मलेसियाबाट फर्किएर कवाडीको काममा रमाएका राकेश

 असार २४, २०७६ मंगलबार १४:४०:५६ | बेदानन्द जाेशी

काठमाण्डौ – भन्छन् नि, ‘जिन्दगी यात्रा हो ।’ यात्रा गर्ने तरिका र अनुभव भने व्यक्तिपिच्छे फरक हुन्छ । रौतहटका राकेश राय यादवले पनि २०६२ सालमा फरक तरिकाले सुरु गर्नुभयो, आफ्नो जिन्दगीको यात्रा । 

माओवादी कार्यकर्ता बोकेको गाडी चढेर काठमाण्डौ आएका राकेश जहाज चढेर मलेसिया पुग्नुभयो । परदेशमा दुःखलाई केही बुझ्नुभयो । अनि फर्किनुभयो । अहिले उहाँको जीवनको यात्रा साइकलसँगै अघि बढ्दैछ । 

माओवादीको गाडी चढेर काठमाण्डौ घुम्न आउँदाको कुराबाट सुरु गरौं राकेशको जिन्दगीको यात्रा ।

त्यो बेला राकेश ६ कक्षामा पढ्नुहुन्थ्यो । उमेर १२ वर्षको थियो । काठमाण्डौका बारेमा उहाँलाई नामबाहेक केही पनि थाहा थिएन । 

गाउँका मानिस लिएर आमसभाका लागि माओवादीको गाडी काठमाण्डौ जान्छ भन्ने थाहा पाएपछि राकेशलाई पनि नाम मात्रै सुनेको काठमाण्डौ हेर्ने रहर लाग्यो । त्यही गाडीमा आफू पनि काठमाण्डौ जाने निर्णय गर्नुभयो ।

बुवाको कोटको खल्तीबाट सुटुक्क पाँचसय रुपैयाँ निकाल्नुभयो । पाइन्टको फेरोमा लुकाएर काठमाण्डौ आउन ठिक्क परेको बसभित्र सुटुक्क छिर्नुभयो । यो कुरा घरमा कसैलाई थाहा थिएन ।

रातभरीको यात्रापछि भोलिपल्ट बिहान गाडी काठमाण्डौ आइपुग्यो । काठमाण्डौ हेर्ने राकेशको सपना पनि पूरा भयो । केही दिन माओवादीको कार्यक्रममा यताउता कुद्नुभयो । गाउँबाट आएका अरु मानिससँगै खानुभयो, बस्नुभयो । 

कार्यक्रम सकियो, सबै घरतर्फ फर्किए । तर राकेशलाई भने झिलिमिली काठमाण्डौ छाड्न मन लागेन । यस बीचमा उहाँले  घरमा फोन गरेर आफ्नो बारेमा बताइसक्नुभएको थियो । 

काठमाण्डौ पुग्ने बालापनको रहर त पूरा भयो । तर अब के गर्ने भन्ने थाहा थिएन । घरबाट कसैले थाहा नपाउने गरी ल्याएको पाँचसय रुपैयाँ पनि सकिंदै थियो । ज्यान पाल्न काम गर्नुपर्‍यो । १२ वर्षे केटोलाई कामको मेलो मिलेको थिएन ।

चिनजानका एकजना दाइले ललितपुरको धोबीघाटमा रहेको कवाडीखानामा काम लगाइदिए । काम थियो कवाडीको । अब भने राकेशको काठमाण्डौको बसाइ पक्का भयो । 

फेरि घरमा फोन भन्नुभयो, ‘मैले काम पाएँ, म यतै बस्छुँ ।’

काममा लगाइदिने दाइले एउटा साइकल दिए । रौतहटका राकेश साइकल लिएर काठमाण्डौका गल्लीगल्ली डुल्न थाल्नुभयो । यसरी हिँड्दा खुब रमाइलो लाग्थ्यो राकेशलाई । कवाडी सामान जम्मा गर्नमै रमाउनुभयो । मन लगाएर काम गर्नुभयो ।

गाउँमा पढाइ छुुटेको थियो । गाउँका साथीभाइ छुटेका थिए । तर उहाँलाई यी छुटेका कुरामा भन्दा पनि एक महिनामा भएको ६ हजार रुपैयाँ खुशी हुनुभयो । कमाइ बढ्दै भयो । उहाँले घरमा पनि खर्च पठाउनु थाल्नुभयो । 

काठमाण्डौको वातावरण र कामलाई चिनेपछि उहाँले महिनाको १५ देखि २० हजार रुपैयाँसम्म कमाउनु थाल्नुभयो । 

‘म घरमा पैसा पठाउन थालेँ, कहिले कसैको हातमा पठाउँथे, कहिले म आफैं गएर छोडेर आउँथे’, उहाँले खुसी हुँदै भन्नुभयो, ‘म सानै उमेरदेखि पैसा कमाउन थालेको नि !’

यही कमाइले नै उहाँले आफ्नो घरजम पनि गर्नुभयो ।

काम छाडेर मलेसिया 

लगातार १२ वर्षसम्म राकेशले धोबीघाटको एउटै कवाडीखानामा काम गर्नुभयो । त्यसपछि राकेशलाई विदेश जानुपर्छ भन्ने लाग्यो । विदेश जानुपर्छ भन्दा पनि बढी पैसा कमाउने रहर जाग्यो । 

‘विदेशमा धेरै पैसा कमाइ हुन्छ भन्थे, मलाई नि बढी पैसा कमाउन मन थियो’, राकेशले हाँस्दै भन्नुभयो, ‘आफूसँग कमाएको केही पैसा थियो, गइहालौँ न भनेर गइयो।’
चार वर्षअघि सन् २०१५ माराकेश कवाडीको काम छाडेर मलेसिया हानिनुभयो । 

मलेसियामा म्यानपावरले भनेझैँ काम मिल्यो । सोनी कम्पनीमा थियो काम । एलसीडी टिभी बन्थ्यो । तलब पनि तोकेअनुसारकै थियो । दैनिक ८ घण्टा काम गरेको मासिक कमाइ ९ सय रिंगिट ।

ओभर टाइमसहित गर्दा १२ सय रिंगिट हुन्थ्यो । तीन वर्ष त राकेशले जसोतसो काम गर्नुभयो । तर उहाँलाई त्यति पैसाले चित्त बुझेन । 

नेपालमा ४/५ घण्टा साइकल डोहोर्याएर महिनाको २० हजार रुपैयाँ जति कमाएको बानी । विदेशमा १२ घण्टा काम गरेर पनि त्यति नै कमाइ । राकेशले नेपाल नै फर्किने निधो गर्नुभयो ।

‘विदेश गएर पनि ५०, ६० हजार रुपैयाँ कमाइ भएन भने के गर्ने जस्तो लाग्यो, त्यसपछि म नेपाल फर्किएँ’, उहाँ भन्नुहुन्छ, ‘फर्केर विदेश नजाने भनेर आएको ।’ तीन वर्ष काम गरेर राकेश पोहोर नेपाल फर्किनुभयो । 

नेपाल फर्किएर के काम गर्ने भन्ने चिन्ता थिएन । किनकी परदेशको भन्दा धेरै पैसा उहाँले काठमाण्डौ गल्ली गल्लीमा देख्नुभएको थियो । ‘नेपाल गएर फेरि कवाडीको काम गर्छु भन्ने दिमागमा फिट गरिसकेको थिएँ’, राकेश भन्नुहुन्छ, ‘घर फर्केको केही दनमै त म काठमाण्डौ आइहालेँ नि ।’

मलेसिया हुँदा आठ लाख रुपैयाँ कमाएकोमा भने राकेश मख्ख पर्नुहुन्छ । भन्नुहुन्छ, ‘आठ लाख रुपैयाँ कमाएर घरमा दिएँ, घर बनाइयो, छोराछोरीले पढेँ, घाटा त भएन ।’

आफ्नै व्यापार गर्ने चाहाना

विदेशबाट फर्किएर अहिले राकेश पुरानै काममा लाग्नुभएको छ । 

कतिपयले त कुनै राम्रो काम गर, किन यो कवाडीको काम गरिराको जस्ता कुरा पनि सुनाउँछन्, तर राकेशलाई कसैको कुरा सुन्ने फुर्सद छैन । किनकी राकेश आफ्नै व्यापार गर्ने सोचमा हुनुहुन्छ ।

‘मलाई त आफ्नै कवाडीखान खोल्नुछ, अरुले जे भनुन् मलाई वास्ता लाग्दैन,’ ‘नख्खुमा जग्गा पनि हेरिसकेको छ, बस् सामान किन्न बाँकी छ,’ राकेश आफ्नो योजना सुनाउनुहुन्छ ।

आफ्नै कवाडीखाना खोल्नको लागि झण्डै ६ लाख रुपैयाँ जति लगानी लाग्ने अनुमान छ राकेशको । कवाडीखाना चलाउनको लागि के गर्नुपर्छ भन्ने सबै मेलोमेसो जान्नुभएको छ । राकेशकै शब्दमा भन्दा यो काम त ‘लोट्री’ पर्नुजस्तै हो ।

‘धेरै मात्रामा सस्तो सामान पायो भने हामीले महंगोमा बेच्न सक्छौँ, अनि लोटरी भएन त’, उहाँ उत्साहित हुँदै राकेश भन्नुहुन्छ, ‘कहिले त एक महिनाको कमाइ एक दिनमै हुन्छ, फेरि किन जानु विदेश ?’
 

अन्तिम अपडेट: साउन २७, २०७६

बेदानन्द जाेशी

उज्यालाेमा कार्यरत बेदानन्द जाेशी समसामयिक विषयमा कलम चलाउनुहुन्छ। 

तपाईको प्रतिक्रिया