झन्डै साढे ३ कराेड रुपैयाँकाे स्राेत नखुलेपछि गाउँपालिका अध्...
असार २२, २०८३ सोमबार
काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियाली खेलकुद सागलाई सफल बनाउने सम्पूर्णमा धन्यवाद ज्ञापन गर्नुभएकाे छ ।
दक्षिण एसियाली खेलकुदको समापनका समयमा पनि स्वास्थ्य अवस्थाका कारण रंगशालामा उपस्थित हुन नसकेका प्रधानमन्त्री ओलीले प्रधानमन्त्री कार्यालयबाट भिडियो सन्देश जारी गर्दै सहभागी सबै देशका खेलाडी, पदाधिकारी, रेफ्री, निर्णायक लगायत प्राविधिक समितिलाई समेत धन्यवाद ज्ञापन गर्नुभयाे ।
भूकम्पबाट ध्वस्त भएका संरचनालाई पुनर्निमाण गरेर साग आयोजना गर्नु नेपालका लागि चुनौतीपूर्ण रहेको प्रधानमन्त्री ओलीको भनाइ थियो ।
‘यो पटक पहिलेभन्दा बढी खेल, खेलाडीको सहभागिता रह्यो, व्यवस्थापन पनि पहिलोभन्दा धेरै राम्रो रह्यो । यो सफल र ऐतिहासिक खेलकुद महत्वसका रुपमा रहेको छ,’ प्रधानमन्त्रीले भन्नुभयाे ।
‘दक्षिण एसियाली खेलकुदले दक्षिण एसियाली मुलुककाबीचमा एकता, मित्रता अभिवृद्धि गर्ने कुरालाई अपेक्षा गरिएको हुन्छ । त्यो अपेक्षा यो पटकको दक्षिण एसियाली खेलकुदले पूरा गरेको छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयाे, ‘सबैलाई सफल आयोजना र सफल खेलका लागि बधाइ भन्न चाहन्छु ।’
यस्तो छ प्रधानमन्त्रीको सम्बोधनकाे पूर्ण पाठ :
दक्षिण एसियाका लागि ‘मिनि ओलम्पिक’ मानिने दक्षिण एसियाली गेमको अत्यन्तै ठूलो महत्व छ । र, यो गेम आजैबाट अत्यन्तै सफलतापूर्वक सम्पन्न हुँदैछ । म खुशी व्यक्त गर्न चाहन्छु ।
भूकम्पबाट ध्वस्त भएका संरचनाहरू तयार गरेर खेल आयोजना गर्न सफलता मिलेको छ। यसवर्ष यसपल्टको खेलमा पहिलेभन्दा बढी खेलाडीहरूको सहभागिता, पहिलेभन्दा बढी खेलहरूको संलग्नता रहेको छ। र पदकहरू पनि यस पटकको १३ औंँ साग गेममा पहिलेभन्दा धेरै राखिएका छन्।
समग्रतामा भन्दा एउटा सफल र ऐतिहासिक खेलकुदको रूपमा रहेको छ। दक्षिण एशियाली खेलकुदले दक्षिण एसियाली देश र जनताबीचमा एकता, मित्रता अभिवृद्धि गर्ने कुरालाई अपेक्षा गरिएको हुन्छ। त्यो अपेक्षा यस पटकको १३ औंँ दक्षिण एसियाली खेलकुदले अत्यन्तै सफलतापूर्वक पूरा गरेको छ।
यस सन्दर्भमा म संलग्न सबै पक्षलाई सफल आयोजना र खेलका निम्ति बधाइ भन्न चाहन्छु, धन्यवाद भन्न चाहन्छु।
काठमाण्डाै, पोखरा र जनकपुरधामबाट एकैसाथ खेलकुदहरू सञ्चालन हुनु र सफलतापूर्वक समग्र दक्षिण एसियाली खेलकुदको सुखद समापनमा हामी आइपुग्नु ज्यादै खुशीको कुरा हो। यस सन्दर्भमा यस सफलताका लागि योगदान गर्नुहुने नेपाल लगायत सबै सहभागी देशका सरकारहरू, खेलाडीहरू, प्रशिक्षकहरू सबैलाई पनि म धन्यवाद भन्न चाहन्छु।
अत्यन्तै भव्य रूपमा सफल भएको यस दक्षिण एसियाली खेलकुदले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन योगदान पुर्याउनेछ भन्ने मैले विश्वास लिएको छु। विभिन्न मित्र देशका यस खेलमा सहभागीहरूले खेलाडी, प्रशिक्षक सबैले भ्रमण वर्षलाई मद्दत पुग्ने गरी योगदान गर्नुहुनेछ भन्ने पनि मैले अपेक्षा गरेको छु।
‘होस्ट कन्ट्री’का खेलाडीका हिसाबले खेललाई अनुशासित, मर्यादित र मैत्रीभावलाई केन्द्रभागमा राखेर जुन उत्कृष्ट प्रदर्शन नेपाली खेलाडीहरूले यस खेलमा गरेका छन्, म नेपाली खेलाडीहरूलाई त्यसका निम्ति हार्दिक धन्यवाद भन्न चाहन्छु। जुन सफलता प्राप्त गरेका छौँ, सबै सफलता प्राप्त गर्ने खेलाडीहरूलाई बधाइ भन्न चाहन्छु।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।