आमाको ‘लभ’

 साउन १८, २०७६ शनिबार १०:१६:५३ | रमेश भट्टराई ‘सहृदयी’
unn.prixa.net

“हैन अझै तयार भा’ छैनस् । स्कुल त अलि बेलैमा पो जानुपर्छ । साथी भाइसँग एकछिन भा’नि खेल्न हुन्छ । कति जङ्गली भा’को । सरहरूसँग नि नजा’न्या कुरो सोध्न पइन्छ ।” आमाको भलाइका वचनमा सौगातको मौन विमती हुन्थ्यो । समय भएपछि मात्रै जान चाहन्थ्यो । कोठाबाट पाँच–सात मिनेटमै स्कुल पुगिने हुँदा उसलाई त्यति अघि स्कुल गएर स्कुलमा एक्लै धुम्धुम्ती बसिरहने मन थिएन ।

“मेरो बाबा, आमा र म हिजो शनिबार मनकामना घुम्न गयौँ । आहा ! केवलकार चढ्दा क्या मज्जा हुँदो रहेछ । पहिला त डर लाग्यो, पछि त मज्जा भयो ।” कक्षामा पुगिसक्दा सोनिकाले हातको भाउ लगाइलगाइ सुनाइ । आगमनले आफू आमाबाबासँग चन्द्रागिरि घुम्न गएको गफ गरिसक्दा नसक्दा कृष्णमानले हप्तादिन लाएर पाथीभरा दर्शन गर्न गएको गफ लडायो ।

आफ्ना बाबालाई विदेशबाट बोलाएर आफू पनि घुम्न जाने, गफ लगाउने सौगातको मनभरि अनेकौँ सपनाका धर्साहरू कोरिए । मनले एकतमासको रूप र कल्पनाको महल बनायो । उता कादिर अन्सारीले आफू रारातालमा उसका मामा र आमाबुबा अनि अरु कोको समेतको घुमाइको चर्को आवाजलाई सास तानीतानी सुनाउन थाल्यो ।

अब कत्ति सुन्ने यिनका गफ । सौगातलाई दिक्क लाग्न थाल्यो । अब त ऊ साथीसङ्गीसँग खेल्ने खेलमैदानतिर पनि खासै निस्किँदैन । सौगात पहिलाजस्तो छैन, साथीभाइले यदाकदा भन्न पनि थाले । तर, उसलाई अब एकान्तले मित्र बनाइसक्यो । हो शान्त स्थान । एकान्त स्थान नै प्रिय ।

बाबा विदेश जानुभएको दुई वर्ष भइसक्यो । सौगातको मन भुङ्ग्रोले पोलेको जस्तो भएको छ । बाबाको आवाज एक पटक मात्र सुन्न पाए खुसीले मात्तिन्छु भन्ने भावनाले उ तड्पिएको छ । कोठा बाहिरको बाइकको आवाज पनि पट्यारलाग्दो छ । ‘ह्या आमा पनि कति मोबाइलमा झुन्डिरहनुभा’ होला ।’ उसलाई झिँजो लाग्यो । आफ्नै आमाकै आवाज पनि कति नमीठो !

कोठा अगाडिको कौसीमा एक्लै टोल्हाउने उसको आदतले अब उसको दैनिकी बनाएको छ । ऊ अभ्यस्त छ । दिनभरिजसो त ओल्लो कोठा, पल्लो कोठाका मान्छे प्रायः काममै व्यस्त हुन्छन् । स्कुल बिदा भएका कैयौँ समय कोठामा ऊ मात्रै एक्लै हुन्छ । कौसीको पिलर र भर्‍याङको छेउमा डोरी टाँगेर भित्री कपडा समेत त्यहीँ सुकाइएको देखेर उसलाई झनै दिक्क लाग्यो । उसको फेरिएको बानीप्रति चासो देखाउने प्राणी पनि अब कोही रहेन । आमालाई चाहिँ उसप्रति माया र मातृत्व दिनभन्दा उसबाट टाढिँदै ज्यादा मजा छ ।   

‘आमा, मलाई बाबाको आवाज अलिकति मात्रै भए पनि सुन्ने इच्छा छ । मेसेन्जरमा फोन गरेर एकपटक मात्रै भए पनि बोल्न दिनुस् न ल । उहाँसँग अनुहार हेरेर बोल्न पाए त म हजुरलाई भगवान् मान्थेँ, भगवान् । म हजुरलाई, लाख–लाख धन्यवाद दिन्थेँ आमा । प्लिज, तपाईँकै अगाडि...।’

‘अहिले चुप लागेर पढ् । पछि कुरा गरौँला । पढाइतिर ध्यान दिन छोडेर...।’ आमाको मनको भावना पग्लिएन । उसको वेदनाले राहत पाएन । कोठामा बेउत्तर झोक्राइरहन्थ्यो । किताब नै पढ्नुपर्ने आमाको एकोहोरो दबाबभित्रको ममताको उत्कर्षले उसलाई कुरुङकुरुङ भयो । किताबका अक्षरमा अभिभावकत्वको अर्थ र विद्रोह सँगैसँगै मडारिरह्यो ।

साँच्चै मोबाइल चोरौँ र बाबासँग बोलौँ । तर, थाहा पाउनुभयो भने म त्यसपछि कोसँग बस्ने । म कहाँ जाने ? उसको जोशिलो विचार एकाएक पानी पानी भयो । चाह्यो तर उपाय निस्केन । थच्मरिएर बसिरह्यो । 

सौगात अहिले चार कक्षामा पढ्छ । ऊ पहिलाको जस्तो छैन, हिजोआज थुप्रै बदलिएको छ । 

आज सौगातलाई कोठामा पुगेर खाना खाइसकेपछि पनि निकैबेर निद्रै परेन । मनमा सोनिका, आगमन, कादिरका गफले बिझाइरह्यो । ‘खै निन्द्रा पनि किन आउँदैन ।’ अनि, आमाको कठोरतामा प्रश्न गर्न थाल्यो । ‘आखिर मेरी आमाले दुई दुई वर्षसम्म बाबासँग बोल्न दिनुभा’छैन, किन ?...” मनले धक्का दियो । कारण बुझ्न नजानेरै टोल्हाइरह्यो ।

यसो चियाएर हेर्‍यो, आमाका औँला फेसबुकमा मेसिनझैँ चलिरहेका छन् । उसलाई निद्राले साथी बनाएन । अहो ! आमाको टाइपिङ कला ! तर फेरि निराशाले झस्कायो । मेरो बाबासँग मैले किन बोल्न नपाउने ? मलाई किन मामाघर, बाबाघर नलैजाने ? तर ऊ अब मात्र एक्लो गफाडी हो । बालक भएर पनि बुझ्झकी । शब्दविहीन बस्छ । ज्ञानी पनि अति ज्ञानी । माग पनि केही नभएको । विद्यालय गयो, आयो अनि कोठामा बस्यो । मात्र यत्तिको दिनचर्या । 

“चञ्चल थियो तर हिजोआज साह्रै शान्त छ, खै किन ?” – मदन सरले हेड सरलाई भन्नुभयो ।

‘सौगात तिमीलाई तिम्री आमाले कति माया गर्नुहुन्छ ?’ सहपाठी विनिताले बीचै मुखबाट सोधिन् । ऊ बेउत्तर भयो । विनिताले अर्को प्रश्न तेर्स्याइ– ‘तिम्रो बाबा कहिले आउनुहुन्छ रे त विदेशबाट ?’ तब पनि ऊ नाजवाफ भयो । बोल्ने मन नभएकाले बेउत्तर कक्षाको अन्तिम घण्टीको पर्खाइमा छ । बल्लबल्ल घण्टी बज्यो । शान्ति मिल्यो । 

उसको व्यवहारको एकाएकको परिवर्तन र मौनता । मिटिङमा शिक्षकहरूको लामै बहस हुन्थ्यो । “त्यस्तो चञ्चल उसको व्यवहार, सामाजिक भावनाको मित्रतापूर्ण स्वभाव अचानक एक्लोपनमा परिवर्तित कसरी भयो ?” हेड सरको प्रश्नमा कक्षा शिक्षक पनि अनुत्तरित हुनुभयो ।

सौगातकी आमाले विद्यालयको अभिभावक मिटिङलाई कहिल्यै छोड्नुहुन्नथ्यो । सरहरूसँग आमाले भन्ने गर्नुहुन्थ्यो– “उता, बाबा चाहिँ छोराको भविष्यका लागि भनेर विदेश जानुभा’छ । पढ्ने एकदमै राम्रो वातावरण दे’छु । मैले यसलाई आखिर सबै सुविधा दे’की छु । टाइममा खाना, खाजा, कपडा सबै । कमी के छ र ? केही अभाव नभए’सि...खै के भा’ हो । यो आजकल निकै मात्तिएको छ । दिनदिनै पढाइ बिगार्दै गा’छ । हाम्रा पालामा कहाँ यसरी पढ्न पाइन्थ्यो । आजकलका केटाकेटीलाई त...।”

आमाका हरेक वचनमा सौगातका नकारात्मक सूची बन्थे । आमाका सकारात्मक सूचीको लामो विवरण धाराप्रवाह आउँथ्यो । अब त प्रिन्सिपल, कक्षा शिक्षक सबैको नजरमा पढाइ बिग्रिएको विद्यार्थी हो– सौगात ।

आमा त ममताकी खानी हुन् । हाम्रा पौराणिक मान्यताले ‘मातृदेवो भवः’ सँग अतुलनीय सम्बन्ध छ । कति मीठा छन् हाम्रा संस्कृति ! अनि, माता कसरी कुमाता बन्लिन् ! मातृत्व भावमा शक्तिको पुञ्ज हुन्छ । सायद आमाको गुणगानमा अमृत मिसिएको हुँदा बच्चाबच्ची आमाको दूधको लाम्टोमा सर्वश्व देख्छन् । प्रकृति विचित्रको लाग्छ– आमासँग बच्चाको सम्बन्ध, भावना, प्रेमको रस सायद दूधका स्वादमा पनि रसाइरहन्छ । आमाको अभावमा तड्पिनुपरेको दुःखी नाबालकलाई देख्दा हरेक आमाको हृदय छियाछिया भएर फाट्छ । तर, जीवित आमाबाट टुहुरो बन्नुपर्ने इतिहासका पिता/माता को हुन् त्यो सायद कसैलाई थाहै छैन ।

सौगातको मन उसै गरी दगुरिरह्यो । मेरीआमा, के मेरी आमा आमाजस्तै हुनुहुन्छ ? साँच्चै म उहाँबाटै जन्मिएको ?!

हिजो–अस्ति जसरी आज स्कुलमा आमा सौगातलाई लिन भनेर आउनुभएन । सबै साथीहरू घर फर्किसके । अलि साँझ परेजस्तो पनि भयो । ‘आज तिम्री आमा यति धेरै समय बित्दा पनि आउनुभएन के तिमी घर पुग्न सक्छौ ?’ पाले दाइले सौगातलाई सोधे । उसले टाउको हल्लाएर हुन्छ, भन्ने भावको इसारा लगायो । पाले दाइले उसलाई पहिलोपटक अभिभावकको उपस्थिति विना नै बिदा दिए । आज ऊ पहिलो पटक एक्लै कोठामा आफैँ आइपुग्यो । बीचमा गाडीको भीडबाट बाटो काट्नुपथ्र्यो । यही समस्या उसका लागि चुनौती बन्थ्यो । 

अर्को दिन पाले दाइलाई सौगातले भन्यो– अब त म एक्लै कोठामा जान सक्छु ।

सौगातकी आमालाई ठूलो राहत पाएको महसुस भयो । उसलाई दिनदिनै विद्यालय पुर्‍याउन, ल्याउन जानु नपर्ने भयो । अब स्कुल जाने, आउने कुरामा ऊ आफैँ अभ्यस्त भइसकेको छ । खुसीको सीमा नै रहेन ।

हिजोआज आमा पनि सौगातसँगै बाहिर निस्कन थाल्नुभा’छ । तर, उहाँको जागिर पनि छैन । फुर्सदिलो । कहाँ जानुहुन्थ्यो, उसलाई थाहा नहुुनु र सोध्नै नचाहनुमा पनि अचम्म थिएन । आमाको काम खाना तयार पारिदिने, कपडा धोइदिने र पढ भनेर उसलाई अह्राउने । आखिर भूमिका पूरा भएकै थियो ।

सौगातलाई सायद उमेरले केही परिवर्तन गरायो । अरुझैँ चञ्चल हुनुपर्थ्यो तर पनि मात्र गम्भीर बनायो ।

यसअघिका केही दिन जसरी नै आज पनि स्कुलबाट फर्कँदा आमा कोठामा हुनुहुन्न । कोठा बन्द छ । ऊ कोठा बाहिर ढोकाको आडमा किताबको झोला फ्यात्त फालेर बाहिर बार्दलीमा उसैगरी आमाको पर्खाइमा बस्यो । आमाको प्रतीक्षामा टट्टाएका उसका आँखासँगको मनको वह अतृप्त भएर विस्फोट हुन पनि सक्दैनथ्यो । 

टोलाइरहेको सौगातको मुटुको धड्कन बढेझैँ भयो । अँध्यारो, निष्पट्ट छ । मान्छे चिन्न सकिँदैन । कौसीबाट तल कोही हिँडेको आवाजले आमाकै झझल्को दियो । नजिकै आएझैँ भयो तर सरक–सरक अगाडिको बाटोतिरै गयो । हरेक आवाजले सौगातको आमाको पर्खाइको एक झल्को दिन्थ्यो । क्षीतिजमा गायब, उसैगरी ।

मौनताले झनै अधैर्य बनायो । टाउको बार्दलीको डिलमा अड्याएर भोक लागेको पेट छाम्छ । आमाको पर्खाइमा बाबाको स्मरणले एकछिन अल्मल्यायो । फेरि बाटातिर उस्तै आवाज, आयो र गयो । छिमेकी पार्वती दिदीलाई पनि माया लाग्यो– “कति बाहिर उभिएको सौगात । आमा कतै जानुभा’ होला । यतै कोठामा आएर बस न । अहिले आमा आएपछि जानू नि ।”

यो मीठो वचन पनि उसलाई स्वीकार्य भएन । शब्दविहीन । नमानेको इसारामा टाउको मात्र हल्लायो । “यौ सौगात पहिलाको जस्तो बोलाइलो छैन । आमा पनि एक्लै बालखलाई छोडेर यति रातिसम्म कहाँ गएकी होलिन् ?” उनको आवाज सौगातका कानसम्म आइपुग्दा नपुग्दै उनकै कोठाभित्र फर्केर विलय भयो ।

प्रतीक्षाको फल मीठो मान्नुपर्ने अभिलासा । नौ बजेतिरको चकमन्नतामा । छरछिमेकीका कोठा–कोठाका बत्ती कताकति मात्र देखिन्छन् । कुकुरहरू छेउछाउमै भुक्दै छन् । खाली रोडमा रातमा स्वतन्त्र भएर हुइँकिएका बाइकका कर्कस आवाज अझै चर्को बन्दै थियो । एक नचिनिने रूपले मूल गेटको ढोका उघार्‍यो– मोबाइलको उज्यालोसँग । आमाको प्रवेशसँगै सौगातको चर्केको मन मौन रूपमा शान्त भयो । 

आमाका केही मीठा शब्दको आशा । सौगातको चाहना र आमाको चाहनाले आमालाई आमा बनाएन ।

छोरोले आफ्नै आमाभित्र आमाको भाव पाएन । ऊ आमाका हरेक व्यावहारिक परिवर्तनसँग झनै शब्दविहीन छ । आमाको अर्थ कठोरता हो– अब त ऊ यत्ति बुझ्छ । मात्र यत्ति । कसैका आमा यसरी किन कठोर बन्छन्, त्यो बालहृदय अज्ञात छ । 

स्कुलमा आज नेपाली विषयकोे परीक्षा । सबै प्रश्न जेनतेन लेख्यो । प्रश्न नम्बर १३ को प्रश्न पढ्यो– ‘आमाको माया शीर्षकमा आफ्नो विचार लेख ।’ आमा शब्दले र माया शब्दले कहिल्यै एउटै स्थान नलिएको आभासमा टोल्हायो । मेरी आमाले मलाई साँच्चै माया गर्छिन्, बालहृदयले माया बुझेन तर आमा पनि बुझेन । पाले दाइले परीक्षाको समय सकिएको घण्टी बजाएछन् । शिक्षकले कपि मागे ।

निन्याउरो अनुहार । बिरामीजस्तो । एउटा कोठाका दुई प्राणी एकले अर्काको चाहना बुझ्दैनन् । न त छोरोले आमाको तरुनीपन बुझ्छ, न त आमाले छोरोको आमाबाबाको प्रेमको अभावको वेदना । मात्र सम्बन्धले यी दुई प्राणी आमा–छोरा हुन् । रगतको गहिरो साइनो छ तिनमा । मात्र रगतको । सालनालको । गहिरो तर गम्भीर छ ।

प्लास्टिकका बाटाभरि बिहानका जुठा भाँडा छन् । अर्को दिन आमाले कोठाको अर्को चाबी बनाएर एउटा आफूलाई राखिन् । एउटा उसलाई थमाइदिइन् । अब उसले आमालाई ढोका बाहिर कुर्नु नपर्ने भयो ।

आजकल घरबेटीले धारामा पानी दिन छोडेका छन् । उनीहरू आफू मात्र पानी तानेर अरुका धारा बन्द गरका छन् । “हैन यो ट्वाइलेट सफा गर्नु पर्डेन ? कोठा बेस्ने मान्छे कस्टा–कस्टा हुन् । हैरान पारिसक्यो ।” सौगातको ढोका बन्द गरेर बस्यो । घरबेटी बूढाले निकै पटक ढोला फुटाउँलाझैँ गरी ढक्ढक्याए । उसले खोलेन ।

आमा बेरोजगार भएर पनि प्रायः व्यस्त हुनुहुन्छ । सौगातलाई अब त भोकै बस्ने आदत बसिसक्यो । खाए चाउचाउ या बिस्कुट या पाउरोटी । मात्र यत्ति । खाना खान ढिलो हुँदा, बेलुका चाउचाउ र चिउरा मात्रै खानुपर्दा पनि शब्दविहीन खाइदिन्छ । भलाद्मी मान्छे । बाबासँग फोनमा बोल्ने इच्छाले जति पिरोलिरह्यो, अब त मात्र मनभित्रै । बोल्ने आँट मुटुभित्रसम्म पुगेर बाहिरिनै सकेन । भयो...भन्नै सकेन ।

आजभोलि ऊ विद्यालय लगेको खाजासम्म पनि खाँदैन । बाबाले प्रत्येक महिनामा उसको पढाइ र घर खर्च भन्दै पैसा पठाइरहनुहुन्छ । बेलुका करिब नौ बजेतिर म्यासेन्जरमा बाबाको फोनको घण्टी बज्यो । आमाले फोन उठाउनुभयो । आज पनि उसलाई आमाले दुई शब्द राख्न नदिने बहाना झिकि छोड्नु भो ।

“हैन, मलाई सौगातसँग बोल्न देऊ न । तिमी किन उसँग बोल्न दिँदिनौ ? हँ...” यत्तिका वर्षपछि परैबाट बाबाको आवाजलाई सौगातले बाबाको मधुरो आवाज सुन्यो । एक मनले आमाका हातबाट मोबाइल खोसेर बोल्ने मन भयो । तर त्योभन्दा ठूलो उसमा आमाको रौद्र रूपको डरले जितिदियो । आखिर ऊ भक्कानिएर पिलपिल रुन थाल्यो । कौसीमा गएर एक्लै रुने चाहना भयो । ट्वाइलेटमा पसेर निकै बेरपछि आँखा राता बनाएर आयो । चुपचाप सुत्यो ।

निद्रा परेन । मन खिन्नताको पराकाष्ठामा भौँतारिरह्यो । सोच्ने मन पनि थाक्यो क्यारे । निदायो । बाबाआमासँग घुम्न गएको, बाबासँग मात्रै आफूले हिँड्न रुचाएको सपना देखिरह्यो । बाबाले टाउकामा मुसारेको भावले ऊ बाबाका काँधमा मुन्टो अड्याएर बसेको सपनामा आँसुको धारा बग्दै थियो । सपनाभरि बाबाको भेटले आनन्दको फोहरामा भिजाउँदै थियो । अचानक आमाको आवाज आयो– “हैन आज कति बेरसम्म सुत्छस् । छिटो उठेर पढ् ।” स्वर्गबाट खसेर नरकमा पुगेको भान भयो । मीठो स्वप्ना । छोड्नै नचाहेको । आखिर, सपनासँगै हराइरहन चाहेर पनि पाएन ।

अर्को साँझ, बाबाको आवाज सुन्ने उसको इच्छामा बनावटी आमाको शैली उस्तै थियो – ‘सौगात पढ्दै छ । उसको होमवर्क धेरै छ रे भन्छ । ऊ अहिले बोल्न भ्याउँदैन ।’

आज सौगात अलि हँसिलो, फुर्तिलो छ । उसले मौका छोपेर बाबाआमाको फोटो एल्बमबाट बाबाको फोटो हेर्न पाएको छ । किताबको च्यापमा फोटो राखेको छ ।  अब उसले त्यही तस्विरभित्र बोली उब्जाएर बाबासँग आफ्नो अतृप्ती भावलाई व्यक्त गर्न चाहन्छ । मानौँ – बोलिरहूँ, मात्र तस्विरमा । सपनामा बर्बराउँछ । सपनामा बोलिरहन्छ । विपनामा सोचिरहन्छ । उसलाई अब न आमाप्रति घृणा नै छ न उसको मौन भावनाप्रति । मात्र शब्दविहीनमा मजा छ । 

विद्यालय जाँदा आउँदा हात समाएर गफिँदै हिँडेका आफू सरहका र आफूभन्दा माथिका विद्यार्थीको समूह देखेर आँखाभरि टलपल आँशुमा ऊ गम्थ्यो । विद्यालयको गेटसम्म छोड्न आएका हरेक अभिभावकलाई देखेर सौगातलाई रिस उठ्थ्यो । तर, उसमा सहनशील बन्न पनि उत्तिकै अभ्यस्तताको बाध्यता थियो । एक्लोपनमा ऊ एकोहोरिन्थ्यो । आफ्नी आमाले पनि यसै गरी आफूलाई विद्यालय लिन आउनुभए कति मजा आउँथ्यो– ऊ टोलाइरह्यो ।

अर्को दिन कक्षाको साथी हरिले भन्यो– “सौगात ! आज म तिमीलाई ‘पनिर मःम’ खुवाउँछु ।” मुख रसायो । तर सोच्यो, आज त उसको पैसामा खाउँला तर भोलि मलाई किन्न लगायो भने...। उसले आफूले नखाने इसारा व्यक्त गर्‍यो । ‘यो कस्तो एकलकाँटे छ’ – हरिको क्रोध मिश्रित भाव कक्षाभरि मडारियो । सौगातलाई यस्ता घटनामा बेउत्तर बस्ने आदत भइसकेको छ । साथीसँग नदिनुमा उत्तम ठान्ने आदतमा पनि ऊ अब अभ्यस्त भइसकेको छ । अन्याय सहनमा कुनै सङ्कोच रहन्न । पहिला–पहिला पहिलो बेञ्चको छेउमा बस्ने ऊ हिजोआज प्रायः कक्षाकोठाको अन्तिम बेञ्चको भित्तापट्टि बस्छ । दिनदिनै ऊ साथीबिहीन लाग्छ । उसमा यो एकान्तपनले नै बढी खुसी दिन थालेको छ । पढाइ उसको रहर बन्न नसकेर बाध्यतामा रूपान्तरण हुँदै जाँदा ऊ भयभित छैन, मात्र अभ्यस्त बन्दै छ ।
 
“सौगात पढाइमा निकै कमजोर भयो । आजभोलि उसको आदत फेरिएको छ ।     अब यो तरिकाले उसको पढाइ दिनानुदिन खस्कँदै जाने हो भने हामी उसलाई यो विद्यालयमा राखिरहन विवस हुँदैनौँ”– प्रिन्सिपल सरले तेस्रो त्रैमासिक परीक्षापछिको मिटिङमा आमासँग भन्नुभयो ।

घर फर्किसक्दा नसक्दा आमाले दुई थप्पड लाउनुभो । तर, ऊ चुपचाप गाला थापिरह्यो । पिलपिल आँसु खसाइरहँदा पनि उसलाई लाग्यो– आहा ! आमाको माया । आज आमाको प्रिय स्पर्श भयो । उसमा हर्षबोध भएझैँ भयो । “तँलाई भनेर मैले कति दुःख गरेकी छु, तँलाई थाहा छ । सरले के भन्नुभो सुनिस् नि ।’ कुनै हालतमा आमाको वचनवाणले उसको मौनता भङ्ग गर्नै सकेन । उसमा अब मौनताको अभ्यासले पहाडलाई बिर्साइदिने क्षमता विकसित भइसक्यो । त्यसदिन उसले पानी पिएर मात्रै सुत्नुपर्ने सजायले भने उसमा अलि बढी नै शारीरिक कमजोरीलाई जन्मायो ।

आज बेलुका पनि बाबाले सौगातलाई खोज्नुभएको आवाज मेसेन्जरमा सुनिएको थियो । तर, आमाले भन्नुभयो– ‘ऊ अहिले ट्वाइलेट गएको छ । आएपछि कुरा गर्नुहोला...।’ 

अब त अति भो । मोबाइल खोसेर एक पटक बाबाको अघि ठूलो आवाजमा रुने उसको इच्छाले उत्कर्षतिर धकेल्दै थियो । आमाको व्यवहारप्रतिको आक्रोश पोख्ने अपेक्षाभन्दा उसमा बाबाको आवाज सुन्ने चाहना तीव्र छ । कुनै नयाँ संयोगको पर्खाइको कल्पना भाव उसमा जागृत हुन थाल्यो । ऊ आफूसँग आफ्नै मोबाइल भएको कल्पना गर्छ । आफ्नो बाबासँग धित मरुञ्जेल कुरा गरेको आभास गर्छ । तर, ती सबै उसका प्रिय कल्पनाका झोक्का मात्र हुन्छन् ।

दिनचर्याका ज्वारभाटाले परिवर्तनका फोका पानीका फोका जसरी उठ्दै र फुट्दै गर्न थाले । विगतले झस्कायो– बाबा विदेश जानुभन्दा केही महिनासम्म त आमा स्कुलमा नै लिन आउनुहुन्थ्यो । गेटमा पाले दाइले आमा लिन आएपछि मात्र पठाउने एक किसिमको दैनिकी बन्दै थियो । तर, आज उसका लागि यी सबै टोल्हाउँदा चाहिँने खँदिला खुराक हुन् ।

अर्को दिन घरमा एक जना बाबाको भन्दा निकै बढी उमेरका मान्छे कोठामा आएका रहेछन् । आमाले राम्रो सत्कारका साथमा खुसीका भाव छिरोलिरहनु भएको देखिन्थ्यो । ‘तिम्रो अङ्कल’ – आमाको आग्रहमा सौगातले नमस्कारको भाव व्यक्त गर्‍यो । ती अपरिचितसँगको गफमा आज आमाको मुहारमा एक किसिमको बालापनको जिस्क्याई छ । आमा राम्री देखिनुभा’छ । ऊ आमाको अर्को रूपमा अझै अचम्मित हुँदै छ ।

ती अङ्कलको बाक्लो निकटतामा अब सौगात दिनदिनै झिँजो बन्दै छ । आमाले बेलुकाको ट्युसन राखिदिने कुरा गर्नुभयो । सौगातलाई ट्युसनमा पनि बाबाको पैसा खर्च गर्ने इच्छा थिएन ।

ती अपरिचित व्यक्ति सौगातको छउमै बसे । उसको टाउको मुसारे– ‘बाबु, सौगात के छ, पढाइ कस्तो चल्दै छ ?’ उत्तर दियो – ‘राम्रो छ ?’ उसलाई कताकता बाबाको मायाको अभावमा अलिकति राहत मिलेकोझैँ पनि भयो । ती अपरिचितसँग परिचित भए पनि आफू निकट हुनभन्दा टाढै रहनमा ठीक ठान्थ्यो । तर तिनको चाहनासँग ठ्याम्म मिल्न पुग्यो ।

सौगात चाहन्थ्यो– आफ्नै साथी सरह बाबाआमासँग फन पार्क घुक्न जान पाइयोस् । विनिताले भने जसरी नै साथीका बीचमा बाबाआमासँग आइसक्रिम खाएका गफ गर्न पाइयोस् । आमाबाबाको काखमा आफ्ना मागका सूची तेर्स्याएर घुर्क्याउन पाइयोस् । दशैँमा मामाघरमा टीका, जमरा थापेर पैसा कमाएको ठूला गफ लाउन पाइयोस् । तिहारमा देउसी खेलेका गफ, बाबा र आमाले पैसा थपिदिएर बैंकमा राखेका गफ । ऊ एकाएक सोचमा हरायो ।

लामो समयको बसाइपछि बाबा स्वदेश फर्कने भन्ने समाचार सौगातको कानमा पर्‍यो । तर, आमाले बाबासँग भन्दै हुनुहुन्थ्यो– ‘अब फेरि जाने हो भने त बरु एक–दुई वर्ष अझै बसेरै आउनु नि । अहिले यहाँ मैले सौगातलाई हेरचाह गरेकै छु । आमाछोरा हामी सबै खुसी नै छौँ ।’ बाबाले आउने नै राय पस्कनुभएको सम्मको कुरा सौगातलाई पनि थाहा भयो ।

खुशीले नाचौँ या रमाऔँ या कतै चिच्याऊँ । प्रतीक्षामा सौगातको मन फुरुङ्ग बन्दै गयो । बालापनको चाञ्चल्यता भरिएझैँ लाग्थ्यो । बाबा आउने दिन नजिकिँदै जाँदा ऊ चञ्चल बन्न चाहन्थ्यो । अलिकति लाजले खुल्न दिँदैनथ्यो ।

आमाले भन्नुभयो– ‘अब तिम्रो बाबा आउन लाग्नुभा’ छ ।’ त्यसदिन ती अङ्कल र आमाले कोठामा एकान्तमा लामै गफ गरेको सौगातलाई अनुभूत भयो । आमाको केही विमतिझैँ र ती व्यक्तिको केही फकाउने भाव एकैसाथ बोध भए पनि सौगातमा बाबाको आगमनको पर्खाइले समयसँग पौँठाजोरी खेलाइरह्यो । 

आज स्कुल जानुअघि आमाले भन्नुभयो – ‘सौगात आज म बाहिर काम छ । म बाबालाई लिन जान्छु ।’ आज भने सौगातलाई खुशीको सीमा नै रहेन । स्कुल कतिखेर बिदा हुन्छ भन्ने भावले दिनभरि चञ्चल बनायो तर पहिलाको जसरी खुल्न पनि अप्ठ्यारो महसुस भयो तर आज पनि कोठामा ऊ निकैबेरसम्म एक्लै थियो । कल्पित भावमा प्रतीक्षारत । बाबासँग साइकल किनिमाग्ने, परिवारै मिलेर घुम्न जाने अनि कक्षामा सबैलाई सुनाउने...।

साँझ लगभग साढे साततिर एउटा लगेजका साथमा बाबाको उपस्थिति भयो । बाबाको मुहारमा खुशीको अलिकति पनि रङ छैन । सौगातले आँखाबाट आँसुका बलिन्द्र धारा खसाउँदै काखमा लुटुपुटु हुन चाह्यो । बाबाले सौगातको टाउको मुसार्दै डाँको छोडेर रुनुभयो– ‘छोरा तेरी आमाले तँलाई र मलाई मात्र होइन मेरो पाँच वर्षको सम्पत्तिसहित तेरो सर्वश्व लुटेर गई । अब तँ र म नाङ्गै छौँ । बिहेको गहना सबै । फोनबाटै भनेकी...।’ बाबाले भित्तामा राखिराखेको फोटोलाई फ्रेमबाट निकालेर च्यात्नुभयो । आखिर सौगातको सपनामा प्रेमको कालो बादलले छोडेन । अभिभावकत्व, आमाबाबाको संयुक्त प्रेम उसका लागि कल्पनाको सागर मात्र । मृगतृष्णको धब्बा । अतृप्ती । उसलाई थाहा भयो, ती अङ्कलसँग आमाको त लभ परेको पो रहेछ ।

करिब दुई महिना बित्यो । सौगातले विगतका सबै कुरा बाबासँग बताइसक्यो । उसले बाबाको मायामा राहत महसुस गर्‍यो तर बाबाको मौनता विकसित हुन थालेकोमा बेचैनले छोडेन । बाबाले एउटा अफिसमा सेक्युरिटी गार्डको काम गर्न थाल्नुभयो । विद्यालयमा खैलाबैला मच्चिसकेकाले अब पनि सौगातले उसको मौनताको धर्मलाई तोड्न पाएन । बाबाको माया त पाएको छु नि भन्ने परिवर्तित भावलाई पनि पोख्न पाएन । समयले उसलाई झापड हानिरह्यो । ऊ बाबाको माया पाएर पनि बाबाको घाइते मुटुको वेदनाभित्र भावबोध गर्ने सहकर्मी पात्र बनेको छ । आमाले जेजस्तो गरे पनि आखिर, अभिभावकको संयुक्त मायाको अभाव उसमा नभएको कहाँ हो र !

समयले कोल्टो फेर्दै गयो । एउटा कोठामा दुई प्राणी छोटो समयसम्मका लागि मात्र भेट हुन्थ्यो । दिनमा सौगात स्कुल जान्थ्यो । साँझ बाबाले नाइट डिउटी जानुपथ्र्यो । सौगात रातमा एक्लै हुन्थ्यो । दिनचर्या यसै गरी चल्दै गयो । एक दिन बाबाले आफू अफिस नजाने भन्ने भाव व्यक्त गर्नुभयो । सौगातलाई भने यो कुराले सँगै बस्न पाइने भावले खुसी नै तुल्यायो ।

बाबाको केही समयका लागि भनेर बाहिर जानुभयो । लगभग साँझ छिप्पिसकेको थियो । अचानक बाबासँग एकजना महिलाको उपस्थितिले त्यो कोठामा तीनजना मानिसको सङ्ख्या बढ्यो । अर्धबैँसे ती महिलाले टाउको मुसार्दै भनिन्– ‘सौगात अब म तिम्री आमा हुँ । चिन्ता नगर ।’ आखिर आफ्नै आमाको ममता नपाएर तड्पिएको उसका लागि बाबाले अर्की आमा ल्याएकोमा दुःख मान्नु नपर्ने भावले एउटा स्थान पनि जमायो ।

समयले उसलाई पीडाको ज्वारभाटामा आफैँले आफैँलाई सम्झाउन अभ्यस्त बनाएको छ । दुई चारदिन कोठामा खुशीको माहोल बनेको आभास पनि भयो । तर, आफ्नै जन्मदिने आमासँगका बाबाको एकमुस्ट लाडप्यार भएको अपेक्षा अब त उसको कल्पना हो । साथीले जन्मदिनमा केक काटेर निम्तो पस्कने रवाफमा ऊ आक्रोश पोख्न कञ्जुस्याइँ पनि गर्न छोड्दैन । तर पनि अब अर्की आमासँग रत्तिएर बस्न ऊ अभ्यस्त बन्दै थियो ।

बाबा ड्युटीमा जाने गर्नुहुन्थ्यो । आमासँग बस्दै गर्दा उसले अब भने घरधन्दा सघाउनुपर्ने हुन थाल्यो । हुँदाहुँदा आमाले झर्कोफर्को गर्न थालिन् । बाबा छउन्जेल बनावटी प्रेमको थुप्रो देखिन्थ्यो । बाबा गइसक्दा अर्की आमाले अब विनाकारण सताउने दिनचर्या बढ्न थाल्यो । आमाको यस्तो व्यवहारलाई बाबाको अघि राख्न पनि चाहेन । बल्लबल्ल बाबाको मन एक किसिमको खुशीमा बदलिएको छ । ऊ सोचमग्न हुन थाल्यो । बरु एकदिन आमाले नै आफ्नो बनावटी दोषको विवरण बनाएर बाबालाई सुनाउँदै गर्दा ऊ पीडित भन्दा बढी अचम्मित बन्यो । आखिर ती नारीमा पनि नारीत्व कसरी कसिलो बन्थ्यो र । आफ्नै आमाले त टुहुरो बनाइन् भने पराइलाई अर्काको प्युसोसँग कसरी बनावटी मातृत्व जन्माइन् । बाबाले पनि अब भने आफूप्रति नकारात्मक व्यवहार गर्न थालेको आभास उसमा हुन थाल्यो ।

आखिर त्यो कोठामा बाबाआमाका लागि सौगात हाउगुजी हुन थाल्यो । उसलाई अब भने बाबा र ती आमाको मात्रै एकमुस्ट खुशी रहनुमा आफूलाई शान्ति मिल्न सक्ने भाव जाग्न थाल्यो । उसको सोचले उसलाई त्यहाँ अयोग्य बनाउन थाल्यो । ऊ अब घाँडो बन्दै गयो । बेलुकाको भाँडा मस्काउने, घरका कपडा धुनेसम्मका काममा ऊ व्यस्त बन्दै गर्दा पनि आरोपको शिकार बन्दै गयो । उसलाई सानी आमाकहाँ बस्नुपर्ने तर्क अघि सरेपछि ऊ आफ्नी सानी आमाकहाँ गएर बस्न थाल्यो । दुई चार दिन ऊ प्यारो नै बन्यो । मानौँ पाहुना बन्यो । उसलाई मौनता भङ्ग गर्नुसँग दिलचस्पी रहेन । मौन अभ्यासमा अभ्यस्त सौगातका विचारमा सोचको ज्वारभाटाले हिर्काइरह्यो । सानीमाका छोराछोरीले पेच पारिरहन्थे । आमाबाबाको ममता नपाएको टुहुरोको संज्ञा बेपर्वाह प्रहार हुन्थ्यो । वचनले, व्यवहारले ।

सानी आमाका छोराछोरीले एक दिन सपरिवार घुम्न जाने प्रस्ताव राखे । उसले नजाने विचार राख्यो । तर, सानी आमाको ढिपीले ऊ जानै पर्ने भयो । सानी आमाले भने उसलाई माया गर्नुहुन्थ्यो । सानी आमाका छोराछोरीले सेल्फी खिच्न थाले । रमाइलो भावमा सानीमाकी छोरीले सौगातको हातमा क्यामेरा थमाउँदै भनिन्– हाम्रो परिवारको एउटा फोटो लिइदेऊ त ।’

सौगातलाई त्यो घर र ती परिवारको खुसीमा नोकरसम्मको स्थान पनि अपाच्य बन्यो । अब ऊ एकान्तमा छद्मभेषमा, प्रकृतिसँगै, खुला आकाशसँग, सुन्दर र यो विशाल धर्तीमा एक्लै रम्ने चाहनामा साँझपख आफ्नो थोत्रो झोलामा दुई जोर कपडा बोकेर सानीमाको घरबाट बेखबर बाहिरियो । अझै ऊ बेखबर छ । अब उसको अभावमा पिरोलिने कुनै प्राणी यो धर्तीमा रहेनन् किनकि बाबा र नयाँ आमाको पनि एउटा छोरो जन्मिएको छ रे ।

आफ्नी आमाले पनि अर्की एक छोरीलाई जन्म दिइन् रे भन्ने उसले सुनेको छ । अब उसको अभावले कसैलाई पनि पोल्ने छैन, मात्र ऊ शिवाय । उसले अलिकति लोकतन्त्र आयो रे भन्ने कुरा उसले पनि सुनेको छ । तर पनि, ऊ यो सुन्दर युग र जनप्रेमी व्यवस्थामा अझ बढी बेखबर छ । कानुनका पाना पल्टिरहे । युग बदलिरह्यो । समृद्धिका आवाज घन्किरहे । यो धर्तीको सौगात, यही धर्तीमा एक्लै तड्पिरह्यो । 

bhattarairamesh353@gmail.com

अन्तिम अपडेट: मंसिर १७, २०७६

2 Comments

  • अबिचन्द्र प्रसाई , गौरादह -०४ ,झापा

    Aug. 13, 2019, 1:35 p.m.

    प्रिय लेखक ! नमस्कार याँहाको कथा शिल्प लाई सलाम छ। कथाको बिषय बस्तु समय सान्दर्भिक छ। आलोचना गर्नु पर्ने ठाउँ पाइन। कथाको प्रस्तुती र शिलसिलामा बेजोड कलाकारिता छ। बाल मनोविज्ञानको सुक्ष्म विश्लेषण अनि त्यस कथा भित्रको काहानी, घटनाक्रमले कालान्तरमा एउटा अवोध लाइ परेको बज्रपात सही सक्नु छैन। अर्को तिर अवला नारी प्रति खन्नियेर रिश व्यक्त गर्न पनि सकिएन ! स्वौगात को बाबा को पानि उपाय थिएन ! जब नारीमा नारित्यो हराउँछ , परिणाम यस्तै हुन्छ। अत्यन्तै सफल बिषेवास्तु , अत्तिरंजीतताको गन्ध नभएको, समयानुकुल अनि चेतनामुलक। धन्यवाद !!

  •  1 Reply
  • देव भट्टराई

    Aug. 3, 2019, 6:41 p.m.

    यो कथा पढिसक्दा पछिल्लो समयमा नेपाली समाजमा मौलाइरहेको घृणित विकृतीका बारेमा सोच्न बाध्य बनायो।कसरी आमाहरू यसरी कठोर बन्न सक्छन् होला? आफ्नै सन्तानलाई कसरी पराईसरी व्यावहार गर्न सक्छन् होला? अनि सन्तानले आफ्नै आमालाई, आमाले आफ्नै सन्तानलाई कसरी मार्न सक्छन् होला? अन्तर्हृदयलाई हल्लाईदिने यस् स्तरको रचनाका लागि लेखकज्यूलाई बिशेष धन्यवाद!

  •  1 Reply

तपाईको प्रतिक्रिया