अष्ट्रेलिया जाने रहरले दिएको कहर

 साउन २२, २०७६ बुधबार १८:१४:४० | बेदानन्द जाेशी

काठमाण्डौ – २०७३ सालकाे अन्तिम महिना । साउदीको दुई वर्षको रोजगारीलाई बिट मारेर नेपाल फर्किनुभएको थियो, पाँचथरका भुपेन्द्र बुढाथोकी । 

उहाँले साउदीमा दुई वर्ष 'थ्री सीसी' भन्ने ग्यास प्लान्टको कम्पनीमा काम गर्नुभयो । कम्पनीको प्रोजेक्ट सकियो । त्यसपछि कम्पनीले आफ्ना कामदारलाई अहिलेलाई काम छैन भनेर घर पठायो । नयाँ प्रोजेक्ट आएपछि बोलाउँछु अहिलेलाई घर जानुस भनेपछि त्यहाँ काम गर्ने श्रमिकहरु आ आफ्नो देशतर्फ लागे । भुपेन्द्र पनि नेपाल फर्किनुभयो । 

भुपेन्द्र बुढाथाेकी

दुई चार महिनासम्म पनि कम्पनीबाट फोन नआएपछि अब त आफैंले रोजगारीको खोजी गर्नुपर्यो भनेर बुझ्न उहाँ काठमाण्डौ आउनुभयो ।

केही दिनको काठमाण्डौ बसाइ थियो । साथीहरुसँग भेटघाट । रोजगारीको लागि अब कुन देश जाने भन्ने छलफल भयो । एकदिन साथीसँगको चिया गफमा एकजनाले भने, ‘ह्या दुबईतिर गएर केही कमाइन्न, अष्ट्रेलिया जाने हो ।’

साथीसँगको त्यही चिया गफले भुपेन्द्रमा एकाएक अष्ट्रेलिया जाने हुटहुटी जगायो । तर दिमागमा भने शंका छँदै थियो ।

‘म त एसएलसी पनि उत्तीर्ण छैन, अंग्रेजीमा हेलो हाइ बाहेक अरु केही आउँदैन, मैले कसरी अष्ट्रेलिया जान सक्छु ?’, भुपेन्द्रले निकैबेर सोच्नुभयो । 

तर साथीले पढ्नको लागि जाने भए पो पढेलेखेको हुनुपर्छ, काम गर्नको लागि जानेलाई केको पढाइ चाहियो र भन्यो । त्यसपछि भुपेन्द्र झन् बढी आशावादी बन्नुभयो । 

‘मलाई त अष्ट्रेलिया जान धेरै पढेलेखेकोे र राम्रो अंग्रेजी लेखपढ गर्न जान्ने हुनुपर्छ भन्ने लाग्थ्यो’, उहाँले ती दिन सम्झँदै भन्नुभयो, ‘साथीले नै त्यसो भनेपछि होला त नि भन्ने भयो ।’

अनि सुरु भयो एजेण्टको खोजी र अष्ट्रेलिया जानको लागि भागदौड । 

रहर देखि कहर

दिमागमा अष्ट्रेलियाको सपनाले जरा गाडिसकेको थियो । घरमा श्रीमतीलाई फोन गरेर भुपेन्द्रले यो कुरा सुनाउनुभयो । ‘हुने भए त राम्रै भयो नि’, उताबाट उहाँकी श्रीमतीले भन्नुभयो, ‘पैसाको चिन्ता नगर्नुस्, सुरुमा कुरा बुझ्नुस, पैसा त खोजौंला नि ।’

परिवारबाटै पनि अष्ट्रेलिया जानको लागि सहमति मिलेपछि साथीसँगै भुपेन्द्र एजेण्टलाई भेट्न जानुभयो । पुल्चोकमा थियो कार्यालय, स्पीड इस्ट विङ्ग्स रिक्रुटमेन्ट प्रा.लि. । सोफा र कुर्सी राखिएका थिए । कुर्सीमाथि कम्प्युटर । त्यही कम्प्युटर चलाएर बसेका थिए इलामका नरेन्द्र खाती ।

नरेन्द्र खाती

नरेन्द्रले उहाँहरुलाई दुईदेखि तीन महिनाभित्र अष्ट्रेलिया पठाइदिन्छु भनेर विश्वस्त बनाए । सबै काम नेपालमै गरिने तर स्वास्थ्य जाँचको लागि भने दिल्ली पुग्नुपर्छ भनेका थिए । अझै मेडिकल नगरेरै जाने भए दुई लाख रुपैयाँ जम्मा गर्नुपर्छ पनि भनेका थिए उनले ।

जाने भारतबाटै हो, इन्टरभ्यू केही पनि नहुने भनेपछि झन् ढुक्क बन्नुभयो भुपेन्द्र । उहाँलाई केही पनि थाहा थिएन । अष्ट्रेलिया जान भिसा लगाउन गाह्रो हुन्छ भन्ने सुनेका भुपेन्द्रलाई तपाईं ढुक्क हुनुुुस् तपाईंहरुले केही गर्नु पर्दैन सबै जिम्मा हाम्रो भनेपछि ढुक्क हुनुभयो ।

नरेन्द्रले भुपेन्द्रसहित पाँचजनालाई स्वास्थ्य परीक्षणको लागि दिल्ली लगेर गए । दिल्लीमा सबैको स्वास्थ्य परीक्षण पनि भयो । स्वास्थ्य परीक्षणको लागि सबैले मागेजति पैसा दिए ।

नरेन्द्रले जति–जतिबेला पैसा मागे, भुपेन्द्रले दिंदै जानुभयो । स्वास्थ्य जाँचका लागि दिल्ली जानुभन्दा पहिले दुई लाख रुपैयाँ दिइसक्नुभएको थियो । मेडिकल जाँच गरिसकेपछि फेरि दुई लाख रुपैयाँ दिनुभयो । 

मेडिकल परीक्षणपछि भुपेन्द्रसहित सबैजना नेपाल फर्के । तर नरेन्द्र भने केही काम छ भनेर दिल्लीमैं बसे । ‘उनले त्यतिबेला सबै काम सकेर १५ दिनभित्र फोन गर्ने भनेका थिए’, भुपेन्द्रले भन्नुभयो ।

दिल्लीबाट नेपाल फर्केको केही दिनमै नरेन्द्रले फोन गरेर भिसाको प्रक्रिया गर्नुपर्ने भयो भन्दै दुई पटक गरेर तीन लाख रुपैयाँ मागे । त्यो पनि भुपेन्द्रले खन्खन्ती गनेर दिनुभयो । 

आखिर भुपेन्द्रले अष्ट्रेलिया जानु थियो । तातो हावा खान अब त खाडी गइन्न भनेर अठोट नै गरिसक्नुभएको थियो । पैसा खोज्न श्रीमतीले साथ दिनुभयो । माइतीको जग्गा धितो राख्नुभयो । सयकडा पाँचका दरले ऋण लिएर उहाँले श्रीमानलाई पटकपटक पैसा पठाइरहनुभयो ।

यतिन्जेलसम्म पटकपटक गरेर भुपेन्द्रले सात लाख रुपैयाँ दिइसक्नुभएको थियो । साल २०७४, दशैँ आउन हप्तादिन मात्र बाँकी थियो । 

‘तपाईंको भिसा लागिसक्यो अब बाँकी रहेको पैसा लिएर चाँडै काठमाण्डौ आइहाल्नुस्’, नरेन्द्रले फोन गरेका थिए, ‘दशैं त पछि मनाए पनि भयो, आफ्नो काम गरिहाल्नुस् ।’

परिवारसँग धेरैपछि दशैँ मनाउन पाएकोले भुपेन्द्रले दशैं मनाएरै आउन सक्ने बताउनुभयो । ‘जे भए पनि पैसाको बन्दोबस्त गरेर आउनुहोला’ भन्दै नरेन्द्रले बारम्बार फोन गरिराख्थे ।

दशैंको टीका लगाएको भोलिपल्टै भुपेन्द्र अष्ट्रेलिया उड्ने भनेरै घरबाट टिकोटालो गरेर काठमाण्डौ आउनुभयो । बाँकी रहेको आठ लाख रुपैयाँ नरेन्द्रको हातमा थमाइदिनुभयो । नरेन्द्रलाई बुझाएको रकम अब १५ लाख पुग्यो । 

सबै पैसा दिएपछि भौचर बनाइदिन्छु भन्ने पूर्व सल्लाहअनुसार नरेन्द्रले भौचर पनि बनाइदिए । 

कात्तिकको दोस्रो हप्ता नै फ्लाइट छ भनेपछि जाने दिन गन्दै नरेन्द्र होटलमा बस्न थाल्नुभयो । उहाँसँगै थिए, सिन्धुपाल्चोक, पोखरा र काठमाण्डौका अरु पाँचजना साथीहरु पनि । सबैले पैसा बुझाइसकेका थिए ।  

सबैको पैसा हातमा परेपछि नरेन्द्र सम्पर्क आउनै छोडे । कहिले फोन नउठाउने, कहिले व्यस्त छु भन्दै टाढिने गर्न थाले । कात्तिक महिना सकियो । मंसिर महिना पनि सकिन लाग्यो । भोलि भोलि भन्दै दुई महिना बिते । 

एकदिन भने फोन लाग्यो । त्यतिबेला नरेन्द्रले ‘जे गर्नु छ गर, प्रहरीलाई भन्ने भए पनि भन’ भनेपछि चाहिँ भुपेन्द्रको आशाको दियो मर्याे । आफू ठगिएँ भन्ने पक्का भयो । 

नरेन्द्रले अष्ट्रेलिया पठाउँदैन भन्ने लाग्यो । त्यसपछि भुपेन्द्रले पैसा फिर्ता माग्न थाल्नुभयो ।

‘पासपोर्ट र पैसा फिर्ता गरिदन लाखौँ बिन्ती गरेपछि बल्ल कुरियरबाट पासपोर्ट पठाइदियो’, उहाँले भन्नुभयो, ‘त्यतिबेला उ भारतमा थियो, उतैबाट कुरियर गरेर पठाइदियो ।’

काठमाण्डौमा बस्नको लागि भुपेन्द्रसँग पैसा बाँकी रहेन । अनि अष्ट्रेलिया जानको लागि घरबाट बिदा भएर काठमाण्डौ आउनुभएका भुपेन्द्र रित्तो झोला र मलिन अनुहार बोकेर घर फर्किनुभयो ।

‘घर गएर के भन्ने भनेर लाज लागेको थियो तर पनि अलि ढिलो हुने भो भनेर सबैलाई सम्झाएँ’, उहाँले भन्नुभयो, ‘तर झुटो कति टिक्थ्यो बिस्तारै यो कुरा सबैले थाहा पाइहाले ।’

भुपेन्द्रले नरेन्द्रलाई खोज्न सकेजति गर्नुभयो । प्रहरीमा उजुरीदेखि उसको गाउँमै गएरसमेत खोज्नुभयो । ‘गाउँको घरमा ताल्चा लगाएको थियो’, उहाँले भन्नुभयो, ‘परिवार सबैलाई लगेर भारतमा बस्न थालेको भन्ने हल्ला थियो गाउँतिर ।’

यता उसको अफिसमा गएर बुझ्दा पनि भाडा नदिएकाले घरबेटीले निकालिदिएको पनि उहाँले थाहा पाउनुभयो । अब के गर्ने कसरी, कहाँ खोज्ने केही थाहा थिएन । समय बित्दै थियो, व्याजको भार बढ्दै थियो । 

त्यसपछि फेरि दुबई

सयकडा पाँच प्रतिशत ब्याजदरमा लिएको ऋणले थिचिरहेको थियो । त्यसैमाथि परिवार पाल्नुपर्ने, छोराछोरी पढाउनुपर्ने । आफू ठगिएको पीडा सहेर मुटु दह्रो बनाउँदै उहाँ फेरि वैदेशिक रोजगारीमा जानुभयो । यसपालि दुबई पुग्नुभयो, साल २०७५ को वैशाखमा ।

नेपालमा एजेण्टले ठग्यो । त्यहाँ उहाँकै स्वास्थ्यले धोका दियो । गएको १५ महिनामै आफैंले पैसा तिरेर नेपाल फर्किनुपर्ने भयो ।

भुपेन्द्र आफ्नी श्रीमतीकाे साथमा

अहिले भुपेन्द्र र उहाँकी श्रीमती न्याय पाउँ भन्दै विभिन्न ठाउँ पुग्नुहुन्छ । कहिले वैदेशिक रोजगार विभाग त कहिले प्रहरी कार्यालय । कतैबाट पनि केही आशालाग्दो कुरा नसुनिएपछि उहाँले सञ्चार माध्यमलाई गुहार्नुभएको छ । भन्नुहुन्छ, ‘ त्योबाट म त ठगिएँ, मजस्तै अरु दाजुभाइ दिदीबहिनीहरु नठगिउन् ।’
 

अन्तिम अपडेट: भदौ २४, २०७६

बेदानन्द जाेशी

उज्यालाेमा कार्यरत बेदानन्द जाेशी समसामयिक विषयमा कलम चलाउनुहुन्छ। 

तपाईको प्रतिक्रिया