धुवाँधुलोले छोपियो काठमाण्डौ, श्वास फेर्नै मुश्किल !

 मंसिर ४, २०७६ बुधबार १२:४९:४८ | अशाेक काेइराला
unn.prixa.net

काठमाण्डौ – ‘केही वर्ष अगाडिसम्म चाँगुनारायणको डाँडाबाट हिमालका दृश्यहरु प्रस्ट देखिन्थे । यति धेरै तुवाँलो पनि लाग्दैनथ्यो । उपत्यकाको दृश्य पनि राम्रो देखिन्थ्यो’ भक्तपुरको चाँगुनारायण नगरपालिकाको फेदीमा भेटिनुभएका स्थानीय ध्रुव आचार्य केही वर्ष अगाडिसम्म चाँगुनारायणको डाँडाबाट वरिपरिका हिमाल प्रस्ट देखिएको स्मरण गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘त्यतिबेला धेरै घरहरु पनि थिएनन् । खेतका फाँटहरुले उपत्यका राम्रो देखिन्थ्यो । अहिले त जताततै घर बने, सडक बने धुवाँधुलोले कहीँ केही नदेखिने भयो ।’

कुनैबेला सुन्दर र हरियाली शहर पहिचान बनाएको काठमाण्डौको सुन्दरता यतिबेला गुमेको छ । काठमाण्डौ धुवाँधुलोले आक्रान्त छ । अव्यवस्थित सडक विस्तार, बढ्दो सवारीको प्रयोगलगायतका विविध कारणले गर्दा उपत्यकामा प्रदूषणको समस्या विकराल बन्दै गइरहेको छ ।

कञ्चन–कलकल बग्ने उपत्यकाभित्रका खोलामा अञ्जुलीले उघाएर प्यास मेटेको, नदीमा नुहाएर गर्मी धपाएको, खुला चउरमा हावा खाँदै टहलिएको सम्झने जमात घटिरहेको छ, काठमाण्डौ उपत्यकामा । 

जोरपाटीकी पवित्रा ढकाल भन्नुहुन्छ, ‘बाग्मतीमा सफा पानी बगेको सम्झना ताजै छ, अहिले त जताततै फोहोर । सडकमा हिँड्डुल गर्दा धुवाँधुलोले सास फेर्न पनि मुश्किल पर्छ ।’

काठमाण्डौ उपत्यकाका सडक र आसपासका क्षेत्रमा प्रदूषणको मात्रा तीव्र भइरहँदा वायुमण्डलमासमेत प्रदूषण उच्च छ । तोकिएको राष्ट्रिय मापदण्डभन्दा ७ गुणा बढी प्रदूषण वायुमण्डलमा पाइने गरेको विज्ञहरुले बताउने गरेका छन् । सरकारले २.५ माइक्रोमिटर वा त्यसभन्दा कम ब्यास भएका धूवाँ र धुलोका कण (पीएम २.५) को मात्रा प्रतिघनमिटर हावामा ४० माइक्रो मिटरभन्दा कम हुनुपर्ने मापदण्ड तोकेको छ ।

प्रदूषणका कण ‘पार्टिकुलेट म्याटर’ (पीएम)मा नापिन्छ । यो धूलोको कणको आकार हो । सामान्यतया धुलोका कण २ एकाइमा नापिने गरिन्छ । एउटा पीएम २.५ र अर्को पीएम १० । पीएम २.५ भनेको २.५ माइक्रो मिटरसम्मका धुलोको कण र पीएम–१० भनेको १० माइक्रो मिटरसम्मका धूलोका कण हुन् ।

विज्ञहरुका अनुसार १० माइक्रो मिटरभन्दा साना धुलोको कण नाकबाट छिर्न सक्छ भने २.५ भन्दा सानो कण सिधै मानिसको फोक्सोमा प्रवेश गर्छ । समान्यतया मानिसको कपालको मोटाइ ७० माइक्रो मिटरको हुने विज्ञहरु बताउँछन् । यसैबाट थाहा पाउन सकिन्छ २.५ माइक्रो मिटरको धुलोको कण कत्रो हुन्छ भनेर । आँखाले देख्न नसकिने यी कण सिधै फोक्सोमा जाने भएकाले स्वास्थ्यका लागि अत्यधिक हानिकारक मानिन्छन् । 

केही वर्ष अगाडिसम्म काठमाण्डौ उपत्यकाबाट प्रस्ट देखिने वरिपरिका डाँडा र हिमाल अहिले प्रदूषणका कारण देखिँदैनन् । कचौरा आकारको भौगोलिक बनावट र गुम्म परेको मौसमका कारण उपत्यकाको आकाशमा जम्मा भएको धुलोका कणहरु सजिलै बाहिर निस्कदैनन् । त्यसकारण पनि जाडोमा घामको प्रकाश मधुरो हुने र भिजिबिलिटी कम हुने विज्ञहरु बताउँछन् ।

पछिल्लो समय धुवाँधुलोले धुम्मिएको आकाशमा ‘भिजिबिलिटी’ पनि कम हुँदै गएकोले उडानमा समस्या आउन सक्ने प्रक्षेपण मौसम पूर्वानुमान महाशाखाले गर्दै आइरहेको छ । 

महाशाखाका मौसमविद् मिनकुमार अर्याल भन्नुहुन्छ, ‘जाडो मौसममा पानी कम पर्ने भएकाले उपत्यकाभित्रको धुवाँधुलो वायुमण्डलमा ‘लेयर’ बनेर बस्छ । विस्तारै घाम लागेपछि उपत्यकाको नाकाबाट केही धुलो बाहिर निस्कन्छ र केही वायुमण्डलमा नै अलि माथि गएर बस्छ । फेरि बेलुका चिसो हुनेवित्तिकै वायुमण्डलको तल्लो तहमा आएर ‘लेयर’ बनेर बस्छ ।’

जाडोमा काठमाण्डौको वायुमण्डलमा चिसो हावाको बाक्लो तह जमेको हुन्छ । यो तह गर्मीमा भने पातलो हुने र सजिलै बहने हुन्छ तर जाडोमा भने जमेर बस्छ । यसले गर्दा गर्मीमा भन्दा जाडोमा प्रदूषण बढ्छ ।

यो मौसममा उपत्यकाभित्रको धुवाँधुलोमात्र होइन छिमेकी देश भारतको राजस्थान, उत्तर प्रदेश, हरियाणा, दिल्लीलगायतको हावा नेपालतर्फ बहने गर्छ । मौसमविद् अर्याल भन्नुहुन्छ ‘जसका कारण नेपालको वायुमण्डल थप प्रदूषित बन्ने गर्छ ।’

दिनप्रतिदिन जाडो बढ्दैछ । अहिले नै प्रदूषणले भिजिबिलिटीमा त्यतिधेरै असर पारेको छैन । तर चिसो बढ्दै जाँदा अबका दिनमा झन् समस्या बढ्दै जाने मौसमविद् अर्याल बताउनुहुन्छ ।

वातावरण विभागका अनुसार काठमाण्डौ उपत्यकामा बिहान र बेलुका प्रदूषणको मात्रा उच्च हुने गरेको छ । विभागका अनुसार बिहान ६ बजेदेखि ११ बजेसम्म र बेलुका ६ बजेदेखि ११ बजेसम्म प्रदूषणको मात्रा उच्च रहन्छ ।

वायु प्रदूषणका मुख्य कारण गाडी तथा उद्योग, कलकारखानाबाट निस्किने धुवाँ र इँटाभट्टा हुन् । जाडो मौसमको सुरुवातसँगै उपत्यकामा बढी इँटाभट्टा सञ्चालनमा आउने गरेका छन् । जसले गर्दा जाडोमा उपत्यकाको प्रदूषण बढ्ने गरेको वातावरणविद् भुषण तुलाधर बताउनुहुन्छ ।

तुलाधरका अनुसार दिल्ली, पञ्जाब, हरियाणा क्षेत्रका किसानले अन्नबाली उत्पादन गरेपछि लगाएको आगोको धुवाँ नेपालसम्म आइपुग्ने गरेको छ । गएको साता भारतको राजधानी नयाँ दिल्लीमा प्रदूषणको मात्रा बढेर उकुसमुकुस भएपछि मुख्यमन्त्री अरविन्द केजरीवालले ट्वीटरमार्फत दिल्ली ‘ग्यास च्याम्बर’ भएको संज्ञा दिनुभएको थियो ।

‘उपत्यकामा प्रदूषणको मुख्य कारण बढ्दो सवारीसाधन नै हो ।’ वातावरणविद् तुलाधरले भन्नुभयो, ‘पछिल्लो समय भइरहेको सडक विस्तारको कामले धुलो बढी भइरहेको र चिसो बढ्दै जाँदा अझ प्रदूषण बढ्दै जाने भएकाले यसमा सतर्कता अपनाउन नसके दिल्लीको जस्तै अवस्था काठमाण्डौमा नआउला भन्न सकिँदैन ।’

काठमाण्डौको अव्यवस्थित शहरीकरण अहिलेको वातावरण विनाशको मुख्य चुनौती रहेको विज्ञहरुको तर्क छ । यसमा सरकार, नीति निर्माता र आम उपभोक्ता सबैले ध्यान दिन जरुरी छ । कुनै पनि उद्योगधन्दा, भौतिक संरचना, विकास निर्माणका काम गर्नुभन्दा पहिले हामीले फेर्ने हावा र वातावरणमा त्यसले के–कस्तो असर पार्ला भन्ने विचार गरेरमात्रै गर्नु पर्ने उनीहरुको सुझाव छ ।

पछिल्लो समय सडक विस्तारको काममा उपत्यकाको हरियाली पनि मासिँदै गएको छ । चक्रपथमा सडकखण्डमा भएको रुख विरुवा मासिएका छन् । तर त्यसको विकल्प सोचिएको छैन । तुलाधर भन्नुहुन्छ, ‘वातावरण जोगाउनकै लागि पछिल्लो समय विद्युतीय सवारीका कुराहरु आइरहेका छन् । तर पनि प्रभावकारी रुपमा काम हुन सकेको छैन ।’

अन्तिम अपडेट: मंसिर २०, २०७६

अशाेक काेइराला

उज्यालाेमा कार्यरत अशाेक काेइराला वातावरण क्षेत्रमा रुची राख्नु हुन्छ।  

तपाईको प्रतिक्रिया