बाकसमा भरिनको लागि अब विदेश जान्नँ

 कात्तिक २१, २०७६ बिहिबार १७:३१:५६ | मेरो कथा मेरो भोगाई

भुलमाया राई - भद्रपुर, झापा ।

मानिसको जिन्दगी बगी जाने खोला जस्तै हो । हरेक सजिलो अप्ठ्यारो पार गर्दै बगिरहनु पर्छ । न रोक्न मिल्छ न फर्काउन ।

२०५१ सालतिरको कुरा हो । निकै प्रगति गरौंला भनेर काठमाण्डौ गएँ । काठमाण्डौको चाबहिल, जोरपाटी, सुन्दरीजल र भक्तपुरमा गलैँचा बुनेँ । गलैँचा बुन्दाबुन्दै बिहे भयो । बिहे भएपछि त लागेको थियो जीवनसाथी भेटियो । अब जिन्दगी चलाउन सहज हुन्छ ।

तर भनेजस्तो भएन । छोरो जन्मियो । छोरो जन्मिएको ६ महिनामा श्रीमानले कान्छी लिएर हिँड्नुभयो । सुखको सास फेर्न नपाउँदै फेरि अर्को दुःख थपियो ।

छाडी जानेसँग के गुनासो गर्नु ! जिन्दगीमा एउटा खुशी हुने बहाना थपिएको थियो । बाँच्ने आधार थपिएको थियो । त्यही छोरो वर्षदिनको भएपछि झापा नै फर्किएँ । आम्दानी नहसने एक आमालाई कति पीडा हुन्छ भन्ने मैले भोगेको छु ।

कमाइ गर्छु भन्ठानेर चियाका पत्ती टिप्न गएँ । तर कहाँबाट सक्नु । केही सीप नलागेपछि मैले खाडीको बाटो तताएँ ।

कुन सालमा गएँ मलाई याद छैन । तर तीन पटक गरेर मैले कुवेतमा आठ वर्ष बिताएँ । नेपालको बाटोबाट श्रम स्वीकृति लिएर गएकाले पनि मैले त्यति धेरै सास्ती खेप्नु परेन । तर भाषा नबुझ्दा सुरुवाती केही महिना निकै अप्ठ्यार‍ो झेल्न पर्यो ।

उनीहरुले भनेको म नबुझ्ने । मैले भनेको उनीहरु नबुझ्ने । आउ भन्दा ‘ताली’ भन्ने रहेछन् अरेबियन भाषामा । मैले त ताली बजाउ भनेको हो कि के हो के नबुझेर कति दुःख भयो । तर भाषा बुझ्दै गएपछि काम सहज भयो ।

तर पनि बालक छोरो छाडेर परदेशिएकी एक आमाको मन सधैँ भारी हुन्थ्यो । म त्यहाँ मासु खान्थें तर यहाँ मेरा बाआमा र छोरोले के खायो होला भनेर मन दुख्थ्यो । पछि पैसा पठाउन थालेपछि भने किनेर खाए होलान् भनेर आफूले दुःख पाउँदा पनि छोरो र बाआमाको खुशी सम्झेर आफू खुशी हुन्थें।

विदेशमा घरेलु काममा जाने महिलाले अनेक दुःख भोगेको, साहु साहुनीले कुटे भनेको सुनेको छु । तर मलाई लाग्छ, काम र भाषा नबुझी जाँदा नेपालीले अझ दुःख सहनु पर्छ । अझ म त भन्छु अवैधानिक बाटो हुँदै विदेश नजानु ।

पहिलो पटक जाँदा मेरो तलब ४० कुवेती दिनार थियो । त्यसपछि जाँदा ७० र फर्किने बेला ९० दिनार थियो । तर परदेश लागेपछि पनि मैले पारिवारिक सुख भने भोग्न पाइनँ । बुवा बिरामी हुनुभयो । झण्डै चार लाख रुपैयाँ उहाँको उपाचारमा खर्च गरें ।

तर बुवालाई बचाउन सकिनँ । बुवा बितेको ६ महिनापछि आमा पनि बित्नुभयो । म परदेश लागेपछि मेरो छोरो पनि बिरामी भयो । रोगले सतायो । परदेशमा आठ वर्ष बिताउँदा बआमा गुमाएँ । फर्किएर आउँदा बुवाआमा भ‌ैदिएको भए हुन्थ्यो भन्ने लाग्यो । खासै उपलब्धी त केही हुन सकेन । एउटा सानो घर बनाएँ ।

घर भएर के गर्नु ? फर्केर आएपछि पनि त पेट त पाल्न पर्यो । फेरि चिया बगानमा काम गर्न गएँ । तर त्यो चर्को घाम र जुका सहन सकिनँ । अनि गाउँमा महिलाहरुले गलैँचा बुनेको देखेँ ।

मैले त पहिला पनि गरेको काम । सोधीखोजी गरेर मैले पनि गलैँचा नै बुन्न थालें । हातमा यो सीप भएकाले मलाई निकै सजिलो भयो । हातमा सीप हुनेले भोकै चाहिँ मर्न नपर्ने रहेछ ।

अहिले घरमा बसेर गलैँचा बुन्छु । एउटा बुन्दा ८ हजार यस्तै आउछ । मैले कुन गुणस्तरको बुन्न सक्छु त्यही अनुसारको हुन्छ पैसा । यहाँ काम गर्दा धेरै कमाइ त हुँदैन । तर भोकै बस्न पनि पर्दैन ।

विदेशमा पनि सधै० राम्रो हुन्छ भन्ने छैन । अब त जस्तो होस् यही काम गर्छु । बाकसमा भरिनको लागि अब विदेश जान्नँ ।

अन्तिम अपडेट: मंसिर ४, २०७६

तपाईको प्रतिक्रिया