‘विदेश जानैपर्ने बाध्यता, जिउने आधार तर दुःखको घर’

 माघ १, २०७७ बिहिबार १४:२:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – दिनभरि मजदुरी गर्ने, साँझ ज्याला बुझेर घर जाने । त्यही पैसाले मिठो मसिनो खाने । यसैगरी चलिरहेको थियो बारा, कलैयाका अजय महतोको दैनिकी ।

‘लक्का जवान छौ, यति मेहनत विदेशमा गरे त धेरै कमाइ हुन्छ’, कसैले यसो भनिदिए । अनि अजयलाई पनि विदेश  जाउँ-जाउँ लाग्यो ।

घरको आर्थिक अवस्था पनि कमजोर । बुवा ईट्टा भट्टामा काम गर्ने । अभावकाे जिन्दगी जिइरहेका अजयलाई विदेश जाने कुराले केही आशा जगाइदियो ।

तर न हातमा सीप छ न त पढेलेखेको नै । विदेश गइहाले पनि के कामको लागि जाने ? यस्तै यस्तै प्रश्नले घेर्न थाल्यो । तर अजयलाई त जसरी पनि विदेश जानु थियो । विदेश जानको लागि पासपोर्ट चाहिने भएपछि घरबाट बुवालाई पैसा मागेर काठमाण्डौ आएर पासपोर्ट बनाउनुभयो । त्यहीबेला म्यानपावरसँग विदेशमा कामबारे बुझ्नुभयो । कतारमा राम्रो काम छ भन्ने कुरा म्यानपावरले गर्यो । त्यसपछि श्रम गरेर सामान्य कामदारको रुपमा सन् २०१२ मा उहाँ कतार जानुभयो । 

परिवारको मायाले फर्कायो 

भनिन्छ नि, जीवनमा पैसा भन्दा पनि परिवारसँगको साथले बढी खुशी दिन्छ । स्वदेशमै काम गर्नुको आनन्द स्वर्गको आनन्द भन्दा कम हुँदैन  । विदेश गएको केही समयमै अजयलाई यस्तो लाग्न थाल्यो । तर बाध्यता थियो काम गर्नै पर्ने ।

कतार गएको दुई वर्षपछि विदामा घर आउँदा अजयको विहे भयो । विहेपछि झन् जिम्मेवारी बढ्यो । पहिलेसम्म एक ज्यानको बोझ थियो अब दुई ज्यान भए । त्यसपछि घरपरिवार, श्रीमतीलाई सुख दिने सपना बोकेर विहे भएको केही महिनामै फेरि कतार जानुभयो अजय । 

विहेपछि अजयको मन लागेन विदेशमा । समय सयममा छुट्टी मिलाएर घर आउने भइराख्थ्यो । तर एकदिन अजयलाई लाग्यो, 'अब विदेशमा धेरै नबसौं ।' अनि आफ्ना सबै समाना पोको पार्नुभयाे र अब कहिल्यै विदेश नजाने सोच बनाएर उहाँ सन २०१५ मा स्वदेश फर्किनुभयो । 

बेरोजगारीले धकेल्यो फेरि परदेश

सधैं मनले सोचेको मात्रै कहाँ हुन्छ र ? तीन वर्ष परदेशमा बिताएर अब कहिल्यै विदेश नजाने भन्दै स्वदेश फर्किएका अजयलाई गाउँघरको कमाइले परिवार पाल्न गाह्रो भयो । चारपाँच वर्ष अटोरिक्सा चलाउनुभयो । यसबाटको कमाइ घर खर्चमै ठिक्क हुन थाल्यो । छोरी जन्मिइन् । परिवारको संख्या बढ्यो । छोरीको भविष्यको चिन्ताले छोप्न थाल्यो । अनि अजयले एकपटक फेरि विदेशमा कमाएर आउने सोच बनाउनुभयो ।

आफूसँग त पैसा थिएन । गाउँकै एकजना साहूसँग एक लाख पचास हजार रुपैयाँ ऋण काढेर एजेन्टलाई दिनुभयो । त्यसपछि श्रम स्वीकृति गराएर सन् २०२० को फेब्रुअरीमा उहाँ यूएई जानुभयो । आफ्नो जन्मभूमि छोडेर जहाज चढेको बेला आफ्ना बुवाले भोग्दै आएको दुःख सम्झिनुभयो । आफू नपढेको भए पनि छोरीलाई उच्च शिक्षा दिने अठोटलाई मनन गर्नुभयो ।  यसरी परिवारसँगको विछोडलाई अनुभूति गर्दै दुबई विमानस्थलमा ओर्लिनुभयो अजय ।

अजय महताे

यूएईमा अलपत्र

विश्वमा कोरोना भाइरसको सङ्क्रमण फैलिरहेको थियो । खाडीका देशमा पनि यसको असर देखिदै थियो । दुर्भाग्यवस् अजयको यूएई जाने समय त्यही बेला पर्न गयो । त्यहाँ पुगेपछि आफू गएको कम्पनीले  महिनाकाे दश दिन मात्र काम दिने थाहा भयो अजयलाई ।

कम्पनीले महिनाकाे दश दिन मात्र काम गर्न लगाउँदा करारपत्र अनुसार नभएको भनि अजय र उहाँका साथीहरु मिलेर आवाज उठाउनुभयो । तर सोचेको उल्टो भयो ।

‘आफूलाई करारपत्र अनुसारको सेवा सुविधा चाहियो भन्दा हामीलाई कम्पनीले नै निकालिदियो, उल्टै हामीविरुद्ध मुद्दा हाल्यो’, त्यतिबेलाको पीडा सम्झेर भक्कानिदै अजय भन्नुहुन्छ, ‘अरुको देशमा न हातमा पैसा न त कसैसँग चिनजान, बाटोमै रात बितायौँ ।’

अर्को दिन त्यहाँका सहयोगी संस्थाले एकदिन आफूसँग राखेर पछिल्लो दिन नेपाली दूतावासको जिम्मा लगाइदियो । घरको माया र साहूबाट लिएको ऋणले सम्झिदा अजयलाई बेचैनी हुन्थ्यो । घर फर्किउँ भने त्यत्रो ऋण कसरी तिर्ने । घर नजाउँ भने परदेशमा खाने बस्ते ठेकान छैन, केही भइहाल्यो भने परिवारको कस्तो विचल्ली होला । यस्तै कुराले पिरोल्न थाल्यो । 

दूतावासकै संरक्षणमा नौ महिना बिते । दूतावासले पनि सित्तैमा पठाइदिएन । टिकेट काटेर जाउँ भन्नको लागि साथमा एक पैसा थिएन । यसरी अर्काको भूमिमा बिना काम दुःख खेपेर बस्नुपर्दा बाँच्नु न मर्नुको परिस्थितिमा पुगेको अजय बताउनुहुन्छ । भन्नुहुन्छ, ‘दिमागमा आत्महत्या गर्ने सोच समेत आएको थियो ।’

आप्रवासी स्रोत केन्द्रको सहयोग

अजयलाई घर फर्काउन नेपालबाट उहाँका बुवा पनि लागिरहनुभएको थियो । अजयका बुवाले एक दिन आफू काम गर्ने इट्टा भट्टाको मालिकसँग बुझ्दा आप्रवासी स्रोत केन्द्रले सहयोग गरिदिने थाहा पाउनुभयो । त्यसपछि उहाँले कलैया उपमहानगरपालिका र ग्रामिण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) को साझेदारीमा सञ्चालित आप्रवासी श्रोत केन्द्रका सूचना अधिकृत प्रभातकुमार वर्मालाई भेट्नुभयो । 

त्यसपछि कलैया आप्रवासी श्रोत केन्द्रले अजयलाई नेपाल फर्काउने प्रक्रिया अघि बढायो । काठमाण्डौमा रहेको वैदेशिक रोजगार विभाग, दुबईस्थित नेपाली दूतावास र विभिन्न सहयोगी संस्थाको समन्वय र सहयोग लिएर आप्रवासी श्रोत केन्द्रले गएको पुस १८ गते दश महिनापछि अजयलाई घर फर्काउन सफल भयो । 

समयमै आप्रवासी श्रोत केन्द्रमा जानकारी गराएको भए त्यतिबेला दुःख भोग्नु नपर्ने रहेछ भन्ने उहाँलाई लाग्छ । अजयले अहिले वैदेशिक राेजगारीकाे ठगीकाे बारेमा धेरै बुझ्नुभएकाे छ । सकेसम्म स्वदेशमै काम गर्ने र विदेश जानै परे पनि राम्राेसँग बुझेर मात्र जाने उहाँ बताउनुहुन्छ ।

‘विदेश जानैपर्ने बाध्यता, जिउने आधार तर नबुझेर जाँदा दुःखको घर रहेछ’, अजय भन्नुहुन्छ, ‘आफूलाई पढ्न नआए पनि बुझ्ने मान्छे कसैसँग सल्लाह लिएर मात्रै विदेश जानुपर्ने रहेछ ।’
 

अन्तिम अपडेट: फागुन २१, २०७७

तपाईको प्रतिक्रिया