‘लकडाउन’मा यसरी गर्न सकिन्छ समयको सदुपयोग

 चैत १२, २०७६ बुधबार १४:४०:३२ | टेकमान शाक्य
unn.prixa.net

काठमाण्डौ – चीनको वुहान शहरबाट सुरु भएको कोरोना भाइरस अर्थात कोभिड १९ को सङ्क्रमण १ सय ९५ भन्दा धेरै देशमा फैलिएको छ । सङ्क्रमण द्रुत गतिमा फैलिएसँगै धेरै देश ‘लकडाउन’मा छन् । फ्रान्सबाट नेपाल आएकी १९ वर्षकी युवतीमा कोरोनाको सङ्क्रमण पुष्टि भएसँगै नेपालमा पनि मंगलबारदेखि ‘लकडाउन’ भएको छ । 

एक हप्ताको लागि घोषणा भएको ‘लकडाउन’को यो अवधिमा कोही पनि घरबाट बाहिर निस्कन पाउने छैनन् । घरबाट बाहिर निस्कन नपाउने र धेरै व्यक्तिहरु जमघट भएर पनि बस्न नपाउने भएपछि यो अवधिलाई कसरी सदुपयोग गर्ने भन्ने धेरै व्यक्तिमा चिन्ताको विषय बनेको छ । 

नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापा केही कुरामा ध्यान दिनसके समयको सदुपयोग मज्जाले गर्न सकिने बताउनुहुन्छ ।

संस्कार, संस्कृति र अनुभव सिकाउने 

पछिल्लो समय काम, पढाइ र व्यापार व्यवसायको सिलसिलामा धेरै सन्ततिलाई एकै ठाउँमा बस्ने अवसर मिलिरहेको छैन । त्यसैले यो अवधिलाई धर्म, संस्कृति, भाषा र संस्कार आफ्ना सन्ततिलाई हस्तान्तरण गर्ने अवसरको रुपमा प्रयोग गर्न सकिन्छ । हजुरबुबा र हजुरआमाले आफ्ना नाति नातिनीलाई धर्म र संस्कृतिबारे बताउने, रामायणलगायतका नैतिक शिक्षा दिने ग्रन्थमा भएका उपदेशहरु सुनाउने, आफूले गरेका अहिलेसम्मका महत्वपूर्ण र संघर्षपूर्ण अनुभव सुनाउने गर्न सकिन्छ । 

यसो गर्दा नयाँ पुस्ताले पुरानो पुस्ताबाट जीवन जिउने उचित सूचक थाहा पाउने छन् । पुरानो पुस्ताले पनि आफ्ना अनुभव बताएर आनन्द लिन सक्ने छन् ।

पछिल्लो समय संस्कृतिसँगै भाषा पनि लोप हुँदै गएको छ । बढ्दो सहरीकरणका कारण बसोबासको ठाउँ परिवर्तन हुँदा पुरानो पुस्ताले नयाँ पुस्तालाई भाषा हस्तान्तरण गर्न पाएका छैनन् । एकै ठाउँमा भएकाहरुले पनि विद्यालय तथा कलेजको पढाइका कारण भाषा र संस्कृति हस्तान्तरणमा निकै समस्या भइरहेको छ । यसले केही हदसम्म भाषा र संस्कृतिको पुस्ता हस्तान्तरणमा एउटा इँटा थप्ने काम गर्ने छ ।  

कृतिहरु सिर्जना गर्ने समय

धेरै व्यक्तिले साहित्यिक कृति लेख्ने उचित समय पाइराखेका थिएनन् भने उनीहरुका लागि यो अवसर महत्वपूर्ण हुन सक्छ । कृति सिर्जना गर्न एकान्त ठाउँ चाहिने भएकोले पनि यसलाई त्यो अवसरको रुपमा प्रयोग गर्नुपर्छ । समाजलाई फाइदा पुग्ने खालका विचार र लेख लेखेर समय व्यतित गर्न सकिन्छ । कथा, कविता र उपन्यासलगायतका सामग्री लेखेर बस्न सकिन्छ । ‘लकडाउन’ र यो चुनौतिको समय सकिनेबित्तिकै तपाईंले सिर्जना गरेका सामग्रीलाई प्रकाशन तथा प्रसारण गरी फाइदा लिन सक्नुहुन्छ ।   

गुगल गरेर धेरै कुरा सिक्न सकिन्छ

कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सरकारले ‘लकडाउन’ घोषणा गरेसँगै देशभरका मानिस अहिले घरभित्र र घरवरपर सीमित छन् । काठमाण्डौलगायत सहरका धेरै व्यक्ति अहिले इन्टरनेटको पहुँचमा छन् । समय नभएर अथवा विभिन्न कारणले सिक्न असमर्थ भइरहेका धेरै कुरा अहिले गुगल गरेर सिक्न सकिन्छ । सामाजिक सञ्जाल युट्युबमा विभिन्न सीपका भिडिओहरु पाइन्छ । खाना कसरी पकाउने, कम्प्युटर सिक्ने, वेभसाइट डिजाइन र डेभलपिङलगायतका सीपका भिडिओहरुबाट हामीले दैनिक जीवनयापनलाई सहज बनाउन सक्छौं । 

भिडियोमा भनेअनुसारका गाइडलाइनलाई पछ्याएर अभ्यास गरियो भने यी कुराहरु एक्लै पनि सिक्न सकिन्छ । सफ्टवेरमार्फत गरिने कामहरु एक्लै बसेर पनि सिक्न सकिने भएकोले यो अवधिलाई थप उपलब्धिको रुपमा लिन सकिन्छ ।

शहरमा छतमा करेसाबारी लगाउने चलन छ । तर करेसाबारी कसरी लगाउने भन्ने धेरैलाई ज्ञान नहुन सक्छ । यो समयमा युट्युबजस्ता सामाजिक सञ्जालमा सीप सिकाउने भिडिओ खोजेर हेर्ने र त्यसलाई अभ्यास गर्नाले हाम्रो सीप विकास हुनुका साथै समयको पनि भरपुर सदुपयोग हुनेछ । 

गुगलमा नेपालीले बनाएका मात्रै नभई विश्वभरकाले बनाएका भिडियोसहितका अरु सामग्री पनि पाउन सकिन्छ । सम्पन्न देशका नागरिकको जीवनशैली कसरी सहज बनेको छ भन्ने थाहा पाएर हामीले पनि हाम्रो जीवनशैलीमा परिवर्तन ल्याउन सक्छौं ।    

उत्पादनमा जोड दिने

अहिले बिउ लगाउने र गोडमेलको  समय हो । खेतबारी जोत्ने, मकै छर्नेलगायतका काम गर्ने समय हो । यो अवधिमा दूरी कायम गरी उत्पादनमा लाग्न सकिन्छ । सहरमा बस्नेहरु पनि सङ्क्रमण फैलिने डरले गाउँ पुगेकाले उनीहरुलाई पनि काममा लगाउन सकिन्छ । यो अवधिमा आफ्ना खेतबारीमा पुग्ने कुलो तथा नहरको अवस्था के छ जाँच गरेर त्यसलाई मजबुत बनाउन सकिन्छ । 

विशेषगरी कार्यालयमा काम गर्ने कर्मचारी, उच्च शिक्षाका लागि घर छाडेका विद्यार्थी र वैदेशिक रोजगारीका लागि घर बाहिर रहेकाहरु अहिले आ–आफ्नो घर पुगेका छन् । कोरोनाको असर अझै केही समय रहने भएकोले उनीहरु धेरै समय घरमै रहनेछन् ।

यस्तो समयमा घरभित्रै बसिरहनुभन्दा पनि उनीहरुले दूरी कायम गरी खेतबारीमा समय लगाउन सक्छन् । उत्पादनका कामहरु गर्न सकिन्छ । अहिलेदेखि नै उत्पादनशील क्षेत्रमा समय व्यवस्थापन गर्न सकियो भने पछि आउने भयावह समस्यासँग जुध्न त्यति धेरै गाह्रो नहोला ।  

अधुरा काम पूरा गर्ने अवसर

हामीले धेरै कुरा गर्छु भन्दा पनि गर्न नपाइराखेका हुन्छौँ । आफूले सिक्न या गर्न खोजेको तर असम्भव भैरहेको कामलाई सम्भव बनाउने समय हो यो । पढ्न खोजिएका किताबहरु पढ्न सकिने, हेर्न खोजिएका चलचित्रहरु अनलाइनमार्फत हेर्न सकिने, बनाउन खोजिएका घरभित्रका भौतिक संरचनाहरु बनाउन सकिने, सिक्न खोजिएका कत्तिपय सीपहरु सिक्न सकिन्छ । ‘लकडाउन’ र सङ्क्रमणको यो अवधि सकिनेबित्तिकै आफ्ना दैनिक क्रियाकलापलाई सहज बनाउने उपायको सूची तयार गरेर गृहकार्य गर्ने उचित समयको रुपमा यसलाई लिन सकिन्छ । अहिले सिकेको सीपलाई सङ्क्रमणपछिको सहज समयमा प्रयोगमा ल्याउन सकिन्छ ।   

एसईई दिन बसेकालाई कमजोरी सुधार्ने अवसर

कोरोना भाइरसको सङ्क्रमण फैलिने डरको कारण परीक्षाको अघिल्लो दिन माध्यामिक शिक्षा परीक्षा (एसईई) स्थगित भएको छ । परीक्षाको तयारी अझै पुगेको छैन भन्ने विद्यार्थीका लागि यो एउटा अवसर बनेको छ । 

यो अवधिमा हरेक विषयमा अझ निखार ल्याउने, भाषा सुधार्ने, व्याकरणमा जोड दिने, गणितको अभ्यासमा जोड दिने, अङ्ग्रेजी भाषामा अलि धेरै तयारी गर्ने गर्नाले विषयबस्तु अझ गहिरिएर बुझ्न सकिन्छ । तर परीक्षा कहिले हुने हो कहिले भनेर हेलचेक्र्याई गरियो भने त्यसले झन् धेरै असर गर्न सक्छ । या भनौँ सिकेका विषयवस्तु पनि भुल्न सक्छ ।   

कोठा सजाउने अवसर

कार्यालयको काम, आफ्नै व्यवसायको व्यस्तता वा अरु कुनै कारणले तपाईंले आफ्नो कोठा मिलाउन नभ्याइरहनुभएको हुनसक्छ । यो अवधिलाई तपाईंले अवसरको रुपमा लिनुपर्छ । तपाईंको कोठा अहिले जुन अवस्था छ तपाईंले त्यसलाई परिवर्तन गर्न सक्नुहुन्छ । कोठामा रहेका सामानको ठाउँ र अवस्था परिवर्तन गर्न सक्नुहुन्छ । यसो गर्नाले तपाईंलाई फरकपन महसुस हुन्छ । फरकपनले थप हौसला र उर्जा प्रदान गर्छ र रोगसँग लड्ने क्षमताको विकास हुन्छ । 

घरको अवस्था जाँच गर्ने

घरबाहिरको कामका कारण घरभित्रकै धेरै काममा ध्यान नपुगेको हुन सक्छ । घर भित्रको काममा शौचालय मर्मत, खानेपानीका पाइप, भान्सा कोठा, आराम गर्ने कोठालगायतलाई जाँचेर त्यसको मर्मत गर्ने उचित समय यो अवधिलाई मान्न सकिन्छ । फुर्सदको यो समयमा घरमा रहेका दराज, खानेपानी राख्ने भाँडो, ट्याङ्कीलगायत सामानलाई जाँच गरियो भने ठूलो क्षतिबाट बच्न सकिन्छ । कसैले घरमा रङ्गरोगन गर्न भ्याउनुभएको छैन भने यो अवधिमा यो कामलाई पनि निरन्तरता दिन सकिन्छ । मेसिनरी वस्तुमा प्रयोग भएका नट बोल्टमा खिया लागेको या खकुलो भएको हुन सक्छ । यस्ता ध्यान नगएका, सामान्य तर त्यसले पार्ने जटिल असरबारे बेलैमा सोच पु¥याउन सकियो भने समयको सदुपयोगसँगै सामानको पनि सुरक्षा हुन सक्छ ।  

खानपान व्यवस्थापन

यो संकटको अवसरमा खानपानको व्यवस्थापनमा पनि सावधानी अपनाउनुपर्ने देखिन्छ । आवश्यकताभन्दा धेरै खानेकुरा बनाएर खेर फाल्ने काम गर्नुहुँदैन । यस्तै जतिखेर पनि भात नै खानुपर्छ भन्ने छैन । दिनमा एकपटक भात खाएर अरु समयमा गेडागुडी, फलफुल र रोटी खाएर पनि खानेकुराको व्यवस्थापन गर्न सकिन्छ । गहुँ, जौ र दलहनलगायतका वस्तु कुटानी पिसानी गरी रोटी बनाएर खानाले स्वास्थ्यमा पनि समस्या नआउने र खानेकुराको व्यवस्थापन पनि हुन आउँछ । 

यस्तै समय नभएर खेतबारीबाट उत्पादन भएका कृर्षि उपजको संरक्षणमा समय दिन भ्याइएको छैन भने यतातिर पनि समय दिन सकिन्छ । भद्रगोल अवस्थामा राखिएका धान, मकै र गहुँलगायतका कृषि उपजको संरक्षणमा ध्यान दिन सकिन्छ । अन्नबाली थन्क्याउने ढुकुटीलगायत आवश्यक भण्डारणको अभाव छ भने यो समयको सदुपयोग गरी निर्माण र व्यवस्थापन गर्न सकिन्छ ।c   

अनिवार्य दुई घण्टा व्यायाम

विशेषगरी रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिलाई कोरोनाको सङ्क्रमणले चाँडै नै आक्रमण गर्ने गर्छ । विश्वभर ज्यान गुमाउनेहरुको सङ्ख्यालाई विश्लेषण गर्ने हो भने यो रोगले दिर्घरोगी र धेरै उमेर भइसकेकालाई आक्रमण गरिरहेका छन् । सङ्क्रमितमध्ये झण्डै ३ प्रतिशतको हाराहारीले मात्रै ज्यान गुमाएका छन् । यसले रोग प्रतिरोधात्मक क्षमता राम्रो भएकाहरु निको भएर घर फर्किएको कुरा प्रमाणित गर्दछ । त्यसैले यसबाट बच्नको लागि यो बिदाको समयमा कम्तीमा २ घण्टा योग र ध्यानमा दिनुपर्छ । 

गाउँमा खेतबारीमा काम गर्दा यसको त्यति धेरै महत्व नरहने भएपनि सहरमा भने जसरी पनि यसको पालना गर्नुपर्छ । २४ घण्टामध्ये २ घण्टा योग र ध्यानलाई छुट्याएर बाँकी समयका लागि कार्यतालिका बनाएर काम गरेमा समयको सही सदुपयोग हुनेछ । तर योग र ध्यान गर्दा भीडभाडबाट बच्नुपर्छ ।

 

अन्तिम अपडेट: चैत १२, २०७६

टेकमान शाक्य

टेकमान शाक्य उज्यालाेमा कार्यरत हुनुहुन्छ। 

तपाईको प्रतिक्रिया