पहिलेकाे दशैँ पाे दशैँ, अहिलेको दशैँ के दशैँ !

‘स्कुलको ड्रेस- निलो सर्ट, हाफ पाइन्ट र रातो हात्तीछाप चप्पल घरमा भित्र्याएपछि दशैँ आउँथ्यो’

 असोज २१, २०७६ मंगलबार १४:११:३४ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर गढी गाउँपालिका वडा नम्बर ५ मा रहेको नयाँ गाउँको डाँडाको बीचमा दुईतले घर । गोठमा तीन वटा भैँसी । दशैँ आएलगतै सेतो कमेरो र रातो माटोले आमाले पोत्नुभएको सुन्दर घर । गोबर र माटोले लिपिसकेपछि बास्ना आउने भुईँ । अनि गोठमा घाँसका भारीका चाँङ । दशैँको फूलपातीकै दिनमा घरमा एक बोरा चिउरा, एक बोरा चामल र तीन केजी चिनी ।

बजारबाट बुवाले ल्याउनुभएको केराउको तरकारी । घरमै बस्ने बेन्च नजिकै घाँस बोक्ने नाम्लोले हालिएको पिङ । दशैँमा मात्र मुखमा पर्ने चिउरा लुकी लुकी कचौरामा ल्याएर खाँदाको स्वाद नै बेग्लै । त्यसपछि दशैँको सुरुवात हुन्थ्यो । 

उहिले

स्कुलको ड्रेस नै दशैँको नयाँ लुगा

दशैँमा नयाँ लुगा लगाउनका लागि बुबाले स्कुलको ड्रेस निलो सर्ट, हाफ पाइन्ट र रातो हात्तीछाप चप्पल घरमा भित्र्याएपछि दशैँको ठूलै रौनक आउँथ्यो ।

तिज सकिएपछि बुबालाई धेरै पटक भनेपछि दशैँका लागि कपडा दिदी, भाइ र मलाई ल्याइएको थियो । तर, सिलाउन बाँकी । फेरि दशैँको त्यो ड्रेसको कपडा नाप्न र सिलाउन बुबाले पठाएपछि डाँडाको कान्छादाइ कहाँ गएर लगातार एक हप्ता बस्दा पनि भोलि त ठ्याक्कै सिलाउँछु भन्ने पुरानै बोली ।

आफू पनि फेरि अरुले नदेख्नेगरी लगाएको नयाँ बास्नादार लुगा हेर्थेँ । सबैका नजर हामीतिरै भएकाे राम्रा लुगा लगाएर हाेला भन्ने लाग्थ्याे । तर, अहिले बल्ल थाहा भयो । स्कुल ड्रेसको कपडा लगाएर पो हामीतिर ध्यान तानिएको रहेछ ।

हरेक दिन दशैँका लुगा सिलाइयो कि भनेर गयो, कपडा ओल्टाइ पल्टाइ हेर्‍याे, काटेकै हुँदैनथ्यो । अर्को दिन गयो बल्ल आफ्नै अगाडि कपडा काटेर देखाउने अनि अर्कैको लुगा सिलाउने । अनि कान्छादाइले मिठो बोलीमा भोलि त डाँडै झिलिमिली हुन्छ बाबु भनेपछि हामी फुरुक्कै । 

धेरै दिनपछि बल्ल सिलाएको कपडा पनि बढ्ने मान्छेलाई भनेर ठूलो सर्ट, कम्मर ठूलो भएको हाफ पाइन्टमा सुतलीले कसेर लगाएर ठाँटिएर नयाँ गाउँबाट ज्यामिरे टीका लगाउन आउँदाको हर्षको दशैँ पो दशैँ त ।

नयाँ लुगा लगाएपछि जुन बेला पनि तल देखि माथिसम्म हेर्न मन लाग्ने । हर्षको सीमा नै हुन्नथ्याे ।

बगलीमा चिनी र चिउरा हालेर आफ्नतकहाँ टीका लगाएको क्षण

बुबाआमाले घरका सबै काम धन्दा सकेर नयाँ गाउँदेखि एक घण्टाको बाटो हिँडेर गढी-५ काे ज्यामिरेमा हजुरबा, हजुरआमाको हातमा टीका लगाउन आउँथ्याैँ । हाम्रो हुमागाईं खलकका ६ दाजुभाइका झण्डै दुई दर्जन छोराछोरी सहित टीका टाला सुरु हुन्थ्यो ।

त्यतिबेला अरुको तुलनामा सबैभन्दा सिरानमा हाम्रै घर थियो । हामी अली ढिलो पुग्थ्यौँ । टीकामा सबै जम्मा भइसकेका हुन्थे । हामी पुग्नासाथ सबैले हामीतिर नै हेर्थे र मुसुमुसु हाँस्थे पनि । अनि म सोच्थेँ-‘नयाँ लुगा लगाएको बेलामा त सबैले हेरिहाल्छन् नि !‘ 

आफू पनि फेरि अरुले नदेख्नेगरी लगाएको नयाँ बास्नादार लुगा हेर्थेँ । सबैका नजर हामीतिरै भएकाे राम्रा लुगा लगाएर हाेला भन्ने लाग्थ्याे । तर, अहिले बल्ल थाहा भयो । स्कुल ड्रेसको कपडा लगाएर पो हामीतिर ध्यान तानिएको रहेछ । टीकाको दिनपछि बगलीभरी चिउरा र चिनी हालेर आफन्तकहाँ टीका लगाउन हिँड्दाको दशैँ पो दशैँ ।

अहिले

ल्यापटपबाट गुगलमा सर्च गरेर कपडा छान्ने दशैँ 

इन्टरनेटले सबैलाई साँघुरो घेरामा ल्याएको छ । थरीथरीका फेसन फिलिम र सिरियलमा देखिन्छ । अनि त्यही लगाएको कपडाको नाम याद गर्दै गुगलमा सर्च गरेर दशैँमा यो कपडा किन्ने भनेर जिद्दी गर्ने अहिलेका बालबालिका छन् । ती कपडा हेटौँडा बजारमा पाउँछ वा पाउँदैन भन्ने थाहा छैन । तर, त्यही कपडा चाहिन्छ भनेर छोरीको मागलाई सम्बोधन गर्न खोज्दा हेटौँडाका धेरै पसल चाहार्नु पर्‍याे । आखिर उनले भनेको कपडा पाइएन । 

बजार गयो दशैँ सुरु हुँदा कोलाहल, अस्टमी नवमी, सुनसान । घरमा बस्यो दिक्क । न त घरमा दशैँका लागि भनेर जोहो गर्नुपर्ने समस्या । अभाव र समस्या नहुँदा पनि अहिले पहिलेको जस्तो न रमाइलो, न हर्ष दशैँमा । यस्तो दशैँ भन्दा बाल्यकालको दशैँ पो दशैँ ।

चलनचल्तीकाे अर्कै कपडाले छोरीले चित्त बुझाउनु पर्‍याे । पहिले स्कुल बिदा भएपछि दशैँका लागि घाँसपातको जोहो गर्ने, दाउरा खोजिसक्ने गर्नुपर्थयाे । अहिले त बोर्डिङ स्कुल बिदा भएको दिनदेखि छोराछोरीलाई घुमाउन लैजानै पर्ने, बजार निस्केपछि थरीथरीका सामान किन्नै पर्ने, भनेको र रोजेको जति दशैँका सामान किनिदियाे, घरमा पुगेपछि फेरि ठस्स ।

फेरि भोलिपल्ट बजार ल्यायो, सामान किनिदियो तै पनि चित्त बुझाउन सकिँदैन । बोली भर्खर फुटेकालाई पनि ब्रान्डेड मोबाइल चाहिने । खानाका लागि घरमा सामान टन्न हुन्छ, होटल जानुपर्ने । कुनै कुराको अभाव छैन तैपनि चित्त बुझाउन नसकिने, त्यसैले त उहिलेकाे दशैँ  पाे दशैँ, अहिलेको दशैँ के दशैँ ।

रक्सी नखाने र तास नखेल्नेले समय बिताउन कठिन 

दशैँ सुरु भएपछि अफिसमा पाउने छुट्टी । घरका काम खासै नहुने । बिहान मन्दिर धाउनेका लर्को । दिउँसो र साँझ साथीभाइ र आफन्त मिलेर हातभरी तास र संँगै रक्सीको चुस्कीमा समय बितेको धेरैलाई पत्तै भएन ।

तर, दशैँ सुरु भएपछि मेरा लागि भने समय बिताउने ठाउँ नै भएन । तास र रक्सी नचल्ने भएपछि हरेक दिन बिताउन निकै समस्या भयो । रेडियो गयो प्राविधिक मात्रै । बजार गयो दशैँ सुरु हुँदा कोलाहल, अस्टमी नवमी, सुनसान । घरमा बस्यो दिक्क । न त घरमा दशैँका लागि भनेर जोहो गर्नुपर्ने समस्या । अभाव र समस्या नहुँदा पनि अहिले पहिलेको जस्तो न रमाइलो, न हर्ष दशैँमा । यस्तो दशैँ भन्दा बाल्यकालको दशैँ पो दशैँ । 

अन्तिम अपडेट: असोज २७, २०७६

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको जिल्ला अध्यक्ष समेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया