समातेर पुल तराउनुपर्ने । उनीहरुलाई हामीले डरपोक भनेर उडायौँ । 

त्यसपछि हामीले नेपालकै अग्लो झोलुगें पुल घुम्यौँ । कालिगण्डकी नदीमाथिको १ सय ५६ मिटर अग्लो यो पुल तर्दा भोटेकोशीमा बञ्जी हानिसकेको म आफू नै डराएको थिएँ । पुल माथिबाट वारिपारि देखिने दृष्यलाई यी शब्दहरुमा खोइ कसरी अटाउँ ? बडागाउँ र कैया जोड्ने यो पुल वरिपरिका नागरिकका लागि विकासको ठूलै रुप बनेर बसेको रहेछ । 

हामीले १ घण्टाभित्रै ज्ञादी कुश्मा जोड्ने अर्को पनि पूल तर्यौं । दोस्रो दिनको यात्रा खुब रमाइलो भयो । सेती, मादी, मोदी, मर्स्याङ्दी नदी, अनेकौँ पहाड, दर्जनौँ पुल, वसन्तका पालुवासँग लडिबुडी गर्दै अनि ऐसेलु खाँदै हामीले दोस्रो दिन बितायौँ । रात काट्यौं कुश्मामा ।

अर्को दिन म्याग्दीको बेनी हुँदै तातोपानी पुग्यौँ । त्यहाँ तातोपानी कुण्डमा स्नान गर्यौँ । धेरैलाई मुस्ताङ टेक्नै हतारो थियो । त्यसैले धेरैबेर तातोपानीमा बिताएनौँ ।

कालीको तिरैतिर मुस्ताङतर्फ जाँदा बाटोका भिर र छाँगा देखेर तर्सिए पनि मुस्ताङको तिर्खाले होला हामीहरुले डरलाई थप अघि बढ्न दिएनौँ । बाटोमा भेटिएको रुप्से झरनाले यात्राको थकान र निन्याउरो अनुहारमा बे्रक लगायो ।

कसैले उठेर, कसैले बसेर, कसैले पुलमा उभिएर अनि कसैले साहरुख खानको स्टाइलमा फोटो खिच्न भ्यायौँ । सडकको छेवैमा भएको रुप्से झरनाले हाम्रो यात्राको रमाइलोमा झनै मलजल गर्‍यो । 

रुप्सेले दिएको जोश बोकेर हाम्रो बस हुईंकियो मुस्ताङतर्फ । रुप्सेपछि पनि घुमाउरा र अग्ला पहाड चढ्नुपर्ने । त्यसपछि सडक विस्तारको कारण कतै पनि पिच सडक नभएकाले गाडी कहिले यता घच्याक्क, कहिले उता घच्याक्क । हामीले फेरि थोकेको महसुस गर्यौँ । 

थकान र अप्ठ्यारोले न्यास्रो बनेका हामीमा जोश त्यतिबेला उर्लियो, जतिबेला हाम्रो बस हर्न बजाउँदै मुस्ताङ लेतेमा पुग्यो । 

लेतेबाट सुरु हुन्छ कालिगण्डकीको ठूलो बगर । कालीगण्डकीको फराकिलो बगर, टाउकैमा देखिने अन्नपूर्ण हिमाल, हिमाली बुट्यान अनि चिसो सिरेटो लिँदै हाम्रो यात्रा मार्फासम्म पुग्यो ।

मार्फा पुग्नुअघि गोधुली साँझमा हामीले कालीको तिरमा शालीग्राम खोज्यौँ ।

गोधुली साँझ, आत्मीय साथीहरु, काली नदीको कलकल, टाउकोमाथि पहेँलो हुँदै गएको बडेमानको हिमाल...... ओहो साँच्चै अविस्मरणीय थियो त्यो अनुभव ।

साथीभाइको रमाइलो एकातिर थियो । अर्कोतिर मेरो नजर टक्क त्यही रोकियो । म खाली भएँ, न केही सोच्न सकें न बोल्न । बस् प्रकृतिको सुन्दरताको जाम पिएर म लट्ठ थिएँ । 

यस्तै दृष्यले मलाई कक्षा २ मा गिरु सरले भनेको स्वर्ग जस्तो नेपालको फेरि सम्झना गरायो । साहित्यकारले भावनामा डुबेर लेखेका अनि कल्पनामा देखेका दृष्य यात्रामै भेटिए । किन नआओस् त स्वर्गीय आनन्द । अनि किन नहोस् त नेपाल स्वर्गको टुक्रा ।

मार्फासम्म पुग्दा हामीले हिमाललाई पछि पार्यौं । हिमाल कटेर जानुपर्ने भएकाले नै हो मनाङ र मुस्ताङलाई हिमालपारिको जिल्ला भनिने । हामी मार्फाको स्याउबारीको बीचमा रहेको रेड एप्पल होटलमा बास बस्यौं ।

मेरो कोठामा बार्दली थियो । अघिल्लो रात खासै याद गरिएन । तर अर्को दिन बिहान उठ्ने बित्तिक्कै बाहिर निस्कँदा देखेँ, ठूला ठूला उजाड पहाडहरु, अनि अलि पर सेताम्मे हिमाल । घामको पहिलो किरणले त्यो हिमाललाई छुँदा म दँग परेर हेरिरहेको थिएँ । लाग्यो त्यो हिमाल अलि लजाएर रातो भयो । अनि त्यो पहाड खुशी हुँदै सुसेल्न थाल्यो ।

मैले पनि मुस्कुराउँदै गुड मर्निङ भनिदिएँ । चिसो हावाले आएर मेरो गाला चुमेर जाँदा लाग्यो, मैले मेरो जवाफ पाएँ । अनि फेरि नयाँ जोश, जाँगर उत्साह र थप रमाइलो बोकेर, जोमसोम हुँदै बस हुँइकियो मुक्तिनाथतर्फ । 

जोमसोमै बजारमा बाह्र बजे हावा सरर...

आशिषले गीत बजायो । 

अर्पणा भन्दै थिइन्, बिहानको ७ बजे के को हावा सरर ?

दुई जनाको दोहोरीले बसका सबैजना गललल हाँसे । 

बिहानको समय भएर होला हावा बिस्तारै चल्दै थियो । बजार शान्त थियो । कालीले आफ्नो लय छाडेको थिएन । 

जोमसामेबाट कागबेनी जाँदा त्यो बगर देखेर नरमाउने कोही थिएन । बडेमानको बगरको बीचमा बगेको काली । बगरको बीचबाटै बनाइएको बाटोमा धुलो उडाउँदै मोटर गुडेको दृष्य कसरी बयान गर्ने र खै ? 

कागबेनीदेखि मुक्तिनासम्मको ११ किलोमिटर नागबेली बाटो पिच भएको रहेछ । आहा मरुभूमीको छाती र हिमालको काखमा नागबेली बाटोको यात्रा...। हामी सेल्फी खिच्दै, भजन गाउँदै, अनेक किस्सा सुनाउँदै मुक्तिनाथ पुग्यौँ । 

मुक्तिनाथ पुगेपछि १०८ धारामा नुहाउनुपर्छ । तर तर छोइनसक्नु चिसो पानीमा १०८ धारामा नुहाउनु कसरी ? 

उपाय रहेछ । म्याराथनमा जस्तै कुद्ने । १०८ धाराको पानी टाउकोमा पर्नेगरी कुदेको दृष्य कम्ता रमाइलो थिएन । कोही जोडले कुद्ने । बुढाबुढी र मोटा मान्छे हाँस ढल्काईमा हिँड्ने ।

हामीले बडो श्रद्दाका साथ मुक्तिनाथमा स्नान र पूजाआजा गर्यौं । भगवानले दिने हुन कि होइन, तर माग कति राख्यौं कति !

भगवानको दर्शनपछि धेरैको अनुहारमा चमक देखियो । त्यही चमकमा थप जलप लगाइदिए एकजना अमेरिकी नागरिकले । 

उनले १४ पटकसम्म मुक्तिनाथ पुगेर स्नान गरेका रहेछन् । यो १५ औं पटक रहेछ । मोटरसाइकल यात्रामा एकजना बेलायती पाइलटसहित पुगेका उनले नेपाललाई स्वर्ग र नेपालीलाई देउतासँग तुलना गरे ।

मुक्तिनाथको दर्शनपछि अलि वर आएर साना ढुंगाको घर बनाउने चलन छ । हामीले पनि साना ढुंगा बटुलेर घर बनायौं, कतिका घर अग्ला, कतिका होचा । कतिजनाले त १० वटासम्म ढुंगा खप्टाएर एक हात अग्लो घर बनाए । कतिजनाको भने पाँच वटा पनि जोड्न नपाइ भत्किने ।

मुस्ताङ त पहिले पनि देखेको थिएँ । तर यसपटक मन झनै हलुका भएछ क्यारे, खुसी भरी भएको थियो । मुक्तिनाथको छेउमा बसेर दर्जनौं हिमाल हेर्दै कागबेनी उपत्यका नियाल्दा मनमा खुसीको सीमा थिएन । हेर्दाखेरी मुस्ताङ मरुभूमी जस्तो देखिन्छ । तर त्यसभित्रको सुन्दरता र पवित्रता अन्त कहाँ भेटिएला र ! 

म फेरि मौन भएँ । पहाडको एक छेउमा गएर दुवै हात फैलाएर उभिएँ । अनि चिसो बतासले आएर मलाई अँगालो हाल्यो, म मुस्काएँ । एक्लै रमाएको होइन, यो प्रकृतिको साथमा म हराएँ । अनि सोचेँ कसले भन्छ यी पहाडहरु उजाड छन् भनेर ? 

मैले त यहाँ जिन्दगी देखिरहेकोछु । मुस्कुराउँदै गरेकी मेरी आमालाई पाएँ मेलै यो पहाडहरुमा । लाग्यो कि म आमाको काखमा निदाइरहेकोछु, अनि मेरी आमाले मेरो कपाल मुसार्दै हुनुहुन्छ ।

यो पहाड, हिमाल, खोला, हरियाली, यही त हो मेरो देश । यही नै हो मैले, खोजेको स्वर्ग ।

सायद, गिरु सर पनि धेरै त घुम्नुभएको छैन । तर उहाँले यस्तै कल्पना गरेर भन्नुभएको होला, नेपाल स्वर्गको टुक्रा हो भनेर ।

मुक्तिनाथको छेवैमा बसेर मैले मनमनै भनेँ, गिरु सर मैले स्वर्गको टुक्रो भेटेँ नि !
 

अन्तिम अपडेट: असार १, २०७६

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया