परीक्षामार्फत स्कुल विभागको नेतृत्व छानाैँ

 साउन १२, २०७६ आइतबार १४:४१:४२ | माेदनाथ प्रश्रित
unn.prixa.net

सामान्यतया जसरी हामीले स्कुलमा विद्यार्थीलाई पढ्न पठाउँछौँ, त्यस्तै हो पार्टी स्कुल पनि । सामान्य स्कुलमा १ कक्षा, २ कक्षा हुँदै तह बढ्दै जान्छ । ८ कक्षा पुगेपछि केही विषयहरु फरक पर्छ । अनि एसईई दिइसकेपछि कुन बाटो लाग्ने भन्ने तय गरिन्छ । त्यसपछि अंग्रेजी पढ्नेले अंग्रेजी, गणित पढ्नेले गणित, विज्ञान लिनेले विज्ञान विषय छान्छन् । हरेक विषयको छुट्टाछुट्टै शाखा हुन्छन् । 

अब एउटा कम्युनिष्ट पार्टीको स्कुल त सबैभन्दा आधुनिक युगको संस्था हो । त्यसको लक्ष्य पहिले सामन्तवाद थियो । त्यो सामन्तवादविरुद्ध पूँजीवाद लड्यो । पूँजीवादले दुनियाँलाई धनाढ्य बनायो र कंगाल पनि बनायो । त्यो वर्ग विषमता भएको हुनाले समाजवादको कुरा आएको हो । समाजवादमा आउनुभन्दा पहिले हामीले जनवाद भन्यौं ।

किनभने प्रजातन्त्र भन्नेबित्तिकै धनी गरीब जो भए पनि एकनासले व्यवहार गरिएको थियो । समानताको कुरै गरिएन । त्यसपछि जब समाजवादको कुरा आयो, यो आउनेबित्तिकै समानताका धेरै पक्ष आउने भए । अहिले सबै पार्टीले समाजवादकै कुरा उचालिरहेका छन् । कम्युनिष्ट पार्टीले त्यसलाई त नउठाउने भन्ने कुरै आउँदैन । 

तत्कालीन एमालेकै कुरा गर्ने हो भने अध्यक्ष केपी शर्मा ओलीले विभागकाे जिम्मा लिएपछि प्रशिक्षण दिने, वैचारिक नेतृत्व तयार पार्ने काम रोकियो । 

नेपालमा कम्युनिष्ट आन्दोलन सुरु गर्दै गर्दा हामीले समाजलाई शिक्षा दिने कुरा के थियो भन्दा मार्क्स, माओत्से-तुङ अनि लेनिनको विचारधारालाई कसरी प्रयोग गर्ने भन्ने हुन्थ्यो । त्यस्ता कुराहरुको पहिले सैद्धान्तिक पक्षहरुमा अध्ययन बढी हुने गर्दथ्यो । त्यो बेला जनवाद भने पनि प्रजातन्त्र भने पनि जनवादमा हामी थियौँ । 

पार्टी स्कुलले विशेषगरी सामन्तवाद भनेको के हो ? पूँजीवाद भनेको के हो ? समाजवाद भनेको के हो ? साम्राज्यवाद के हो ? जनवाद के हो ? अनि हाम्रो दायित्व के हो ? भन्ने विषयमा नेता कार्यकर्ता सबैलाई प्रशिक्षित पार्ने काम गर्थ्यो । त्याेबेला जुन धारणाले स्कुल खोलिएको थियो आज आइपुग्दा धेरै परिवर्तन भएको छ । 

त्योबेला हामीले समाजलाई पार्टीकाबारेमा सैद्धान्तिक विचारले प्रभाव पार्नु पर्ने थियो । त्यही अनुसार प्रशिक्षण दिने र नेतृत्व उत्पादन गर्ने काम भयो । तर अहिले त स्कुल विभाग लामै समयदेखि लथालिंङ्ग जस्तै छ । तत्कालीन एमालेकै कुरा गर्ने हो भने पनि अध्यक्ष केपी शर्मा ओलीले त्यसको पनि जिम्मा लिएपछि त्यसरी प्रशिक्षण दिने, वैचारिक नेतृत्व तयार पार्ने काम रोकियो । 

मैले स्कुल विभागको नेतृत्व लिइरहेका बेलासम्ममा पनि हामीले के पढाउने ? कसरी प्रशिक्षण दिने ? कुन कुन विषय समावेश गर्ने भन्ने कोर्स नै तयार थियो ।  

पार्टी स्कुल विभागको दौडमा लागेका नेताहरुको परीक्षा लिएर त्यसकाे जिम्मेवारी टुंग्याउनु पर्छ ।

हामीले राजनीति, अर्थशास्त्र, समाजशास्त्र, इतिहास, सँस्कृति लगायत विभिन्न ७/८ वटा विषय छनौट गरेर त्यसमा विज्ञहरुलाई अनुरोध गरेर पाठ्यक्रम बनाउन लगाएका थियौँ । त्यो क्रममा म आफैँले पनि केही पुस्तकहरु लेखें ।   

त्योबेला हामीले सबै विषयको प्रशिक्षण दिने अनि परीक्षा लिने पनि काम गर्थ्याैँ । लेख्ने, लेखाउने अनि परीक्षामा कस्तो गर्यो भन्ने प्रमाणपत्र दिने काम पनि हामीले गर्यौँ ।  

त्यो बेला कोर्स नै तयार थियो । कोर्सभन्दा दायाँ बायाँ हुँदैन थियो । गर्न पनि मिल्दैन थियो । अझै पनि मसँग कोर्सका पुस्तकहरु छन् । स्कुलमा के पढाउने भनेर पार्टीका विज्ञहरुको संलग्नतामा कोर्स तय गरेको थियो । मैले झण्डै ४/५ वर्ष पार्टी स्कुलको नेतृत्व गरें ।  

स्कुलले के गर्थ्यो ?

स्कुलले विशेष गरेर संगठन निर्माण कसरी गर्ने ? पार्टीको प्रभावमा नागरिकलाई कसरी ल्याउने ? कस्ता विचारहरु प्रचार गर्ने भन्ने कुराहरु सिकाउने गर्थ्यो ।

एकतापछिको अवस्था हेर्ने हो भने त पार्टीको साझा सोच कस्तो बनाउने ? पाठ्यक्रम कस्तो बनाउने ? भन्नेमा छलफल नै गरेको देखिँदैन । 

हामी कम्युनिष्ट भएको हुनाले हामीले सबैलाई समानताको रुपमा हेर्छौँ । र देशमा भएको सम्पतिहरु सबैले उपभोग गर्न पाउने किसिमको समाज बनाउनका लागि हामी लागेका छौँ भन्ने खालको सैद्धान्तिक विचार प्रवाह गर्ने गरेका थियौँ । 

हामीले आधारभूत रुपमा भन्नुपर्दा मार्क्सवादको सिद्धान्त लागू गर्ने, मार्क्सवादको सिद्धान्तमध्ये पहिलो चरणमा प्रजातन्त्रको विकास, त्यसपछि समाजवादको विकासतर्फ जाने कुरामा मान्छेहरुलाई कन्भिन्स गर्ने काम गर्यौँ ।

त्यसपछि देशमा भएको जमिनदारी प्रथा नै सामन्तवादको परिचय हो त्यसलाई चाहिँ समाप्त गरेर सर्वसाधारणमा लैजाने, सबैलाई सुयोग्य बनाउन प्राविधिक व्यवसायीक शिक्षा दिँदै जाने र उनीहरु योग्य भइसकेपछि सबैले आफ्नो रोजगारी गर्न सक्छन्, बोल्न सक्छन् भन्ने खालको चेतना जगाउने गरी काम भएको थियो ।  हामीले दिएको प्रशिक्षणले वैचारिक नेतृत्व तयार पार्ने काम गरेको थियो । 

कस्तो पढाउने ?

अहिले पार्टी स्कुल व्यवस्थित देखिँदैन । एकतापछिको अवस्था हेर्ने हो भने त पार्टीको साझा सोच कस्तो बनाउने ? पाठ्यक्रम कस्तो बनाउने ? भन्नेमा उहाँहरुले छलफल नै गरेको देखिँदैन । 

हुन त पार्टी नै खास किसिमले एकीकरण भएको छैन । पार्टी स्कुल स्थापना भएकै छैन । अब हामीले हाम्रा नेता कार्यकर्ताको चेतनास्तर यहाँसम्म ल्यायौँ । अब यसभन्दा अगाडि कहाँसम्म लैजाने त भन्ने विषयमा पार्टीले गम्भीर बहस गर्नु जरुरी छ । अब त हामी समाजवादतर्फ जानु पर्‍याे नि ।

अब पार्टी स्कुलले मार्क्स भनेको के हो ? लेनिनवाद भनेको के हो ? मदन भण्डारी विचार भनेको के हो ? भनेर मात्रै हुनेवाला छैन ।

समाजवादमा जानका लागि पूर्वाधार बनाउनु पर्यो । अबको शिक्षा कस्तो हुने ? प्रविधिमा कसरी अघि बढ्ने ? जग्गा जमिनको बाँडफाँडमा कस्तो नीति अख्तियार गर्ने ? रोजगारीको व्यवस्था कसरी मिलाउने ? सबैलाई कसरी व्यवसाय सिकाउने ? भन्ने बारेमा पार्टीले गम्भीर भएर सोच्न जरुरी छ । प्रविधि र व्यवसाय नसिकेसम्म देश उँभो लाग्नेवाला छैन । त्यसैले अब पार्टी स्कुलले पनि नेता कार्यकर्तालाई पढाउँदा यी र यस्ता सबै विषय समेटेर पढाउनु जरुरी छ ।  

पहिले रुद्री, बेद, काब्यहरु पढाउने गरिन्थ्यो । किनकी त्योबेला सामान्य चेतानका लागि त्यो काफी थियो । तर अब त राष्ट्र निर्माणका लागि पढाउनु छ । त्यसैले त्यही अनुसारको पढाइ हुनु जरुरी छ । 

सत्तामा पुगिसकेपछि पनि हाम्रा नेताहरुमा भाषण गर्ने सामान्य प्रशिक्षण दिए हुन्छ भन्नेमै छ । तर यसरी अब हुनेवाला छैन । अब त यो–यो विषयमा हाम्रो देशका लागि के चाहिएको छ त्यसको पूर्ति कसरी गर्न सकिन्छ भनेर त्यसमै केन्द्रित भएर त्यही विषयमा प्रशिक्षित पार्नुपर्ने छ ।  हिजो सामान्य सिद्धान्तका कुरा गरे पनि पुग्ने हुन्थ्यो, तर आज त छुट्टै तरिकाले अघि बढ्नु जरुरी छ । 

जे सुकै भए पनि विद्यालयको शिक्षकलाई हामीले अलि बढ्तै मान्छौँ नि ! होइन ? त्यही भएर यस्तो लुछाचुँडी देखिएको हो ।

पार्टी स्कुलले अब चाहिँ सामान्यतया भाषण गर प्रशिक्षण देउ भनेर हुनेवाला छैन । मार्क्सवाद भनेको के हो ? लेनिनवाद भनेको के हो ? मदन भण्डारी विचार भनेको के हो ? भनेर मात्रै हुँदैन । यो त सबैलाई कण्ठै भइसक्यो । अब भनेको त आर्थिक उपार्जनका विषयमा निर्माणका विषयमा पढाउन जरुरी छ । 

परीक्षामार्फत स्कुल विभागको नेतृत्व

अहिले त पार्टीको स्कुल विभाग कसले लिने भन्नेबारेमा नेताहरुबीच नै हानथाप देखिन्छ । यसरी विवाद हुनु उचित होइन । स्कुल विभाग लिन नेताहरुबीच हानथाप हुनुको कारण भनेको प्रतिष्ठाको विषय हो । म सबैभन्दा जान्ने भएकाले पढाउन पाउने भएँ, सबैभन्दा सिद्धान्त बुझेको, पार्टी बुझेको भएकाले मेरो स्तर ठूलो हुन्छ, सम्मा भइन्छ भन्ने लोभले पनि नेताहरु तँछाडमछाड गरिरहेका छन् ।  

जे सुकै भए पनि विद्यालयको शिक्षकलाई हामीले अलि बढ्तै मान्छौँ नि ! होइन ? त्यही भएर यस्तो लुछाचुँडी देखिएको हो । स्कुल विभागको काम नै विभिन्न विषयमा प्रशिक्षण दिने हो । प्रशिक्षणमा गएपछि त घुम्न पनि पाइने भयो । देशका विभिन्न भागमा पुग्न पाइने भयो । धेरैले चिन्ने पनि भए । स्कुल विभागको भन्नेबित्तिकै हैसियत पनि उँचो हुने भयो । मुख्य कारण पदीय लोभ नै हो । 

अहिले त खाली पदमा जाने, माथिल्लो मन्त्रीसम्म बन्ने होड छ । यो राम्रो होइन । त्यो होड मैले छाडिदिएर आएको हो ।

यसमा विवाद झिकेर बसिरहनुभन्दा कसलाई राख्ने भन्ने विषयमा पार्टीले परीक्षा लिए भइ हाल्यो नि । पार्टी स्कुलको जिम्मा लिनको लागि तपाईंले कस्तो योजना बनाउन सक्नु हुन्छ भनेर विभागको दौडमा लागेका नेताहरुको परीक्षा लिने । त्यसरी परीक्षा लिएर उनीहरुले पेश गरेको योजना अनुसार राम्रो जसको हुन्छ, उसैलाई सम्बन्धित विभागको जिम्मेवारी दिए भयो । यसमा धेरै किचलो गरेर बसिरहनु उचित होइन ।  

नेतृत्व चयन गर्ने बेला त योग्यलाई लैजानु पर्छ । संगठनमा कुशल को छ त्यो चयन गर्नु जरुरी छ । जो नेता हुन्छ नि त्यो नेता बहुआयामिक हुनुपर्छ । सबै खाले मान्छे तयार पार्न सक्ने हुनुपर्छ । 

तर अहिले त खाली पदमा जाने, मन्त्रीसम्म बन्ने होड छ । यो राम्रो होइन । त्यो होड मैले छाडिदिएर आएको हो । वैचारिक रुपले स्कुल चलाउँदा चलाउँदै थाकेको वा स्कुलमा प्रशिक्षण दिए अनुसारको व्यवहार नेता कार्यकर्तामा नपाउँदा छाडेको पनि होइन । लेख्ने, अनुसन्धान गर्ने काम बाँकी रहेकाले अब म नियमित रुपमा पार्टी राजनीतिमा कृयाशिल हुन सक्दिनँ भनेर अवकाश लिएको हुँ ।

बहुदलीय जनवाद र जनताको जनवाद भन्नुमा केही फरक छैन 

पार्टीको विचार के हुने भन्नेमा विवाद भएको कहिलेकाहीँ सुनिन्छ । जनताको जनवाद भने पनि जनताको बहुदलीय जनवाद भने पनि उही हो । माओवादीहरु बहुदलीय व्यवस्था मानेर आएका हुन् नि त ।  

जनताको बहुदलीय जनवाद भन्नु र जनताको जनवाद भन्नु धेरै फरक होइन । हामीले प्रजातन्त्र भन्नेवित्तिकै बहुदलीय भन्ने बुझ्छौँ कि बुझ्दैनौँ त ? त्यही हो ।

बहुदलीय जनवाद  र जनताको जनवाद भन्नुमा केही पनि फरक छैन । दुवै भनेको त्यही बहुदलीय व्यवस्था मान्नेहरुकै मिलन हो । यसमा अड्कनु उचित देखिन्न । यदि यसमा मिल्नै नसक्ने हो भने दुवैको विचार फेरेर अर्को बनाए पनि त हुन्छ नि । बेकारमा अल्झेर बस्नु ठिक होइन ।

त्यो बेला हामीले जनताको बहुदलीय जनवादका विषयमा प्रशिक्षण दिन्थ्यौँ । पार्टीको  लाइन नै त्यही थियो । तर बहुदलीय जनवाद भनेको प्रारम्भिक चरणको कुरा हो । यो भनेको बहुदलसहितको जनवाद भनेको हो । हामी बहुदललाई रोक्दैनौँ । धेरै धेरै दलहरु हुने कुरालाई हामी मान्यता दिन्छौँ भन्ने हो । 

नत्र त यिनीहरु एक दलीय हुन् । यिनीहरु तानाशाह हुन् । यिनीहरुले अरु दल खोल्न दिन्नन् भन्ने जुन आक्षेप लाग्थ्यो नि, त्यो आक्षेप मेटाउनका लागि बहुदलीय जनवाद भनेका थियौँ । तर आफ्नो पार्टीलाई सबैभन्दा ठूलो बनाइसकेपछि त आफ्नो अनुकूल बनाउन सकिन्छ भन्ने भएर त्यसरी हामी लागेका थियौँ । 

जनताको बहुदलीय जनवाद भन्नु र जनताको जनवाद भन्नु धेरै फरक होइन । हामीले प्रजातन्त्र भन्नेवित्तिकै बहुदलीय भन्ने बुझ्छौँ कि बुझ्दैनौँ त ? त्यही हो । अहिले पनि तानाशाहवाद भनेर त कसैले ल्याउँदैनन् । निरंकुशवाद भनेर त कसैले ल्याउँदैनन् नि । त्यसैले यसमा अल्झेर बस्नु ठिक होइन ।

पार्टी स्कुलले कोर्षको आधारमा पढाउने हो । प्रशिक्षण दिने हो । स्कुल विभागमा आउने नेतृत्वले समग्र पार्टीकै भावी वैचारिक धार परिवर्तन गराउन सम्भव हुँदैन ।

विचार परिवर्तन गराउन संभव हुँदैन 

स्कुल विभागमा आउने नेतृत्वले समग्र पार्टीकै भावी वैचारिक धार परिवर्तन गराउन सम्भव हुँदैन । किनकी के पढाउने भन्ने विषय त पहिले नै तय हुन्छ । कुन कुन विषय कसरी पढाउने भन्ने त पार्टीले नै विज्ञ सम्मिलित टोली बनाएर कोर्स तयार पारेको हुन्छ ।

पार्टी स्कुलले त्यही कोर्सको आधारमा पढाउने हो । प्रशिक्षण दिने हो । सामान्य विद्यालयलमा पठन पाठन हुने विषयहरु जस्तै कोर्स तयार हुन्छ । त्यो विषयभन्दा अरु त पढाइ हुँदैन नि । त्यस्तै हो पार्टी स्कुल पनि । यहाँ पनि कोर्स भन्दा दायाँबायाँ हुँदैन ।

कसैले अन्य विषय स्वअध्ययन गर्लान् । त्यो कोर्समा पर्दैन । कुनै एक व्यक्तिको विचार के हो भन्नेले त्यस्तो प्रभाव पार्दैन ।  

(मार्क्सवादी चिन्तक प्रश्रितसँग नवराज फुयाँलले गरेकाे कुराकानीमा आधारित ।)

 

अन्तिम अपडेट: भदौ ३, २०७६

माेदनाथ प्रश्रित

प्रश्रित वरिष्ठ साहित्यकार एवं मार्क्सवादी चिन्तक हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया