खेतको खेल : बहराइन बस्ने उत्तरकुमारलाई जवाफ, कीर्तिपुरकी आशमायालाई निराश !

 कात्तिक २०, २०७६ बुधबार १३:४:५४ | मिलन तिमिल्सिना
unn.prixa.net

मुरीका मुरी धान फल्ने खेत हुने र एक गेडो धान फाल्ने खेत पनि नहुनेमध्ये को चाहिँ बढी खुशी र सुखी होला ? उत्तर सजिलो छ, जसको छ उही बढी खुशी र सुखी हुन्छ । नहुनेलाई त के को खुशी, कसरी सुखी ? 

तर दिनभरी चाहरेर पनि नभ्याउने खेत भएका मान्छेलाई जिन्दगीको महत्वपूर्ण बाटोमा पाइला अघि बढाउन त्यही खेतले छेक्दो रहेछ । अनि आफ्नो खेत नभए पनि अरुको खेतले कसैकसैको सपना पूरा गर्दो रहेछ ।

कीर्तिपुरको धानफाँटमा यस्तै दुई पात्र भेटिए । स्थानीय आशमाया महर्जन र ताप्लेजुङका उत्तरकुमार लिम्बू । आशमाया आफ्नै खेतमा, उत्तरकुमार अरुको खेतमा । आशमायालाई आफ्नै खेतले सानो छँदा गरेको आश कहिल्यै पूरा हुन दिएन । तर उत्तरकुमारलाई चाहिँ अर्काको यही खेतले जिन्दगीमा खोजे र सोचेका उत्तर मिलिरहेको छ ।  

नाम र कामसँग परस्पर बाझिएका आशमायाको आशा र उत्तरकुमारको जवाफमा अचम्मको संयोग र विरोधाभास मिसिएको छ । सबैभन्दा पहिले आशमायाको आशा र निराशा केलाउनतिर लागौँ ।

खेतले रोक्यो स्कुल जाने बाटो

आशामाया महर्जन । जन्मघर र कर्मघर पनि कीर्तिपुर । उमेरले ६० वर्ष छुनै लाग्यो । नाम आशमाया भए पनि सानो छँदा आश गरेको कुरा बुढेशकालमा पनि पूरा भएन भनेर उहाँको मन कुटुकुटु खाइरहन्छ । जन्मघर सम्झेर पछुतो लाग्छ, कर्मघर सम्झेर रीस उठ्छ । 

यति धेरै दुखेसो र पछुतो किन त ? ‘किन भन्नु नि, पढ्न कत्रो मन थियो । तर पढ्न पाइएन । आमाबाले नि पढाएनन्, श्रीमानले पनि वास्ता गरेनन्’ धान काट्दै गरेकी आशामायाको अनुहार मलिन देखियो ।

६ वर्षको उमेरदेखि पढ्न खोजेको, उमेरले ६ दशक छुन लाग्दासम्म पढ्ने रहर पूरा भएन । ‘सानो छँदा पढ्न भनेर स्कुल जान्थें, तर बाआमाले कपालमा तानेर घर ल्याउँथे’ आशमायाले विगत सम्झनुभयो । 

घरमा चार केटाकेटी । एक छोरा, तीन छोरी । अरु धेरैलाई जस्तै आशामायाका बाआमालाई पनि छोरीलाई पढाएर के फाइदा भन्ने मनमा लाग्थ्यो । कुनै कुनै छोरीले मात्र स्कुल जान पाउँथे । धेरैलाई घरधन्दा, मेलापात, घाँसदाउरा र खेतीपाती गर्नुपर्ने बाध्यता थियो ।

बाआमाले दाइलाई स्कुल पठाउँथे । दाइ स्कुल जानुअघि आशमायाका दिदीबहिनी खेतमा पुगिसक्थे । हातमा किताब बोकेर साथीसँग खेल्दै रमाउँदै स्कुल जान आशमायालाई पनि औधी रहर थियो । कतिपटक उहाँ दाइसँग स्कुल पुग्नुहुन्थ्यो पनि । तर खेतमा छोरी नदेखेपछि बाआमा खोज्दै स्कुल पुग्थे ।

‘स्कुल पुग्न नभ्याउँदै बाआमा लिन जान्थे, कपालमा समातेर घर ल्याउँथे’ आशमाया ती दिन सम्झेर निराश हुनुभयो, ‘के गर्नु बाआमाले पढ्नै दिएनन्, खेतमै काम गरेर उमेर बित्यो ।’

माइतमा पढ्न नपाए पनि बिहेपछि पढ्न पाइन्छ कि भन्ने आशमायाको आश थियो । त्यतिबेला गाउँगाउँमा प्रौढ शिक्षा पुगेको थियो । बिहेपछि उहाँले पनि प्रौढ शिक्षा पढ्न मन गर्नुभयो । तर घरकाले पनि पढ्न दिएनन् ।

‘बुढाले पनि पढ्न दिएन नि’ नजिकै धान झारिरहेका श्रीमानतिर हेर्दै उहाँले भन्नुभयो, ‘पहिल्यै पढ्नुपथ्र्यो, अहिले किन पढ्ने भनेर यही बुढाले हो मलाई पढ्न नपठाएको ।’ 

माइत र घरका मान्छेसँग मात्र होइन, उहाँलाई खेत र धान सम्झेर पनि रीस उठ्छ । ‘खेत धेरै नभएको भए काम गर्न पर्दैनथियो, यही खेतकै कारण मैले पढ्न पाइनँ’ आशमायाले पूरा नभएको आफ्नो आशा सुनाउनुभयो, ‘मसँगैका कतिपय साथीहरु डाक्टर, नर्स भए, पढेको भए म पनि केही न केही पक्कै हुन्थें ।’

तर आशमायाले जे भयो भयो, अहिले जे छ त्यसमै चित्त बुझाउनुपर्छ, अप्ठ्यारोमा पनि सजिलो खोज्नुपर्छ  भनेर चित्त बुझाउन थाल्नुभएको छ । ‘मैले नपढेर के भयो र ? छोराछोरी र नातिनातिनालाई पढाएको छु । मैलेजस्तो उनीहरुले दुःख पाउँदैनन्’ आशमायाले चित्त बुझाउनुभयो ।

आशामायाका श्रीमान श्रीमतीको कीर्तिपुरमा पसल पनि छ । श्रीमान श्रीमती दुबैलाई पढ्न आउँदैन । पहिले पसलमा हिसाब नजानेरै कति घाटा पनि भयो । तर अहिले आशमायालाई हिसाब राम्ररी आउँछ । ‘पढेको मान्छे क्यालकुलेटर थिचेर हिसाब गर्छन्, म मुखैले उतिखेरै भन्दिन्छु’ आशमायाले आफ्नो खुबीमा गर्व गर्नुभयो, ‘ठिकै छ नपढेर पनि केही छैन, अब मलाई कसैले ढाँट्न, छल्न सक्दैन, उही बेलामा पढ्न पाइएन भन्ने चिन्ता मात्र हो ।’

खेत सम्झँदा आशमायालाई बेलाबेला निराशा लागे पनि छोराछोरी र नातिनीले पढेको हेरेर स्कुल जाने आफ्नो रहर मेटाउँदै हुनुहुन्छ । निराशामा पनि आशा खोज्दै गरेकी आशमायाले भन्नुभयो, ‘पहिले खेत भएर म स्कुल जान पाइनँ, अहिले खेत भएर पनि मैले छोराछोरीलाई पढाएको छु ।’

बहराइन बस्दा देखेको सपना खेतमा पूरा

कीर्तिपुरकी आशमायाको पढ्न जाने बाटो खेतले रोक्यो । पढेर केही गर्छु भन्ने आशा पूरा हुन दिएन । तर ताप्लेजुङका उत्तरकुमार लिम्बूको सपना भने यही खेतले पूरा गरेको छ । विदेशमा छँदा देखेका सम्भावनाका सपनाहरु यही खेतले हराभरा पारेको छ ।

ताप्लेजुङ नाल्बोका लिम्बु ५ वर्षअघि मात्र बहराइनबाट फर्कनुभएको हो । चार वर्ष विदेश बस्दा उहाँले धेरै हण्डर र ठक्करसँगै कामको ज्ञान र अनुभव पनि सँगाल्नुभएको छ । उतिबेला देशमा केही गर्न सकिंदैन भन्ने लाग्थ्यो । अहिले देशमै गर्न सकिने ठाउँ र बाटाहरु पहिल्याउनुभएको छ ।

‘विदेश जानुअघि यो देशमा केही हुँदैन जस्तो लागेको थियो, उता पुगेपछि थाहा भयो गर्ने र जान्ने हो भने त आफ्नै ठाउँमा सुन फलाउन सकिँदो रहेछ’ खेतमा पराल तह लगाउँदै गरेका लिम्बूले आफ्नो अनुभव र ज्ञान सुनाउनुभयो ।

यो खेत उहाँको आफ्नो होइन । अरुकै खेतमा धान रोप्नुभएको थियो । अहिले सोचेभन्दा धेरै धान फल्यो । खेत धनीलाई दुई चार बोरा मात्र धान दिए पुग्छ, बाँकी आफैँले राख्ने हो । धान त सिजनमा एकपटक लगाउनुभएको हो । उहाँको मुख्य व्यवसाय बंगुर र भैँसीपालनसँगै तरकारी खेतीको छ ।

‘विदेशबाट फर्किएपछि बंगुर र भैंसीपालन गर्न थालेँ’ लिम्बूले सुनाउनुभयो, ‘बहराइनमा चार वर्ष बस्दा जम्मा तीन लाख रुपैयाँ लिएर आएको थिएँ, अहिले तरकारी, बंगुर र भैंसीले एक वर्षमै त्योभन्दा धेरै दिन्छ ।’

विदेश जानुअघि उहाँ गाउँमै अलैंची खेती गर्नुहुन्थ्यो । अलैँची बेचेर र चौँरी खच्चड पालेर राम्रै कमाइ हुन्थ्यो । तर त्यतिबेलाको द्वन्द्वका कारण उहाँ गाउँमा टिक्न सक्नुभएन ।

‘कहिले माओवादी आएर कार्यक्रममा जाउँ भन्थे, कहिले सेना आएर माओवादीलाई समाउन जाउँ भन्थे’ उहाँले विगत सम्झनुभयो, ‘दुवैतिरको घानमा पिसिने भएपछि बाध्य भएर गाउँ छोड्नु पर्‍यो ।’

गाउँ छोडेर उहाँ काठमाण्डौ आउनुभयो । भेटे र पाएजति सबै काम गर्नुभयो । तर भनेजस्तो भएन । त्यसपछि बहराइन पुग्नुभयो । त्यहाँ घरघरमा पुगेर गाडी धुने काम मिल्यो ।

‘अरुको गाडी धोएर सफा बनाउँथे, तर मेरो आफ्नो मनको पीरचाहिँ धोएर सफा बनाउन सकिनँ’ लिम्बूले भन्नुभयो, ‘सोचेजस्तो कमाई नभएपछि देशमै केही गर्छु भनेर फर्किएँ ।’

काठमाण्डौमा अरु साथीहरुले जग्गा भाडामा लिएर तरकारी खेती र बंगुरपालनबाट राम्रो कमाइ गरेको उहाँले थाहा पाउनुभयो । त्यसपछि उहाँले पनि यही काम थाल्नुभयो । 

कीर्तिपुरमा उहाँको बंगुरफार्म र भैँसी गोठ छ । तरकारी खेती पनि गर्नुभएको छ । यसपालि धान पनि लगाउनुभयो । परिवारका सबै सदस्य सँगै छन् । ‘पहिले बहराइनमा हुँदा कोही थिएन, परिवारलाई सम्झेर सधैं रुन्थेँ’ परालको भारी मिलाइरहेका परिवारका सदस्यतिर हेर्दै उहाँले भन्नुभयो, ‘उ श्रीमती, त्यो छोरो, उ चाहिँ साली, उ भाइ..., अहिले सबै सँगै छौँ, भनेजस्तै भएको छ ।’

अरुकै खेतमा खेती गर्ने उत्तरकुमारलाई यहाँ के हुन्छ र भन्ने प्रश्नको उत्तर बल्ल मिल्न थालेको छ– जान्ने र गर्ने हो भने जे पनि हुन्छ, सोचे र भनेजस्तै हुन्छ ।

अन्तिम अपडेट: कात्तिक २६, २०७६

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया