मजदुरी गर्न भारत गएकाहरु भोकभोकै

 चैत २०, २०७६ बिहिबार १६:४२:४२ | इन्द्रसरा खड्का
unn.prixa.net

काठमाण्डौ–‘कोठाभित्र बसेको ९ दिन भइसक्यो । न हातमा पैसा छ, न कोठामा खानेकुरा । पसिना बेचेर सुख खोज्न भारत पसियो । अहिले त निकै समस्या भयो । भोकभोकै कोठामा बस्नुपरेको छ,’ भारतबाट म्यासेन्जरमा कुरा गर्दै रोशनले पोखेको बिलौना हो यो । 

अछामको मेल्लेख गाउँपालिका ६ का २२ वर्षीय रोशन खड्का भारत गएको २ वर्ष भयो । अहिले उहाँ महाराष्ट्रको कोथरुड, पुणेमा हुनुहुन्छ । 

विश्वभर कोरोना महामारी फैलिएपछि अन्य देशजस्तै भारत सरकारले पनि ‘लकडाउन’ गर्यो । ‘लकडाउन’ गर्दा कम्पनी, होटल, रेस्टुरेन्ट र बजार बन्द भए । होटल र रेस्टुरेन्ट बन्द भएसँगै नेपालीहरुको जागिर पनि बन्द भयो । 

रोशन कोथरुडमा रहेको एउटा क्याफेमा काम गर्नुहुन्थ्यो । क्याफेमा काम गरे बापत १० हजार भारु मासिक रुपमा पाउनुहुन्थ्यो । अहिले त्यो क्याफे बन्द छ । बन्द हुनुअघि रोशनले दुई महिनाको तलब समेत लिन पाउनुभएको थिए । क्याफे बन्द हुनासाथ मालिक गाउँ पसे । रोशनले पैसा पाउनुभएन ।

रोशनका आमाबुवा पनि सँगै हुनुहुन्छ । आमा कृष्ण खड्का अरुका घरमा सरसफाइ गर्ने काम गर्नुहुन्छ । बुवा शङ्कर खड्का भने ‘वाचम्यान’को काम गर्नुहुन्छ । अहिले परिवारका सबै सदस्यको काम रोकिएको छ । रोशनकोजस्तै उहाँका आमाबुवाले पनि काम गरेको पैसा पाउनुभएको छैन ।

रोशन जेठो सन्तान हुनुहुन्छ । बि.स. २०७० सालमा एसएलसी पास भएपछि रोशनको भारत यात्रा सुरु भयो । कहिले ६ महिना, कहिले १ वर्ष, कहिले दुई वर्षमा घर फर्किने गर्दागर्दै उहाँ मजदुरीको लागि भारत गएको ६ वर्ष हुन थाल्यो ।

गाउँमा आर्थिक अवस्था कमजोर हुँदा रोशनले आफ्नो पढाइ छोडेर भाइबहिनीको पढाइ रोज्नुभयो । रोशनका बुवा शारीरिक रुपमा अशक्त हुनुहुन्छ । उहाँको खुट्टामा बोन क्यान्सर भएपछि अप्रेशन गरिएको छ । त्यसैले उहाँ आफ्नो औषधी खर्चको लागि सकिनसकी ‘वाचम्यान’को काम गर्नुहुन्छ । 

एकातिर उहाँहरु भारतमा त्यस्तो अवस्थामा बसेको र अर्कोतिर गाउँमा स–साना केटाकेटी रहेकोले रोशन र उहाँका आमाबुवालाई पिर परेको छ । ‘पैसा नभएपनि घरमा हुँदा भोकै बस्न त पर्ने थिएन । यता हामी निकै समस्यामा छौं’ उहाँले भन्नुभयो ।

अछामकै रुपेश खड्का यस्तै समस्यामा हुनुहुन्छ । १९ वर्षीय रुपेश पुणेको हडप सहरमा हुनुहुन्छ । होटलमा भाडा माझ्ने काम गरिरहनुभएका रुपेशलाई काम गरे बापत बस्न र खान होटलमै दिइएको थियो ।

होटल बन्द हुँदा बस्ने कोठा छ तर खानेकुरा उहाँसँग छैन । मालिकले होटल बन्द गरेर घर गए । तर मालिकले रुपेशलाई न काम गरेको पैसा दिए न खानेकुरा नै ।
रुपेशका दाइ मनिराज खड्का पुणेकै कोथरुडमा हुनुहुन्छ । कोथरुडबाट करिब एक घण्टाको दूरीमा छ हडप सहर । भाइले भोकै बस्नुपरेको सुनाउँदा मनिराजको भोक हराउँछ । 

एकै ठाउँमा भएपनि भाइले भाकभोकै बस्नुपर्दा चिन्ता लागेको मनिराज बताउनुहुन्छ । मनिराज ‘वाचम्यान’को काम गर्नुहुन्छ । उहाँको काम भने बन्द भएको छैन । ‘ड्युटी’बाटै म्यासेन्जरमा कुरा गर्नुभएका मनिराजले आफूजस्तै थुप्रै नेपाली काम बन्द हुँदा समस्यामा रहेको बताउनुभयो ।

दिल्लीमा बस्दै आउनुभएका मिलन र सङ्गीता खड्काको काम पनि बन्द भएको छ । मिलन गाडी धुने र होटलमा काम गर्नुहुन्थ्यो भने सङ्गीता घरघरमा ‘झाडुपोछा’को काम गर्नुहुन्थ्यो । दुवै जनाको काम बन्द भएपछि उहाँहरु पनि कामविहीन हुनुभएको छ ।

उहाँहरुले पनि काम गरेको एक महिनाको तलब पाउनुभएको छैन । ‘घर फर्कन त मन थियो । तर सीमानाका बन्द छ । के गर्ने भन्ने दोधार भयो,’ मिलनले भन्नुभयो । उहाँहरुजस्तै हजारौं नेपाली भारतमा समस्या र द्विविधामा छन् । 

भोकभोकै कोठामा

भारतमा काम गर्ने धेरैजसो नेपाली होटलमा भाडा धुने र घर सरसफाइ गर्नेहरु छन् । होटलमा काम गर्नेलाई मालिकले बस्न र खान होटलमै दिएको हुन्छ । परिवारसहित गएकाहरु अलग्गै कोठा लिएर बसेका हुन्छन् । अरु मजदुरहरु भने जहाँ काम गर्छन् त्यही बस्ने गरेका छन् ।

‘लकडाउन’ले होटल र बजार बन्द भएपछि काम गर्ने ठाउँमा बस्दै आएका नेपालीलाई खान मात्रै होइन, बस्न समेत समस्या भएको छ । अहिले उनीहरु कोठा लिएर बसेका आफन्तकोमा ठेलमठेल गरेर बसिरहेका छन् ।

‘पाँच जनाभन्दा बढी एउटै कोठामा बसेको थाहा पाए प्रहरीले पक्राउ गर्छ ।  भारत सरकारले धेरैजना एकै कोठामा सँगै नबस्न भनेको छ । तर हामीहरु एउटै कोठामा ८, ९ जना बसेका छौँ,’ वीरमान विश्वकर्माले भन्नुभयो । मुम्बईमा बस्दै आउनुभएका वीरमानका अनुसार भारतमा अहिले छाक टार्न मात्र होइन, बस्न समेत समस्या छ । 

सीमामा अलपत्र नेपाली 

भारतमा काम बन्द हुँदा घर फर्केका नेपालीहरु सीमानाकामै अलपत्र परेका छन् । सुदूरपश्चिमका ९ जिल्लामध्ये ४ जिल्लाको सीमा भारत, दुई जिल्लाको सीमा चीन र एक जिल्लाको सीमा दुवै देशसँग जोडिएको छ । कैलाली, कञ्चनपुर, बैतडी र डडेल्धुरा भारतसँग जोडिएका छन् भने बाजुरा र बझाङ चीनसँग जोडिएका छन् । यस्तै दार्चुलाको सीमा दुवै देशसँग जोडिएको छ । 

नेपालमा कोरोना फैलिने जोखिम बढेपछि सरकारले चैत १० गतेदेखि देशको अन्तर्राष्ट्रिय सीमानाका बन्द ग¥यो । सीमा बन्द हुँदा भारतबाट फर्केका नेपालीहरु सीमानाकामै रोकिए । उनीहरुमध्ये कतिपयलाई उद्धार गरी क्वरेण्टीनमा राखिएको छ भने तीन जनाले महाकाली नदी पौडेर नेपाल फर्केका छन् । 

अहिले दार्चुलाको सीमानाका धार्चुलामा मात्रै करिब ७ सय नेपाल अलपत्र परेका छन् । सीमामा नेपाली अलपत्र परेको समाचारले पनि भारतमा भोकै बसेकाहरु नेपाल फर्किन सकेका छैनन् ।

गुजारा चलाउन भारतकै भर

भारतमा मजदुरी गर्ने नेपालीको सङ्ख्या कति छ भन्ने यकिन तथ्याङ्क छैन । तर सुदूरपश्चिम प्रदेशका अधिकांश परिवारको रोजीरोटी भारतकै भरमा चलेको छ । १२ वर्षका बालबालिकादेखि ८० वर्षसम्मका वृद्धवृद्धा भारतमा मजदुरी गरिरहेका छन् ।

भारत जान धेरै पैसा नलाग्ने, सजिलै जान सकिने र तीन, चार महिना काम गरी फर्कन मिल्ने भएकोले सुदूरपश्चिमका अधिकांश बासिन्दा भारत जाने गर्दछन् । पछिल्लो समय गाउँघरका धेरैजसो मानिस भारतमै बसाइँ सराइ गरिरहेको समेत पाइन्छ । भारतमा दुःखसुख जे जस्तो भएपनि भारत जानुको विकल्प नभएको उनीहरुको भनाइ छ ।

अन्तिम अपडेट: बैशाख १७, २०७७

इन्द्रसरा खड्का

इन्द्रसरा खड्का महिला अधिकार र सामाजिक विषयमा कलम चलाउनुहुन्छ ।

तपाईको प्रतिक्रिया