यूएईमा कोरोना जितेका नेपालीको अनुभव – कोरोनासँग नडराउनु नै यसको उपचार रहेछ

 जेठ ५, २०७७ सोमबार १५:५४:३५ | मेरो कथा मेरो भोगाई

विपन खनाल, लम्कीचुहा नगरपालिका कैलाली, हाल दुबई ।

म यूएईको सुन्दर सहर दुबईमा बस्छु । एउटा कम्पनीमा मेकानिकको रुपमा काम गर्छु । चार वर्ष नाघ्यो यहाँ काम गर्न थालेको । तर यो सुन्दर सहरमा एउटा नमिठो अनुभव गर्नुपर्‍यो मैले पनि । 

मार्च १७ तारिख । त्यो दिन मलाई असाध्यै ज्वरो आयो । कोरोना सङ्क्रमण त फैलिसकेको थियो । तर मनमा कोरोना लाग्यो भन्ने लागेन । अस्पताल गएँ । अलिक निको पनि भएँ । ज्यानलाई सञ्चो नभएपछि मलाई त्यो बेला काममा जान निकै डर लागिरहेको थियो । ज्यानको माया न हो, ६ दिनजस्तो त आराम गरेर बसें । तर यो कुरा म्यानेजरसम्म पुगेछ । उसले फोन गरेर भोलिपल्टदेखि काम नियमित गर्न निर्देशन दिए । 

मैले सञ्चो छैन, काम गर्न सक्दिन होला भनें । तर उताबाट आएको जवाफ कल्पनाभन्दा फरक भयो । म्यानेजरले काम नगरे राजीनामा दिनुपर्ने र क्यापभित्र पनि बस्न नदिने बताए । म निकै आत्तिएँ । यस्तो भयो भने त मैले दुःख पाउँछु भन्ने लाग्यो । हुन्छ भनेर फोन राखें । मार्च २४ देखि काममा गएँ ।

अप्रिल १४ मा कम्पनीमा कार्यरत सबैको कोरोना परीक्षण गर्नुपर्ने भयो । १५ जनाको स्वाब लिएकोमा मसहित १३ जनाको रिपोर्ट पोजेटिभ आयो । 

 त्यसको झण्डै एक सातापछि त्यही कम्पनीमा काम गर्ने एकजना भारतीय नागरिकलाई कोरोना पोजेटिभ देखियो । हामी एकै डिमार्टमेन्टको फरक सेक्सनमा काम गथ्र्यौं । नियमअनुसार यहाँका हरेकलाई क्वारेण्टीनमा राख्नुपर्ने हो । तर त्यसो भएन । कम्पनी नियमितरुपमा आफ्नै सुरमा चलिरह्यो । तर अप्रिल १४ मा कम्पनीमा कार्यरत सबैको कोरोना परीक्षण गर्नुपर्ने भयो । १५ जनाको स्वाब लिएकोमा मसहित १३ जनाको रिपोर्ट पोजेटिभ आयो । 

हुन त हरेक रोगसँग मानिस डराएकै हुन्छन् । तर कोरोनासँग विशेष डर थियो । किनकी यसकोबारेमा सुनिएकै त्यस्तै थियो । जबसम्म मेरो रिपोर्ट पोजेटिभ आएको थिएन, मलाई पनि निकै डर लाग्थ्यो । तर परेपछि हरेक कुरासँग लड्ने आँट स्वतः पलाउँदो रहेछ । भनिन्छ नि भगवानले समस्यासँगै समाधानको उपाय पनि दिएका हुन्छन् । हो मैले यही अनुभव गरें ।

कम्पनीको सहयोग महत्वपूर्ण

कोरोना पोजेटिभ देखिएपछि हामी १५ जनालाई छुट्टै कोठामा कम्पनीमै राखियो । परदेशमा यो दुःखका बेला कम्पनीकै भूमिका महत्वपूर्ण हुन्छ । कम्पनीले गर्ने व्यवहारले नै बिरामीको स्वास्थ्य अवस्था र मनोबलमा फरक पर्दछ ।

कम्पनी र दूतावासबाहेक परदेशमा अरु कसले हाम्रो जिम्मा लिन सक्ला र ? मेरो कम्पनीले कोरोनासँग लडिरहेका हामीलाई निकै ठूलो गुन लगायो । एकजना डाक्टरको व्यवस्था गरेर हरेक दिन जाँच गर्ने र मनोबल बढाउने काम गर्‍यो । तागतिलो खानेकुरा, औषधि, प्राकृतिक जडिबुटी लगायत भिटामिनहरुको राम्रो व्यवस्था गरिदियो । 

दिनमा चारपटक बाफ लिने, तातोपानी पिउने र खानाको पनि व्यवस्थापन कम्पनीले नै गरेको थियो । परदेशमा बुवाआमा छैनन्, आफन्त हुँदैनन् । यस्तो ठाउँमा कम्पनीले राम्रो व्यवहार गरिदिएन भने त गाह्रो हुन्छ होला । तर मैले त्यस्तो अनुभव गर्नु परेन ।   कम्पनी र डाक्टरप्रति कृतज्ञ छु । जसले मेरो कोरोनाको लडाईंमा हौसला दिए, आँट दिए र हामी छौं भनेर भरोसा दिए । 

दूतावासको पनि साथ

कोरोना सङ्क्रमण भएपछि मैले दूतावासको साथ पनि पाएँ । कर्मचारीले फोन गरेर मेरो बारेमा सोधपुछ गर्नुभयो । कम्पनीमा गाह्रो भए हामी सहयोग गर्छौं, के सहयोग चाहिन्छ भन्नुभएको थियो ।

जसरी प्रचारप्रसार गरेर कोरोनालाई निकै ठूलो बनाइए पनि मैले भने यसलाई सामान्य रुपमै पराजय गर्न सफल भएँ ।

तर मलाई कम्पनीले सहयोग गरेकाले दूतावासको सहयोग त्यति जरुरी त परेन । तर दुःखका बेला एक वचन पनि काफी हुँदोरहेछ । उहाँहरुले फोन गर्नुभयो, त्यो नै मेरो लागि ठूलो भयो । 

यहाँ उपचार पद्धती राम्रो छ । त्यति डराउनुपर्ने अवस्था छैन । यहाँ हरेक नेपालीलाई यूएई सरकारले आफ्नै नागरिक सरह उपचार गरिरहेको छ । 

सबैतिरको सहयोगले पनि मैले कोरोनालाई जितें भन्ने लाग्छ । रोग लाग्नु पहिले निकै डर थियो । तर जब रोग नै लागिसक्यो भनेपछि डराएर पनि के गर्नु ? मन दह्रो बनाएँ । 

परदेशमा हुँदा झन डर त लाग्छ नै । तर डराउन नहुने रहेछ भन्ने कुरा मैले सिकें । प्रायः परदेश आउने मान्छेहरु युवा हुन्छौं र हामी यो रोगसँग सजिलै लड्न सक्छांै भन्ने मलाई लागेको छ । मुख्य कुरा भनेको यो रोगसँग नडराउनु नै यसको उपचार हो । मेरा आफन्त शुभचिन्तक र शुभेच्छुकहरुबाट पाएका हौसला र प्रेरणाले मलाई निकै बलियो बनायो । उहाँहरुको प्रेमका अगाडि हरेक दुःख र पीडाहरु कमजोर भए ।

जसरी प्रचारप्रसार गरेर कोरोनालाई निकै ठूलो बनाइए पनि मैले भने यसलाई सामान्य रुपमै पराजय गर्न सफल भएँ । यो अबधिभर धेरै पीडाहरु भोग्नु परेन । त्यसैले म सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई यही भन्न चाहान्छु कि उच्च मनोबलका साथ धैर्यधारण गरेर कोरोनासँग लड्नुहोस्, जित्न सकिन्छ ।

तर मैले यसो भनिरहँदा धैर्य गर्न नसक्ने अवस्थामा पुगेका नेपाली पनि यूएईमा हुनुहुन्छ । नेपाल सरकारले दुःखमा परेका आफ्ना नागरिकलाई स्वदेश फर्काउनुपर्र्छ । हरेक दुःखपछि सुख आउँछ भन्छन् । मैले त कोरोनालाई जितेर त्यही सुखको अनुभव गरिरहेको छु । 

 

 

 

अन्तिम अपडेट: जेठ १७, २०७७

तपाईको प्रतिक्रिया