डीभी पर्‍याे अब के गर्ने ? अमेरिकी कन्सुलर प्रमुख माइकल ई म्युसीसँगको कुराकानी

 जेठ २८, २०७६ मंगलबार २०:२०:५७ | अच्युत घिमिरे
unn.prixa.net

२०१८ नोभेम्बरमा डीभी भरेकाहरुको नतिजा अमेरिकी सरकारले २०१९ मे ७ का दिन प्रकाशित गरेको छ ।

डीभी नतिजामा नाम निस्केकाहरुले अब गर्ने तयारीबारे नेपालका लागि अमेरिकी दूतावासका कन्सुलर प्रमुख माइकल म्युसीसँग अच्युत घिमिरेले कुराकानी गर्नुभएको छ । नेपाली राम्रोसँग बोल्न सक्ने म्युसीसँगको कुराकानी ।

माइकलजी, तपाईँलाई स्वागत छ कार्यक्रममा ।

तपाईँहरुले फेरि निम्त्याइदिनुभएकोमा धेरै–धेरै धन्यवाद छ । यसअघि आउँदा असाध्यै रमाइलो भएको थियो । यसपालि पनि रमाइलो हुन्छ भन्ने विश्वास लिएको छु ।  

हामीलाई पनि रमाइलो भएको थियो त्यति बेला कुराकानी गर्दा । तपाईँको नेपाली भाषा अझ धेरै स्मुथ भएर गएछ । खुशी लाग्यो ।

(हाँस्दै) धन्यवाद ।

अझ धेरै छिटो छिटो अझ धेरै सजिलोसँग बोल्न थाल्नुभएछ ।

धेरै धेरै धन्यवाद ।

अब कुरा सुरु गरौँ, डीभी परेकाहरुले सबभन्दा पहिलो स्टेप के गर्नुपर्छ ?

दर्ता गरेको बेलामा एउटा कन्फर्मेसन नम्बर आएको थियो । जसले दर्ता गरेको थियो त्यो कन्फर्मेसन पेज भन्ने आएको थियो त्यसमा कन्फर्मेसन नम्बर पनि आएको थियो । त्यो कन्फर्मेसन नम्बर एकदम महत्वपूर्ण छ भनेर अस्ति (अक्टोबरमा कुरा गर्दा) हामीले भनेका थियौं । यसपाली मे ७ तारिखदेखि त्यो कन्फर्मेसन नम्बर गएर फेरि हाम्रो वेबसाइटमा हालेर त्यो व्यक्ति छानिएको छ कि छैन भन्ने कुरा थाहा हुन्छ । 

अनि यो दुईटा चरणको छ । यो पहिलो चरणको छनोट भयो यो कन्फर्मेसन नम्बर । त्यसकारणले पहिला के गर्नुपर्छ भने हाम्रो वेबसाइटमा डी. भी. लट्री डट स्टेट डट जीओभी मा गएर कन्फर्मेसन नम्बर हालेर, आफ्नो व्यक्तिगत जानकारी पनि हालेर थाहा पाउन सक्नुहुन्छ छानिनुभएको छ कि छैन भन्ने कुरा ।

अनि त्यसपछाडि यदि छानिनुभएको छ भने त्यसमा थप निर्देशन छ । डी एस टु सिक्स्टी नामको आवेदन छ । त्यो भरेर हाम्रो केन्द्रमा पठाउनुपर्नेछ । त्यसमा थप निर्देशनअनुसार जनकारी छ । छानिनुभएको छ भने त्यो जानकारी आउँछ । 

कति आवेदन परेका थिए र कति जना जतिको नाम निस्किन्छ मोटामोटी ?

हाम्रो अनुमानमा, हामीलाई के थाहा छ भने एक वर्षमा ३५०० जना भन्दा बढी जान पाउनुहुन्न । त्यसभन्दा थप संख्या दिएको हुन्छ । थप मान्छेहरु छानिनुभएको छ किनभने कोही कोही प्रक्रियामा जाँदाजाँदै कोही कोही जान सक्दैनन् ।

कोही आफ्नो व्यक्तिगत कारणले जान चाहँदैनन् । त्यसकारणले सुरुमा अन्दाज गरेर चार हजार जना जतिलाई छानिएको छ । छानिएकाहरुमा बधाई छ भन्ने सन्देश जान्छ । यो अन्तर्वाता यो सबै प्रक्रियाको क्रममा जाँदाखेरी अब कोहीकोही जान सक्दिनँ भन्ने थाहा पाएर अनि तीन हजार पाँच सय सम्म जान सक्नुहुन्छ । 

डीभी परिसकेपछि अबको प्रक्रियामा मेरो केही पनि गल्ती नहोस् । सबै कुरा ठिक होस् र जान सजिलो होस् भन्ने चाहना सबैको हुन्छ । त्यसको लागि के–के कुरामा ध्यान दिनुपर्छ ?

वास्तवमा हाम्रो आशा पनि छ सबैजना यो क्रममा जाँदाखेरी सबै कुरा राम्रो होस् भन्ने । पहिला कागज पत्रहरु संकलन गर्नुपर्छ । जस्तो जन्म दर्ता अनि यदि विवाहित भयो भने विवाहको प्रमाणपत्र । त्यसपछाडि प्रहरीबाट कुनै एउटा निवेदन पनि ल्याउनु पर्छ ।

सबैभन्दा महत्वपूर्णचाहिँ शैक्षिक योग्यता किनभने अस्ति पनि हामीले भनेका थियौ प्लस टु सम्म पास गरेको हुनुपर्छ । त्यसकारणले यो शैक्षिक प्रमाणपत्रहरु संकलन गरेर तयार पार्नुपर्छ । 

भनेपछि चारओटा कुरामा एकदमै ध्यान दिनु पर्यो । एउटा जन्मदर्ता जसमा मिति उल्लेख हुन्छ व्यक्ति जन्मिएको, उसको बुवाआमाको नाम हुन्छ । त्यो प्रष्टसँग खुलेको जन्मदर्ता चाहियो । त्यस्तै विवाह गरेको छ भने विवाह दर्ता चाहियो । यदि सम्बन्ध विच्छेद भएको छ भने त्यो अवस्थामा के गर्नुपर्छ ? 

यदि त्यो परेको खण्डमा सम्बन्ध विच्छेदको प्रमाणपत्र पनि लिएर आउनुपर्छ । अर्को कुरा के छ भने स्वास्थ्यको योग्यता पनि हुन्छ ।

स्वास्थ्यका लागि हाम्रो एउटा परीक्षण छ । त्यो परीक्षण चाहिँ आईओएम. भन्ने संस्थाले हामीलाई सहयोग गर्छ । त्यहाँ तीन चार जना डाक्टरहरु हुनुहुन्छ । उहाँहरुले परीक्षण गर्नुहुन्छ ।

अनि त्यो जानकारी हामीले पठाउँछौँ । कहाँ जानुपर्छ , कसरी एपोइन्टमेन्ट लिन सक्नुहुन्छ । तर अन्तरवार्ता गर्नुभन्दा अगाडि यो स्वास्थ्य परीक्षण सिध्याएको हुनुपर्छ ।  

के–के कुराको स्वास्थ्य जाँच हुन्छ ?

समग्रमा स्वास्थ्य कस्तो छ ? खोपको व्यक्तिगत इतिहास, के–के लिनुभएको छ ? अनि त्यसपछाडि साधारण स्वास्थ्य कस्तो छ ? पहिले कुनै विशेष रोग लागेको थियो कि वा अहिले पनि कुनै रोग छ कि ? यस्तै हो स्वास्थ्यका लागि हामीले तयार पारेको मापदण्ड ।

क्षारे रोग, क्षयरोगलाई जाँचिन्छ कि ?

हजुर । अनि प्रायः जसो यसमा अयोग्य हुँदैनन् तर कहिलेकाहीँ मात्रै कसैकसैलाई कुनै रोग लागेको रहेछ भने अयोग्य हुने सम्भावना छ । क्षयरोग जसको उपचार अलि लामो छ ।

यो सबै उपचार हाम्रो आर्थिक वर्षको मसान्त अर्थात अन्त्यसम्ममा सिध्याउनु पर्छ । कहिलेकाहीँ यो उपचार गर्दागर्दै पनि हाम्रो आर्थिक वर्ष सिद्दिन्छ । अनि त्यो व्यक्ति अयोग्य हुन्छ । 

एउटा कुरा माइकलजी, जस्तो १२ कक्षा नै पढे पनि कतिपयलाई राम्रोसँग वेबसाइटहरुमा काम गर्न, कम्प्युटरमा काम गर्न सजिलो र सहज नहुन सक्छ । फर्म आफैले भर्दा राम्रो कि कन्सलटेन्सीलाई भराउँदा राम्रो ?

हाम्रो सल्लाह छ आफैले भर्नुभयो भने सजिलो हुन्छ । यसमा दुइटा फाइदा हुन्छ । आफैले भर्दा पैसा पनि लाग्दैन र तपाईँको व्यक्तिगत जानकारी तपाईँभन्दा अरुलाई थाहा हुँदैन । तपाईँलाई आफ्नो व्यक्तिगत जानकारी थाहा छ त्यसैले भर्दाखेरी गल्ती कमै हुन्छ ।

विगतमा कन्सल्टेन्सीमा गएर फर्म भरेको व्यक्ति त्यसको आवेदनमा गल्ती भएको छ भन्ने हामीले देखेका छौँ । त्यसैले त्यस्तो नहोस् भनेर हामीले आफैले गर्न सल्लाह दिन्छौ । यदि आफैले कम्प्युटर चलाउन सक्नुहुन्न भने केही पारिवारिक सदस्यसँग मिलेर केही नजिकको साथीसँग मिलेर गर्दा राम्रो हुन्छ । 

पहिले यस्तो खालको धेरै समस्या आएको छ ? धेरैले बिगारेका छन् फर्म भर्दा ?

धेरै भन्न सकिँदैन तर जसको गल्ती भएको छ अनि अयोग्य हुनुभएको छ, उहाँहरु धेरै निराश हुनुहुन्छ । सबै कुरा ठिक भइसकेको हुन्छ । अनि त्यति एउटा कारणले रोकिन्छ । 

डीभीका बारेमा नयाँनयाँ कुराहरु सुनिरहिन्छ । जस्तो डीभी  परेको मान्छेसँग अरु को–को जान पाउँछन् ?

जुन मान्छेको डीभी परेको छ उहाँको आश्रित पारिवारिक व्यक्तिहरु जान पाउनुहुन्छ ।  त्यसमा श्रीमान वा श्रीमती, त्यसपछाडि आफ्नो सन्तान जो २१ वर्षको उमेरमुनिको हुनुहुन्छ, जान पाउनुहुन्छ । उहाँहरु जान पाउनुहुन्छ । 

यो प्रश्न त्यति हाइपोथेटिकल नहोला, कहिलेकाहीँ यस्तो अवस्था पनि आउन सक्छ, फर्म भर्दा श्रीमती गर्भवती थिइनन्, फर्म भरेको केही समयपछि गर्भवती भइन् । यस्तो अवस्थामा के हुन्छ ?

दुइटा कुरा छ यसमा । चिकित्सककहाँ गएर स्वास्थ्यको परीक्षण गर्ने क्रममा डाक्टरलाई थाहा हुन्छ उनी गर्भवती छिन् भन्ने कुरा । अन्तर्वार्ताका क्रममा हामीलाई पनि थाहा हुन्छ कि यो व्यक्ति गर्भवती हो कि होइन भन्ने कुरा ।

श्रीमान वा श्रीमतीलाई भिसा लागेता पनि यदि बच्चा पछि जन्मियो भने बच्चा लैजानका लागि एउटा उपाय छ । त्यो बच्चा लैजानलाई हामी एउटा पत्र लेख्छौं त्यसैको आधारमा त्यो बच्चा पनि आमाबुवासँगै जान सक्छ । 

यति गरिसकेपछि अन्तर्वार्ता फेस होइन त ?

हजुर हो । यो पहिलो चरणमा चाहिँ छानिनु भएको छ कि छैन ? त्यतिखेर डीएस दुई सय साठी भन्ने आवेदनमा भरिन्छ । त्यसपछि दोस्रो चरणमा जाँदाखेरी हाम्रो केन्द्रबाट खबर आउँछ । फेरि त्यो वेबसाइट हेरिराख्नुपर्छ ।

किनभने अन्तर्वार्ताको जानकारी (अपोइन्टमेन्ट) त्यसैबाट आउँछ । कुनै अर्को स्रोतबाट यदि कुनै इमेल आएको छ भने यो ठाउँमा पैसा पठाउनुपर्छ भन्ने यो जस्तो इमेल खास हामीबाट आएको हुँदैन । 

झुक्याउनका लागि पनि कसैले इमेल पठाउन सक्छन् ?

हो, ठिक भन्नुभयो । त्यसकारणले त्यो किसिमको इमेललाई ध्यान नदिनुहोला । किनभने हाम्रो केन्द्रबाट गएको इमेल हुँदैन । खाली यो वेबसाइटमा गएर दोस्रो चरणमा पुग्दाखेरी अन्तवार्ताको  जानकारी हुन्छ ।

अनि त्यसपछि कागजपत्रहरू सङ्कलन गरेर त्यो जाने दिनमा (अपोइन्टमेन्ट) गर्ने अन्तवार्ता गर्ने दिनमा गइन्छ ।

भनेपछि तपाईहरूको केन्द्रबाट फोन गर्ने भन्ने प्रोसेस हुँदैन । वेबसाइटमा जानुपर्‍यो हैन त ? वेबसाइटलाई मैले फेरि दोहोर्‍याउन अनुरोध गरेँ । 

हुन्छ । https://www.dvlottery.state.gov/ सबै जानकरी यो वेबसाइटबाट लिन सकिन्छ । त्यो वेबसाइटमा गएर बुझ्न सकिन्छ । अंग्रेजीमा लेखेको हुन्छ । यसमा फर्म भर्दा प्राप्त गरेको कन्फर्मेसन नम्बर हालेपछि आफूलाई परेको नपरेको थाहा पाउन सकिन्छ ।

अनि अब अन्तर्वार्तामा जाने बेलाको कुरा गरौँ । अन्तर्वार्तामा जानको लागि एउटा चाहिँ डकुमेन्ट चार प्रकारका शैक्षिक प्रमाणपत्र, जन्मदर्ता, विवाह दर्ता वा सम्बन्ध विच्छेद पत्र बोक्नुपर्‍यो । जाँदा कुनै ड्रेस लगाएर जानुपर्ने अथवा यस्तो गर्नुपर्छ, समय यति अगाडि वा पछाडि जानुपर्छ जस्ता खालको कुनै मापडण्ड हुन्छ कि हुँदैन ?

कुनै यस्तो लुगा लगाउनुपर्छ भन्ने छैन । केही पनि छैन । जुन लुगा लगाउनु भए पनि हुन्छ । अन्तर्वार्ताका लागि चाहिँ २०/३० मिनेट अगाडि नै आउँदा हुन्छ ।

त्यसभन्दा बढी चाँडै आउन आवश्यक छैन । अनि त्यहाँ एम्बेसीमा पुगेपछि हाम्रा सहयोग गर्ने व्यक्तिहरू हुनुहुन्छ । उहाँहरूले सबै निर्देशन दिनुहुन्छ । त्यसो भएको हुनाले त्यहाँ पुगेपछि चाहिँ सजिलो हुन्छ । 

हामी माइकल म्युसीसँग कुराकानी गरिरहेका छौँ । अमेरिकी दूतावासका कन्सुलर चिफ । उहाँसँग यसअघि अक्टोबरको सुरुवाततिर पनि कुराकानी गरेका थियौँ । त्यतिबेला डीभी भर्ने विषयमा कुरा गरेका थियौँ । डीभी परेकाहरुले के–के गर्नुपर्छ जस्ता विषयमा आज  हामी कुरा गरिरहेका छौँ । उहाँको जन्म अमेरिकाको सियाटल शहरमा भएको हो । एरिजोनामा उहाँ हुर्कनुभएको हो ।

सन् १९८८ सेटेम्बर महिनामा उहाँ पहिलोपटक नेपाल आउनुभएको थियो । त्यतिबेला जुम्लाको सिँजामा बसेर एक वर्ष शिक्षण गर्नुभयो । त्यसपछि अर्को दुइ वर्ष जुम्लाको सदरमुकाममा बसेर शिक्षकहरुलाई तालिम दिने काम गर्नुभयो । र हातले भात खान पनि त्यतिबेला नै सिक्नुभएको हो । यसअघिको कुराकानीमा हामीले मन परेका गीतको विषयमा पनि कुराकानी गरेका थियौँ । त्यतिबेला यी र यस्तै विषयमा हामीले कुरा गरेका थियौँ, सम्झनुहुन्छ माइकलजी ?

हजुर सम्झन्छु । जुम्ला जाँदाखेरी फागुन महिना थियो । त्यतिबेला जुम्लामा निकै जाडो पनि हुन्छ । हिउँ पनि परेको हुन्छ ठाउँ ठाउँमा । अनि जति हरियो हुन्छ असार साउनमा त्यतिखेर हुँदैन । सुरुमा जाँदाखेरी अलि डर लागेको थियो । म एक्लै जाने थिएँ ।

अनि पहिला एकपटक मात्र पुगेको थिएँ । छोटो समयको लागि त्यहाँ हेड सर र अरु शिक्षकहरुलाई भेट्न गएको थिएँ । तर त्यतिबेला साथीसँग पनि गएको थिएँ । पहिला एक्लै जाँदा अलिअलि डर पनि लागेको थियो । म जुन परिवारमा बस्थे त्यतिबेला उहाँहरुले धेरै सहयोग गर्नुुभयो ।

उहाँहरु अहिले दाङ तुलसीपुरनेर बस्नुहुन्छ । उहाँहरुको घर चाहिँ इलाम हो । तर जुम्लामा दुर्गम क्षेत्रमा गएर श्रीमानश्रीमती दुवैजना स्कुल पढाउनुहुथ्यो । उहाँहरुले मलाई धेरै सहयोग गर्नुभयो ।

नाम सम्झनुहुन्छ उहाँको ?

हजुर सम्झन्छु नि । हरिबहादुर अधिकारी अनि विष्णु म्याडम । दुर्भाग्यवश  विष्णु म्याडम बित्नुभएको छ । तर हरिबहादुर अधिकारी अहिलेसम्म पनि दाङ तुलसीपुर नजिक बस्नुहुन्छ । मेरो सम्पर्क भइरहन्छ बेलाबेला ।

यसपालि पनि आएपछि हाम्रो भेट भाको छ । अनि उहाँको छोरी पनि काठमाण्डौमा बस्नुहुन्छ । अनि त्यतिखेर उहाँकी छोरी तीन कक्षामा पढ्नुहुन्थ्यो । अहिले त उहाँ ठूलो भैसक्नुभयो, उहाँको परिवार पनि छ ।

तपाईँ एकदमै मजाले परिवारिक रुपमै भित्र बसेर परिवारको अतिथि जस्तै भएर बस्नुभएको छ । नेपालको यो संयुक्त परिवार संस्कारलाई पनि राम्रोसँग हेर्न सक्नुभयो  । तपाईँको संस्कारभन्दा फरक लाग्यो होला नि यो संस्कार, है ?

हो नि । त्यो किसिमले ठूलो परिवारसँग बसेको देखेको थिइनँ मैले त्यसभन्दा अगाडि । त्यसकारणले खुब राम्रो लाग्यो । किनभने मान्छेको बुढेसकालमा पनि परिवारबाट सहयोग भैरहन्छ  भन्ने मैले अनुभव गरेको छु । मलाई पनि एकदमै ठिक लाग्यो ।

अब मेरो आमाबुवा अहिले बुढेसकालमा हुनुहुन्छ । मैले केही गर्न सक्छु कि भन्ने चेतनाको विकास भएको छ मभित्र । केही गर्न मन लागेको छ । यहाँको अनुभव नभएको भए  सायद यतिधेरै बुझ्ने थिएन कि भन्ने हिसाबले सोच्छु कहिलेकाहीँ । 

नेपालमा त धेरै नै पर्यटकहरु आइरहन्छन् । कस्ता खालका हाम्रा संस्कारहरु पर्यटकको रुचीको विषय बन्छन् होला ? हामीले कसरी देखाउन सक्छौँ ती संस्कारहरुलाई ? तपाईँको विचारमा के लाग्छ ?

नेपालमा सांस्कृतिक सम्पदाहरु धेरै छन् । काठमाण्डौमा मन्दिरहरु धेरै छन् । अनि यहाँका भवनका  बनावट पनि चाखलाग्दा छन् । अमेरिका वा अरु पश्चिमा देशहरुमा नपाउने कुरा नेपालमा धेरै छ । नेपालको प्राकृतिक सुन्दरता पनि असाध्यै धेरै छ ।

अनि विशेष गरेर अमेरिकाबाट पर्यटकहरु आउँछन् । पर्वतमा हिँड्ने गरी आउँछन् । कोहीकोही आरोहण गर्ने गरी पनि आउँछन् । नेपाल यो सानो देशमा थुप्रै सिकिने कुरा छ । मान्छेहरु र्‍याफटिङ गर्न पनि आउँछन् । असाध्यै धेरै कुरा छ । हाम्रो देश ठूलो भए पनि यतिधेरै विविधता छैन । जुन नेपालमा छ । 

अब हामी कार्यक्रमको अन्त्यतिर छौँ माइकलजी । डाइभर्सिटी भिसाबारे भन्न बाँकी केही कुरा छन् कि ?

हजुर, एउटा महत्वपूर्ण कुरा के छ भने हाम्रो उद्देश्य यो डीभी कार्यक्रममा आएर अमेरिका जानेहरु सबैजना सफल हुनुहोस् भन्ने रहेको छ । हामीले कहिलेकाहीँ सुन्छौँ । अमेरिकामा गएर यो डीभी प्रोग्राममा केही वर्ष बसेर अलि दुःख खाएर फेरि नेपालमा आउँछन् भन्ने कुरा । सुन्दा हामीलाई अलि दुःख लाग्छ ।

त्यसका लागि यो अन्तर्वार्ताको बेलामा हामीले सोध्ने गरेका छौँ । सुरुमा प्रयोग गर्नलाई तपाईँको सम्पत्ति कति छ भनेर हामीले सोध्ने गरेका छौँ । शैक्षिक योग्यता त हामीलाई थाहा भैहाल्छ ।

बरु त्यसपछाडि आफ्नो कामको अनुभवको बारेमा पनि सोध्छौ किनभने जसको धेरै अनुभव छ काम पाउन पनि त्यति नै सजिलो हुन्छ । जसको कुनै अनुभव छैन काम पाउन पनि त्यति नै कठिन हुन्छ । अनि अलि बढी समय लाग्न पनि सक्छ ।

त्यसकारणले त्यो विषयमा पनि कुरा गर्छौँ । त्यसभन्दा पनि अमेरिकामा को–को हुनुहुन्छ ? जसले सहयोग गर्न सक्नुहुन्छ । त्यो महत्वपूर्ण कुरा हो । किनभने जुन नयाँ देशमा गएर बस्न थाल्दाखेरी पनि सजिलो हुँदैन । 

केही दिन वा हप्तासम्म वा केही महिनासम्म अलिअलि सहयोग चाहिन्छ । अनि यदि सहयोग गर्ने मान्छे छ भने कि आफ्नो परिवारबाट कि आफन्त मध्येबाट कि नजिकको साथी भयो भने सजिलो हुन्छ । त्यसकारणले त्यो विषयमा पनि अन्तर्वार्ताको बेलामा हामीले कुरा गर्छौँ । अनि जसको अलि बढी सहायता उपलब्ध छ  उसलाई अलि सजिलो पनि हुन्छ । 

हवस् माइकलजी, निकै रमाइला र महत्वपूर्ण विषयमा कुराकानी गरियो । तपाईँलाई धेरैधेरै धन्यवाद ।

मलाई पनि यति कुरा गर्ने मौका दिनुभयो । यसका लागि तपाईँ र उज्यालो परिवारलाई नै धन्यवाद दिन्छु ।

अन्तिम अपडेट: भदौ ७, २०७६

अच्युत घिमिरे

घिमिरे उज्यालाे रेडियाे नेटवर्कका कार्यक्रम संयाेजक हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया