त्यसैले म मलेसियामा १२ वर्ष सम्पर्कविहीन भएँ

 जेठ २०, २०७६ सोमबार १८:६:३३ | मेरो कथा मेरो भोगाई

रामप्रवेश यादव/सर्लाही ।

म सधैं झैं कम्पनीमा काम गरिरहेको थिएँ । म्यानेजरले मलाई फोटो देखाउँदै भने ‘घर गइनस् भने आमाको मुख देख्न नपाउलास् ।’ म त झस्याङ भएँ । सुरुमा त लाग्यो आमालाई के भयो ।

तर आमाले छोराको मुख देख्न पाउँदिन कि भनेको खबर छापिएको रहेछ । त्यही खबर म्यानेजरको हातमा परेको रहेछ । म घर परिवारसँग सम्पर्कबिहीन भएको  १२ वर्ष भएको थियो । मैले हालखबर बुझेको थिइन । त्यसका पछाडि मेरा आफ्नै बाध्यता थिए ।

कमाउने सपना बोकेर २०६४  सालमा मलेसिया गएँ । तर सोचेजस्तो भएन मलेसियामा काम र कमाई । 

काम गर्ने कम्पनी बाहिरबाट हेर्दा राम्रो थियो । काम पनि सधैं हुन्थ्यो । तर पैसा भने किस्ताबन्दीमा दिने । तीन महिना काम गरेपछि बल्ल एक महिनाको तलब दिन्थ्यो ।

त्यही पैसाले नै अघिका दुई महिना र पछिका दुई महिना चलाउन पथ्र्यो । खान, हिँड्न र बस्न त्यही एक महिनाको तलबले चार महिना पुर्‍याउन पथ्र्यो । कमाउन गएको मान्छे तर के गर्नु परिस्थिती ठिक उल्टो भयो । आफ्नो समस्या घरमा भन्न पनि सकिनँ । मलाई त तनाब थियो नै । झन परिवारमा किन तनाब दिनु भन्ने भयो । 
जेजे पर्छ आफैं सहँदै गएँ । त्यहाँ हुने र भएका दुःख त छँदै थियो । त्यो भन्दा ठूलो चिन्ता ऋणको थियो । काम थियो तर कमाइ थिएन । 

घरमा फोन गर्‍यो अनि अर्को महिना पैसा पठाउँछु भन्यो कसरी पठाउनु ? साह्रै चिन्ता भयो । खान बस्नको जोहो गर्नै गाह्रो थियो । त्यसपछि मैले घरमा फोन गर्नै छाडिदिएँ । झण्डै १२ वर्ष भएको थियो ।

घरबाट सम्पर्कबिहीन भएको पनि । घरको याद नआएको हैन । तर आफ्न्त र साथीभाइले जिस्काउलान भन्ने लाग्यो । साथीभाइले गिज्याउलान् भन्ने लाग्यो । जति वर्ष बित्दै गयो त्यतिनै यो डर बढ्दै गयो । 

कहिलेकाहीँ गाउँका साथीसँग फेसबुकमा कुराकानी हुन्थ्यो । तर उनीहरुले खाली घर कहिले आउने भनेर सोध्थे । उनीहरुलाई के भन्ने मलाई सधैं तनाब भइरहन्थ्यो । मैले साथीहरुलाई पनि फेसबुकमा ब्लक गरिदिएँ । 

मलेसिया आउने बेलामा जुन आशा र सपना थियो त्यो पुरा हुन सकेन । जसले गर्दा मनले नचाहे पनि व्यवहारले परिवारसँग टाढा भएँ । ममाथि परिवारको आशा र भरोसा थियो । तर सोचेजस्तो नभएपछि नकारात्मक भावना आउँदो रहेछ । 

कमाउन नसिकी घर फर्किने व्यक्तिलाई सबैले हाँसोको पात्र बनाउने गर्छन् । त्यो मलाई थाहा थियो । तर जब म्यानेजरले आमाको फोटोसहितको समाचार आएको र आमाको इच्छाको कुरा सुनेँ, त्यसपछि त्यहाँ बस्न मन लागेन । साथमा पैसा थिएन । साथीभाइले सहयोग गरे । उनीहरुले नै मलाई टिकट काटेर घर पठाए । 

हिजोआज नकमाइ फर्किएको मलाई कतिले हाँसोको पात्र बनाउँछन् । जुन सहन गाह्रो हुँदोरहेछ । रहर त कस्लाई नहोला र कमाएर धन सम्पत्ति लिएर फर्किउँ भन्ने । तर के गर्नु बाध्यतामा परें । यहाँ अरुले मलाई उडाउँदा मन दुख्छ । त्यसैले म घर बाहिर खासै हिँड्दिन । 

बाहिर हिँडदा कसले के भन्ने हो कि भन्ने लाग्छ । काठमाण्डौबाट घर आउँदा राती मामाको घरमा बरहथवामा बसें । त्यही रात मामाको घरमा ८० हजार रुपैयाँ हराएछ ।

गर्मी भएकाले घरको छतमा १० जना सुतेका थियौं । पैसा कसले लग्यो थाहा छैन तर दोष म माथि आयो । विदेशबाट नकमाई फर्कियो अब त्यही ८० हजारले बसिबसी खान्छ । यस्तो सुन्दा साह्रै चित्त दुख्छ । परदेशबाट नकमाई फर्किदा आफन्तले पनि हेप्दा रहेछन् । 

(दुर्गाप्रसाद भट्टराईले रामप्रवेश यादवसँग गरेको कुराकानीमा आधारित । भट्टराई राष्ट्रिय रोजगार प्रबर्द्धन केन्द्र अन्तर्गत संचालित सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्रमा मनोसामाजिक परामर्शकर्ताका रुपमा कार्यरत हुनुहुन्छ ।)

अन्तिम अपडेट: भदौ ३०, २०७६

तपाईको प्रतिक्रिया