कर्नाटकमा कांग्रेस–जेडीएस गठबन्धन सरकार ढल्यो

 साउन ७, २०७६ मंगलबार २०:२५:४१ | एजेन्सी
unn.prixa.net

भारतको कर्नाटक राज्यमा केही दिनदेखि चलिरहेको राजनीतिक नाटक समाप्त भएको छ । 

कर्नाटकमा कांग्रेस–जनता दल सेक्युलर(जेडीएस) गठबन्धनको सरकार ढलेको छ । 

कर्नाटक विधानसभामा विश्वासको मत लिन नसकेपछि एचडी कुमारास्वामी नेतृत्वको सरकार ढलेको हो । जेडीएस–कांग्रेस गठबन्धनले संसदमा आफ्नो बहुमत सिद्ध गर्न नसकेपछि बीजेपीलाई सरकार बनाउने बाटो खुलेको छ । 

संसदमा भएको मतदानमा जेडीएस–कांग्रेस गठबन्धनले मात्र ९९ मत प्राप्त गर्‍याे भने बीजेपीले १०५ मत प्राप्त गर्‍याे । बीएस येदुयरप्पाको नेतृत्वमा बीजेपीले कर्नाटकमा सरकार बनाउने तयारी गरिसकेको छ । 

विश्वासमतका समयमा १९ सांसदले सदनको कारबाहीमा सहभागी नहुने निर्णय लिएका थिए । त्यसैले सदनको संख्या २२४ बाट घटेर २०४ भएको थियो । 

कांग्रेस र जेडीएसले १६ जना बागी सांसदलाई मनाउन नसकेपछि संसदको विश्वासको मत जित्न सकेन । कांग्रेसका १३ र जेडीएसका ३ गरी १६ सांसद बीजेपीमा प्रवेश गर्ने तयारीमा रहेका छन् । 

संसदमा मतदान हुनअघि सम्बोधन गर्दै मुख्यमन्त्री कुमारास्वामी निकै भावुक भएका थिए । उनले कर्नाटकका नागरिकसँग माफी माग्दै आफू राजनीतिमै आउन नचाहेको बताएका छन् । विश्वासमत प्राप्त गर्न नसकेपछि उनले मुख्यमन्त्री पदबाट राजीनामा दिने बताएका छन् । 

अन्तिम अपडेट: कात्तिक १६, २०७६

तपाईको प्रतिक्रिया