वातावरण विज्ञानमा स्नातक पढ्दै, व्यावसायिक कृषिमा रमाउँदै

 जेठ २, २०७६ बिहिबार १६:२५:५५ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – लमजुङकाे राइनास नगरपालिका–८, हर्राबोटकी २३ वर्षीया गोमा जिनी नेपाली आफ्नै कृषि फर्ममा काम गरिरहेकाे भेटिनुहुन्छ ।

उहाँले त्रिचन्द्र कलेज काठमाण्डौबाट वातावरण विज्ञान विषयमा चौथो वर्षको परीक्षा दिनुभएको छ । पढे–लेखेपछि राम्रो जागिरको खोजीमा भौंतारिने युवाको कमी छैन । सुखद भविष्यको कल्पना गर्दै विदेश भासिने युवा पनि उत्तिक्कै छन् । तर गोमा काठमाण्डौमा पढे पनि गाउँमै फर्केर बाँझा जमिन हरियाली बनाउन जुट्नुभएको छ । 

उहाँलाई ‘पढे–लेखेको मान्छे राम्रो जागिर नखाएर के कृषिमा लागेकी ?’ भन्नेहरु पनि छन्, समाजमा । तर उहाँ आफ्नै पौरखमा विश्वास गुर्नहुन्छ । र त गाउँकै माटोमा श्रम–पसिना बगाउँदै हुनुहुन्छ । यसमै उहाँको मन रमेको छ । 

‘मलाई कृषि पेशा मन पर्छ । त्यसैले गाउँमै फर्केर व्यावसायिक कृषिमा लागेको छु । यसबाट मलाई आत्म–सन्तुष्टि पनि मिलेको छ,’ उहाँले भन्नुभयो । 

उहाँले घर नजिकैको ५ रोपनी जग्गा वार्षिक ५० हजार रुपैयाँ तिर्ने गरी ५ वर्षको लागि भाडामा लिएर ‘न्यू एकीकृत कृषि फर्म’ सञ्चालन गर्नुभएको छ । गोमाको बुवा जीतबहादुर नेपाली हाल राइनास नगरपालिकामा बागवानी विकास अधिकृतको रुपमा कार्यरत हुनुुहुन्छ । कृषि व्यवसायलाई अघि बढाउन बुवाको पनि साथ–सहयोग मिलेको छ, गोमालाई । 

६ लाख लगानी

‘बुवा पनि कृषि क्षेत्रकै व्यक्ति हुनुहुन्छ । त्यसैले पनि कृषिमा केही गर्नुपर्छ भन्ने मेरो पहिलेदेखिकै सोच हो,’ उहाँले भन्नुभयो, ‘बुवाकै प्रेरणाले म कृषि कर्ममा लागेकी हुँ ।’

कृषि कर्मलाई अघि बढाउँदा गोमालाई बुवाको साथै आमा निरा र बहिनी मिनाको पनि साथ मिलेको छ । ‘बुवाबाट आवश्यक प्राविधिक सहयोग पाउँदै आएकी छु,’ उहाँले भन्नुभयो । उहाँले हाल सञ्चालन गरेको फर्मको केही संरचना एक वर्ष अघि नै निर्माण भइसकेको थियो । गएको कार्तिक १५ गतेबाट कृषि फर्म दर्ता भएर सञ्चालनमा आएको हो । उहाँका अनुसार फर्म सञ्चालनमा ६ लाखभन्दा बढि लगानी भइसकेको छ । 

२० वटा टनेलमा गोलभेँडा, काँक्रो, करेला उत्पादन

गोमाको कृषि फर्ममा अहिले २० वटा प्लाष्टिक टनेल छन् । ११ वटा टनेलमा ‘सिर्जना’ जातको गोलभेँडा लगाइएको छ । २ वटा टनेलमा ‘पाली’ जातको करेला लगाइएको छ । ५ वटा टनेलमा ‘भक्तपुरे लोकल’ जातको काँक्रो, एउटा टनेलमा स्थानीय जातको घिरौँला लगाइएको छ । एउटा टनेललाई परालले छोपेर  स्टोरको रुपमा प्रयोगमा ल्याइएको छ ।

‘अहिले फर्मबाट गोलभेँडा, करेला, काँक्रो, घिरौँला उत्पादन भइरहेको छ,’ गोमाले भन्नुभयो । उहाँका अनुसार कृषि उत्पादनले राम्रो बजार पाएको छ । उत्पादन गाउँघरका साथै पाउँदी, सिँडीबारमा खपत हुँदै आएको छ ।

‘कतिपय तरकारी किन्नलाई फर्मसम्मै आउनुहुन्छ,’ उहाँले भन्नुभयो, ‘अहिलेसम्मलाई बजारको समस्या छैन ।’ उहाँले अहिले फर्ममा उत्पादित गोलभेँडा प्रतिकेजी ४५–५० रुपैयाँ, काँक्रो प्रतिकेजी ५०–६० रुपैयाँ, करेला प्रतिकेजी एक सय रुपैयाँका दरले बेच्दै आउनुभएको छ । 

‘अहिलेको उत्पादन हाम्रो फर्मको पहिलो उत्पादन हो । दुई हप्ताको पिरियडमा हामीले ४० हजारभन्दा बढिको तरकारी बेचिसकेका छौँ,’ उहाँले भन्नुभयो । 
फर्ममा सिँचाइका लागि डुम्रे खोलाको पानी ल्याइएको छ । ‘फर्ममा रहेको जग्गामै पनि पानीको मूल छ । नजिकै खोलाबाट पनि पानी ल्याइएको छ । पानीकाे समस्या छैन,’ गोमाले भन्नुभयो । 

धैर्यता र निरन्तरता चाहिन्छ  

बिहान उठेदेखि साँझसम्म उहाँ फर्ममै व्यस्त हुनुहुन्छ । उत्पादित कृषि उपज गाडीमा राखेर बिक्रीका लागि उहाँ आफैँ बजारसम्म पुग्नुहुन्छ ।
फर्ममा तरकारी लगाउँदा, गोडमेल गर्दा केही स्थानीयले काम समेत पाउने गरेका छन् । 

‘विशेषगरी फर्ममा हामी आफैँ खटिन्छौ । फर्ममा आंशिक रुपमा केही स्थानीयले समेत काम पाउने गरेका छन्,’ उहाँले भन्नुभयो ।
उहाँका अनुसार कृषि कर्म गर्नका लागि आवश्यक ज्ञान, सीप र मनमा जोस–जाँगर हुनु आवश्यक छ ।

उहाँ भन्नुहुन्छ, ‘धैर्य गरी कृषि पेशालाई निरन्तरता दिनसके कृषिबाटै मनग्य कमाउन सकिन्छ । कृषिमा युवा पुस्ता आउनु आवश्यक छ ।’

गाउँघरकै माटोमा कृषि कर्म गरी मनग्य कमाउन सकिने उहाँ बताउनुहुन्छ । कृषि कर्मलाई अझ व्यवस्थित बनाउँदै र विस्तार गर्दै लैजाने सोच रहेको बताउने गोमाले अन्त्यमा भन्नुभयो, ‘माटोसँग खेल्न पाउँदा छुट्टै आनन्द लाग्छ । यसरी माटोसँग खेल्न पाउँदा ज्यादै खुशी छु ।’   

 

अन्तिम अपडेट: साउन १४, २०७६

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

1 Comments

  • surya bahadur lamsal

    May 17, 2019, 1:18 p.m.

    स्नातक पढेर अरूले लगाएकाे र अह्राएकाे काम गर्ने धेरै जना मानिस समाजमा प्रशस्त भेटिन्छन् तर जिनाले वजारमा ( राजधानीमा) पढेर अाफ्नाे ज्ञानलाइ गाउँमा उपयाेग गरी समाज जागरण र नेपालमै केही गर्न सकिन्छ भन्ने ज्वालन्त उदाहरण वन्नु भएकाेमा हार्दिक वधाइ तथा उज्यालाे भविष्यकाे र प्रगतिकाे शुभकामन

  •  0 Reply

तपाईको प्रतिक्रिया