आमा म जापान जाँदैछु

 जेठ ४, २०७६ शनिबार १७:४५:१९ | अरुण बाँस्तोला
unn.prixa.net

अरुण बाँस्तोला/झापा  

तिम्रो सपना पूरा गर्ने मेरो वर्षौं देखिको अपुरो/अधुरो सपना पूरा गर्नलाई 
तिम्रा फुटेका कुर्कुचामा मल्हम अनि बाको दमको औषधी छर्नलाई
भाइ बहिनाका सुन्दर सपनाहरु चैत वैशाखमा फुल्ने लालीगुरासझैँ ढकमक्क फुलाउनलाई
म आफूलाई आफैसँग सपनाको एकादेश लाँदैछु 
आमा, म जापान जाँदैछु  ।

मलाई थाहा छ आमा
गरिबीको रापमा उभिएर पनि 
वीर बलभद्र, भक्ति थापा र ती बुढा अमरसिंह थापाले पानीसमेत नखाई प्याकप्याक भई
भोक्कै तिर्खै आफ्नो शरीर
घर,श्रीमती,बाआमासम्म नभनी
आफ्नो अन्तिम एकमुठी श्वास रहेसम्म
धर्तीबाट एक मुठी माटो हातमा लिएर
रगत पसिना चुहाई गुलेलीको भरमा नालापानीको युद्ध लडेर 
अंग्रेजसँग स्वतन्त्र भई ल्याएको मेरो देशको स्वाभिमान र बिरता आज 
कठै ! बहत्तर सालको भुइँचालोसँगै 
गल्र्याम गुर्लुम लडेको देख्दा पनि मुकदर्शक बनेर तिनैको सन्तती म फेरि आज
गुलाम बनी परिस्थितीको दासी हुँदै, पासपोर्टमा भिसा लाउँदैछु ।
आमा, म जापान जाँदैछु ।

म सानो छँदा
बाले सदरमुकामबाट नुनको भारीसँगै ल्याउनु भएको रेडियोले 
आज एकाबिहानै यही समाचार फुक्दै गर्दा
रेडियो कहिल्यै नसुन्ने म
आज कान ठाडा पारी सुनेर बाध्यताको खुशीले नाचेंछु 
मलाई के थाहा खुशी बाध्यताको नि अपार हुन्छ भनेर
तर,थाहा छ मलाई
यो खबर सुनेर संसारको
सबैभन्दा खुशी यदी कोहि हुन्छ भने
त्यो तिमी नै हौ आमा । 
आमा म यो तिम्रो खुशीमा अझ धेरै खुशी थप्न
त्यो खुशीको सोपान चढ्दैछु
आमा, हो म जापान जाँदैछु ।

पल्ला घरका धुम्मे बाकी छोरीले 
परार साल म युरोप जाँदैछुु भन्दै फुर्फुर गरेदेखि तिमीले आँखा तरेर 
देखिस तिनीहरुको प्रगति ? भन्दै मतिर फर्किएर मुख बिगार्दा
एकतमासले मेरो मन रोएथ्यो 
बेरोजगार युद्धको पीडाले अमिलो भएथ्यो  
त्यै बेला म मेरो उच्च अंकसहितको
डिग्रीको सर्टीफिकेट बाकसबाट थपक्क झिक्दै
निरास बनी पासपोर्ट बनाउन सदरमुकाम गएको हिजै जस्तो लाग्छ आमा 
आज ठ्याक्कै एक बर्षपछि म तिम्रा सपनाका घाउमा मल्हम लाउँदैछु ।
आमा, म जापान जाँदैछु ।

हाम्रा बाले म सानो छँदा काले र मिल्के गोरुलाई
असारको पन्ध्रमा चुट्दै जोत्न लिएर जाँदा
आँखाले भ्याउन्जेल म हेरिरहन्थे १
त्यही बेल तिमीले बाबू स्कुल जाने बेला भयो भन्दै
मेरो कपडाको झोला बोकी सुस्तरी मलाई रातेको बरडाँडोसम्म 
हातमा समाई जाँदाको पल सम्झिन्छु ।  
अनि सम्झन्छु म आज 
जो म भोली बर्खाको त्यही हाम्रा बाले दाउने गोरु झैँ हुँदैछु 
मेरो सपनाको फसल फलाउन 
आमा म जापान जाँदैछु ।

सोझो भाइ प्रहरी हिरासतमै अनायासै पिटाई खाएर मर्दा नि 
कहिलेसम्म गरिबीकै कारण चुपचाप बस्नुपर्ने ? 
कान्छी बहिनी पानी पँधेरोमा जाँदा दलित भएकै कारण
छिछी र दुर्दुर सहँदै घाँटी निमोठिएर मर्नुपर्ने ?
पटकपटक बलात्कृत हुँदासम्म नि 
दिदीले मुख खोल्नै नहुने । 
कठै ! बोजुलाई बोक्सी भन्दै लखेटेर डामेको हिजै जस्तो लाग्छ ।
माइतीले दाइजो दिन नसक्दा चेलीले पाएको पीडा उफ !
यो सबै टुलुटुलु हेरिमात्र रहन नसकी बाध्य भई
समुन्नती र समृद्धिको सपना बोकेर परदेश लाग्दैछु ।
आमा, म जापान जाँदैछु ।

बुढा भएका बा राती दमले च्यापेर एक प्राण हुँदा सम्म पनि,
बा ए बा यी लिनुस त औषधी भनेर 
एक अङखोरा पानी पनि दिन नसक्ने म
अनि तिमीलाई हनहनी ज्वरो आउँदा
एउटा सिटामोलसम्म किन्न नसक्ने म
त्यो पराई मुलुकमा
हाम्रा अम्बोटेबारी जोत्ने काले र मिल्के गोरुझैँ जोतिन
बाध्यताको लगाम कसेर 
परिस्थितीको लहरमा लहरिँदै लहरिँदै,
तिम्रो आखाँको आँसु सदाका लागि पुछ्दै,
मुहारमा थपक्कै खुशी टिपेर ल्याउन 
आमा, म जापान जाँदैछु ।
 

अन्तिम अपडेट: असोज १९, २०७६

5 Comments

  • प्रकाश

    May 23, 2019, 2:56 p.m.

    यो कविता प्रकाशन गर्नुअघि एकचोटि यसमा भएका हिज्जेहरूको गल्ती सच्याएको भए र यस कवितालाई पुनर्लेखन गरेको भए कति पढुँपढुँ लाग्ने हुनेथियो होला । यस्तो लाग्छ लेखकले पठाएको खेस्रालाई नै जस्ताको तस्तै छापियो । कम्तिमा हिज्जे त सच्याइदिनुपर्थ्यो ।

  •  0 Reply
  • बिजय नेपालि

    May 22, 2019, 2:14 p.m.

    देश भक्त हु भन्न मन त छ नि तर के गर्नु मनभरी देशको बिग्रेको अबस्था को चित्रण खचाखच छ मन फेरि रोयो हजुर्को लेखनले ।

  •  0 Reply
  • Ramita khatiwada

    May 22, 2019, 11:30 a.m.

    अति सुन्दर....... अति सुन्दर ..!! साँच्चै मन छोयो ...!! हाम्रो देश अशान्तिको देश हुन पुगेको छ, भ्रष्टाचारीहरुको थलो भएको छ, फटाहाहरुको मोज मस्ती गर्ने देश भएको आभास भएको छ....दुख लाग्छ आफ्नो देशको हविगत देख्दा....!!

  •  0 Reply
  • Bijay bhusal

    May 19, 2019, 2:50 p.m.

    असल इमान्दार मान्छेले कहाँ नेपालमा बस्न सकिन्छ र , नेपाल त त्यस्तो देश भयो जहाँ दलाल, डाँका, फटाहा र चोर मात्रै अटाउँछन् / अनि कहाँवाट होस् विकास ??

  •  0 Reply
  • दिबाकर सुबेदी

    May 18, 2019, 10:47 p.m.

    अति सुन्दर, कहिले हुन्छ म जन्मेको मेरो देशमा यस्ता कुरिती समाप्त र कहिले भन्न पाइन्छ - हो यो मेरो देश नेपाल भनेर गर्वका साथ /

  •  0 Reply

तपाईको प्रतिक्रिया