आत्महत्या रोकथामको प्रयास फितलो

 भदौ २४, २०७६ मंगलबार ८:८:३६ | विना न्याैपाने
unn.prixa.net

काठमाण्डौ – आज विश्व आत्महत्या रोकथाम दिवस, विभिन्न कार्यक्रम गरी संसारभर मनाइँदै छ ।

प्रत्येक वर्ष सेप्टेम्बर १० मा आत्महत्या न्यूनीकरण गर्नका लागि जनचेतना बढाउन तथा आत्महत्या गरेर ज्यान गुमाएको सम्झनामा विश्व आत्महत्या रोकथाम दिवस मनाइन्छ ।

यो वर्ष ‘आत्महत्या रोकथाममा सबैको सहकार्य’ नारासहित नेपालमा पनि विभिन्न कार्यक्रम गरेर यो दिवस मनाइँदै छ ।

विश्वमा मृत्युको २० प्रमुख कारणहरु मध्येमा आत्महत्या पनि एउटा प्रमुख कारण रहेको छ । विश्वमा हरेक ४० सेकेण्डमा एक जनाले आत्महत्या गर्ने गरेको डब्लूएचओले जनाएको छ ।

विश्व स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार नेपाल विश्वमा धेरै आत्महत्या गर्ने देश मध्ये सातौँ स्थानमा छ ।  धेरै अत्महत्या गर्ने महिलाको तथ्याङ्कमा भने नेपाल तेस्रो स्थानमा रहेको छ ।

नेपाल प्रहरीको आर्थिक वर्ष २०६२/६३ देखि २०७१/७२ सम्म १० वर्षको तथ्याङक हेर्दा २९ हजार ९ सय ५ जनाले आत्महत्या गरेको पाइएको छ । आत्महत्याको दर प्रत्येक वर्ष बढ्दो क्रममा रहेको छ । २०७३/७४ मा ५ हजार १ सय १२ जना, ७४/७५ मा ५ हजार ३ सय ४६ जना र ०७५/७६ मा  ५ हजार ७ सय ५४ जनाले आत्महत्या गरेको तथ्याङक सार्वजनिक भएको छ । एक दिनमा १४ देखि १६ जनाको मृत्यु आत्महत्याको कारण भैरहेको छ । 

आत्महत्याका कारण ज्यान गुमाउनेको संख्यामा वृद्धि भइरहेको जानकारी गराउँदै आत्महत्या कम गर्नका लागि स्वास्थ्य मन्त्रालयले देशका ७ सय ५३ वटा पालिकामा जनचेतनामूलक कार्यक्रम गर्ने जनाएको छ । 

यो आर्थिक वर्षको बजेटबाट स्वास्थ्य मन्त्रालयले आत्महत्या कम गराउनका लागि ९० लाखका दरले सातै वटा प्रदेशमा ७ अर्ब बजेट विनियोजन गरेको नसर्ने रोग तथा मानसिक स्वास्थ्य शाखाका प्रमुख डा. फणिन्द्र बरालले बताउनुभयो । नेपालमा मनोचिकित्सकको संख्या १७० रहेको छ भने सरकारी अस्पतालमा जम्मा ११ जना मनोचिकित्सक रहेको डाक्टर बरालले बताउनुभयो ।

आत्महत्याका कारण

– मानसिक र व्यवहारिक समस्याहरु
– घरेलु हिसां र यौन दुव्र्यवहार 
– पढाइ तथा काममा असफलता
– प्रेममा असफलता
– आर्थिक समस्या 
– मनोसामाजिक र अपराधजन्य घटना
– लागु औषध, मादक पदार्थको दुव्र्यसन
– आफ्नो नजिकको मान्छे गुमाउनु
– सामाजिक रुपमा बद्नाम हुनु
– सामाजिक बहिस्कार र एक्लोपना
– तनावको व्यवस्थापन गर्न नसक्नु
– बेरोजगार हुनु, रोजगार गुमाउने

आत्महत्याका संकेतहरु

– बारम्बार निराशापना, एक्लोपनको महसुस हुनु । 
– लागू औषध र जाँड रक्सी सेवन बढ्नु । 
– निरन्तर छट्पटि बढेको महसुस हुनु । 
– निन्द्रामा गडबढी र भावनात्मक उत्तारचढाव ।
– जोखिमपूर्ण काममा रुची बढ्नु । 
– आत्महत्यासम्बन्धी कुरा गर्नु । 
– समाजिक सज्जालमा आत्महत्याको विचार तथा निराशाजनक अभिव्यक्ति प्रकट गर्नु । 
– आफ्नो भविष्य अन्धकार देख्नु, हेलचक्र्याँइपूर्ण व्यवहार देखाउनु र चाँडै रिसाउनु । 
– आफ्नो निजी सामान अर्काेलाई दिनु । 
– साथीभाइ तथा सामाजिक क्रियाकलापबाट टाढिनु । 

अपनाउनु पर्ने सुरक्षाका उपायहरु

– मानसिक स्वास्थ्य सेवामा सहज पहुँच । 
– साथीसँगी, परिवार,समाज र अन्य महत्वपूर्ण व्यक्तिहरुको सहयोग । 
– सामुदायिक क्रियाकलापमा सहभागिता । 
– भेदभावरहित सामाजिक जीवन । 
– उतपादनशिलर सकरात्मक सामाजिक तथा साँस्कृतिक अभ्यास ।
– मनका कुरा खोल्न सकने वातावरण । 
– जागिरमार्फत सामाजिक एकीकरण र फूर्सदको समयको सदुपयोग । 
– धार्मिक तथा आध्यात्मक काममा सहभागि ।

आत्महत्या सोचको व्यवस्थापन
स्वयमले – 

– मनोचिकित्सकको सहयोग लिने । 
– आत्महत्याको सोचबारेमा मन मिल्ने साथीलाई बताउने । 
– आवश्यक उपचार सुरु गर्ने र निरन्तरता दिने । 
– साथीहरुको दायरा र सहयोग प्रणालिको विकास गर्ने । 
– सामाजिक, आध्यात्मिक र धार्मिक काममा सहभागि हुने ।

अन्यले –
– आत्महत्याका प्रारम्भिक लक्षणहरु पहिचान गर्ने र सहयोग गर्ने विश्वास दिलाउने । 
– सहयोगको लागि तत्पर हुने । 
– उनीहरुसँग राम्रोसँग कुरा गर्ने । 
– सकरात्मक जीवन जीउनलाई प्रोत्साहन गर्ने ।
– आवश्यक सुरक्षाको योजना बनाउने । 
– आतहत्या गर्नसक्ने संभावित साधनको पहुँचबाट टाढा राख्ने । 
– आत्महत्याको सोच भएका र आत्महत्याको प्रयास गरेका व्यक्तिप्रति आत्मीय व्यहार गर्ने ।

हेल्पलाइन
टीपीओ नेपाल, १६६००१०२००५
मेन्टल हेल्थ हेल्प लाइन नेपाल, १६६००१३३६६६
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, ९८१३४७६१२३
त्रिवि शिक्षण अस्पताल,महाराजगञ्ज, ९८४००२१६००

अन्तिम अपडेट: भदौ २७, २०७६

विना न्याैपाने

विना न्याैपाने उज्यालाेमा कार्यरत हुनुहुन्छ।   

तपाईको प्रतिक्रिया