यसकारण देश जस्तै ‘युनिक’ छ हाम्रो राष्ट्रिय झण्डा

 असोज ५, २०७६ आइतबार १६:२६:९ | शंकरनाथ रिमाल
unn.prixa.net

वि.सं. २०१९ अघि नेपालमा निश्चित मापदण्डको झण्डा थिएन । परम्परादेखि नै दुई  त्रिभुज र त्यसभित्र चन्द्रसूर्य राख्ने चलन त थियो । तर त्यसमा कसैले सूर्यलाई माथि त कसैले तल राखेर झण्डा बनाउँथे । कहीँ कतै त्यसमा मान्छेको अनुहार पनि राख्ने चलन थियो । त्रिकोण भएको र त्यसमा चन्द्रसूर्यका साथै झण्डाको रंग रातो र नीलो नै राख्ने गरिएको थियो । तर निश्चित मापदण्डसहितको झण्डाको एकरुपता भने थिएन । 

जब नेपालको सम्बन्ध बाहिरी दुनियाँसँग बढ्दै जान थाल्यो, अनि झण्डामा एकरुपताको आवश्यक पर्न थाल्यो । नेपाल संयुक्त राष्ट्र संघको सदस्य बनेपछि झण्डामा एकरुपताको खोजी भयो । संयुक्त राष्ट्रसंघमा नेपालको नेतृत्व गर्दै पुग्ने मन्त्री, राजदूत, सचिवहरुको फरक फरक झण्डा हुन्थ्यो । राजाले फरक झण्डा प्रयोग गर्थे । 

नेपालले फरक फरक झण्डा प्रयोग गरेको बारेमा संयुक्त राष्ट्रसंघले हेरिरहेको रहेछ । फरकफरक झण्डा देखेपछि उसले नेपालकोे आधिकारिक झण्डा कुन हो भनेर सोधेपछि त्योबेला सबै अक्क न बक्क हुन पुगेका थिए । यो खबर त्यसबेलाका राजा महेन्द्रकहाँ पुग्यो । अनि बल्ल झण्डालाई एकरुपता दिन पर्यो भन्ने बहस भएको हो ।

तत्कालीन प्रधानमन्त्री बीपी कोइरालालाई अपदस्त गरेपछि राजा महेन्द्र आफैंले प्रत्यक्ष शासन चलाइरहनुभएको थियो । उहाँको शासन कालमा २०१८ सालमा नयाँ संविधान लेख्ने तयारी हुँदै थियो । त्यसबेला संविधान निर्माण समितिका प्रमुख होराप्रसाद जोशी हुनुहुन्थ्यो ।

त्यस समितिका एक जना सदस्य कृष्णप्रसाद पन्त पनि हुनुहुन्थ्यो । पन्तका भिनाजु डाक्टर बलराम जोशीको घर मैले नै डिजाइन गरेकाले उहाँसँग मेरो नियमितजसो भेटघाट भइरहन्थ्यो । पन्त झण्डा बनाउने मान्छेको खोजीमा हुनुभएको र उहाँले त्यसबारेमा भिनाजुलाई भनेपछि भिनाजुले मेरो नाम सिफारिस गर्नु भएको रहेछ । 

उहाँहरु दुवैजना मकहाँ आएर त्यसबेला फरक फरक ढंगले प्रयोग भइरहेको झण्डालाई एकरुपता दिनुपर्ने आवश्यकता रहेको र झण्डाको डिजाइन गर्ने प्रस्ताव गर्नु भयो । मैले पनि हुन्छ भनेर झण्डा बनाउने जिम्मा लिएँ । झण्डा बनाउने जिम्मा त लिएँ । तर त्यसै हचुवाको भरमा तयार पार्न त भएन । त्यसपछि अध्ययन, अनुसन्धान र त्यसबेलाका बुढापाका जानकारहरुसँग झण्डाकै बारेमा विमर्श गर्न थालियो । 

मेरो हजुरबा शिवनाथ कविराज र संस्कृतका विद्वान । जिजुबाजे पण्डित विश्वनाथ शास्त्री पाणिनीको अवतार नै भनिनुहुन्थ्यो । उहाँहरुबाट प्राप्त सूचना नै झण्डा बनाउनका लागि मेरो लागि अमूल्य स्रोत बन्यो । झण्डालाई सबै तरिकाले विशिष्ट बनाउन वास्तुशास्त्र पनि अध्ययन गरें । 

शास्त्रको अध्ययन गर्दै जाँदा ३४ को रेक्टेङगल बनायो भने अनन्त हुन्छ भन्ने कुरा पत्ता लाग्यो । त्यसपछि योभन्दा राम्रो अरु हुँदैन भनेर त्यसैलाई आधार बनाउने निर्णय गरियो । हाम्रो झण्डाको नीलो रङ अनन्तको रङ हो । पानी र आकाशको रङ पनि नीलो । आकाश भनेको अनन्त हो, अनन्त कालदेखि आइराखेको देश फेरि अनन्तसम्म जानुपर्यो भनेर त्यसैको आधारमा झण्डाको डिजाइनलाई अगाडि बढाएँ । झण्डा बनाउने जिम्मा लिएको तीन हप्तामै वैदिक, वैज्ञानिक र व्यवहारिक पाटोलाई समेट्दै झण्डा तयार भयो ।

झण्डा तयार भएपछि बनाउन जिम्मेवारी दिने कृष्णप्रसाद पन्तलाई मैले झण्डा बुझाएँ । उहाँले झण्डा लिएर जानुभयो । तर त्यो झण्डाको बारेमा मलाई केही जानकारी आएन । त्यो डिजाइन ठिक भयो कि भएन भन्ने बारेमा कसैले जानकारी दिएन । 

एकै पटक २०१९ पुष १ गते जारी भएको संविधानमा झण्डाको बारेमा उल्लेख भएपछि मात्रै यसबारेमा थाहा भयो । मैले डिजाइन गरेअनुरुप नै झण्डाको बारेमा उल्लेख थियो । खुशी लाग्यो । तर त्यसबारे आधिकारिक जानकारी मलाइ कसैले दिएनन् । संविधानको ठेली किनेर ल्याएर हेरेँ । मैले गरेको काम सफल भएछ भन्ने लाग्यो, सकियो । 

झण्डाको डिजाइन 

४को रेक्टेङगललाई आधार बनाएर चन्द्रमा र सूर्यलाई डायग्राममा तयार पारेर झण्डा बनाइएको हो । त्योबेला झण्डाको रङ फेर्ने कि भन्ने पनि लागेको थियो । तर परम्परा बिग्रन्छ भन्ने लागेर रंग फेरिएन ।  

सिम्रिक रङ विवाह, व्रतबन्धलगायत कुनै पनि शुभकार्यमा प्रयोग हुन्छ । चुनाव लड्दा होस् या घरमा बिदाइ हुँदा या होलीमा यही रंग प्रयोग हुन्छ । शक्ति र क्रान्तिको रङ पनि रातो नै हो । त्यसकारण यति धेरै कुरा मिल्ने हुँदाहुँदै परिवर्तन गर्न मनले मानेन । अनि नीलो भनेको शान्ति, जल र आकाशको पनि रङ भो । आकाश नै अनन्त छ । त्यो अनन्तकाललाई मास्ने कुरै भएन । सेतोको अर्थ शुद्ध अथवा पवित्रता भइहाल्यो । त्यसैले झण्डामा यिनै रंगहरु राखियो । 

महाभारतकालदेखि नै नेपालको यही किसिमको झण्डा प्रयोग भएको पाइन्छ । महाभारतमा कौरवलाई मद्दत गर्न नेपालबाट पनि सेना गएको भन्ने कुरा भेटिन्छ । त्यो बेलामा पनि नेपाल भन्ने शब्द रहेछ, त्यो हिसाबले त ७ हजार वर्ष पहिलेको कुरा हो नि यो । त्यसैले त्यो महत्व हराउन नदिन पनि त्यतिबेला प्रयोग भएका रंग र चन्द्र सूर्यलाई नै मैले निरन्तरता दिएर एउटा ठोस आकार मात्र दिएको हुँ ।  

झण्डामा चन्द्रसूर्य 

झण्डाको माथिल्लो भागमा चन्द्रमा र तल्लो भागमा सूर्य अंकित छ । झण्डाको माथिल्लो त्रिकोणमा चन्द्रमा र तल्लो त्रिकोणमा सूर्य राखिएको छ । सूर्यको बाह्र कला हुन्छ भन्ने मान्यता छ । चन्द्रमाको १६ कला हुन्छ भनिन्छ । त्योबेला प्रयोगमा रहेका झण्डामा कसैले सूर्यलाई माथि राख्थे त कसैले चन्द्रमा । 

तर मैले झण्डा डिजाइन गर्दा माथि चन्द्रमा र तल सूर्य रहेको बनाएँ । माथि चन्द्रमाको आठ कला मात्रै देखिएको छ । तल सूर्यको १२ कला छ । यसरी राख्नुको पनि छुट्टै महत्व छ । 

सूर्यलाई धेरै पराक्रमी मानिन्छ । सूर्यलाई प्राज्ञ र चन्द्रमालाई करुणाको प्रतीकको रुपमा पनि लिने गरिएको छ । त्यसैले प्राज्ञभन्दा त करुणा धेरै महत्वपूर्ण हुने भयो । जतिसुकै प्राज्ञ भए पनि करुणा भएन भने रावण जस्तो हुन्छ तर करुणासहितको प्राज्ञ भयो भने त बुद्ध हुने भयो । त्यसैले धार्मिक हिसाबले पनि झण्डामा प्रयोग भएको चन्द्रसूर्यको ठूलो महत्व छ । 

चन्द्रसूर्य अंकित झण्डा नेपालको मात्रै होइन विश्वका अन्य विभिन्न देशको झण्डामा पनि देख्न सकिन्छ । पाकिस्तानको झण्डामा पनि चन्द्रमा छ । तर त्यो नेपालको भन्दा फरक छ । जापानले पनि आफ्नो झण्डामा सूर्य राखेको छ ।

उसले सूर्य राख्नुको अर्थ सूर्योदयको देश भनेर चिनाउन पनि हुन सक्छ । सँगै उसको राजपरिवारलाई सूर्य वंशको रुपमा पनि लिने गरेको र सूर्य जस्तै बहादुर भनेर देखाउन पनि राजनपरिवारसँग जोडेको पाइन्छ । हाम्रो सूर्य र चन्द्रको उपयोग फरक छ । हाम्रो व्याख्यासँग कसैको पनि मिल्दैन ।

दुई त्रिकोण किन ?

दुई त्रिकोणात्मक आकारको नेपालको झण्डा विश्वको एक मात्रै झण्डा हो । विश्व मानचित्रमा नेपालको भौगोलिक अवस्थिति जसरी भिन्न छ । विश्वका झण्डाहरुको लहरमा पनि नेपालको झण्डा विल्कुल बेग्लै छ । विश्वका हरेक देशको झण्डा चार कुना भएको छ । 

हाम्रो झण्डाको माथिल्लो त्रिकोण भन्दा तल्लो त्रिकोण केही ठूलो छ । हाम्रो देशको भौगोलिक अवस्था जनाउन अर्थात पहाडै पहाडको अवस्था जनाउन पनि त्रिकोणले काम गरेको छ । 

विश्वका झण्डाहरुको बीचमा हाम्रो देशको झण्डा हुँदा जो कोहीले पनि यो नेपालको झण्डा रहेछ भनेर सहजै बुझ्ने गरेका छन् । किनकी विश्वमा एउटा मात्रै देश नेपालको यो खालको झण्डा छ । अन्य देशको झण्डाहरु प्रायः एउटै रङको छ, कसैको माथि फर्केको छ, कसैको तल फर्केको छ, कसैको अगाडि त कसैको पछाडि छ, सबै झण्डा पाँच छ वटा रङमा छन् । 

अरु देशको झण्डाका बारेमा कि त सोधेर पत्ता लगाउनु पर्छ कि त इन्साइक्लोपिडिया पल्टाउनुपर्छ । त्यो पनि नभए गुगल सर्च गर्नु पर्छ । तर नेपालको झण्डा कहीँ कतै खोज्नु पर्दैन । विश्वकै झण्डाहरुको बीचमा युनिक छ । यसले परम्परादेखि नै हाम्रो पहिचान राख्ने काम पनि गरेको छ ।

हाम्रो देश जस्तो युनिक छ झण्डा पनि त्यस्तै युनिक छ । सानो देशलाई विश्वमाझ परिचित गराइरहन जसरी कठिन हुन्छ यस्ता कुराले अलि सहज बनाइदिंदो रहेछ ।  

झण्डाले सबैलाई जोड्ने काम गरेको छ । रंगको संयोजनले सबैलाई जोड्ने काम गरेको छ । त्रिकोणले पहाड मात्रै देखाउन खोज्यो तराईलाई समेटिएन भन्ने कुरा उचित होइन । झण्डाको एउटै इलिमेण्टले समेटेन भन्नुभन्दा पनि समग्रमा हेर्नु पर्छ । पहाडलाई त उत्प्रेरित भएर त्रिकोण बनाइएको हुन सक्छ । तर यो पहिलेदेखि चलिआएको भएर मैले त्यसैलाई निरन्तरता मात्रै दिएको हुँ । 

यो कसैको वंशीय प्रतिक होइन 

कतिपयले यो झण्डालाई शाहवंशीय राजतन्त्रको प्रतीक भनेर चर्चा पनि गरे । तर  त्यसो हुँदै होइन । यो त मानवदेवकै पालादेखि यस्तै चल्दै आएको देखिन्छ । अनि कसरी शाहवंशीय भयो भन्ने कुरा आयो मैले बुझ्न सकिनँ । यस्तै भनेर क्याम्ब्रिजले पनि पुस्तक निकालेको रहेछ ।

तर परम्परादेखि चलिआएको शाहवंशले पनि त्यही अपनाए अहिले हामीले पनि त्यही अपनाइ रहेका हौँ । अब यसलाई कसैको वंशावलीसँग जोडेर हेर्नु उचित होइन । यो त परम्परा नै हो । परम्परालाई नै फाल्ने हो भने त नेपाल भन्ने नाम नै फाले पनि भइहाल्यो नि । 

महेन्द्रको चन्द्र वंश त हो । तर सूर्य वंश राणाहरुको हो । २००७ पछि त राणा शासनको अन्त्य भइसकेको थियो । राणाहरुप्रति महेन्द्र निकै कठोर थिए । त्यसैले उनले राणाहरुको सिम्बोलको रुपमा सूर्य राख्न दिने कुरै हुँदैनथियो । त्यसैले यस्ता खाले प्रचार विल्कुल असत्य हो, यसमा कुनै सत्यता छैन । यो भनेको त शास्त्रीय आधारमा तयार पारिएको मात्रै हो । त्यो बाहेक कसैको वंश जनाउन राखिएको होइन । 

झण्डामा राखिएको रंग, चन्द्रसूर्य अनि त्रिकोणात्मकको मैले जसरी व्याख्या गरेर राखेको थिए, त्यसबारेमा मलाई कसैले सोध्दा पनि सोधेन अनि मैले भन्दै हिँड्ने कुरा पनि भएन । मैले झण्डा मात्रै बनाएर दिएको थिए । त्यसको ब्याख्या पछि उहाँहरुले कसरी गर्नु भयो त्यो थाहा पनि भएन । 

केही वर्षअघि झण्डा फेर्ने कुरा उठ्दा मलाई साह्रै नमज्जा लागेको थियो । साह्रै दुःख लाग्यो । तर अहिले त्यस्तो कुरा आएको छैन । झण्डा नै देशलाई जोड्ने एक मात्र प्रतीक बन्न पुगेको छ । त्योबेला पनि झण्डाको मौलिकपन, यसको धार्मिक मान्यता, झण्डाको इतिहास र महत्व नबुझेकाले त्यस्तो कुरा गरेको हुन सक्छ । तर त्यो बुझेपछि भने झण्डा फेर्ने कुरा अहिले हराएर गएको छ ।  

त्योबेलामा झण्डा त आयो तर त्यो महत्व सार्वभौम भएको रहेनछ । तर अहिले आएर झण्डा सार्वभौम भएछ । सबभन्दा ठूलो कुरो त जुन झण्डा देशका लागि बनेको छ, त्यो सार्वभौम हुनुपर्छ । 

झण्डा परिवर्तन गर्नुपर्ने कुनै कारण छैन । हाम्रो देश अनन्तकालदेखि चलिआएको छ । हाम्रो देश अनन्तकालसम्म चलोस् भन्ने हामी चाहन्छौँ । झण्डा पनि त्यही अनन्तकालसम्म चलोस् भन्ने लाग्छ ।   

खुशीको क्षण

यो झण्डा कसरी बन्यो भनेर २०५३ मा दयाराम श्रेष्ठ (सम्भव)ले नेपालको राष्ट्रिय झण्डा सम्बन्धी (इतिहास) पुस्तक लेखेपछि मात्रै मेरो बारेमा खोजी हुन थाल्यो । त्योबेला उहाँले मसँग कुरा गरेर झण्डा कसरी बनेको भनेर लेख्नु भएको थियो । त्यसपछि मात्रै झण्डा कसरी बन्यो भनेर मान्छेले थाहा पाए । अनि मेरो बारेमा पनि । 

२७ वर्षको हुँदा मैले यो झण्डाको डिजाइन तयार पारेको थिएँ । राष्ट्रले काम गर्ने जिम्मेवारी दिएको थियो मैले काम गरें । मेरो व्यक्तिगत स्वार्थको लागि काम गरेको पनि थिइनँ । एउटा इञ्जिनियर भएको नाताले दिइएको जिम्मेवारी पूरा गरेको मात्रै हो । यो मैले कुनै रिवार्डको लागि गरेको पनि थिइनँ । दिएको जिम्मेवारी पूरा गरें, सफल भयो खुशी भएँ बसें । मैले झण्डा बनाएको हो भन्दै हिँड्ने काम पनि गरिनँ । अब आएर समाजले नै खोजी गर्दै आयो । अहिले आएर भए पनि खोजी भएकोमा मलाई खुसी चाहिँ लागेको छ । मैले चाहेको पनि त्यही थियो । 

मैले आफ्नो निम्ति गरेको पनि होइन, देशको लागि गरेको थिएँ । देशलाई समर्पण गरिदिएँ, सक्कियो । कसैले खोजी नगरेको भए यसै जान्थ्यो । कति पुस्तापछि मान्छेले सोध्थे होला । दयारामले लेखेको किताबबाट थाहा पाउँथे होला । त्योबेलामा न मैले कसरी झण्डा बनाएँ भन्ने बारेमा भन्न पाउँथे न मान्छेहरुले प्रष्ट बुझ्थे । 

अहिले आएर खोजी हुँदा पक्कै पनि अनौठो पनि लाग्यो । यस्तो पनि हुँदो रहेछ भन्ने लाग्छ । आफूले गरेपछि कुनै न कुनै दिन फल आउँछ भन्ने यसले अहिले आएर देखाएको छ । साह्रै खुशी लाग्छ, राष्ट्रिय झण्डासँग आफ्नो नाम जोडिँदा ।   

(राष्ट्रिय झण्डाका डिजाइनर शंकरनाथ रिमालसँग नवराज फुयाँलले गरेकाे कुराकानीमा आधारित ।)

अन्तिम अपडेट: असोज २९, २०७६

शंकरनाथ रिमाल

नेपाल कला परिषद्का महासचिव तथा इञ्जिनियर रिमाल राष्ट्रिय झण्डाको डिजाइनर हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया