कमरेडको ‘सांस्कृतिक कारबाही’

 कात्तिक २०, २०७६ बुधबार १४:१३:१९ | भाेजेन्द्र बस्नेत
unn.prixa.net

२०६३ सालको वर्षायाम । देशमा नयाँ उत्साह सुरु भएको थियो । देशमा लोकतन्त्रको बहालीसँगै वर्षे सशस्त्र द्वन्द्व टुङ्गिने विश्वास थियो । राजाले जनताको नासो जनतालाई फिर्ता गर्छु भनेपछि जनआन्दोलन रोकियो । तत्कालीन माओवादीले भने युद्ध सकिएको घोषणा गरिसकेको थिएन । 

युद्ध रोकिएको औपचारिक घोषणा नभए पनि अब रक्तपात हुँदैन भन्ने विश्वास थियो । गाउँघरतिर आउजाउ गर्न सहज हुन थाल्यो । दुई पक्षको चपेटामा पर्ने डर कम भएकोले वर्षौंदेखि गाउँघर टेक्न नपाएकाहरु गाउँ जान थाले । 

यही मौकामा हामी पनि माओवादीको श्रम शिविर हेर्न अज्ञात ठाउँतिर लाग्यौं । सोलुखुम्बु वा खोटाङको कुनै एक ठाउँमा माओवादीको श्रम शिविर छ र त्यहाँ बाटो खन्ने काम हुँदैछ भन्ने जानकारी थियो ।

सदरमुकाममा रहेका एक जना माओवादी नेताले हामीलाई जुबुमा सम्पर्क गर्न भने ।  

हामी जुबु पुग्यौँ । साँझमा दुधकोशी तर्दै गर्दा भेट भएका एक जनाले हामीलाई आफ्नै घरमा बास दिन्छु भनेपछि ढुक्क भएर उकालो लाग्यौं । गाउँमा नयाँ मान्छेलाई विश्वास गर्नेे अवस्था भैसकेकोे थिएन । 

हामीलाई बास दिने भनेर साथमै रहेका व्यक्तिले घर बाहिरबाटै आमा भन्दै बोलाए । ढोका खोल्दै गर्दा बुढी आमा यति धेरै खुशी हुनुभयो कि लाग्थ्यो उहाँले संसारको ठूलो युद्ध जित्दै  हुनुहुन्छ । गाउँमा मारिदिन्छन् भनेर उहाँले छोरालाई केही वर्षअघि शहर पठाउनुभएको रहेछ । 

बुढी आमाले राति अबेरसम्म गन्थन गर्नुभयो । उहाँले गाउँमा गोली चलेको, मान्छे मरेको, सुरक्षाकर्मी र बिद्रोहीले धम्काएको, हेलिकोप्टर अपहरणमा परेको, यतिसम्मकी गाउँमा कसैले भैँसी बाँध्ने किलो ठोक्दा पनि गोली चल्यो भनेर आत्तिँदै घरभित्र लुकेको अनुभव सुनाउनुभयो । 

बिद्रोहीका केही हर्कतहरु पनि सुनाउनुभयो । हाँस्दै भन्नुभयो ‘एक साँझ त एउटाले केटी लिएर आएको थियो । दुवै बन्दुक बोकेका । सँगै सुते । भोलिपल्ट त उनीहरुका साथीले थाहा पाएछन्, दुवैलाई झण्डै मारेका ।’

यस वर्ष दशैँको बेलामा तत्कालीन सभामुख कृष्णबहादुर महरा पक्राउ पर्दा मैले ती बुढी आमाको कुरा सम्झेँ । बुढीआमाले घटना सुनाएपछि मैले माओवादी युद्धमा हिँडेका धेरै जनासँग युद्धका लागि हिँड्दाका अनुभव सोध्ने क्रममा प्रेम, यौन र विवाहको बारेमा पनि कुरा गरेको थिएँ । केहीले मोर्चामै प्रेम, यौन तथा त्यहीँ विवाह समेत गरेको अनुभव सुनाएका थिए । त्यो स्वभाविक पनि थियो । 

यौनकै कारण केही नेता/कार्यकर्ता साँस्कृतिक कारबाहीमा परेका घटना पनि सुनाएका थिए । आफैले साँस्कृतिक कारबाही भोगेको कुरा चाहिँ श्रम शिविरका एक कमाण्डरले सुनाएका थिए ।

हामीलाई जुबुबाट खोटाङको ऐंशेलुखर्क पठाइयो । वर्षायाम थियो । ऐंशेलुखर्क जाँदा यति धेरै जुकाले टोके कि साथी पिटी लोप्चनले जुकाले मार्छ कि क्या हो भन्दा मैले जुकाले मारेछ भने त्यो पहिलो रेकर्ड हाम्रो नाममा हुन्छ नडराउनु भनेको किस्सा उहाँले अहिले पनि सम्झाइरहनुहुन्छ ।

ऐंशेलुखर्कबाट हामीलाई सोलुखुम्बुको बुङ पठाइयो । खासमा माओवादीलाई हाम्रो विश्वास नलागेर घुमाएका रहेछन् । उनीहरुको सम्पर्क भैरहँदो रहेछ । हाम्रो अघिपछि उनीहरुका मान्छे हिँडेका रहेछन् । यो कुरा चौथोे दिन बुङ पुगेपछि मात्र थाहा भयो । बुङ बजारमा लिन आएका युवाले म पनि सल्लेरीबाट तपाईंहरु सँगसँगै आएको नि भनेपछि भेद खुल्यो । 

केहीबेर उकालो लागेपछि भर्खरै सिँढी बनाएको बाटो देखाउँदै ती युवाले भने यही हो हामीले बनाएको बाटो । केही ढुङ्गाको सोलिङ्ग गरेको, केही सिँढी बनाइएको थियो ।

हामी श्रम शिविरमा पुग्यौं । महिला र पुरुष गरी झण्डै २० जना रहेछन् । कोहीलाई खाना पकाउने तथा भाँडा माझ्ने, कोहीलाई ढुङ्गा फुटाउने, कोहीलाई गाह्रो लगाउने यस्तै यस्तै जिम्मेवारी रहेछ । शिविरको नेतृत्व गर्ने व्यक्तिले परिचय दिए, कमरेड...।

पार्टीको नियम विपरित काम गर्नेलाई कारबाही स्वरुप काम लगाउने ठाउँ थियो श्रम शिविर । केही गाउँलेलाई पनि कारबाही गर्न पनि श्रम शिविर पठाउने गरेको तर त्यसबेला चाहिँ पार्टीका कार्यकर्ता मात्र रहेको जानकारी दिए । 

शिविरमा भएकाहरुसँग पनि कुराकानी भयो । धेरैले साँस्कृतिक कारबाही भोग्दै गरेको बताए । केहीले आर्थिक अनियमितता गरेको, केहीले आदेश नमानेको, यस्तै यस्तै कारण थिए । 

श्रम शिविरको नेतृत्व गरिरहेका व्यक्ति भलाद्मी थिए । राम्रो व्यवहार गरे । शिविरमै खाना खायौं । दुःखसुखका कुरा भए । राजनीतिक परिवर्तनका चर्चा भए । अब देशमा शान्ति आउँछ अनि खुल्ला रुपमा राजनीति गर्ने भनेर सुनाए । ती नेताले कुरैकुरामा भने ‘म पनि साँस्कृतिक कारबाहीमा परेको ।’

म झसंङ्ग भएँ । तपाईं पनि ? उनले सहज रुपमा भने ‘हाे, मैले सोचेको थिएँ उनी चाहिँ शिविरको नेतृत्व गर्न खटाइएका होलान्, तर उनी पनि कारवाहीमा परेर आएका रहेछन् ।

अझ मलाई झस्काएको कुरा चाहिँ यति भलाद्मी र समझदार मान्छे पनि साँस्कृतिक कारबाहीमा । केही बेरअघि कारबाहीमा परेका अरुसँग साँस्कृतिक कारबाही भनेको के हो भन्दा एक जनाले भनेका थिए त्यस्तै ‘यौन सम्पर्क, दुर्व्यवहार...’

नमिठो लाग्यो, तै पनि हार्दिकतासाथ धन्यवाद दिएर छुट्यौँ । 

त्यही घटनालाई सम्झेर मैले त्यसपछि भेट भएका धेरैसँग साँस्कृतिक कारबाहीका बारेमा चासो राखेको थिएँ ।

सशस्त्र युद्धका बेला पक्ष/विपक्षका वा धेरै निर्दोष महिला बलात्कृत भएका घटनाहरु सार्वजनिक भैरहेका छन् । निकै जघन्य घटना पनि छन् ।तर त्यतिबेला सामान्य लाग्ने सम्बन्धहरुले पनि कुनै दिन समस्या ल्याउँछ भन्ने कुरा महराकाण्डबाट पुष्टि हुन्छ ।

महरा र पीडित भनिएकी महिलाको लामो समयदेखि सम्बन्ध रहेको चर्चासँगै महरा स्वयंले पनि पारिवारिक सम्बन्ध रहेको बताईरहँदा विभिन्न पृष्ठभूमीमा भएका सम्बन्धले कुनै व्यक्तिको करियरमा जुनसुकैबेला धक्का दिने पक्का छ ।

मेल अनि बेमेलका कारण आउन सक्ने यस्ता समस्यालाई कानुनले कसरी सम्बोधन गर्ने यो पनि बहसको विषय हुनुपर्छ कि ?

अन्तिम अपडेट: मंसिर १, २०७६

भाेजेन्द्र बस्नेत

भाेजेन्द्र बस्नेत उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया