कर्म हिमाल

 भदौ २, २०७५ शनिबार १४:२९:५६ | रबिन्द्र बस्न्यात
unn.prixa.net

देश भित्रै, कसैले उसलाई कर्म भनेर बोलाँउछन्, कसैले हिमाल । विदेशमा चाहिँ ‘या’ थप्छन्, यहा“ पनि त्यस्तै भयो । आधा जतिले कर्मा भनेर बोलाए, आधा जतिले ओ हिमालया भने । युरोप, अमेरिकामा पनि हाम्रो कर्मा र हिमालय फैलिएको छ । कर्मा र हिमालय भएर । ऊ अहिले स्विट्जरल्यान्डको ज्यूरीच सहरमा छ । भर्खरै एक घण्टा अगाडि एउटा बैठक सम्पन्न भएको छ, सफलताको निर्णय सहित । 

इन्टरनेसनल प्रोफेसनल गल्फ एशोसियशनका पदाधिकारीहरुस“ग बैठक भएको थियो । अब नेपालमा पनि पि.जि.ए. टुर गराउन स्वीकृत भएको छ । आगामी वर्षको असोज — कात्तिक महिनामा संसार भरका उत्कृष्ट गल्फ खेलाडीहरुले प्रतियोगितामा भाग लिने कुरा निश्चित भयो । नेपाल, इन्टरनेसनल गल्फ एशोशियसन मान्यता प्राप्त सबैभन्दा कान्छो सदस्य राष्ट्र हो । सबैभन्दा ठूलो धन राशीको प्रतियोगिता गराउन हिमालले राखेका प्रस्ताव बैठकबाट सर्वसम्मत् पारित भयो । अध्यक्ष तथा सम्पूर्ण सदस्य साथीहरुले हिमाललाई बधाई तथा शुभकामना दिए । 

खप्तड, अर्घाखाँची, तनहुँ, बर्दिया, इलाम र धनकुटाका हाम्रा गल्फकोर्स विश्वकै उत्कृष्टमध्येमा पर्दछन् । 

सोलुखुम्बुको गल्फकोर्स त तीन वर्ष अगाडिदेखि लगातार एक नम्बरमा छ ।

नेपाललाई विश्वभर चिनाउने क्रममा फेरि अर्को कोशेढुङ्गा पार गरियो । हिमाल अहिले अत्यन्त खुशी छ । 

भर्खरै खोलेको श्याम्पेनको बोतलबाट भरिएको गिलास उठाएर उसले चुस्की लियो । ऊ आज एक्लै खुशियाली मनाउदै छ । फेरि अर्को चुस्की लिँदै ऊ होटेल सुइटको बरण्डाबाट सहर नियाल्न कोठा बाहिर निक्लियो । छ तारे यो होटेलको सुइट अत्यन्त भव्य छ । बरण्डाबाट आठ, दश किलोमिटर परतिर आल्पस् पहाड लमतन्निएको छ । नेपालको जस्तै भू—बनोट, उत्तरतर्फ फर्कदा देखिने भू—दृश्य लगभग उस्तै । 

रात परिसकेको छ । होटेल वरिपरिको ज्युरीच सहर बेस्सरी उज्यालिएको छ । दिउँसो भन्दा रातमा सहरको दृश्य अझ बिहङ्गम देखिन्छ । 

कतै गहनै गहनामा सिगाँरिएकी दुलही जस्ती झकमक्क !

कतै निउरिएर रु“दै गरेकी विधवा जस्ती अन्धकार चकमन्न !

कतै उरेण्ठेउला ठिटाठिटी दगुरे जस्तो बत्ती फुत्त फुत्त !

सडकमा एकनास लाइनै बगिरहेको मोटरको उज्यालो सुत्तसुत्त !

कतै नदी किनारामा पिलपिल पिलपिल बत्ती बुढा—बुढी साउति मारे जस्तै !बल्दै निभ्दै बल्दै, हारेको जुवाडेले खल्ती छामछाम छुमछुम पारे जस्तै !

कतै पोखरीको पानीमा टिलपिल टिलपिल बत्ती जड्याहाँ झुले जस्तै !

कतै ठूलो एक तमासले बलिरहेको बत्ति सूर्यमुखी फूल फुले जस्तै ! अँध्यारो र उज्यालोको लुकामारी  विकाशले फैलाएको प्रकाश र फैलिएको प्रकाश मुनिनै फेरि अन्धकारको जन्म हुने अचम्मको खेल यहाँ पनि जारी छ ।

यहाँ रातको आठ बजिसकेको छ ।

नेपालमा यतिबेला दिउँसै छ । तीन जति बज्यो क्यार !

उर्जालाई फोन गर्नुपर्‍यो । खबर सुनाउनु पर्‍यो । विकाश सर फर्किएको नफर्किएको बुझ्नु पर्‍यो । हिमालले उर्जालाई मोबाइलबाट कल मिलायो । 

हेलो, उर्जा के छ ?

नमस्ते  ! नमस्ते

अँ सब ठिक छ । 

मुख्य कुरा काम भयो । मेरो प्रस्ताव स्वीकृत भयो ।

धन्यवाद् !

हिँड्ने बेलामा तिमीसँग भेट भएन । 

म त्यहीँ आएपछि सल्लाह गरौँला ।

अँ, यहाँबाट भोलि बेलुकाको फ्लाइट छ । 

पर्सि बिहान त्यहाँ आइपुग्छु । 

अनि विकास सर मानसरोवरबाट फर्किनु भयो ?

ए, ल म अहिले सरलाई फोन गर्छु ।

तकदिर संघाइबाट कहिले फर्कने ?

ए, पर्सि आइपुग्ने ।

ल त्यसो भए बुधवार बेलुका म कहा“ सबै जना डिनर गरौँ है ।

ल पक्का भयो । तकदिरलाई तिमीले भनी दिनु है । म पनि त्यहाँ आएपछि उसलाई भनौला।

विकास सरको जन्मदिन आइसक्यो, यही आउने शनिबार त हो ।

हामी सबै परिवारसहित यसपाली मुगु जानु पर्छ ।

ए, तिमीले मिलाई सक्यौं । ठिक छ ल पर्सी सबै टुङ्गो लगाउ“ला ।

अनि तिमीलाई र छोरीलाई बधाई छ ।

छोरीले टुर्नामेन्ट जितेको थाहा पाए । 

म आउँदा जुत्ता र ज्याकेट ल्याइदिने पक्का भनी देउ ।

तिमीलाई पनि विशेष केही लेराइदिनु पर्छ कि ?

ल ल हुन्छ ।

ल त बाई ।

हिमालले र उर्जाले आ—आफ्नो कुरा र फोन थन्काए ।


म 

विकास 

विकास दर्शन !

आज बिहान आइपुगेको मानसरोवरबाट ।

मानसरोवर ! यो मेरो तेस्रो पटक 

खाना खाएर कोठामा थकाइ मारेपछि, म बार्दलीमा निक्लिएको निकै बेर भयो ।

मेरो ठ्याकै अगाडि केही मुनि रारा फैलिएको छ । 

हे भगवान्

कति राम्रो 

अप्रतिम, अप्राप्य

अवर्णनीय, अमूल्य

अथाह, अतुल

अमोघ, अगाध
आहा ! आहा ! आहा !
रारा ! रारा ! रारा !

म रारामा डुबिरहेको छु । निसासिन्छु । बल गरेर माथि सतहमा आउ“छु । लामो श्वास तानेर फेरि डुब्छु । बार्दलीबाटै रारालाई हेरिहेरी । यो क्रम चलेको दुई घण्टा नाघिसक्यो । जहिले पनि यस्तै हो । रारासँग मेरो धेरै दिन पछिको भेटघाट । अस्ति छाडेको त्यो मानसरोवर पनि असाध्यै राम्रो । रारा जतिकै । 

तर आफ्नो र अर्काकोमा फरक छ । सबैलाई आफ्नै बढी मन पर्छ क्यारे !

मेरो बख्खुको खल्तीमा कम्पनसँगै मधुरो घण्टी बज्यो 

फोन आयो ! कस्को ? उठाउन त मन थिएन ।

झिकेर हेरेँ ! हिमालको रहेछ !

उठाउनै पर्‍यो !

हेलो !

नमस्ते ! हिमाल

के छ तिम्रो हालखबर ।

अँ, मानसरोवर सजिलैसँग पुगियो । अब चाइनिजहरुको प्रगतिको के कुरा गर्नु मानसरोवर त घरबाट बजार गए जस्तो सजिलो भइसक्यो ।

अँ, एकदम राम्रो, सबै राम्रो, सबै चिज राम्रो भयो । अनि तिम्रो काम के भयो ? 

अहो ! लौ बधाई छ । त्यसो भए अब पि.जि.ए. टुर पनि हुने भयो नेपालमा !

 

तिमी कहिले फर्कन्छौ त ? 

हुन्छ, हुन्छ तिमी, गौरव, उर्जा र तकदिर त्यसो भए शनिबार बेलुकी हामी कहाँ आइपुग्छौ हैन त ?

अनि सबै जना परिवार सहित आउनु । तीन, चार दिन बस्ने गरेर । 

लत ल तिमीहरु यहाँ आएपछि मैले अरु पनि छलफल गर्नु छ । 

ल राम्रोसँग फर्क ।

नमस्ते । बाई ।

मैले हिमालको कुराबाट मेरो जन्मदिन आएको चाल पाएँ । सात जुलाई अब आउने शनिबार हो । 

मलाई हिमालप्रति अगाध माया र विश्वास छ । ऊ जति राम्रो मान्छे अरु शायद मैले भेटेको छैन । 

अडिग र अग्लो !

छोए दाग लाग्ला जस्तो !
सेतो, सफा र स्निग्ध !

भिडमा टाढैबाट टकरक्क देखिने अग्लो !
टल्किएका धवल जस्तो निधार ।

सेतो बादल भित्र घेरिएको चम्किलो तेजिलो सूर्य जस्तै आँखा । 
गहिरा खोंचहरुबाट उठेको धार जस्तो नाक । 

र हिमाली मैदान फैलिए जस्तै भिराला गाला !
उस्तै शरिर अनि बोली,
अत्यन्त शान्त चाला !
उसँग उभिँदा उसको उचाइले त छोप्ने नै भयो तर बानी र व्यवहारले पनि उसले अरुलाई होचो पारिदिन्थ्यो ।


ओ............हो........ ! ! !

चिसो भएन ??

कसको फोन आएको ?

फोनमा कुरा गरेको देखेर म छिरेकी ।

नत्र त रिसाउने हो की भनेर अघिदेखि हेरेर बसेकी ।

तिमी यो बार्दलीमा बसेको तीन घण्टा नाघ्यो ।

के सोचेर बसेको हो कुन्नि ?

फतफताउदै शान्ति बार्दलीमा आइन् । ए.......ल चिसो पनि बढ्यो, अब भित्रै बसाैँ, हिँड । मैले भनेँ ।

अँ...... हिमालले फोन गरेको !

स्विट्जरल्याण्डबाट ! ! !

अनि ऊ र उसको परिवार, उर्जा, तकदिरको परिवार अनि तिम्रो छोरा गौरव सबै जना अब आउने शनिबार यहाँ आउँदैछन् । तीन चार दिन बस्ने गरेर । 

बुझ्यौ ? बुझ्यौ कि बुझेनौ ? बुझ्यौ ?

बुझिहालेँ नि ! अनि पक्कापक्की भयो हैन त ! शान्तिले सोधिन् । 

अँ पक्कापक्की भयो !

त्यै त अब उनीहरुले तिम्रो जन्मदिन मनाउन कहिले चाहीँ छुटाएका छन् र ? 

बरु आफ्नै बिर्सन्छन् ! शान्तिले भनिन् ।

ल.....ल... यसपाली तिमीले विशेष पकवानको तयारी गर्नु । 

पकाउनु, खुवाउनु र खानुपर्छ ।

बरु मैले के के व्यवस्था गरिदिनुपर्छ ? 

मद्दत चाहिन्छ भने अहिलै नै भन ! मैले सोधे“ ।

खासै केही पर्दैन । मै गरिहाल्छु नि ! तिम्रो त कुरा मात्रै हो !

पकाउने काम तिमीले कहिले चाहीँ गरेको छौ र ?

भेट भएपछि, बिहानदेखि बेलुकीसम्म टाउको जोडेर छलफल र सल्लाहमा दिन बितेको पत्तै हुँदैन तिमीहरुलाई ।

लोग्ने मान्छेजति सबै कुरामै व्यस्त त हुने हो ।

हामी आइमाईहरु मिलेर पकाउँला, तुल्याउँला ।

अनि आइमाई भनेको पनि त्यै बिचरा हिमाल र तकदिरका श्रीमतीहरु त हुन् नि । 

उर्जालाई स्वास्नी मान्छे मैले मात्र हैन कसैले भन्दैन क्यारे ! शान्तिले हाँस्दै भनिन् । 

ए....ए.....अब उर्जाको लिङ्ग नै परिवर्तन गरिदिएको तिमीहरुले । मैले भने ।

उर्जा !
उर्जा पहाडी ! !

चिनियाँ, भारतीय र नेपाली महिला मैत्रिपूर्ण अन्तरीक्ष यात्राबाट फर्किएको पनि महिनौ बितिसक्यो !

सगरमाथा आरोहण तीन पटक ! 

संसारकै नामुद शिकारीमध्येकी एक । 

नेपालको प्रख्यात वन्यजन्तु विशेषज्ञ

दर्जनौँ आरक्षण र निकुन्जहरु उसको जिम्मामा !

पहाडी जलविद्युत इन्जिनियरिङ्गमा संसार प्रसिद्ध !

नेपालका अधिकांश जलविद्युत परियोजनामा संलग्न ! 

केटी !
स्त्री !
स्वास्नी मान्छे !
र आइमाई !
को रुपमा त उसलाई कहिल्यै मैले पनि देखिन ।
एउटी छोरीको आमा भएकी नाताले लिङ्गको हकमा मात्रै महिला भन्नपर्‍यो उसलाई !    
अन्यथा ऊ लोग्ने मान्छेको पनि लोग्ने मान्छे जस्ती छ । 

मैले काठमाडौँ

जोरपाटी 

विद्यालयमा पढाउँदा भेट भएकी विद्यार्थी ।
कक्षा दशकी सर्वोत्कृष्ट विद्यार्थी ।

दिमाग जति तेजिलो थियो रुप झन् विघ्न राम्रो 
विछट्टै राम्री ! 
शरद पूर्णीमाको रातमा 
डाँडाबाट देखिने पूर्ण चन्द्र जस्तै मोहक अनुहार ।

चञ्चले आँखा, चनमते भाव र अनुसार ।
कान्लैकान्लाले छपक्कै छोपिएको शरीर ।
कहिले सोझो अनुहारले बांगो व्यवहारलाई पुरिदिन्थ्यो ।
कहिले बांगो व्यवहारले सोझो अनुहार छोपिदिन्थ्यो ।

सोझो हुनु परे अनुहार देखाइदिने 
बांगो हुनु परे व्यवहार !
खेल्न मन लागे खेलेको खेलै गरिदिने  
पढ्न मन लागे पढेको पढ्यै !
अलमस्त ! ! !

आवश्यकता बमोजिम उसका सत्य र असत्य 
झुठ र साँचो मिलाएर बोलिदिन अभ्यस्त ।
अत्यन्त असाधारण र भिन्न चरित्र ! ! !

फेरि के कुरा सम्झेको विकास तिमीले ? शान्तिले सोधिन् । 

ए....ए.... मैले उर्जालाई सम्झेको !

तिमीले उर्जालाई केटा मान्छे भनेपछि उसलाई सम्झिए !

तिमीले उर्जा पनि लोग्नेमान्छे भनेकी हैनौ त ? म बोलेँ । 

हुन त हो । तर त्यस्ती पनि छैन बिचरी !

के गरोस् ! बिहे गरेको एकै वर्षमै डिभोर्स भइहाल्यो ! अनि यतिका वर्ष एक्लै संघर्ष गर्नु । यति माथि पुग्नु । मान्नै पर्छ उर्जालाई त ! साँच्ची तिमीलाई एउटा कुरा थाहा छ ? शान्तिले सोधिन । 

के भन त ? शान्ति !

गौरव,
उर्जासँग धेरै नजिकिइ सकेको जस्तो छ ।

आजकल उसको र उर्जाको बोली, व्यवहारनै बदलिएको छ । दुवै जना धेरै भेटिरन्छन् रे । घर आउने जाने पनि गर्न थाले भन्ने सुन्छु । के हो ?? फेरि शान्तिले प्रश्न राखिन । 

अँ मैले पनि सुनेँ ! थाहा पाएँ ! तर ठिकै छ नि । राम्रै भयो ! आखिर गौरव पनि कति एक्लै बसोस् । उसका अधुरा रहरले पूर्णता पाउने भयो । अनि उर्जालाई कुनै सहारा नचाहिए पनि जीवनसाथी पाएको त राम्रै हो । हैन र शान्ति ? 

कुरा ठिकै हो, राम्रो हैन अत्यन्त राम्रो हुन्छ । तर दुवैले एक अर्कालाई मन पराइसकेपछि । मन मिलिसकेपछि, अब बच्चा–बच्ची, केटाकेटी हैनन् क्यारे, बिहे गरे भैहाल्यो नि । हामीलाई पनि आनन्द हुन्छ मान्छेले कुरो काट्ने मौका दिनु हुँदैन क्या विकास ! ! ! शान्तिले भनिन् । 

हुन्छ हुन्छ । यस विषयमा पनि पर्सि छलफल गरौला । टुङ्गोमा पुर्‍याउँला । तिमीले मलाई सम्झायौ राम्रै गर्‍यौँ । तिमीलाई त अझै नातिनातिनाको पनि रहर होला हैन । 

त्यो त अब उनै जानून् । उनीहरुले जन्माए त हुने हो नि । अब हामीले भनेर हुन्न । 

आज !     अहिले, यो कुरा गरेपछि लामो समयको अन्तरालपश्चात शान्तिको अनुहार उज्यालिएको र उसका पातला ओठहरुको कम्पन देखेँ मैले, कसैले सितिमिति नदेख्ने । जसको म पारखी थिएँ ।

उनीहरु जेसुकै गरुन् । 

हामि चाहिँ गर्नेके ?  म शान्ति छेउ पुगेर फुसफुसाएँ

कस्तो बानी हगी बुढेसकालमा पनि उही.....

कसले भन्यो बुढेसकाल, यी भर्खरै त हाम्रो जवानी सुरु भयो ।

मैले उसलाई अँगालोमा कस्दै लगेँ ।

हामी ठूलो सोफामा लड्यौ ।

मैले धेरै इन्द्रीयहरु जित्दै गए पनि अझै एउटा बाँकी नै छ यसको पनि कहिले समय आउला । अहिलेलाई ठिकै छ ।
 
तिमीले अघि भने जस्तै म बुढो भएको रहेछु कि रैन रहेछु त ? अब आउने आइतबारबाट म ६३ लाग्छु । मैले सोफामै ढल्किएर भने ।

ए हो त नि । मैले त झण्डै बिर्सिएकी । इतरिदैं ओठ लेब्राउँदै शान्ति उठिन् । अनि के भो त ६३ वर्ष पुगे पनि ताल यही हो क्यारे ।

शान्ति, ल अब अर्को कुरा सुन ।

अब फेरि के कुरा हो त्यस्तो ।

बस एकछिन । आउ ।

यस विषयमा मलाई सबैभन्दा पहिला तिम्रो राय सुझावको आवश्यकता छ ।

सुन.......

यही मुगुबाट हाम्रो वास्तविक जिन्दगी सुरु भएको थियो । 

ती दिनहरु सम्झ त !    

सम्झेउ ?

म त अहिले पनि झलझली सम्झिरहेको छु ।

मुगुको विद्यालय ।

मेरो त्यो पहिलो कक्षा ।

हिमाल
र अरु 
विद्यार्थीहरु सम्झिरहेको छु ।
अहिले भर्खर जस्तो लाग्छ । 

– मण्डप बुक्सद्वारा प्रकाशित रबिन्द्र बस्न्यातको कृति ‘आगोको नाच’ बाट


 

अन्तिम अपडेट: मंसिर ६, २०७५

तपाईको प्रतिक्रिया