‘विदेश जानुलाई म के भनौँ ?’

 कात्तिक २१, २०७६ बिहिबार १३:५६:३० | बेदानन्द जाेशी

काठमाण्डौ – कोही मन्द मुस्कानसहित बाहिरिंदैछन् । कोही चाहिँ मलिन अनुहारमा भित्र पस्दैछन् । त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल कक्षमा बिहानदेखि रातिसम्म आतेजाते गर्नेहरुको यसैगरी चहलपहल भैरहन्छ । 

लमजुङ राइनस नगरपालिकाका राजेन्द्र श्रीमल मिजार दुई वर्ष अघिदेखि यो दृश्यको साक्षी हुनुहुन्छ । कहिले विदेशबाट फर्केकाहरुलाई विमानस्थलदेखि गन्तव्यसम्म पुर्‌‍याउनुहुन्छ । कहिले चाहिँ विदेश जानेहरुलाई विमानस्थलसम्म छोडिदिनुहुन्छ । ट्याक्सी चलाउनुअघि उहाँ पनि एकपटक विदेश पुग्नुभएको थियो । 

वैदेशिक रोजगारीमा आठ वर्ष बिताएका राजेन्द्र त्यतिबेला विमानस्थल जाँदा र बसपार्क फर्किँदा ट्याक्सीचालकसँग ‘बार्गेनिङ’ गर्नुहुन्थ्यो । अहिले उहाँ आफै ट्याक्सी चलाउनुहुन्छ, त्यो पनि नयाँ बसपार्कबाट विमानस्थल र विमानस्थलबाट नयाँ बसपार्कसम्म । अनि यात्रुले उसैगरी बेलाबेला ‘बार्गेनिङ’ गर्छन् ।
‘समयले बदला लिएजस्तो छ’ उहाँले हास्दै भन्नुभयो । 

विमानस्थलमा वैदेशिक रोजगारीबाट स्वदेश फर्किनेहरु धेरै छन् । अनुहारमा मन्द मुस्कान बोकेर सुटकेस गुडाउँदै कोही आफूलाई लिन आएका आफन्तलाई खोज्दै छन् भने कोही ट्याक्सी भएतर्फ नजर दौडाउँदैछन् ।

यसरी ट्याक्सी भएतर्फ कुदिरहेका नजरको पर्खाइमा ट्याक्सी चालकहरुको लामै लाइन छ । यात्रुहरुको प्रतिक्षामा बसेका ट्याक्सी चालक यात्रुलाई आफ्नो ट्याक्सीमा चढाउन निकै प्रतिष्पर्धा गर्छन् ।

तर राजेन्द्रलाई यात्रु बोलाउने प्रतिस्पर्धामा हानथाप गर्न मन लाग्दैन । अलि परै उभिएर चोर औँलामा ट्याक्सीको चाबी घुमाएर बसिरहनुहुन्छ । यात्रु आफैं ट्याक्सी खोज्दै पुग्छन् । ‘आउनेहरु ट्याक्सी खोज्दै आइहाल्छन्’, उहाँले मुस्कुराउँदै भन्नुभयो, ‘किन हानथाप गर्नुपर्यो र ?’

ट्याक्सी चलाएरै उहाँले महिनामा २०/२५ हजार मज्जाले कमाउनुहुन्छ । यति कमाइमा उहाँ सन्तुष्ट हुनुहुन्छ । यसअघि कमाउनकै लागि उहाँ विदेश पुग्नुभएको थियो ।

विदेशबाट फर्केर स्वदेशमै काम

राजेन्द्र सात वर्ष साउदीमा बसेर दुई वर्षअघि स्वदेश फर्कनुभएको हो । विदेशबाट फर्केपछि के गर्ने भन्ने सोच्नै परेन राजेन्द्रले । हातमा गाडी चलाउने सीप थियो र ट्याक्सी चलाएको पुरानो अनुभव पनि । 

‘मैले विदेशबाट फर्किने बेला नै सोचिसकेको थिएँ, गएर ट्याक्सी चलाउँछु भनेर’, उहाँले भन्नुभयो, ‘जानेको काम भनेको त्यही थियो, त्यही गरेँ ।’

उहाँले विमानस्थलबाट यात्रुलाई होटलसम्म पुर्याउने काम गर्दै आउनुभएको छ । नयाँ बसपार्कमा रहेको म्याग्दी भिलेज होटेलको ट्याक्सी चलाउनुहुन्छ । होटलले महिनावारी तलब दिन्छ र प्रत्येक यात्रु बराबर कमिसन पनि । यो आम्दानीले परिवारको गुजारा चलेको छ । 

साउदीमा सात वर्ष

ट्याक्सी चलाउनुअघि राजेन्द्र साउदी अरबमा हुनुहुन्थ्यो । २०६६ सालमा उहाँ पहिलोपटक साउदी पुग्नुभयो । तीन वर्ष बसेर घर फर्किनुभयो । १ वर्ष घरमा बसेर फेरि साउदीमै जानुभयो । 

‘यता काम खोजेको, चित्तबुझ्दो भेटिएन फेरि गएँ’, उहाँले भन्नुभयो । त्यसपछि उहाँ पाँच वर्ष बस्नुभयो साउदीमा । 

पछिल्लोपटक साउदीमा पाँच वर्ष काम गरेर उहाँ आफ्नै देश फर्कनुभयो । त्यसपछि ट्याक्सी चलाउन थाल्नुभयो । त्यतिबेला हेमन्त रानाको ‘चालिस कटेसी रमाउँला’ गीत चर्चामा थियो ।

‘म गाडीमा त्यही गीत बजाउँथे, ठ्याक्कै मेरै लागि गाएको जस्तो लाग्थ्यो’ अहिले ४३ वर्ष लागेका राजेन्द्रले हाँस्दै भन्नुभयो, ‘गीतमा भनेझैँ म पनि ४० कट्नेबित्तिकै साउदीबाट नेपाल फर्कें नि त ।’

‘पुराना दिनको झल्को आउँछ’

‘बिहान सात बजेदेखि रात १० बजेसम्म एयरपोर्टमै बित्छ पूरा दिन’, उहाँले भन्नुभयो, ‘कुनै फ्लाइट बिहानै पुग्ने हुन्छन्, कुनै राति पुग्छन्, समयको कुनै ठेगान हुँदैन ।’

चाडबाडमा घर आउन पाउँदाको रमाइलो बेग्लै हुन्छ । यो त दशैँ तिहारमा वैदेशिक रोजगारीबाट घर फर्कनेहरुको आँखामा हेर्दा छर्लङ्ग थाहा भइहाल्छ । यस्तै यही समयमा झोलाभन्दा पनि मन भारी बनाएर विदेश जानेहरु पनि उत्तिकै हुन्छन् । 

तर यो दृश्य कसलाई मन पर्ला र ? आठ वर्ष विदेश बसेर फर्किएका राजेन्द्रलाई पनि यो कुरा पटक्कै मन पर्दैन । ‘यस्तो देखेपछि कानैमा गएर भन्न मन लाग्छ, हेर भाइ परदेशी भएपछि यस्तै हो’ यसपटक उहाँ अलि नमिठो गरी हाँस्नुभयो ।

यसरी वैदेशिक रोजगारीमा जाने आउनेहरुलाई देखेर कयौँपटक बिगतमा हराउने गुर्नुहुन्छ राजेन्द्र । आफू पनि कुनैबेला यसरी नै आइरहेको हुन्थेँ भन्दै भावुक बन्नुहुन्छ । तर भावनलाई पेशागत जिम्मेवारीले बढी समय टिक्न दिदैन । फेरि कुदिहाल्नुपर्छ यात्रुलाई बोकेर होटलसम्म ।

‘विदेश जानुलाई म के भनौँ ?’

विदेश जानुभन्दा पहिले पसल चलाउनुहुन्थ्यो । त्योभन्दा पनि पहिले राजनीति । काठमाण्डौको सरस्वती क्याम्पसमा १२ कक्षा सकाएर राजनीतिमा लाग्नुभयो । माओवादी जनयुद्ध कालमा मोर्चाबन्दीमा पनि हिँड्नुभयो ।

त्यसले केही पार नलागेपछि उहाँले पोखरामा सानोतिनो पसल सुरु गर्नुभयो र आफ्नै ट्याक्सी पनि । यस्तैमा १२ वर्ष बित्यो पोखरामा । तर समय र मेहेनत अनुसारको उपलब्धी भएन । 

‘बैँश त्यसै गएजस्तो फील भयो, त्यसपछि म विदेश लागें’, भन्नुहुन्छ, ‘विदेश जानुलाई म के भनौँ बाध्यता या रहर ?’

उहाँ अझै पनि दोधारमै हुनुहुन्छ । तर आफू विदेश गएकोमा भने उहाँलाई पछुतो छैन । ‘त्यहीँको कमाइले घर बनाएँ, छोराछोरीलाई राम्रै स्कुलमा पढाएँ’, उहाँ अझै खुशी देखिनुभयो, ‘अहिले छोरालाई अष्ट्रेलिया पठाएको छु ।’

अब के छ नि भावी दिनका योजना भन्ने प्रश्नमा उहाँले मुस्कुराउँदै भन्नुभयो, ‘हेरौँ के हुन्छ, खाली चाहिँ बसिन्न, केही काम त गरिन्छ नै ।’

अन्तिम अपडेट: मंसिर ९, २०७६

बेदानन्द जाेशी

उज्यालाेमा कार्यरत बेदानन्द जाेशी समसामयिक विषयमा कलम चलाउनुहुन्छ। 

तपाईको प्रतिक्रिया