‘नेपालमै ३० हजारको जागिर पाए कोरिया जाने थिइनँ’

 जेठ २७, २०७६ सोमबार १७:४७:५५ | बेदानन्द जाेशी

काठमाण्डाै – बाँके कोहलपुरका निर्मलकुमार बुढा स्नातक पढ्दै हुनुहुन्थ्यो । पढाई राम्रै थियो । सँगसँगै बोर्डिङ स्कुलमा पनि पढाउनुहुन्थ्यो । स्कुल पढाएर क्याम्पस पढ्न पुगेकै थियो । तर एकाएक उहाँलाई कोरिया जाने रहर जाग्यो ।

पढाइमा लगाउने मेहनत कोरिया जानमा लगाए बेलैमा टन्नै कमाइन्छ भन्ने लाग्न थाल्यो । स्नातक तह अध्ययन गर्दा गर्दै उहाँले पढाइ छोड्नुभयो । पढ्दा परिवारलाई आर्थिक बोझ थपिने र समयको पनि खर्च हुने भएपछि आफूले विदेश जाने सोच बनाएको उहाँले बताउनुभयो ।

‘आफूसँगैका सबै साथीभाइ विदेश गएर राम्रो कमाइ गरेको देख्दा मलाई नि नेपालमा बसेर केही हुन्न जस्तो लाग्यो’, उहाँले भन्नुभयो, ‘त्यसपछि पढाइ छाडेर कोरियाको तयारी गर्न थालेँ ।’

तीन वर्ष गाउँकै एक विद्यालयमा शिक्षण पेशा गरेको अनुभव छ निर्मलसँग । तर मासिक १०/१२ हजार रुपैयाँको तलबमा चित्त बुझाउन नसकेपछि उहाँलाई यो जागिर पनि यस्तै हो भन्ने लाग्यो ।

कोरियाको तयारी गर्नको लागि भनेर निर्मल बुटवल आउनुभयो । वि.सं.२०७४ सालमा ७ महिनासम्म खटिएर भाषा तयारी गरेपछि निर्मललाई परीक्षा उत्तीर्ण गर्न गाह्रो भएन । अघिल्लो  वर्ष भएको कोरियन भाषा परीक्षामा उहाँ पहिलो प्रयासमै नाम निकाल्न सफल हुनुभयो ।

निर्मलकुमार बुढा

निर्मल अघिल्लो वर्ष नै कोरियन भाषा परिक्षा उतिर्ण गर्नुभयो । अहिले उहाँ भिसाको पर्खाइमा हुनुहुन्छ । कोरियन भाषा परिक्षाको लागि साथीलाई सघाउन उहाँ काठमाण्डौ आउनुभएको हो । अहिले उहाँ भिसाको पर्खाईमा हुनुहुन्छ ।

‘नेपालमा ३० हजार रुपैयाँको जागिर पाए त म कोरियाको भिसा त्यागिदिन्थेँ,’ यसवर्ष साथीलाई कोरियन भाषा परीक्षामा सहयोग गर्न काठमाण्डौ आएका २३ वर्षीय बुढाले भन्नुभयो, ‘देशमा चित्त बुझ्दो काम नपाएर त हो यतिको दुःख गरेर विदेश जानुपरेको । ’ उहाँले थप्नुभयो, ‘देशको माया त लाग्छ नि, तर कमाउनको लागि त विदेश जानै पर्यो, यहाँँ भनेजस्तो काम पाईंदैन ।’

कोरियन भाषा परीक्षामा लगाएको मेहनत लोकसेवामा लगाएर सरकारी जागिर खान मन लागेन भन्ने प्रश्नको जवाफमा उहाँले भन्नुभयो, ‘त्यसमा त झन नाम निकाल्नै गाह्रो । बरु कोरिया नै सजिलो ।’

केही समयको लागि कोरिया गए पनि फर्केर देशमै व्यवसाय गर्ने उहाँको सोच छ । ‘विदेश त पाँच वर्षको लागि मात्रै हो, त्यसपछि जिन्दगी बिताउने भनेको आफ्नै देशमा त हो’,उहाँले भन्नुभयो, ‘यहाँ भनेजस्तो काम र चित्तबुझ्दो तलब नपाएरै त हो नि विदेश जानुपरेको ।’

सबै प्रक्रिया पूरा भइसकेकाले अब चाँडै भिसा आउनेमा निर्मल ढुक्क हुनुहुन्छ । उहाँले आफ्नो उमेरका साथीभाइले कोरिया गएर राम्रै प्रगति गरेको देख्नुभयो । आफ्नै ठाउँमा भेटेको पढाउने  जागिरमा चित्त बुझेन । केही व्यवसाय थाल्दा उत्पादित सामानको बजार नहुने देखेर पनि निर्मललाई केही समयकै लागि भए पनि कोरिया जानैपर्छ भन्ने लाग्यो । नत्र आमाबुवा, घरपरिवार छाडेर त्यति टाढा विदेशमा जाने रहर कसलाई हुन्छ ? निर्मललाई पनि त्यस्तै लाग्छ । 

‘सरकारले युवाहरुलाई स्थायी जागिर र उत्पादित सामानको राम्रो व्यवस्था गरिदिए त किन विदेश जानुपथ्र्यो त ?’ उहाँले मनको गाँठो फुकाउँदै भन्नुभयो, ‘सरकारले ३० हजार जतिको जागिर दियो भने कोरियाको भिसा क्यान्सिल गर्दिन्छु ।’

विश्वस्त छैनन् युवा

सरकारले रोजगारीको लागि विदेश जानुपर्ने बाध्यता हटाउने भने पनि धेरैलाई यो कुरा पत्यार लागेको छैन । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरमा प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणा गर्दै गर्दा अब कोही पनि युवा विदेशिनु पर्दैन भनेर भाषण गरेकै भोलिपल्ट र पर्सिपल्ट झण्डै एकलाख युवा कोरिया जाने सपना बुन्दै परीक्षामा सहभागी भए ।

यस्तै मध्येमा हुनुहुन्थ्यो, धनकुटाकी मिना लिम्बु पनि । ‘जति धेरै मेहनत गरे नि नेपालमा कमाइ नै थोरै हुन्छ नत्र मेहनत त हामी यता पनि गर्न सक्छौँ नि’, उहाँले भन्नुभयो, ‘मेहनत त कोरियामा पनि छ नि, तर कमाइ यताको भन्दा धेरै हुन्छ र जान लागेको हो ।’ 

उहाँले पनि कोरियन भाषाको तयारी गर्दै गर्दा आफ्नो क्याम्पसको पढाइलाई निरन्तरता दिन सक्नुभएन । स्नातक पढ्दै गर्दा पढाइ छुट्यो । गोंगबुमा बस्दै आउनुभएकी मिना फाइनान्समा काम गर्नुहुन्थ्यो ।
कोरियन भाषा परीक्षाको तयारी गर्ने भनेपछि काम पनि छाड्नुभयो । नेपालमा काम पाइनै मुश्किल हुने र पाइए पनि एकदमै थोरै तलब हुने भएकोले कोरिया जानुपर्ने बाध्यता भएको उहाँको भनाइ छ । 

‘नेपालमा कति धेरै महंगी हो, एक किलो टमाटरकै १३० पर्छ, हामी जस्ताले कसरी किनेर खाने’, उहाँले भन्नुभयो, ‘कतै जागिर गर्ने हो भने पनि तलब नै दिंदैन, कमसेकम २० हजार जति तलब त दिनुपर्छ नि ।’

उहाँको भनाइमा पनि कोरिया जानुपर्ने खासै ठूलो कारण देखिंदैन । नेपालमा काम नपाइनु र पाइए पनि थोरै तलब हुनु, त्यसैमाथि बढ्दो महंगी, यही नै हो विदेशिनुको कारण ।

अशाेक आचार्य

यस्तै अर्घाखाँचीका २१ वर्षीय अशोक आचार्य पनि यसपालीको कोरियन भाषा परीक्षामा सहभागी हुनुभएको छ । ‘परीक्षा ठिकै भयो, नाम त निस्कनै पर्ने हो’ परीक्षा केन्द्रबाट बाहिर निस्कंदै गरेका अशोकले ढुक्कका साथ उहाँले भन्नुभयो । 

नेपालमै बसेर पत्रकारिता गर्ने रहर भएको तर पारिवारिक समस्याका कारण विदेश जान लागेको पीडा पोख्दै उहाँले भन्नुभयो, ‘कोरियाको जस्तै  सरकारले यहीँे धेरै तलब दिएर सबैलाई रोजगारी दियो भने जन्मभूमी छाडेर जान कसलाई रहर लाग्छ र ?’

उहाँले थप्नुभयो, ‘के गर्ने बाउको जेठो छोरो परियो, काँधमा जिम्मेवारी आएपछि रहर गरेर मात्रै नहुँदो रहेछ ।’

वैदेशिक रोजगारीमा जान चाहनेहरु कोरिया भनेपछि झन् उत्साहित हुन्छन् ।  ईटहरीबाट कोरियन भाषाको परीक्षा दिन काठमाण्डौ आउनुभएकी भूमिका लिम्बू र चासुम राईले पनि धेरै कमाउनुपर्छ भन्ने लागेर कोरिया जाने योजना बनाएको बताउनुभयो ।

भूमिका लिम्बू र चासुम राई

‘नेपालमा जति राम्रो जागिर भए पनि २०/२५ हजार रुपैयाँभन्दा बढी तलब हुँदैन, त्यतिले त पुग्दैन नि’, दुवैजनाले एकै  स्वरमा भन्नुभयो, ‘हामी जस्तो थोरै पढेकोलाई नेपालमा कसले दिन्छ र त्यति धेरै तलब ?’
 

अन्तिम अपडेट: असार १२, २०७६

बेदानन्द जाेशी

उज्यालाेमा कार्यरत बेदानन्द जाेशी समसामयिक विषयमा कलम चलाउनुहुन्छ। 

1 Comments

  • Kalyan kamdar Piditt

    June 10, 2019, 5:59 p.m.

    हैन नेपालिहरुले यो देशमा बसेर काम गर्न लजाउछन बहिर गएपछी जे पनि काम गर्छन् खास मा यही समस्या हो, यदी नेपाल मै बसेर अलिकती मेहेनत गर्ने हो भने धेरै कमाइ गर्न सकिन्छ, यहाँ गौमाता को गोबर सफा नगर्ने कोरिया गएपछी सुङुर को खोर सफा गर्ने सस्कार ले समस्या परेको छ यहाँ

  •  0 Reply

तपाईको प्रतिक्रिया