स्पर्श

 जेठ १८, २०७६ शनिबार ११:३०:२ | आकास बराल
unn.prixa.net

उसको नाम निरुसा शर्मा हो । हामी सानैदेखि सँगै पढेका थियौँ । ऊ म बस्ने बेन्चको पछाडि बस्थी । कुरा मिल्ने भएर होइन नि, झगडा गर्नको लागि । एकअर्कालाई देखी सहन्नथ्यौँ । खै किन उसको अनुहार देख्ने बित्तिकै रिस उठ्थ्यो । हेर्दै घमण्डी देखिन्थी ।

झगडा नगरेको कुनै दिन हुन्थेन । निहुँ पनि ठूलो चाहिँदैन थियो । हाम्रो अन्तिम झगडा क्लास एटमा भएको थियो र त्यो सायद म लाइफमा बिर्सन सक्दिँन ।

साइन्स पिरियड चल्दै थियो । क्लासवर्क दिएर सर बाहिर निस्कनुभएको थियो । म क्लासवर्क गर्दै थिएँ । पछाडि केही हलचल भएको चाल पाएँ, पछाडि फर्किएँ । निरुसा घाँटी तन्काउँदै मैले लेखेको सार्दै थिई । मैले कापी देब्रेतिर तानेर लेख्न थालेँ ।

एक्कासि निरुसाले मेरो पाखुरा धकेली । कापी च्यातिने गरि कलम घस्रियो । रिसले आँखाबाट आँसु चुहिन मात्र बाँकी थियो । फनक्क पछाडि फर्किएँ । ऊ केही नभए झैँ छेउको बेन्चतिर फर्केकी थिई । 

उसको दुई चुल्ठी कपाल समाएर फनफन्ती घुमाइदिएँ । उसले आँखा नहेरी सिधै मेरो निधारमा प्याच्च हानी । मैले कापी उठाएर उसको टाउकोमा बजाएँ । ऊ मेरो कान समातेर तान्न थाली, जुरुक्क उठेर मैले पनि उसको कान तान्न थालेँ ।

‘निरुसा...वेद’ सरको ठूलो आवाज आयो । दुवैजना कान छोडेर अगाडि फर्कियौँ । ‘खुब कान समात्न पर्छ हैन ? बाहिर गएर एकअर्काको कान समातेर सयचोटि उठबस गर् ।’ 

दुवैजना टाउको झुकाउँदै बाहिर निस्कियौँ । बाहिर गएर एकअर्कालाई घुरेर हेरिहेका थियौँ । ढोकाबाट सरले हेरेर उठबस गर्ने इशारा गरे ।

दुवैले एकअर्काको कान चुँडाल्ने नै हो कि झैँ समायौँ र उठबस गर्न थाल्यौँ । बीसको गन्तीमा पुग्दा उसको अनुहार रातो हुन थाल्यो । मेरो कानको जराबाट चर चर आवाज आइरहेको थियो । उसको कान अझ कसेर समाएँ । चालीसको गन्तीमा पुग्दा उसको आँखाको डिल रसिलो देखियो । एक थोपा आँसु मेरो हातमा झर्‍यो ।

त्यो अनुहार देखेर म कहिले पनि पग्लिएको थिइन । उसको पीडित अनुहारले मेरै आँखा रसाउन थाल्यो । उसको कान हल्का समाउन थालेँ, पुतलीको पँखेटा झैँ । उसले पनि मेरो कान कस्न कम गरी । 

कान सुस्त समाउँदा हाम्रो दूरी घट्यो । उसको सास मेरो घाँटीले महसुस गरिरहेको थियो । उसको शरीरबाट आएको गुलाबको बास्नाले, मेरो शरीरभरी भूकम्प ल्याइरहेको थियो । त्यसै हल्लिरहेको थिएँ । ऊ पनि कामिरहेकी थिई । अस्सीको गन्तीमा पुग्दा उसले मेरो आँखामा हेरेर मुस्कुराई । त्यहीँनिर उसको दाहिने गालामा बनेको डिम्पलले म बत्तिएर उड्न थालेँ ।

जिन्दगीभर उठबस गर्न पाए हुन्थ्यो जस्तो लागिरहेको थियो । कतिखेर सय पुग्यो थाहा पाइन । पचास उठबस गर्दा फतक्क गल्ने मेरा खुट्टा त्यो दिन बलिया भएका थिए ।

उठबस सकिएपछि मेरो परेलामा हात लगाउँदै भनेकी थिई, ‘तिम्रो परेला कस्तो राम्रो रैछ ।’

आँखामा उसको आँैलाको स्पर्शले दिमागमा डेरा हाल्यो । मिल्ने भए मेरो परेलामा उसैलाई सजाएर राख्न मन लाग्यो । त्यसपछि दिनरात छटपटीमा बित्न थाल्यो । मलाई थाहा थिएन त्यो छटपटीको रहस्य के हो ?

बस् उसलार्ई भन्ने मन थियो, ‘मैले तिमीसँग नयाँ संसार बनाउन थालेको छु ।’ तर वर्षौसम्म मनभित्रै लुकाइरहेँ, भन्न सकिँन ।

एघारमा पुगेपछि मेरो बेन्चमा सिजन श्रेष्ठ भन्ने केटा आयो । बेन्चको आधाभन्दा बढी भाग उसैलाई चाहिन्थ्यो, उसको शरीरको साइज नै त्यस्तो । बेन्चमा मात्रै किन मोटेले मेरो जिन्दगीको हरेक भागमा डेरा हाल्न थाल्यो । 

निरुसालाई मैले मन पराउँछु भन्ने मोटेले मेसो पाइसकेको थियो । किनकि निरुसालाई बेलाबेला मैले एकोहोरो हेरिरहेको उसले पक्डिएको थियो । त्यसपछि हरेक दिन प्रपोज गर भनेर हैरान गर्न थाल्यो ।

उसकै जिद्दीले हाइ स्कुलको अन्तिम दिन प्रपोज गर्ने मेरो योजना थियो । सिधै भन्न सक्नेवाला थिइन, त्यसैले अघिल्लो रात लेटर लेखेँ । लेटरले मात्रै पुग्दैन होला भनेर एउटा कविता पनि लेखेको थिएँ ।

भोलिपल्ट लास्ट पिरियडसम्म लेटर गोजामै थियो । क्लासको पहिलो बेन्चबाट झ्यालबाहिर सुकिसकेको गुलाबको झाडी नियाल्दै भन्ने कि नभन्ने दोधारमा थिएँ ।

स्कुलको चौर खाली थियो, मरभूमि झैँ । त्यो जबर्जजस्त खालीपन, हाई स्कुल सकिने भएकोले महसुस भइरहेको थियो ? या माघको सुक्खापनले थाहा भएन । तर लेटर दिन उत्साहित बनाइरहेको थिएन ।

‘कत्खेर दिने हो ?’ आवाज सुन्नेबित्तिकै फनक्क अगाडि फर्किएँ । सिजन थियो अगाडि । उसले मेरो टाउकोमा हात राख्यो ‘...आज लास्ट चान्स हो भाइ ।’ उसको हात हटाएँ । बच्चा झैँ हात राख्छ यार । ट्वाइलेटको ह्वास्स गन्धले मेरो ध्यान चिर्‍यो । सिजनको कुरा चित्त बुझे पनि मन नपरे झैँ बेन्चबाहिर निस्केँ र ट्वाइलेटतिर हिँडे ।

‘भनिनस् भने म भन्दिछु’, सिजन पछिपछि आइरहेको थियो ।

उसको कुरा नसुनी साइडको ट्वाइलेट भित्र छिरेर चुकुल लगाएँ । ट्वाइलेटको भित्तामा रहेको चित्रमा आँखा गयो । पानको पातको चित्र थियो, एक छेउ सपना अर्को छेउ गौरव लेखिएको थियो । त्यस्तै चित्र बनाएर मेरो र निरुसाको नाम लेख्न मन लाग्यो । के लेख्न सक्थेँ र ? गोजाबाट लेटर निकाले । एकचोटि उसको लागि लेखेको कविता पढेँ र प्रपोज गर्ने इच्छासँगै लेटर ट्वाइलेटमा फ्लस हानेँ र क्लासतिर लागेँ ।

म क्लास छिर्नेबित्तिकै जुलुसजस्तो त्यो माहोल एक्कासि शान्त भयो । 

सबैजना उठे, गुड आफ्टर नुन सर ।’

पछाडि हेरेँ । प्रिन्सिपल आएका रैछन् । तुरुन्त बेन्चमा पुगेँ । हेर्दा कुङ्फु मास्टर झैँ, त्यसमाथि सुट बुटले होला प्रिन्सिपल चाइनिज फिल्मको ग्याङ्स्टर झैँ देखिन्थे ।
प्रिन्सिपलले बस्ने इशारा गरे, ‘सिट डाउन ।’

सबैजना बस्यौँ । बस्नेबित्तिकै ह्वाइटबोर्ड देखेर मेरो घाँटीमा कसैले झ्याम्म सुइ हाने झैँ भयो ।

बोर्डमा लेखिएको थियो ‘‘आइ लभ यु निरुसा — वेद’’

माघको जाडोमा फ्रीजभित्र बसे झैँ शरीर काम्न थाल्यो । अक्षर चिनेर सिजनलाई हेरेँ । टाउकोमा हात राख्दै ऊ फुसफुसायो, ‘यो कुङ्फु आउला भन्ने सोच्दै सोचिन यार ।’ 

सर अगाडि नभएको भए त्यसको टाउको फोर्थेँ ।

‘तँ उठ् ?’ दुवैले अगाडि हेर्‍यौँ । सरले हाम्रो छेउको बेन्चकी स्वातिलाई इशारा गरे । ऊ उठी ।

प्रिन्सिपलले मलाई हेरे ‘तँ उठ् ।’ जुरुक्क उठेँ, बिलाउन मन लागेको थियो असिनाको डल्लो झैँ । 

सरले यताउता हेरे, ‘सेकेन्ड को हो रे क्लासको ?’ अर्को रोको तेस्रो बेन्चबाट पुरन उठ्यो । क्लासका सबैजना हामीलाई कहिल्यै देख्न नपाए झैँ हेरिरहेका थिए ।

‘यी तीनजना विद्यार्थी,’ प्रिन्सिपलले हामीलाई देखाए, ‘यिनीहरू तिमीहरूभन्दा केही फरक छन् ? दुइटा आँखा, दुइटा कान, एउटा नाक...सबै तिमीहरूकै जस्तै छ । एउटा फरक के भने यिनीहरू फस्ट सेकेन्ड र थर्ड हुन् ।’

सर बोलिरहँदा मेरो मुटुको धड्कन पानी फाल्ने मोटर भन्दा तेज भइसकेको थियो ।

‘अब प्लस टुको एक्जामपछि तिमीहरूको भविष्य निर्धारित हुन्छ, पढेर राम्रो नम्बर ल्याएर परीक्षा पास गर्नु नै जीवनको वास्तविक सफलता होे’, हामी तीनजनालाई देखाएर सरले भने, ‘भोलि यो संसार चलाउने भनेको यिनीहरू नै हुन् ।’

सिजन मेरो कान नजिक आयो ‘ब्रह्माले संसार चलाउने कपिराइट तिमरुलाई दिन्छन् क्या ?’

उसलार्ई धकेलेँ, ‘तँ बोल्दै नबोल ।’सिजन हुत्तिदैँ बेन्च बाहिर पुग्यो । प्रिन्सिपलको आँखा सिजनमा गाडियो । रिसाएको साँढे झैँ उनी सिजनतिर हान्निए । सरले सिजनको कान समातेर माथि आकाशमै पुर्‍याउँलान् झैँ जुरुक्क उचाले ।

‘तरक्क’, आवाज आयो, कानको जराबाट । मामाघर देख्यो होला ।

सिजनले सरको हात समात्यो, ‘ऐया ओहो सर, सरी सर, सरी सर ।’ 

ऊ बेन्चमै खुट्टा राखेर उभियो । सरले उसको कान बाइकको एक्सिलटर झैँ बटार्न थाले । त्यो देखेर मेरो कान टनक टनक गरिरहेको थियो । उसले अनुहार काँचै करेला चपाए जसरी कुच्यायो । 

सर गर्जिए, ‘पर्सेन्ट कति थियो एघारमा ?’

सिजन केही बोलेन, झ्यालबाहिर सुकेको गुलाबको झाडी हेर्न थाल्यो ।

सरले उसको चिउडो हल्लाए, ‘भन् ए ।’

उसले सरलाई हेर्‍यो, ‘फेल भको हो म ।’

सरले उसको तालुको रौँ समाते र उचाले ।

‘ऐया’, ऊ करायो । 

हल्का टीठ लागे पनि उसको ह्वाइटबोर्डको हरकत सम्झेर खुसी नै लागिरहेको थियो ।

सरले मलाई चोर औँला देखाए, ‘यस्तो ट्यालेन्टसँग बसेर त केही सिक्नु नि, अघिदेखि हेरिराछु खुसुरफुसुर खुसुरफुसुर, कहिले सुध्रने हो तँ ?’

‘प्लस टु पछि सर् ।’ सिजनले भन्यो ।

क्लासका सबैजना कमेडी शोका दर्शक झैँ गलल्ल हाँसे ।

‘सट अप ।’ सर यसरी चिच्याए मानौ हाम्रो यो पैतालीस जना भएको क्लास होइन, हजारौँ जना भएको स्टेडियम हो । सरले सिजनको कान छोडे । सिजन हातलाई फोनजस्तो बनाएर कान ढाकिरहेको थियो ।

सर केही सम्झन खोज्दै आँखा चिम्म गरेर ह्वाइटबोर्डतिर फर्किए ‘के भन्न आको थिएँ, पूरै बिर्साइदियो ।’

सिजनलाई हेरेर मुस्कुराएँ । सिजन पनि मुस्कुराउँदै अगाडि फर्कियो । अगाडि हेर्ने बित्तिकै एलियन देखे झैँ उसले हात तल झार्‍यो । तुरुन्त अगाडि हेरेँ । मुस्कान गायब भयो । सर एकोहोरो ह्वाइट बोर्ड हेरिरहेका थिए । अब कहाँ भागौँ ?

सर फनक्क मतिर फर्किए । उनका आँखा बेलुनझैँ फुल्न थाले । नजर भुइँतिर झुकाएँ । बाघको पञ्जा झैँ सरको हात मेरो गालामा बज्रियो । टाउको शरीरबाटै अलग्गिए झैँ भयो । आँखाको चस्मा बाहिरै हुत्तियो । टाउको उठाएँ । कानमा ठूलै मच्छड कराए जस्तो आवाज आइरह्यो । घाँटीदेखि कन्चटसम्म सिस्नो लाए झैँ झुम्म भयो । आँखाले मधुरो देख्न थाल्यो ।

सर क्लासबाहिर गएर चस्मा लिएर आए र मलाई दिए । चस्मा लगाएँ, बल्ल स्पष्ट देखियो । सर आँखै अगाडि थिए ।

उनका कञ्चटका नसा सर्प झैँ सलबलाइरहेका थिए, ‘स्कूलदेखिको फस्ट बोए...थर्डमा झरेर पुगेन ?’ सरले अर्को सानो झापड हाने, ‘झन् पढ्ने विद्यार्थी भनेर माया गर्‍यो ।’

म केही बोल्न सक्ने अवस्थामा थिइन । पैताला गलेर त्यहीँ ढलुँला झैँ भइरहेको थियो । कानमा मच्छडको आवाज कम भइसकेको थिएन । अर्कोतिर सिजन कानको लोती मसार्दै थियो ।

सरले बेन्चमा हात बजारे, ‘किन लेखिस् ?’

दिक्क लागेर सरबाट नजर हटाएँ । क्लासका सबैजना, करोडपति सोमा उत्तर कुरे झैँ मलाई हेरिरहेका थिए । अब के भन्ने ? बोली फुटेन ।

‘तँ उठ् त’, सरले हाम्रो बेन्च पछाडि हेर्दै भने ।

टाउको पछाडि घुमाए । केही नबुझे झैँ यताउता हेर्दै निरुसा उठी । ह्वाइट बोर्डतिरै फर्किएँ । आँखा पिलपिल हुँदा हुँदै एक दुई थोपा चुहियो ।

‘तेरो एन्सर के हो त ?’ सरको आवाज आयो ।

निरुसाको सानो आवाज आयो ‘सर म...’ ऊ अकमकाई ‘म...म...’

उसको बोली सकिन नपाउँदै सर कराए, ‘म...मा...मी...मी...मु...मुनामदन हो तिमरु ? तिमरुको हल्ला नसुनेको हो र ? पर्ख तिमरुको घरमा भन्दिन्छु ।’ उनी आफैसँग मुर्मुरिए, ‘के बैँश लाको केटाकेटीलाई ?’ 

फेरि यसो टाउको पछाडि घुमाएँ । निरुसा मतिर रिसले आँखा तर्दै थिई । उसका आँखा हल्का रसाएको थियो । आफैसँग रिस उठ्यो । बिचरी उसका निर्दोष आँखा कति छटपटाइरहेका थिए ।

‘म...मा...मी...मी...मु...मुनामदन हो तिमरु ? तिमरुको हल्ला नसुनेको हो र ? पर्ख तिमरुको घरमा भन्दिन्छु । के बैँस लाको केटाकेटीलाई ?’ 

 

-(आकास बरालको उपन्यास “स्पर्श” बाट । यो उपन्यास बुलबुल पब्लिकेशनले भर्खरै बजारमा ल्याएको छ ।)
 

अन्तिम अपडेट: असोज १, २०७६

तपाईको प्रतिक्रिया