‘मेरो डायलग अमरिश पुरीको जस्तै थियो रे !’

 असार ३१, २०७६ मंगलबार १०:७:३६ | मनोज दाहाल
unn.prixa.net

विक्रम संवत २००२ साल पुष २ गते काठमाण्डौको नेपालटारमा जन्मिएका थिए, कलाकार लक्ष्मण बस्नेत । 

उनी सानै छँदा आमालाई पक्षघात भएपछि उनको स्याहार गर्नु्पर्दा लक्ष्मणको पढाइसमेत प्रभावित भयो । तर बस्नेत भन्छन्, ‘मैले मेरी आमाको दूधको भारा तिर्ने मौका पाएँ ।’ 

झण्डै १४ वर्षदेखि रोगसँग रोगसँग लडहेकी वि सं २०२४ कात्र्तिक २४ गते आमाको निधन भयो । पढाइमा त्यति रुचि नभएका बस्नेत सानैदेखि नाटकमा झुकाव राख्ने गर्दथे । 

उनको कलाकारिताको यात्रा ‘कर्मरेखा’ नामक नाटकबाट सुरु भएको थियो । उनले अभिनय गरेको पहिलो नाटकबाटै दर्शकलाई छाप छोड्न सफल भए । सबैबाट प्रशंसा पाएपछि कलाकार बस्नेतले यही क्षेत्रमा आफ्नो भविष्य देख्न थाले । एकपछि अर्को नाटकमा व्यस्त बन्न थाले । 

‘मुटुमा रोपिएको काँडा,’ ‘क्या फसाद,’ ‘लेखान्तर’ हुँदै झण्डै २० भन्दा बढी नाटकमा उनले आफ्नो अभिनय कौशल प्रस्तुत गरिसकेका छन् । 

बस्नेतले अभिनय गरेको पहिलो टेलिचलचित्र ‘शहर यात्रा’ हो । ‘शहर यात्रा’ मा अभिनय गरेपछि उनलाई थप हौसला मिल्यो । सबैले प्रशंसा गरे । त्यसपछि उनी टेलिचलचित्रमा थप व्यस्त बन्न थाले । 

‘भावना,’ ‘मन,’ ‘आगोको भिल्को,’ ‘फर्केर हेर्दा,’ ‘देवी,’ ‘तितो सत्य,’ ‘जिवनचक्र,’ ‘थोरै भए पुगिसरी’ लगायत दर्जनौँ टेलिचलचित्रहरुमा उनले अभिनय गरेका छन् । 

झण्डै ६० भन्दा धेरै नेपाली चलचित्रमा अभिनय गरेका बस्नेतले ‘इटालु इलालु पिण्टालु पिलालु’ नामक दक्षिण भारतीय चलचित्रमासमेत अभिनय गर्न भ्याए । प्रस्तुत छ उनै कलाकार बस्नेतसँग गरिएको कुराकानी– 

‘छ माया छपक्कै’ मा कसरी जोडिनुभयो ?

मलाई दीपकराज गिरीले साह्रै माया गर्नुहुन्छ । ‘तितो सत्य’ देखि नै हामी जोडिएका हौँ, नजिकिएका हौँ । त्यसपछि दीपक राज गिरीले आफैँले निर्देशन गरेका चलचित्रहरुमा पनि मलाई समावेश गराउनु भएको छ । उहाँले निर्माण गरेका चलचित्र ‘छ एकान छ’  देखि ‘छ माया छपक्कै’ सम्म मलाई छोड्नु भएको छैन । 

दीपक राज गिरी कलाकार छनोट गर्न कुनै कञ्जुस्याइँ गर्नुहुन्न । कथाले मागेको कलाकार सडकबाट टिप्नु परे पनि, घाटबाट टिप्नु परे पनि छोड्नु हुन्न । ‘छ माया छपक्कै’ मा मलाई जीतु नेपालको बाबुको रोलमा छनोट गर्नु भएको छ । यो चलचित्र एहाँले निर्माण गरेका अहिलेसम्मका चलचित्रभन्दा राम्रो हुन्छ भन्ने विश्वास मलाई लागेको छ ।

बाल्यकालको अविस्मरणीय क्षण सुनाइ दिनुहोस् न ?

साथीभाइहरुसँग गाइवस्तु चराउन जाँदा ज्यापुको बारीमा फलेका काँक्रा चोर्न जाँदाको क्षण रमाइलो लाग्छ । साथी–साथी मिलेर कसैले मूल्य सोधेर भुलाउने, कसैले टिप्ने र कसैले लिएर भाग्ने कुरा मिलाउँथ्यौँ । थाहा पाएपछि नेवारी भाषामा यो ‘चारेकाजीहरु’ भनेर गाली गर्दथे । त्यो कुरा कहिल्यै बिर्सन सकिँदैन । त्यो बाहेक बाल्यकालको सम्झनलायक क्षण अरु छैन ।

पढाइ किन अघि बढ्न सकेन ?

पढाइ त्यति राम्रो भएन किनकि आमा लामो समयसम्म बिरामी हुनुभयो । अहिलेको भाषामा भन्ने हो भने त्यसलाई ‘प्यारालाइसेस’ भनिन्छ । त्यतिबेला भूत, प्रेत, पिशाच लागेको हो भन्थे । अहिले त्यो कुरा भन्ने हो भन्ने भन्नेलाई नै पागल भन्छन् ।

तर हामीले जुनबेला एउटा जग्गा किनेका थियौँ, त्यही बेलादेखि आमाले ‘मलाई गर्दनमा च्यापे जस्तो हुन्छ’ भन्नुहुन्थ्यो । जसले गर्दा आमालाई एकजनाले छोड्नै नमिल्ने भएकोले मैले पढ्ने अवसर गुमाएँ । जुनबेला पढ्नको लागि उर्बर उमेर हुन्छ,  त्यही बेला आमालाई स्याहारसुसार गर्नुपर्ने अवस्था आइपर्‍यो ।

त्यही रोगले च्यापेपछि आमाको देहावसान भएको हो । झण्डै १४ वर्ष लामो समय मेरो त्यसैमा बित्यो । अनि मैले पढ्ने अवसर नै पाइँन । मलाई त्यस बारेमा दुःख छैन किनभने आमा अशक्त भए पनि मैले एउटा छोराले आमाको लागि जानिबुझी जे गर्न सक्छ, त्यो गरेँ । मलाई लाग्छ, मैले आमाको दूधको भारा तिरेँ । इन्साफ भगवानको हातमा छ ।

चलचित्र कत्तिको हेर्नुहुन्थ्यो ?

त्यतिबेला चलचित्र हेर्ने भन्ने त टाढाको विषय थियो । मलाई लाग्छ म १४/१५ वर्ष जतिको थिएँ होला ? मलाई मेरो जेठो दाजुले ‘एक आना बुटपालीस, दु आना तेल मालिस’ नामक एउटा हिन्दी चलचित्र देखाउनु भएको थियो ।

त्यो चलचित्र दाजुभाइबीचको सम्बन्धका बारेमा थियो जस्तो लाग्छ तर त्यतिबेला पर्दामा हेर्दा एक जना आउँछ, ‘ढिस्युँ ढिस्युँ’ गर्दै जान्छ के गरेको हो जस्तो लाग्थ्यो । त्यसपछि मलाई पनि कता कता यस्तै गरी खेल्न पाए हुन्थ्यो नि भन्ने लाग्थ्यो । कलाकार बन्ने रहर थियो । रहर भएर मात्र के गर्नु, त्यतिबेला न त तान्ने मान्छे कोही थिए, न घचेट्ने । त्यै पनि चाहनाले घिस्रिँदै घिस्रिँदै यता उति गरिन्थ्यो अनि पछि खेल्ने अवसर पाइयो र यहाँसम्म आइपुगियो ।

अभिनय क्षेत्रतिर कसरी लाग्नुभयो ?

नाच्ने, गाउने, बजाउने र कलाकार बन्ने इच्छा मेरो मनमा त सानै उमेरदेखि थियो । बल्लबल्ल २०३४ सालतिर राष्ट्रिय नाचघरमा प्रवेश गर्न पाइयो । ‘जोइटिङ्ग्रे’ नामको एउटा नाटकमा अभिनय गरियो तर प्रदर्शन हुन सकेन । त्यसैगरी दुर्गा राज खरेल निर्देशन गरेको ‘विकल्प’ नामको भिडियो थियो, त्यो पनि आउन सकेन ।

त्यतिबेला पञ्चायत काल भएकोले राजा र राजसंस्थाको बारेमा बोल्न पाइँदैनथ्यो । नाटक खेल्न परे, कुनै साँस्कृतिक कार्यक्रमहरु गर्न परे, सभा सम्मेलन गर्नु परे प्रहरी प्रशासनको अनुमति लिएर मात्र गर्न पाइन्थ्यो । अहिले जसरी खुलेआम कुनै कार्यक्रम गर्न पाइँदैनथ्यो । 

पछि २०४१ सालतिर नेपालमा पनि टिभि आउँछ रे अब टिभीमा नै फिल्म हेर्न पाइने भो भन्ने हल्ला थियो तर त्यसो रहेनछ । २०४२ सालदेखि साँच्चिकै टेलिभिजन प्रसारण हुन थाल्यो । अनि मात्र चलचित्रहरु हेर्न पाइयो ।

बाल्यकालको दशैंको बेलामा भएको बिर्सन नसकिने अविस्मरणीय क्षण केही छ कि ? 

बाल्यकालमा दशैँमा नयाँ कपडा लाउन पाइने र घरमा खसी ल्याएर बाँधेपछि पाइने खुशीको सीमा नै हुँदैनथ्यो । खसीभन्दा नि अझै बढी खुशी च्याङ्ग्रा ल्याउँदा लाग्थ्यो ।

भोटेहरुले स्यो स्यो भन्दै हुलका हुल भेडा र च्याङ्ग्रा ल्याउँदाको रमाइलो छुट्टै हुन्थ्यो । त्यसरी ल्याएका भेडाच्याङ्ग्रा रानीपोखरी नजिकै अहिलेको विश्वज्योति हलनेर राख्थे । दुई रुपैयाँ पचास पैसा, तीन रुपैयाँ  लिन्थ्यो । दाजुभाइहरुले घर व्यवहार चलाउन बुवालाई सहयोग गर्थे । म चाहिँ सानै भएकोले घर व्यवहारतिर त्यति चासो भएन । बच्चा कालमा भएको रमाइलो क्षण, दिन भन्ने त्यति भएन । दुःखमै बिते बरु अहिले केही सुध्रिएको हो कि झैँ लाग्छ ।

पहिलो पटक नाटक देखाउँदा पाएको र दर्शकहरुले दिएको खुशी ? 

‘कर्मको रेखा’ भन्ने नाटकमा दिनेश कार्कीले मेरो छोराको भूमिकामा खेलेका थिए । सुशीला लामा र कान्छी संगम भण्डारी पनि थिए । जेठी श्रीमतीको भूमिकामा सुशीला लामा थिइन् । 

नाटकमा मेरा दुई वटा श्रीमती, दिनेश कार्की मेरी जेठी पट्टिको छोरा थियो । मैले जेठी श्रीमतीलाई हेँला गरेर खान नदिएपछि उनको मृत्यु भएपछि दिनेश मेरो घरमा आउन खोज्दा मैले घरभित्र छिर्न नदिएको बेलामा बोलिएको डाइलग झण्डै हिन्दी फिल्मको अमरिश पुरीको जस्तै थियो रे । 

त्यतिबेला दर्शकहरुबाट पाएको ताली र वाहावही नै मेरो लागि पहिलो खुशीको क्षण थियो । ‘छोरा बनेको दिनेश कार्कीले पनि तिम्रै कारणले मेरी आमा मरिन् । तिमी मेरा बाउ भएकोले मभित्र तिम्रो रगत बगेको छ । यो घरमा पस्नको लागि मलाई पनि कसैले रोक्न सक्दैन भन्दा तँ खुरुक्क गै हाल् भनेर फर्काएको दुवैको डायलग पनि त्यति नै दमदार थियो’ भन्थे ।

‘क्या फसाद’ भन्ने नाटक लिएर पोखरा गएको डाँफे क्लबका सञ्चालक मीनबहादुर गुरुङ थिए, उनले पनि राम्रै मानेका थिए ।

मलाई चलचित्रभन्दा त नाटक नै मनपर्छ । नाटकमा अभिनय गर्दा असाध्यै आनन्द । स्टेजमा पुग्ने बित्तिकै आफू कहाँ छु जस्तो लाग्छ । टेलिचलचित्रमा पुनः रिटेक गर्न पाइन्छ । तर स्टेजमा त्यो गर्न पाइँदैन, अति ध्यानपूर्वक काम गर्नपर्छ । केही गरी बिग्रिए पनि त्यसलाई सम्हालेर लैजानु पर्छ ।
 
टेलिचलचित्र हुँदै चलचित्रमा प्रवेश गर्दाको खुशी कस्तो थियो ?  

पहिलो चलचित्र राजेन्द्र शलभको ‘परिभाषा’ थियो । क्यामेरामा फेस गर्दा अलि असजिलो हुन्थ्यो । रमेश बुढाथोकीको ‘भावना,’ अनिल पाण्डेको ‘आगोको झिल्को,’ लय सङ्ग्रौलाको ‘देवी,’ र ‘चेतना,’ बद्री अधिकारीको ‘अविरल बग्दछ इन्द्रावती’ मा अभिनय गर्न पाउँदा असाध्यै खुशी लाग्यो । 

त्यसपछि दीपकराज गिरीसँग ‘तितो सत्य’ मा काम गर्न पाइयो । उहाँ अरु कुनै कलाकारको पसिनाको मोल चुकाउन पछि पर्नुहुन्न । बोलाएर नै पारिश्रमिक दिनुहुन्छ । नगेन्द्र घिमिरेको ‘झोला’ मा अभिनय गरेको छु । पारिश्रमिकमा उहाँ पनि असाध्यै ध्यान पुर्‍याउनु हुन्छ । त्यसैगरी अशोक शर्मा पनि त्यत्तिकै ध्यान पुर्‍याउनु हुन्छ ।

नगेन्द्र घिमिरेको सहयोगले मैले भर्खरै मद्रासी चलचित्रमा पनि अभिनय गर्ने मौका पाएँ । अहिले यूट्युबले गर्दा हलमा चलचित्रमा गएर हेर्ने चलन हरायो । कमसेकम हलमा गएर हेर्ने वातावरण भइदिए यो क्षेत्रको विकास र हामीजस्ता कलाकार, निर्माता, निर्देशकको जीवनस्तर राम्रो हुन्थ्यो, धर्म र संस्कृतिको समेत संरक्षण हुन्थ्यो ।

दीपक र दीपाले बनाएको चलचित्र भनेपछि महमा माहुरी झुम्मिएजस्तै दर्शक झुम्मिन्छन्, यो कारण भनेको उनीहरुको व्यवहार नै प्रमुख हो ।
 
वैवाहिक जीवनमा कहिले बाँधिनु भयो ?   

२०२७ साल असारमा विवाह भएको हो । मैले उनलाई नहेरिकनै विवाह गरेको हूँ । क्षेत्रपाटीमा धर्मपालबरसिंह बस्नेतको घरमा टिकाटालो गरी विवाह गर्ने निश्चित भएको हो ।

टीकोटालो गरी घर फर्केपछि दुलही कस्ती रहिछन् त भन्दा हात र औँला त गोरो गोरो नै थियो भनेँ । मेरो सानैदेखि चोर औँलामा औँठी लाउने बानी, त्यतिबेला पनि उनको चोर औँलामा नै लगाइदिएछु । अनि लौ यो त गल्ती भयो भन्दा फेरि औँठी खोलेर साइली औंलामा लगाइ दिएँ । वास्तविक ससुराली घर चाहिँ नुवाकोट जिल्ला समुन्द्रटार भन्ने ठाउँमा हो ।

अनुहार नै नहेरी बिहे गरियो भन्नुभयो । जब बिहे गरेर ल्याउनु भयो र अनुहार देखियो त्यतिबेला कस्तो अनुभव गर्नु भयो ? अप्ठेरो के चाहिँ भयो ?

खासै अप्ठेरो त केही भएन तर पनि के भनेर बोलाउने, के अराउने, के सोध्ने भन्ने जस्ता कुरा मनमा खेल्दो रहेछ । त्यतिबेला अहिलेको जस्तो अवस्था थिएन, समाज पनि थिएन, घरभित्रकै वातावरण पनि फरक थियो । बाबु, आमा, छरछिमेक, दाजुभाइ, दिदी बहिनी सबैसँग लाज मान्नु पर्थ्याे ।

तर जब बिहे गरेर ल्याइयो, त्यतिबेला मलाई खुशीभन्दा पनि बढी त जिम्मेवारीले थिचेजस्तो लाग्यो । किनकि हिजोसम्म म एक्लो थिएँ । आज बिहे गरेर अर्काकी छोरी दुलही बनाएर त ल्याइयो, अब कसरी यसलाई अगाडि बढाउने भन्ने कुराले सताइरहेको हुन्थ्यो ।

बिहेपछि उनले मलाई चिउराको खाजा ल्याएर दिएकी थिइन् । अनि मैले त्यति बेला उनलाई भनेको थिएँ, ‘आउ तिमी पनि सँगै बसेर खाऊ, अब त हामी दुई जिउको एक शरीर भइयो । दुःख सुखका साथी भइयो । तिमीलाई पर्दा र मलाई पर्दा तिमीले सहयोग गर्नुपर्छ ।’

पहिलो पटक ससुराली जाँदाको अनुभव कस्तो रह्यो ?   

वास्तविक ससुराली नुवाकोटको समुन्द्रटार भए पनि दुलही फर्काउन पनि म धर्मपालवरसिँहको घर क्षेत्रपाटी मै गएको थिएँ । उनीहरू मेरा ससुरालीको मावली खान्दानतिरका रहेछन् । मलाई फेरि डाँडाकाँडा, भिरपखेरा, उकाली ओराली, झोलुङ्गेपुल भनेपछि रमाइलो लागे पनि मनमा त्रास पनि त्यत्तिकै लाग्थ्यो । त्रिशुली चाहिँ जान नपरे हुन्थ्यो झैं लाग्थ्यो ।

‘छक्का पञ्जा’ को सुटिङको बेलामा झोलुङ्गे पुलबाट भारी बोकेर पारी पट्टी जानुपर्ने सिन थियो, त्यो पनि गर्ने आँट नभएर अर्कोले गरिदिएको थियो ।

अन्तयमा के भन्न चाहनुहुन्छ ?   

आफ्ना कुराहरु पाठकसामु राख्न पाउँदा निकै खुशी लाग्यो । यसका लागि तपाईँहरुलाई धन्यवाद दिन चाहन्छु । 

अन्तिम अपडेट: मंसिर १०, २०७६

मनोज दाहाल

मनाेज दाहाल कला तथा मनाेरञ्जन विधामा कलम चलाउनुहुन्छ ।

तपाईको प्रतिक्रिया